२९ कार्तिक, कञ्चन
हिन्दू धर्मावलम्बीहरूको आस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्व आज तराई–मधेशसहित देशका विभिन्न क्षेत्रमा धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ। सूर्यदेव र छठी माताको पूजा–आराधना गरी मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।
परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ छठ पर्व मनाउने गरिन्छ। विशेषगरी नेपालको तराई–मधेश क्षेत्र र भारतका विभिन्न स्थानमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइन्छ।
चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्छ। पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरूले नदी, तलाउ तथा पोखरीमा स्नान गरी शुद्ध र सात्विक भोजन ग्रहण गर्छन्।
दोस्रो दिन ‘खरना’ मनाइन्छ। यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ सख्खरको खीर, रोटी तथा अन्य परिकार तयार गरी पूजा गरेपछि प्रसादका रूपमा ग्रहण गर्छन्। खरनापछि सुरु हुने निर्जला व्रत मुख्य पूजासम्म जारी रहन्छ।
पर्वको तेस्रो दिन ‘सँझिया अर्घ’ अर्थात् मुख्य छठ पूजा गरिन्छ। यस दिन व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसेर साँझ नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा सजाइएका घाटमा पुग्छन्। त्यहाँ पूजा सामग्री, फलफूल, ठेकुवा, कसार, उखु तथा अन्य प्रसादसहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ।
चौथो दिन बिहानै व्रतालुहरू पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। त्यसपछि पूजा सम्पन्न गरी प्रसाद ग्रहण गर्दै पारण गरेपछि चारदिने छठ पर्वको विधिवत् समापन हुन्छ।
छठ पर्वमा ठेकुवा, कसार, केरा, उखु तथा विभिन्न मौसमी फलफूललाई विशेष प्रसादका रूपमा चढाउने परम्परा छ। यस पर्वको विशिष्ट पक्ष भनेको अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धा र निष्ठाका साथ पूजा गर्नु हो।
धार्मिक आस्थासँगै प्रकृति, जलस्रोत र वातावरणको महत्त्वलाई समेत उजागर गर्ने छठ पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गर्दै आएको छ।
रुपन्देहीको सूर्यपुरा, कञ्चन नदी, सन्तेश्वरघाट, दानव नदी, दानापुर, कटुवा खोला, बनकसिया, क्षेत्रपुरा लगायत विभिन्न नदी र तलाउहरुमा छठीमाई पूजाआरधनाका लागि विशेष मण्डप र छठीमाई प्रतिमाहरु बनाईएको छ।