पासाङ्ग सिंजाली, गुल्मी
जे छ, त्यसैमा सन्तुष्ट छैन मानिस,
जे छैन, त्यसैको खोजीमा दुःखी छ मानिस।
सम्पत्तिको पहाड उभ्याउने होडमा,
कतै आफ्नै सन्ततिको भविष्य बिर्सन्छ मानिस।
शिक्षालाई अक्षर र अङ्कमा मात्र नतौल,
बालबालिकाको क्षमता परीक्षाको नतिजामा मात्र नखोज।
उसको गति बुझ, रुचि र चाहना चिन,
उसका मौन प्रश्नहरूलाई पनि सुन।
सोच्न देऊ, प्रश्न गर्न देऊ,
आफ्नै अनुभवका पानाबाट
जीवनको अर्थ पढ्न देऊ।
कतै उसको जिज्ञासाको घाँटी ननिमोठ,
कतै कल्पनाका पखेटा नखोस।
किनकि जिज्ञासा मरेको मनमा
सम्भावनाका नयाँ फूल फुल्दैनन्,
कल्पनाविहीन आँखाहरूमा
भविष्यका सुन्दर सपना झुल्दैनन्।
उसलाई तिम्रो सपनाको प्रतिरूप होइन,
आफ्नै सपनाको सर्जक बन्न देऊ।
तिम्रो अधुरो यात्राको भारी होइन,
आफ्नै यात्राको यात्री बन्न देऊ।
उसलाई आफ्नै आकाश खोज्न देऊ,
आफ्नै पखेटाले उड्न देऊ।
अरूको उज्यालोमा हराउन होइन,
आफ्नै प्रकाशले संसार चम्काउन देऊ।