
बालेन्द्र साह नेतृत्वको सरकार बनेको ६ महिना हुन लाग्यो । सदनमा झण्डै दुई तिहाई भएको शक्तिशाली सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । न सरकारले काम गर्न सकेको छ न सदनले । सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र छ । तर, कानुन कछुवा गतिमा निर्माण भइरहेको छ ।
हाजिर गर्ने र टाप कस्ने परिपाटी अहिलेपनि कायमै छ । विधेयक पारित गर्ने बेलामा सदनमा संख्या पुग्दैन । दुई तिहाई हुँदा त यस्तो छ भने विगतको के कुरा गर्नु ? सिण्डिकेटधारी, कालोबजारी गर्नेहरु झनै शक्तिशाली बन्दै गएका छन् । सरकारले सिण्डिकेट लगाउने, कालोबजारी गर्नेलाई कारबाही गर्न सकेको छैन ।
हरेक सामानमा महँगी ह्वात्तै बढेको छ । चाडपर्व नजिकै गर्दा बजारमा चिनीको हाहाकार बनाउन थालिएको छ । ११० रुपैयाँको चिनी प्रतिकिलो १६० रुपैयाँ लिइरहेका छन्, व्यापारी । चामलमा प्रतिबोरा पाँच सयसम्म बढेको छ । तेल, गेडागुडी, दाललगायत अन्य खाद्यान्नको भाउ पनि आकाशिएको छ ।
बजारमा ग्याँस छैन । ग्याँस नभएको फाइदा होटल व्यवसायीहरुले उठाइरहेका छन् । सरकारले व्यवसायिक प्रयोजनका लागि आफैं ग्याँस भरेर ल्याउन भनेको छ । होटलवालाले आफ्नो गाडीमा ग्याँस ल्याएर २६ सय रुपैयाँ प्रतिसिलिण्डर उपभोक्तालाई बिक्री गरिरहेका छन् ।
जबकि, सरकारले दुई हजार ६० रुपैयाँभन्दा बढी नलिन भनेको छ । होटलवालाले अहिले ग्याँसलाई व्यवसाय बनाएका छन् । आफ्नो ल्याउँदा अरुको पनि ल्याउने अनि ५४० रुपैयाँ बढी असुल्ने । अनि व्यवसायीले दुई हजार ६० मा बेच्छन् ? अब गरिबले भात खान सक्छन् ? चामल उस्तै महँगो, ग्याँस पनि ।
गरिबले कसरी खाने ? चाडपर्व नजिकिएको छ, बजार अनुगमन शून्यजस्तो छ । तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले ‘उद्योगीको पाता नफर्काएसम्म ग्याँस सहज हुँदैन’ भनि उद्योग समितिमा बोलेकी थिइन् । त्यसको भोलिपल्ट उनको मन्त्री पद गयो । उद्योग व्यवसायीहरुको दबाबमा उनले राजीनामा दिइन् ।
गौरीकुमारीले बोलेको कुरा यथार्थ हो । उद्योगीको खोल ओढेर, राज्यको ढुकुटीमा योगदान पुर्याएका छौं भनेर उद्योगीले कतिसम्म गरेका छन् ? त्यो जनताले राम्ररी बुझेका छन् । सामानको मनपरी भाउ तोक्ने, गुणस्तरहीन सामान उत्पादन गर्ने, राज्यलाई कर छल्ने अनि हामीले सेवा गरेका छौं, निजी क्षेत्रले राज्यलाई योगदान पुर्याएको छ भन्ने ।
यो क्रम विगतदेखि चलिआएको हो । यही कुरा तत्कालीन उद्योगमन्त्री यादवले बोलिन् । त्यसपछि उनको पद चैट भयो । उनी रुँदै मन्त्रालयबाट निस्किनुपरेको छ । यहाँ उद्योगी र व्यापारीको नाममा कालोबजारी गर्ने, सिण्डिकेट लगाउनेहरु कति शक्तिशाली छन् भन्ने उदाहरण हो यो ।
११ बजेअघि सेयर बजार खोल्न मिल्दैन । भदौ ३० गते १० बजेर ५० मिनेटमा सेयर दलालीहरुले सेयर ८६ अंकले बढ्यो भनेर देखाए । जबकि, सेयर बजार त ११ बजे मात्र खुला हुने हो । ११ बजेर १० मीनेटमा ९६ अंकले सेयर बढेको भनि देखाइयो । ३ बजे कारोबार बन्द हुने बेला ४८ अंक पुगेको थियो ।
दलालीहरुले यसरी सर्वसाधारण फसाइरहेका छन् । तर, सरकार बुझेर पनि बुझ् पचाएर बसेको छ । सरकारले पनि आम सर्वसाधारणलाई झुक्याउने काम गरिरहेको छ । यातायात व्यवस्था विभागले केही दिनअघि सार्वजनिक सवारी साधनको दर्ता खुलेको भनि सूचना जारी गर्यो ।
कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्ट्रक टेम्पो, कालिमाटीमा चल्ने ढुवानी गाडी, माइक्रोबसलगायत केसैको पनि नयाँ दर्ता खुलेको छैन । अनि खुलेको चाँहि केसको हो ? यसरी जनतालाई भ्रमित बनाउन मिल्छ ? यातायात व्यवसायीले लामो समयदेखि सिण्डिकेट लगाइरहेका छन् । सरकारले सिण्डिकेट तोड्न सकेको छैन ।
