३ असोज, बुटवल
नेपाल मगर महिला संघ, केन्द्रीय समितिले आफ्नो २९औँ स्थापना दिवस बुटवलमा विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष सीता राना मगरले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै मगर महिलाहरू राज्यका हरेक तहमा नेतृत्व लिन सक्षम रहेको बताउनु भयो । मगर महिलाहरू आफ्नो क्षमता, नेतृत्वदक्षता र योगदानलाई थप सशक्त बनाउँदै राज्यका नीति निर्माण तहसम्म अघि बढ्नुपर्नेमा जोड दिदै मगर समुदायको इतिहास नेपालको इतिहाससँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै केन्द्रिय उपाध्यक्ष रानाले मगर समुदायको गौरवपूर्ण इतिहास निर्माणमा मगर महिलाको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको स्मरण गर्नु भएको थियो।

नेपाल मगर संघका केन्द्रीय सदस्य सुनु थापा मगरले मगर महिलाको अधिकार, पहिचान र नेतृत्व विकासका लागि नेपाल मगर महिला संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै आगामी दिनमा महिलाको सहभागिता अझ बढाउँदै सामाजिक, राजनीतिक र राज्यका नीति निर्माण तहमा मगर महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न सबै मिलेर अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गर्नु भएको थियो।
यस्तै लुम्बिनी प्रदेश अध्यक्ष खुलप्रसाद पुन मगरले समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा मगर महिलाको योगदान अतुलनीय रहेको मगर महिला संघले थालेका अभियानलाई अझ प्रभावकारी बनाउँदै महिलाको क्षमता विकास, आत्मनिर्भरता र नेतृत्व निर्माणमा विशेष ध्यान दिन आवस्यक रहेको बताउनु भयो।
नेपाल मगर युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगरले मगर महिलाको नेतृत्व र सहभागिता बलियो नभएसम्म समग्र मगर समुदायको विकास सम्भव नहुने दावी गर्दै युवा पुस्तालाई समेट्दै महिला नेतृत्व विकासका कार्यक्रमलाई गाउँदेखि केन्द्रसम्म विस्तार गर्न आवश्यक रहेको विचार व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा बौद्ध समाजका केन्द्रिय अध्यक्ष शंकर गाहा मगरले मगर समुदायको सांस्कृतिक र सामाजिक पहिचान संरक्षणमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको थियो। अध्यक्ष गाहाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति र इतिहाससँग जोड्न मगर महिला संघले अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने र महिला सशक्तीकरणसँगै मौलिक पहिचान संरक्षणमा पनि संघको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।
यसैगरी मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रामकुमार बुढा मगरले मगर महिलाको नेतृत्व विकासका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएको र विद्यार्थी तथा युवाहरूलाई उच्च शिक्षा, सीप र नेतृत्व विकासका अवसर प्रदान गर्नमा जोड दिनु पर्ने उल्लेख गर्दै मगर महिला संघसँग विद्यार्थी संघले सहकार्य गर्दै नयाँ पुस्ताका महिलालाई नेतृत्वमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो।

र्काक्रममा नेपाल मगर महिला संघ रुपन्देहीकी अध्यक्ष निर्मला थापा मगरले रुपन्देहीमा मगर महिलाको सामाजिक, सांस्कृतिक र नेतृत्व क्षमता विकासका लागि संघले निरन्तर काम गर्दै आएको र गत बर्ष देखि मगर समुदायको भाषा, साहित्य, कला र संस्कृतिमा नयाँपुस्ताको प्रवेशको वातावरण सृजना गर्न इतिहासमै मगर साहित्य महोत्सवको थालनी गरेको र यस वर्ष पनि निरन्तरता दिइएको समेत बताउनु भएको थियो। अध्यक्ष थापा मगरले आगामी दिनमा अझ धेरै महिलालाई संगठित गर्दै आत्मनिर्भरता, शिक्षा, सीप विकास र नेतृत्व निर्माणका कार्यक्रम सञ्चालन गर्ने प्राथमिकतालाई अझ जोड दिदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा नेपाल मगर लेखक संघका उपाध्यक्ष ईरादा झाक्री मगर, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामु मगर, रुपन्देही जिल्ला सचिव राधिका श्रीस मगर लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै मगर महिलाको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा नेतृत्व विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाका साथै आगामी दिनमा महिलाको सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने विषयमा समेत धारणा व्यक्त गरेका थिए।
नेपाल मगर महिला संघकी अध्यक्ष चित्रा छन्त्याल श्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुमति बुढा मगरको स्वागत मन्तव्य तथा संघकी महासचिव चन्दा पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।