२९ कार्तिक, पाल्पा
मगर सभ्यता, पहिचान र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक जागरण र क्रान्ति अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल मगर संघ तानसेन नगरपालिका वडा नं. ८ (वडाकार्यसमिति), मदनपोखराद्वारा आयोजित ‘विविध सांस्कृतिक तथा नृत्य कार्यक्रम–२०८३’ मा सहभागी वक्ताहरूले मगर समुदायको भाषा, कला, संस्कृति, भेषभूषा र ऐतिहासिक सभ्यताको संरक्षणमा राज्य तथा समुदाय दुवैको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन्।
माथिल्लो पिपलडाँडाको शिरस्थित खुला प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वस्वास्थ्य मन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारु मगर, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिजाली गाहामगर, नेपाल मगर संघका केन्द्रीय उपमहासचिव हिरु राना र नेपाल मगर युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगरलगायतले मगर समुदायको मौलिक पहिचान संरक्षणमा जोड दिएका थिए
वक्ताहरूले मगर समुदायको मौलिक भाषा, भेषभूषा, कला, संस्कृति र परम्परालाई राज्यले समान सम्मान र सम्बोधन गर्न सके मात्रै नेपालको बहुसांस्कृतिक पहिचान थप सुदृढ हुने धारणा राखेका थिए। सांस्कृतिक पहिचान कुनै एक समुदायको मात्र सम्पत्ति नभई समग्र राष्ट्रको साझा सम्पदा भएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा नेपाल मगर संघका प्रदेश सदस्य पुष्पा थापा, जिल्ला अध्यक्ष शेरबहादुर सोमै, जनप्रतिनिधि सोमनाथ अर्याल, राष्ट्रिय लोकदोहोरी संघका रुपेश कार्की, नेपाल पत्रकार महासंघका जिल्ला प्रतिनिधि विजय बौड्याल तथा मगरांत जोङ्गका अध्यक्ष दीपक काम्मुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय विभिन्न संघसंस्था तथा सांस्कृतिक समूहहरूले मगर समुदायका मौलिक झाउरे, सोरठी, मारुनी र भैलो नृत्य प्रस्तुत गरेका थिए। परम्परागत लोकलय, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिले माथिल्लो पिपलडाँडाको वातावरणलाई उत्सवमय बनाएको थियो। कार्यक्रममा स्थानीय कला, संस्कृति र परम्पराको जीवन्त प्रदर्शनसमेत गरिएको थियो।
यसै अवसरमा कार्यक्रमका अतिथि, बुद्धिजीवी, अधिकारकर्मी, समाजसेवी तथा स्थानीय पाहुनाहरूलाई नेपाल मगर संघ तानसेन नगरपालिका वडा नं. ८ का अध्यक्ष विराज सिंह सिजाली मगरले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
मगर समुदायको इतिहास, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीयस्तरमा सांस्कृतिक एकता, मौलिक पहिचानको संरक्षण र समुदायमा सांस्कृतिक जागरणको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।