२० वर्षे पुरानो ट्याक्सी, माइक्रोबस र ग्याँस टेम्पोको स्क्रयाप गरेको नम्बर प्लेट १८ लाखमा बिक्री भइरहेको छ । यतातिर विभागको नजर किन नगएको होला ? काँग्रेस, एमाले, माओवादीले ३५ वर्षसम्म केही गरेन भन्ने भ्रम छरेर रास्वपा उदायो । चुनावअघि रास्वपाले ‘हामी भ्रष्टाचार रोक्छौं, भ्रष्टाचारको फाइल खोल्छौं’ लगायतको आश्वासन दिएको थियो ।
भ्रष्टाचार रोक्न र फाइल खोल्नलाई केले रोक्यो ? अहिलेपनि सरकारी कार्यालयमा खुलेआम भ्रष्टाचार भइरहेको छ । केही दिनअघि मात्र ९ लाख रुपैयाँ घुससहित एक सरकारी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात समातेको छ । पुरानो सरकारले आफ्नो मान्छेलाई पोस्यो भनि रास्वपाले चर्को विरोध गर्यो ।
अहिले त्यही भइरहेको छैन र ? रास्वपा सभापति रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीशहरु बढुवामा परिरहेका छन् । यसले रवि निर्दोष रहेछन् कि दोषी ? प्रष्ट हुन्छ । रास्वपाले नराम्ररी जनतालाई झुक्यायो । पहिलेजस्तै अहिलेपनि सातामा दुईपटक मन्त्रिपरिषद्को बैठक बस्छ ।
मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णय गर्न सकेको छैन । पहिलेको सरकारझैं सरुवा र बढुवा गर्ने, सकियो । बालेन सरकार पनि सरुवा र बढुवामै केन्द्रित भयो । न एउटा भ्रष्टाचारको फाइल खोल्न सक्यो न देशमा सुशासन नै आयो । बालेन सरकार बनेपछि समाजमा अराजकता झनै बढ्दै गएको छ ।
बेरोजगारीका कारण जनता गलत काममा लागेका छन् । दिनदहाडे चोरी हुन थालेको छ । सरकारले पाँच वर्षमा १२ लाखलाई रोजगारी दिने भनेको थियो । खोइ कहाँ छ रोजगारी ? रविले चुनावअघि रास्वपाको सरकार बनेको एक सय दिनमा एक सय नेपाली फर्काउन विदेशका गल्ली गल्लीमा पोस्टर टाँस्ने बताएका थिए ।
विदेशमा भएका नेपालीलाई नेपालमै रोजगारीको व्यवस्था मिलाउँछु भनि घोक्रो सुक्नेगरी कराएका थिए । फर्काएर दिइयो त रोजगारी ? रास्वपा सरकारले विदेशबाट काँग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र सांसद आशिका तामाङ्गको श्रीमानलाई फर्काएको भन्दै जनताले खिल्ली उडाउन थालेका छन् ।
स्थानीय र प्रदेशको चुनाव नजिकिँदै छ । सात महिनामा स्थानीय र एक वर्षमा प्रदेशको चुनाव गराउनुपर्छ । स्थानीय र प्रदेशको चुनावमा रास्वपा गोलखाडी जाने देखिएको छ । रास्वपा सरकारको पनि गफै मात्र रहेछ भन्ने जनताले बुझिसकेका छन् । काम नगर्ने अनि जनताको ध्यान मोडिफाई गर्न नयाँ नयाँ फण्डा गरिरहने ।
सरकार र सांसदले स्टण्ट गर्नबाहेक केही जानेका छैनन् । साउनमा मात्रै ७१ हजार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गए । श्रम स्वीकृति नलिईकन अवैध बाटोबाट जाने त कति होलान् । सरकारले बन्द भएको उद्योग पुनः सञ्चालन गर्छौं भनेको थियो । अहिलेसम्म कुनै छाँटकाँट देखिएको छैन ।
व्यक्तिको कब्जामा रहेको उद्योगको जग्गा फिर्ता ल्याउन पनि सरकारले पहल गरेको छैन । सांसदहरु जनताको एजेण्डा उठाउँदैनन्, सरकारको कमजोरी ढाकछोप गर्न र जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउनेकै कुरा उठाउनमा केन्द्रित छन् । त्यत्रो आन्दोलन के कारण भयो मतलब छैन, शालिक कहिले बनाउने मात्रै सोध्छन् ।
जनताले त्यही गर भनेर रास्वपालाई मत दिएर पठाएको हो ? सरकारले काम गर्न नसक्दा काँग्रेस, एमाले, माओवादी शक्तिशाली बन्दै गएको छ ।
भक्तपुर