मुलुकको कानुनले खुला ठाउँमा पशु बध गर्न नपाउने व्यवस्था गरेको छ । कुनैपनि पशु खुला ठाउँमा काटेर मासु बिक्री गर्न पाइँदैन । पशु बधको निश्चित मापदण्ड छ । तर, उपत्यकाभित्र जताततै खुला ठाउँमा पशु बध गरिरहेको देखिन्छ । जसको नमूना हो–भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौर ।
तीनकुने चौरमा प्लास्टिकको छाप्रो हालेर मासु काट्ने र बेच्ने काम भइरहेको छ । धुलो त्यहीँ, हिलो त्यहीँ । ती व्यवसायीले पशु बधको न्यूनतम मापदण्डसमेत पालना गरेका छैनन् । तीनकुने चौर दुर्गन्धित छ । भुइँमै मासु काटेर बेच्छन् । खसी भनेर बाख्रा र च्याङ्ग्रा भनेर भेडा र पाठी च्याङ्ग्रा बेच्ने काम भइरहेको छ ।
मूल्य भने खसी र च्याङ्ग्राबराबरकै लिने गरिएको छ । बाख्राको मासु खसीको मासु भनेर १६ देखि १९ सयमा बेचिएको छ । भेडा र पाठी च्याङ्ग्रालाई खसी च्याङ्ग्रा भनेर बेचिएको अवस्था छ । जुन किलोकै २५ देखि २९ सयसम्म छ । त्यहाँ बाख्रा, भेडा र पाठी च्याङ्ग्रा अलिक पर लगेर काटिन्छ, कसैले नदेख्नेगरी ।
मासु बेच्ने ठाउँमा एकदमै दुर्गन्ध छ । मासु काट्ने मान्छे त एकदमै फोहोरी छन् । मुखमा चुरोट तान्दै गरेर मासु काटिरहेका हुन्छन् । कसैले मुखमा खैनी हालेका हुन्छन् । उनीहरुको लुगा पनि एकदमै फोहोर देखिन्छ । मासु काट्ने हतियार, अचानोसमेत सफा गरिँदैन । मासुहरु खुला राखिन्छ ।
कुनै छाप्रोमा फ्रिज छैन । कतिपय मासु काट्नेबित्तिकै फ्रिजमा राख्नुपर्छ । तर, खुला राख्दा पनि कारबाही भएको छैन । तीनकुने चौरभित्र पानीको धारा छैन । ती मासु कहाँबाट पानी ल्याएर पखालिन्छ ? कस्तो पानीले पखालिन्छ ? कसैलाई जानकारी छैन । भक्तपुर नगरपालिकाले एउटा खोरबाट ६० हजारदेखि एक लाख रुपैयाँसम्म भाडा लिएको छ ।
यद्यपि, चौरमा शौचालयसमेत बनाइएको छैन । चाडपर्वलाई लक्षित गरी विभिन्न जिल्लाबाट खसी, बाख्रा, च्याङ्ग्रा, भेडा लगायतका पशु बेच्न ल्याएकाहरुले खुला दिसापिसाब गर्छन् । अहिले चौरमा जताततै दिसा देखिन्छ । खसीबोका, भेडा, च्याङ्ग्रा भुत्लाएर जताततै फालिएको छ ।
उनीहरुले खाना पकाएर त्यही भाडा माझ्छन्, त्यसको दुर्गन्ध फेरि छुट्टै । होटल पनि त्यही खुलेका छन् । तर, अनुगमन कसले गर्ने ? नगरपालिका भाडा उठाउन पाउँदै मख्ख छ । कस्तो मासु बेचिएको छ ? ती मासुले उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउँछ कि पुर्याउँछ ? नगरपालिका अनुगमन गर्दैन ।
अनुगमनका निम्ति मुलुकमा दर्जन बढी निकाय छन् । ती निकाय पनि हात बाँधेर बसेको अवस्था छ । उपभोक्ता महँगो मूल्य तिरेर दुर्गन्धित मासु खान बाध्य छन् । उनीहरु पैसामा मात्र होइन, स्वास्थ्यमा पनि ठगिएका छन् । तीनकुने चौरभित्र मरेका पशु पनि काटिन्छ । त्यो कुरा उपभोक्तालाई के थाहा ?
