
डॉ कैदार कार्की।
पौराणिक कथनअनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात असोज १ गते भएको मानिन्छ । विश्वकर्माको जन्म दिनलाई नै विश्वकर्मा पूजाको रुपमा मनाइन्छ । विष्णु भगवानको नाभीबाट कमल उत्पन्न भयो । त्यही कमलबाट चतुर्मुख व्रह्मा उत्पत्ति भए । उनका पुत्र धर्म र धर्मका सातौँ पुत्रका रुपमा वास्तु जन्मिए । वास्तु नै शिल्पशास्त्रका जन्मदाता हुन भनिन्छ । उनै वास्तुदेवकी अंगिरसी नाम गरेकी पत्नीबाट विश्वकर्मा जन्मिएका थिए । शिल्पशास्त्रका प्रवर्तक वास्तुदेवको कला, कौशल र शिल्पलाई अहिले पनि शिल्पशास्त्र वा वास्तुशास्त्रका रुपमा अध्ययन, अध्यापन र अनुसरण गरिन्छ । आफ्ना पिताजस्तै विश्वकर्मा पनि उत्कृष्ट वास्तुविद् थिए । उनै वास्तु र विश्वकर्माको ज्ञान विद्या नै आजको आधुनिक इन्जिनियरिङ विधा हो ।
समाज गतिशील र परिवर्तनशील हुन्छ । समय, परिस्थिति र शासन व्यवस्थाअनुसार समाजका मूल्य, मान्यता र धारणा परिवर्तित हुन्छन् । शास्त्रमा उल्लेख भएअनुसार सत्य युगको स्वर्गलोक, त्रेता युगको लंका, द्वापर युगको द्वारिका र कली युगको हस्तिनापुरलगायतका लोकहरुको निर्माणकर्ता महान् शिल्पी विश्वकर्माजस्ता कठोर परिश्रम गर्ने परिश्रमीहरु समयक्रममा जात विशेषमा विभाजन भई दलित र अछुत भनेर अपमानित हुन थाले । श्रमको अपमान र घृणा हुन पुगेको थियो । तर समयसँगै पुनः छुवाछुत हट्दै जानु र श्रमजिवी श्रमिकहरुको हक अधिकारहरु स्थापित हुनुले पनि समाज परिवर्तनशील भएको पुष्टि गर्छ । वास्तुशिल्पशास्त्र दिशा ( पुर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, इशान, आकाश, पातल ) र तत्त्वको तालमेलको सिद्धान्तमा आधारिते छ । वास्तु विद्याले घर, भवन निर्माण, बसोवास, प्राकृतिक ऊर्जासँग मानव जीवनको तालमेल र आपसी सम्बन्धको बारेमा ज्ञान दिन्छ ।
ढुङ्गेयुगबाट विकसित मानव समुदायले प्रयोग गर्ने खुँडा, तरबार, कुटो, कोदालो, हलो, ढिकी, जाँतो, कँैची, गरगहनालगायत अहिलेका आधुनिक मेसिन, उपकरण, हातहतियार र विमानको जन्मदाता उनै विश्वकर्मा हुन् भन्न सकिन्छ । यसरी हेर्दा सुन्दर सृजना गर्ने शिल्पकार, कुनै पनि वस्तुमा कला भरेर जीवन्त बनाउने कलाकार, कठोर श्रम गर्ने श्रमिकहरु नै विश्वकर्मा हुन् । वास्तुदेव र उनका छोरा विश्वकर्माको ज्ञान र सीपलाई अनुसरण गर्ने, आफ्नो पौरख र परिश्रममा विश्वास गर्ने, श्रम र सृजनामा रमाउने कर्मशील हातहरु नै विश्वकर्मा हुन् ।
विश्वकर्मालाई संसारकै पहिला इन्जिनियर मानिन्छ । त्यसैले विश्वकर्मा पूजाको दिन शिल्पकार, कलाकार, उद्योगी, व्यापारी, श्रमिक र कृषक सबैले आफ्ना कलकारखाना तथा हरेक किसिमका हातहतियार र उपकरणको पूजा, आराधना गर्ने गर्छन् । विश्वकर्मा पूजाको दिन मेसिन, औजार तथा विश्वकर्मा बाबाको मूर्ति, चित्रको पूजा गरी चन्दन, धूप, नैवेध, फूल अक्षता चढाउने चलन छ । कलकारखाना र औजारहरुमा जटासहितको काँचो नरिवल फुटाई जल अर्पण गराउने प्रचलन पनि छ । यसो गर्दा आफ्नो व्यापार व्यवसाय फस्टाउने, कला कौशल बढ्ने र वर्षभर कुनै पनि अनीष्ट नहुने जनविश्वास रहिआएको छ ।
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरू विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । सबैको मूल विश्वकर्मा हो । उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरूलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।
चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ । विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ ।
एक कथाअनुसार वाराणसीमा धार्मिक व्यवहारबाट चल्ने वाला एउटा रथकार आफ्नो पत्नीको साथ बस्थे । आफ्नो कार्यमा उनी निपुण थिए । तर, विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनतपछि खानुबाहेक अन्य सम्पत्ति जोड्न सकेका थिएनन् । पति जस्तै पत्नी पनि पुत्र नभएका कारण चिन्तित थिइन् । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्तकहाँ पनि जान्थे, तैपनि उनको यो इच्छा पूरा भएको थिएन ।
