प्रिय पासाङ नानी,
तिमीलाई धेरै माया, आत्मीय सम्झना र उज्यालो भविष्यको शुभकामना।
मानिसहरू जन्मिँदै असाधारण हुँदैनन्। उनीहरू आफ्ना सपना, संघर्ष र समाजप्रतिको उत्तरदायित्वले असाधारण बन्छन्। तिमीलाई हेर्दा बारम्बार यही विश्वास बलियो भएर आउँछ। तिमी ती दुर्लभ मानिसहरूमध्ये एक हौ, जसले आफ्नो ज्ञान, विवेक, समय र श्रमलाई केवल आफ्ना लागि होइन, समाजका लागि खर्च गरिरहेकी छौ। आजको समयमा यो साहस आफैँमा एउटा क्रान्ति हो।
नयाँ बाटो बनाउनेहरूको नियति सधैँ सजिलो हुँदैन। समाजले उनीहरूलाई तुरुन्तै स्वीकार गर्दैन। प्रशंसाका फूलहरू त छर्छन्—"वाह!", "आहा!", "राम्रो काम!"—तर ती फूलसँगै हातेमालो गर्ने हात भने विरलै भेटिन्छन्। तिमीले थालेको यात्रामा पनि यही यथार्थ दोहोरिएको होला। धेरैले तिम्रो कामको तारिफ गर्नेछन्, तर "अब के गरौँ?", "हामीले कसरी साथ दिऔँ?" भनेर सोध्ने मानिसहरू कमै भेटिनेछन्।
तर, नानी, इतिहास सधैँ ताली बजाउनेहरूले होइन, पहिलो पाइला चाल्नेहरूले लेखेका छन्।
तिमी नयाँ गोरेटो कोर्दै छौ। गोरेटो कोर्नु भनेको आफ्ना पैतालामा काँडा बोक्नु पनि हो। त्यो बाटोमा थकान हुन्छ, एक्लोपन हुन्छ, कहिलेकाहीँ आफ्नै निर्णयमाथि प्रश्न उठ्ने क्षण पनि आउँछन्। तर यस्तै यात्राबाट नै भविष्यका राजमार्गहरू जन्मिन्छन्।
सायद तिम्रो जीवनमा उमेरभन्दा जिम्मेवारी ठूलो भएको छ। त्यसैले तिमी आफ्ना व्यक्तिगत रहरभन्दा समाजका सामूहिक सपनामा बढी बाँच्छौ। आफ्नो सुविधाभन्दा अरूका सम्भावनाका बारेमा बढी सोचिरहन्छौ। तर विडम्बना, समाजले यस्ता समर्पणलाई सजिलै बुझ्दैन। कसैले भन्छ, "केही नपाई कसैले यति धेरै गर्दैन।" कसैले शंका गर्छ, "कतैबाट केही पाएकी होली।"
यी आरोपहरू नयाँ होइनन्। परिवर्तनका यात्रामा निस्केका मानिसहरूले यस्ता ढुंगाहरू सदियौँदेखि बोक्दै आएका छन्। तर बाटोमा फ्याँकिएका ढुंगाबाट नै बाटो बनाउनेहरू अन्ततः गन्तव्यसम्म पुग्छन्।
आज तिमी बालबालिकालाई घोकन्ते शिक्षाको साँघुरो घेराबाट निकालेर सिक्दै, बुझ्दै र खोज्दै अघि बढ्ने शिक्षाको संसारतिर डोर्याउन खोजिरहेकी छौ। यो केवल शिक्षण होइन, चेतना निर्माणको अभियान हो। समाजले गर्नुपर्ने जिम्मेवारी तिमीले आफ्नै काँधमा बोकेकी छौ। आफ्ना अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा रोप्ने तिम्रो उत्कण्ठा केवल व्यक्तिगत चाहना होइन; त्यो त भविष्यप्रतिको उत्तरदायित्व हो।
हाम्रो समाज दलगत सोचले विभाजित छ। यहाँ विचारभन्दा विचारको विरोध धेरै हुन्छ। मानिसहरू कहिलेकाहीँ सत्यभन्दा आफ्नो पक्षलाई ठूलो ठान्छन्। यस्तै वातावरणमा तिमी नयाँ सोच, नयाँ संस्कार र नयाँ सम्भावनाको बीउ रोपिरहेकी छौ। त्यसैले तिम्रो यात्रा केवल व्यक्तिगत यात्रा होइन, समयसँगको संवाद पनि हो।