चौरमा घाँस छैन । खान नपाएर पशुको मृत्यु हुन्छ । त्यस्ता पशु पनि काटेर बेचिन्छ । देशको संघीय राजधानीसँगै जोडिएको जिल्लामा यो अवस्था छ भने बाहिरी जिल्लामा के हालत होला ? उपत्यकाभित्रका अधिकांश मासु तथा माछा पसलले सरकारको मापदण्ड पालना गरेका छैनन् ।
मासु पसल एकदमै दुर्गन्धित हुन्छ । काट्ने ठाउँ पनि फोहोर, काट्ने मान्छे झनै फोहोरी । मासु पसल कहिल्यै सफा गर्दैनन् । मासु काट्ने हतियारहरु पनि सफा गरिँदैन । अचानो, खुकुरी, फ्रिज एकदमै दुर्गन्धित हुन्छ । मासु पसलको वरपरबाट नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।
मासुहरु छोपेर राखिन्न । झिंगा भन्किरहेको हुन्छ । तर, सरकारलाई मतलब छैन । उपभोक्ताले पसलेले भनेजति पैसा तिरेर मासु किनेका हुन्छन् । तैपनि उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरिन्छ । कतिपय मासु पसलले खसी भनेर बाख्रा र राँगा भनेर भैंसीको मासु बेच्ने गरेका छन् ।
तिनीमाथि पनि अनुगमन र कारबाही हुन सकेको छैन । माछा पसलहरु पनि त्यस्तै छन् । माछालाई लामो समय टिकाउनका लागि केमिकलसहितको आइसमा राखिन्छ । जसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाँड गरिरहेको छ । उपत्यकामा एक किलो माछाको चार सयदेखि १२ सय रुपैयाँसम्म पर्छ ।
तर, त्यो माछा कहिलेको हो ? खानलायक छ कि छैन ? उपभोक्तालाई थाहा हुँदैन । उपभोक्ताले व्यापारीले भनेजति पैसा तिरेका छन् तर केमिकलमा डुबाएर राखिएको माछा भिडाइन्छ । जसले क्यान्सरलगायतका रोग निम्त्याएको छ । काठमाडौं महानगरपालिका १०, नयाँ बानेश्वरस्थित दुईटा माछा छ ।
ती माछा पसलका कारण सडकको टायल निस्किन थालेको छ । माछामा छिनछिनमा पानी छम्किनुपर्छ । त्यो पानी सडकमा पर्छ । जतिबेला पनि हिलो हुँदा टाइल उम्किन थालेको छ । मःम पसलले राँगा र भैंसीको मासु भनेर आन्द्रा पेलेर हाल्ने गरेका छन् । अनि प्लेटको १३० देखि १५० लिन्छन् ।
यो लुट हो कि होइन ? यसरी सर्वसाधारणलाई रोगी बनाउने काम भइरहँदा सरकार कहाँ छ ? सरकारले न सर्वसाधारणको पैसा जोगाउन सक्यो न स्वास्थ्य । आफूले दुःख गरेर कमाएको पैसा तिरेर सर्वसाधारणले आफ्नै स्वास्थ्य सकाइरहेका छन् । मासुमा मात्र होइन, अन्य सामान पनि गुणस्तरहीन छन् ।
खाद्यान्नमा सबैभन्दा बढी मिसावट छ । अहिले जताततै चटपटे र पानीपुरी पसल देखिन्छ । तिनले प्रयोग गर्ने पानी कस्तो छ ? के केमिकल मिसाएर बनाइन्छ ? अनुगमन गर्न पर्दैन । अहिले सबैभन्दा बढी फाइदा माछामासु र पानीपुरी र चटपटेमा छ । त्यसैले घरैपिच्छेजस्तो माछामासु र पानीपुरी र चटपटे पसल खुलेका छन् ।
पानीपुरी र चटपटे बनाउनेले हातमा पञ्जा, टाउकोमा क्याप लगाएका हुन्नन् । लुगा पनि फोहोर हुन्छ । तर, त्यही सर्वसाधारणको भीड लाग्छ । भुरादेखि बुढासम्मको पानीपुरी र चटपटे पसलमा भीड हुन्छ । एउटा सटर लिने, दुई कुर्सी राख्ने, पर्दाले बार्ने अनि रक्सी पसल खोल्ने ।
त्यो रक्सी केले बनाइन्छ ? सर्वसाधारणलाई थाहा छैन । सर्वसाधारण जान्छन्, गिलासको ५० रुपैयाँ हालेर खान्छन् । बजारमा सुनिएअनुसार युरिया मल, थोत्रा कपडा, राँगाभैँसीको हड्डीलगायतका सामान प्रयोग गरेर रक्सी बनाइन्छ । यी वस्तुले आम नागरिकको ज्यान सकाइरहेको छ ।
दूध, दही, घ्युमा पनि उस्तै मिसावट छ । दुग्धजन्य पदार्थमा पाउडर मिसाउन थालिएको छ । जसका कारण दूध तताउँदा पुरै पहेँलो हुन्छ । आफू कमाउनका लागि व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यसँग खेलबाँड गरिरहेका छन् । तर, सरकारलाई चासो छैन । जनताको पैसा र ज्यान दुवै सकिँदा सरकार टुलुटुल रमिता हेरेर बसेको छ ।
सरकार अनुगमन गर्दैन, जनता उजुरी गर्दैनन् । पैसा तिरेर उनीहरु खान अयोग्य सामान खरिद गरिरहेका छन् । व्यापारको नाममा लुटको धन्दा चलिरहेको छ । न सरकार जनतालाई सचेत बनाउँछ न बजार अनुगमन गर्छ । सरकारको लापरवाहीले जनताको पैसा पनि सकिएको छ, ज्यान पनि ।
देशमा थुप्रै बजार अनुगमनसमेत कार्यान्वयन छ । तर, कार्यान्वयन शून्यबराबर छ । जसको फाइदा व्यापारीहरुले उठाइरहेका छन् । कानुनले सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान गर्न नपाउने भन्छ । तर, खोइ कार्यान्वयन ?