डा. केदार कार्की
पृष्ठभुमी
मौसमी प्रतिकुलता जापनीज इन्सेफालाइटिस देखा पर्ने अनुकुल छ । जापानीज इन्सेफालाइटिस, भाइरसका कारणबाट हुने रोग मानीन्छ । प्राकृतिक रुपमा यस रोगको भाइरस मानीस, घोडा, पानीहाँस, फिरन्ते राजहाँस अनी वंगुरमा पाइन्छ । मानीस बाहेक अन्य जनावर तथा चराचुरिङ्गीमा यसले खास असर पुर्या,उदैन । मानिसमा भने घातक अवस्थामा रहेको यो भाइरस प्रवेश गरेमा लक्षण देखाउने मध्येका २५% विरामीले मृत्यु वरण गर्छन्, यो तथ्य विश्वव्यापी छ ।
यस रोगले घातक रुप लिनु अघि यो रोगका विषाणुहरुले, हाँस, पानीहाँस, वंगुर अनी मानिस त्यसपछि पनि यो चक्रपूरा गरी बास बस्दै पर्यटन गर्नु पर्छ । यीनको यो अवस्थाको परिवहनको ठेक्का/जिम्मा क्युलेकस प्रजातीको लामखुट्टेले लिएको तथ्य विश्वव्यापी देखिन्छ भने वंगुर प्रजातीले भने अन्य प्रजातीको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्ने गराउने प्रकृयामा थकित यस रोगका भाइरसलाई आरामदायी विश्रामस्थल उपलब्ध गराई तंग्य्राउने कार्यमा मद्दत गर्दछ । मानिसको शरीरमा पुगेका यस रोगका विषाणु वंगुरको शरीरमा आश्रयस्थल वा विश्रामस्थल पाएनन् भने यीनमा रोग लगाउने क्षमता नगन्य नै हुन्छ । रोग जनसमुदायमा भौतारिएका अवस्थामा यदि वातावरणमा क्युलेक्स लामखुट्टेको अनुपस्थिति भएमा यो रोगको प्रसार हुन सक्तैन ।
विश्वमा जुन सुकै भु—भागमा यो रोगले माहामारीको रुप लिएको देखिन्छ, यसको नियन्त्रणका लागी वंगुरको वंश निर्मुल पार्ने कुरा उठ्ने गरेको पाइन्छ । समग्रमा मानिसमा रोगको चक्र हेर्ने हो भने मानसिको शरीरमा पुगेको यस रोगका विषाणु मानिसमा रोगका निकासका क्रममा शिथिल भएका विषाणु लामखुट्टेले मानिसको शरीरमा टोकी ओसारेर वंगुरको शरीरमा पुर्यावए वंगुरले विश्रामस्थल दिइ तंग्य्राउने मात्र हो । वंगुर आफैले यो रोगको विषाणु सार्ने हैन । अनी वंगुर किन मार्नु पर्यो । त्यो सिमान्तकृत आदिवासी, जनजातीका मुख्य आयश्रोत सुकाउने गरी । यो रोग खास गरी त्यही समुदायमा बढी देखिन्छ जहाँ धान खेती, वंगुर पालन अनी मानीसको वस्ती भएको त्रिकोण मिलेको हुन्छ । यस्ता ठाउँमा क्युलेकस लामखुट्टेले पनि आप्mनो वासस्थान अनी वंश वृद्धि गर्ने स्थलको रुपमा रुचाउँछ । त्यसैले हाम्रा तराइका फाँटमा वर्षायामको शुरुताका यस रोगको प्रकोप वर्षेनी देखिन्छ, फरक यतीमात्र कुनै वर्ष माहामारी कै रुपमा अनी कुनै वर्ष फाट्टफुट्ट मात्र ।
वंगुरमा जापानीज इन्सेफालाइटिस रोग देखा परे
वंगुरमा यो रोग प्रायः जसो एसीया महादेशमा अवस्थित मुलुकमा विद्यमान छ । यसले वंगुर प्रजातीका सबै खाले उमेर समुहलाई असर गर्न सक्छ, तर गर्भिणी माउ, भर्खर जन्मेका पाठापाठी तथा व्याडका भाले वंगुर बढि प्रभावित हुन सक्छन् । कोरली तथा अधवैंसे उमेरका वंगुर भने यस रोगबाट प्रभावित हुदैनन् । यो रोग जापानीज वि. इनसेफालाइटिस भाइरसका कारण हुन्छ । मानिसको शरीरमा विचरण गरी रहेको यो भाइरस क्युलेकस प्रजातीको टोकाइबाट वंगुरमा सर्छ । जंगली हाँस प्रजातीका चरा यस भाइरसका भण्डारण घर मानीन्छ ।
वंगुरमा यस रोगका लक्षण
