२ मंसिर, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्तिक महिनामा जिल्लाभर अपराध अनुसन्धान तथा नियन्त्रणका क्रममा १३० वटा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको कार्तिक महिनाको प्रगति विवरणअनुसार विभिन्न अपराधमा संलग्न १२६ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका ३५, ज्यानसम्बन्धी २६, सामाजिक अपराधका २२, आत्महत्यासम्बन्धी १३, चोरीका ११, महिला तथा बालबालिकासम्बन्धी ११ र सवारीसम्बन्धी ११ तथा विविधतर्फ एक मुद्दा रहेका छन्।
यस अवधिमा फैसला कार्यान्वयनतर्फ फरार रहेका १११ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ६४ लाख ७८ हजार ७६८ रुपैयाँ जरिवाना असुली तथा १७ वर्ष ९ महिना २४ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।
घरेलु हिंसाका ६८ उजुरी
कार्तिक महिनामा घरेलु हिंसाका ६८ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ४८ वटा मिलापत्र गरिएको, १२ वटा सम्बन्धित निकायमा पठाइएको र आठवटा उजुरी प्रक्रियामा रहेको प्रहरीको विवरणमा उल्लेख छ।
त्यस्तै, महिला छिमेकीसँगको झगडासम्बन्धी ३४ वटा उजुरी दर्ता भएका छन्। यस अवधिमा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ८६ जना हराएको विवरण प्राप्त भएकोमा ५७ जना फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषधका पाँच मुद्दा, छ जना पक्राउ
प्रहरीले कार्तिक महिनामा लागुऔषधसम्बन्धी पाँचवटा मुद्दा दर्ता गरी छ जनालाई पक्राउ गरेको छ। पक्राउ तथा बरामदका क्रममा ट्रामाडोल र टापेन्टाडोल ट्याब्लेट, डाइजेपाम, फेनारगन, ब्रुफिनोर्फिनका ३८ एम्पुल तथा ४३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
त्यस्तै, आत्महत्याका १३ घटना भएका छन्। तीमध्ये सात महिला र छ पुरुष रहेका छन्। आत्महत्याका घटनामा ११ जनाले झुन्डिएर, एक जनाले विषादी सेवन गरेर र एक जनाले हाम फालेर ज्यान गुमाएको विवरणमा उल्लेख छ।
१८ वर्ष पुरानो हत्याका फरार प्रतिवादी पक्राउ
रुपन्देही प्रहरीले १८ वर्षअघि गोली हानी हत्या गरी फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ।
प्रहरीका अनुसार २०६५ मंसिर ६ गते राति तत्कालीन धकधई गाविस क्षेत्रमा रहेको हुलाकी सडक खण्डमा मुनिराम राजभरको गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा रोहिणी गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुमी र ६० वर्षीय महेन्द्रप्रसाद कुमीलाई पक्राउ गरिएको हो। अदालतको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, कोटहीमाई गाउँपालिका–६ र ७ बीचको धानखेतमा एक महिलाको हत्या गरी कानमा लगाएको सुनको गहना लुटिएको घटनामा चार जना पक्राउ परेका छन्। उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
कार्तिक महिनामा रुपन्देहीमा २३४ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने ३७३ जना घाइते भएका छन्। दुर्घटनामा ३३० वटा सवारीसाधन संलग्न रहेका थिए।
ट्राफिक चेकजाँचका क्रममा प्रहरीले २ हजार १७२ वटा सवारीसाधनमाथि कारबाही गरी ३६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
अवैध कारोबार नियन्त्रणमा १ करोड ७३ लाखभन्दा बढी राजस्व
भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ भने नौवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। अवैध भन्सार छलीबाट एक करोड ७३ लाख २० हजार ८९४ रुपैयाँ बराबरको राजस्व संकलन भएको विवरणमा उल्लेख छ।
यसैगरी, अवैध पशुपन्छी ओसारपसार नियन्त्रणका क्रममा १३५ वटा कुखुरा, आठवटा बोका तथा तीनवटा मोटरसाइकल बरामद गरिएको छ। उक्त कारबाहीबाट तीन लाख ६४ हजार ३९६ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
समुदाय र विद्यालयमा सचेतनामूलक कार्यक्रम
प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। विद्यालयमा आठवटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २६९ जना विद्यार्थीलाई सहभागी गराइएको छ।
त्यस्तै, समुदाय साझेदारी कार्यक्रमअन्तर्गत ८२ वटा कार्यक्रम सञ्चालन गरी २ हजार २६५ जनालाई सहभागी गराइएको छ। लागुऔषध दुरुपयोग, आत्महत्या न्यूनीकरण, घरेलु हिंसा, साइबर अपराध, बालविवाह नियन्त्रण, मानव बेचबिखन तथा ट्राफिक नियमसम्बन्धी विषयमा सचेतना फैलाइएको प्रहरीले जनाएको छ।
प्रहरीको विवरणअनुसार कार्तिक महिनामा हेल्पलाइन तथा प्रहरी कार्यालयका सम्पर्क नम्बरमा ४ हजार ९०१ वटा कल प्राप्त भएका छन् भने नागरिक सहायता कक्षमा २ हजार १७७ जना सेवाग्राही दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरिएको हो।