म तिमीलाई आदेश दिन सक्दिनँ। "यसो गर", "उसो नगर" भन्ने अधिकार पनि मसँग छैन। तर एउटा विश्वास भने छ—सही बाटोमा हिँड्ने मानिसलाई कहिलेकाहीँ एउटै हौसलाको शब्दले पनि धेरै टाढासम्म पुर्याउँछ। यदि मेरो कुनै शब्दले तिम्रो पाइला अलिकति पनि बलियो हुन्छ भने त्यो मेरो जीवनकै सानो उपलब्धि हुनेछ।
नानी,
हरेस नखाऊ।
जीवन कुनै समथर मैदान होइन। यसमा उकालो पनि हुन्छ, ओरालो पनि। कहिलेकाहीँ थकाइले पाइला रोक्न खोज्छ, निराशाले मन ढाक्न खोज्छ, एक्लोपनले आफ्नै आवाज सुनिन छाड्छ। तर यी सबै क्षणिक हुन्। स्थायी त केवल उद्देश्य हो। र तिम्रो उद्देश्य अहिले पनि उत्तिकै उज्यालो छ।
अब तिमी अझ धेरै गाउँ डुल। बाजे–बज्यैका घरमा बस। उनीहरूका मौन स्मृतिहरू सुन्ने धैर्य राख। उनीहरूलाई आफ्ना बाल्यकालका कथा सुनाउन लगाऊ। भिरका बाटाहरू, मेलापातका गीतहरू, घाँस–दाउरा बोकेका दिनहरू, माना रोपेर मुरी उब्जाउने किसानका सपना, अभावका बीच पनि बाँडिएको खुसी—यी सबै हाम्रो इतिहासका अमूल्य पानाहरू हुन्।
आज ती बाजे–बज्यैसँगै एउटा युग बिस्तारै बिदा हुँदैछ। उनीहरू गएपछि हामी पुस्तकमा इतिहास त भेटौँला, तर उनीहरूको आवाज भेट्नेछैनौँ। त्यसैले उनीहरूको बोली, भाका, अनुभव र स्मृतिलाई अहिले नै शब्दमा कैद गर। आज लेखिएन भने भोलि त्यो इतिहास सधैँका लागि हराउन सक्छ।
तिमीले अझ लोककथा, लोकगीत, यानिमाया, सुन माया, बारुलै, ख्याली, कौराहा र गाउँको मौलिक संस्कृतिलाई पनि जोगाउनुपर्छ। ती केवल गीत होइनन्; ती त एउटा सभ्यताको स्मृति हुन्।
यदि यो यात्रामा मैले केही गर्नुपर्ने हुन्छ भने निसंकोच भन। मेरो ज्ञान, सीप र क्षमताले भ्याएसम्म म तिम्रो यात्राको सहयात्री बन्न चाहन्छु। किनकि तिमीले थालेको अभियान कुनै एक व्यक्तिको अभियान होइन; यो हाम्रो सामूहिक भविष्यको अभियान हो।
अन्त्यमा एउटा कुरा मात्र भन्न चाहन्छु—
म तिमीलाई असाधारण भन्न चाहन्नँ।
किनभने संसारका अधिकांश असाधारण कामहरू साधारण मानिसहरूले नै गरेका हुन्छन्। उनीहरूले अभावलाई गुरु बनाएका हुन्छन्, थकानलाई यात्राको हिस्सा मानेका हुन्छन् र संघर्षलाई सफलताको मूल्य ठानेका हुन्छन्। उनीहरूलाई प्रशंसाको भन्दा उद्देश्यको तिर्खा बढी हुन्छ।
तिमी पनि त्यस्तै साधारण मान्छे हौ—तर असाधारण सपना बोकेकी।
त्यसैले त मलाई तिमीमाथि विश्वास छ।
विश्वास छ—तिमी बाटो फेर्ने छैनौ।
विश्वास छ—तिमी गन्तव्य बिर्सिने छैनौ।
विश्वास छ—तिमीले एक दिन आफूभन्दा ठूलो सपना पूरा गर्नेछौ।
र त्यो दिन, तिम्रो सफलताको कथा केवल तिम्रो कथा हुनेछैन; त्यो समाजले समयमै नचिनेको एउटा साधारण मानिसको असाधारण यात्राको कथा हुनेछ।
सधैँ तिम्रो सफलताको प्रतीक्षामा।
उही तिम्रो शुभेच्छुक,
अंकल
जेल संघर्ष
२०८३ साउन ११ गते