गर्भीणी अवस्थाका वंगुर तुहिने गर्छन्, यसरी तुहीएका वंगुरका पाठापाठी उमेर नपुगेका, जन्मीदै मरेका वा गर्भमा नै मरी कुहिएका हुन सक्छन् । साथै टाउकोमा जलग्रह, छाला पेटमा जलग्रह भएका हुन सक्छन् । व्याडका भाले वंगुरहरुमा भने प्रजनन् रुची नहुने, विर्यमा प्रजनन् क्षमता ह्रास हुने, अण्डकोष सुन्नीने वा खुम्चिएर सानो हुन सक्दछ । जसका कारण त्यस्ता व्याडका भाले राखिएका वंगुरका वथानका पोथहिरुमा बाँझोपनका समस्या देखिन गई प्रजनन् उत्पादन क्षमता घट्न सकछ ।
वंगुरमा यस रोगको निदान
यदि वंगुुरका वथानमा उमेर नपुगी साना आकार अनी संख्यामा तथा मरेका वा गर्भमा नै मरी कुहिएका पाठापाठी जन्मीन थाले भने यस रोगको शंका पो गर्ने हो कि ? यदि कुनै क्षेत्रमा मानिसमा जापानिज इन्सेफालाइटिस रोग देखा परेछ भने वंगुरको वथनमा यो रोग परेको आशंका रोग अनवेषणका लागी वंगुरको आवश्यक नमूना संकलन गरी प्रयोगशाला परिक्षण गरीनु जरुरी हुन्छ । अझ ख्याउटे न्यून संख्या वा मरे कुहिएका पाठापाठीबाट आवश्यक नमूना संकलन गरी यो भाइरस प्रयोगशालाबाट यकिन गरीनु त झनै बुद्धिमानी काम हुन्छ ।
उपचार संभव छैन?
रोकथाम
मानिस नियमित यो रोग देखिने क्षेत्रमा लामखुट्टेको प्रकोप बृद्धि हुने समय भन्दा २—३ हप्ता वंगुरका वथानलाई यस रोगका विश्रद्ध खोप पो दिने होला की ?
यसरी हालको वंगुर पालन व्यवशायको समग्र सिंहावलोकन गर्ने हो भने एउटा तथ्य हाम्रो आफ्नो नेपालको संदर्भमा छर्लङ्ग देखिन्छ । परम्परागत रुपमा यो पशुपालन व्यवशाय हाम्रा केहि सिमान्तकृत जाती जनजातीको आय आर्जनको प्रमुख पेशाको रुपमा देखिन्छ । यस बाहेक मुलुकमा भएको विगतको विविध खाले द्वन्दका कारण ग्रामीणक्षेत्रबाट बसाइ सराइ गर्ने समुदायले शहरी क्षेत्रका खाली ठाउँ, नदी किनारामा शरण लिंदा वैकल्पिक आयआर्जनका लागि वंगुर पालन गरेको देखिन्छ । यस बाहेक हाल मुलुकमा वर्षेनी मासुका लागी करिव १७ अरवमा विभिन्न खाले जीवित पशुपंक्षी भित्रिने गरेको संदर्भमा सो आयात प्रतिस्थापनका लागी सरकारी स्तरमा मासुजन्य उत्पाद वृद्धिका लागी पशुपालन क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दा बाख्रा, राँगा, भैंसी, कुखुरा तथा वंगुर पालनका लागि समेत सहुलियत स्वरुप क्रृण अनुदानको व्यवस्था गरेको छ । जसका कारण यो पेशा व्यवशायीकरण तर्फ उन्मुख छ ।
तसर्थ जापानीज इन्सेफालाइटिस रोग तथा अन्य रोगको नियन्त्रण्का नाममा सुंगुर, वंगुर प्रजाती मार्ने वा विस्थापन गर्ने हो भने ती विपन्न ग्रामीण क्षेत्रका जाती, जनजातीको प्रमुख आयश्रोत नै बन्द हुने स्थिति त आप्mनै ठाउँमा छ । अर्को तर्फ कुनै क्षेत्रमा वंगुर प्रजाती नष्ट गर्देमा रोग नियन्त्रण हुने पनि हैन किनभने क्युलेकस लामखुट्टेले १२ कि. मी. टाढा पुग िरोग सार्न सक्ने क्षमता राखेको तथ्य अष्ट्रेलिया तिरका अनुसन्धानकर्ताले पुष्टी गरेका छन् ।
तसर्थ यो रोग प्रभावित क्षेत्रमा वंगुरपालन व्यवशायलाई व्यवस्थित गर्ने, बढि रोग देखिने क्षेत्रमा नियमीत अनुगमन एवं वंगुरका वथानलाई नियमित खोप दिने साथै मानिसलाई पनि रणनितिक रुपमा खोप दिनुका साथै ग्रामीण क्षेत्रमा बेलैमा लामखुट्टे नियन्त्रण एवं लामखुट्टेको टोकाइबाट बच्ने हो भने मात्र पनि हामी जापानीज इनसेफालाइटिस रोगको त्रासबाट मुक्ती पाउन सक्छौं । अनी भन्न सक्छौं, लैण्डरस, योकसायस, धराने कालो वंगुरको गोठ, मासु बेच्दा बेच्दै हातभरी नोटै नोट ।