त्यसैबेला उनको एक छिमेकी ब्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए, ‘तिमी भगवान् विश्वकर्माको शरणमा जाऊ, तिम्रो इच्छा पूरा हुनेछ ।’
यसपछि रथकार एवं उनकी पत्नीले अमावस्या तिथिमा भगवान् विश्वकर्माको पूजा गरे जसबाट उनीहरूलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरू सुखी जीवन व्यतीत गर्न लागे, कथामा उल्लेख छ ।
विश्वकर्मा पूजा हिन्दू धर्ममा एक महत्वपूर्ण पर्व हो, जसले विशेषगरी नेपाली समाजमा ठूलो धार्मिक र सांस्कृतिक महत्त्व राख्दछ। यो पर्व भगवान् विश्वकर्मालाई समर्पित छ, जो देवताहरूका दिव्य वास्तुकार र इन्जिनियरका रूपमा पूजित छन्। भगवान् विश्वकर्माले देवताहरूका महल, हतियार, र साधनहरूको निर्माण गरेको विश्वास गरिन्छ। यो पर्व मुख्यतः निर्माणकर्मी, धातुकर्मी, काठकर्मी, र मिस्त्रीहरूले विशेष रुपमा मनाउने गर्छन्।
नेपाली समाजमा विश्वकर्मा पूजा विशेष गरी ती व्यक्तिहरूले मनाउँछन्, जसको पेशा निर्माण, धातुकर्म, काष्ठकला र मेशिनरीसँग सम्बन्धित छ। यस दिनमा कामदारहरूले आफ्ना औजार, मेशिन, र कार्यस्थलहरू सफा गरेर सजाउँछन्, र ती औजारहरूलाई पूजाआजा गरी सुरक्षाका लागि भगवान् विश्वकर्मासँग प्रार्थना गर्छन्। कारखाना, कार्यशाला, र सवारी साधनहरूमा फूलमाला र रङ्गीचङ्गी कपडाले सजाइन्छ, र भगवान् विश्वकर्माको मूर्तिलाई फूल र खाद्य पदार्थ चढाएर पूजा गरिन्छ।
यो पर्व धार्मिक मात्र नभएर सांस्कृतिक महत्वको पनि छ, जसले नेपाली समाजमा सीप, मेहनत र दक्षताको कदरलाई दर्शाउँछ। निर्माण र कारीगरहरूको योगदानले देशको पूर्वाधार र अर्थतन्त्रलाई अघि बढाउँछ, र विश्वकर्मा पूजाले ती कामदारहरूको परिश्रमप्रतिको सम्मानलाई बलियो बनाउँछ।
धेरैका लागि, यो पर्व श्रमिकहरूबीचको एकताको प्रतीक पनि हो, जसले सहकार्य र साझा उद्देश्यको भावना जगाउँछ। नेपाली समाजमा सीप, दक्षता र मेहनतको महत्त्वलाई विश्वकर्मा पूजाले उजागर गर्छ, र आफ्ना औजार तथा सीपलाई आदर गर्ने परम्परा कायम राख्छ।
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ। पूर्वीय संस्कृतिका अन्तर्गत पनि शिल्प सङ्काय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ।यो उत्पादन-वृदि र राष्ट्रिय समृद्धिका लागि एक सङ्कलप दिवस पनि हो। यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी इनजिनियरिङ संस्थामा धेरै नै हर्षोल्लासका साथ सम्पन्न हुने गर्छ। भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो। यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ।
भगवान् विश्वकर्माको वर्षभरिमा कति पटक पूजा र महोत्सव मनाइन्छ। जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ। यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते (कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन रहेको छ।भारतका कतिपय क्षेत्रमा गोरुतिहार (गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ। यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद रहेको पाइन्छ। (श्रुतिको वचन छ - विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ ।
सृजनात्मक कर्म गर्नेलाई मुल विश्वकर्मा मानिने हुँदा विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिनुका साथै काममा आउने बाधाअड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास गरिन्छ । विशवकर्माको पूजा गर्दा वर्षभरि मेसिनरी औजारको प्रयोगका क्रममा चोटपटक नलाग्ने तथा दुर्घटना नहुने धार्मिक विश्वास रहेको पाइन्छ ।
विवाहादिषु यज्ञेषु गृहारामविधायके।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम्॥
जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः)