८भदौ, गुल्मी
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ स्थित ठूलो लुम्पेकमा अभिभावक–बालबालिका बाह्य सिकाइ कार्यक्रम तथा ‘बालबालिकाको सिकाइ र रैथाने परिकारको पुनरागमन’ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। धर्मपुर प्राथमिक विद्यालय रJigyasha School Transformation Partnership को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
बालबालिका, अभिभावक र शिक्षकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै कक्षाकोठाभन्दा बाहिर पनि सिकाइका अवसर सिर्जना गर्ने, स्थानीय संस्कृति, सहकार्य र व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रशिक्षक पासाङ्ग सिंजालीले जानकारी दिनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा आदिवासी जनजाति महासंघ, समन्वय परिषद गुल्मीका अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठले बालबालिकाको सिकाइ कक्षाकोठामा मात्र सीमित हुन नहुने बताउनु भयो। वहाँले अभिभावक, शिक्षक र बालबालिकाबीचको सकारात्मक सम्बन्धले सिकाइलाई प्रभावकारी बनाउने भन्दै स्थानीय स्रोत, संस्कृति र परिवेशलाई प्रयोग गरेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो। प्रमुख अतिथि श्रेष्ठले बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील र व्यवहारिक बनाउन विद्यालय, परिवार र समुदायले अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

धर्मपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक बल बहादुर राहादीले बालबालिकाको सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी व्यवहार र दैनिक जीवनसँग जोड्न आवश्यक रहेको बताउनु भएको थियो । प्रधानध्यापक राहादीले अभिभावक, शिक्षक र समुदायको सहकार्यबाट बालबालिकाले स्थानीय परिवेशमै धेरै कुरा सिक्न सक्ने भएकोले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँने विश्वास व्क्त गर्नु भएको थियो।
यसैगरी अध्येता तथा लेखक खोमा तरामु मगरले रैथाने परिकार हाम्रो संस्कृति, पहिचान र पुर्खाको ज्ञानसँग जोडिएको उल्लेख गर्दै पछिल्लो समय हराउँदै गएका स्थानीय खानाका परिकारलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम उपयोगी हुन बताउनु भएको थियो । बालबालिकालाई स्थानीय खाद्य संस्कृति, यसको महत्व र परम्परागत ज्ञानसँग जोड्दै रैथाने परिकारको संरक्षण र पुनरागमनमा सबैले भूमिका खेल्नमा अभिभावकको अहम भूमिका रहने कुरा लेखक तरामु मगरले उल्लेख गर्नु भयो।

कार्यक्रममा बालमैत्री सिकाई केन्द्रका अभिभावक बेल बहादुर थापाले कार्यक्रममा स्थानीय स्रोत र सीपको प्रयोगबाट तयार गरिएका रैथाने खाना तथा परिकार र उत्पादनबारे जानकारी दिनु भएको थियो। अभिभावक थापाले स्थानीय रुपमा उत्पदान हुने रैथाने परिकार स्वास्थ्य, संस्कृति र स्थानीय अर्थतन्त्रसँग पनि जोडिने भएकोले स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न सके गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने शिक्षा प्रति बालबालिकाहरुमा बढी केन्द्रित गराउनु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रममा मन्टेश्वरी प्रशिक्षक पासाङ्ग सिंजालीले कक्षा कोठा भित्रको सिकाईलाई व्यबहारिक ज्ञानसंग जोड्न बाह्य सिकाई कार्यक्रम निकै प्रभावकारी हुने विचार उल्लेख गर्नु भएको थियो। बालबालिकाको शिक्षा र समग्र विकासका लागि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गर्दै प्रशिक्षक सिंजालीले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनमा कार्यक्रम अझ प्रभावकारी बन्ने बताउनु भयो।
कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै धर्मपुर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामु मगरले बालबालिकाको सिकाइलाई जीवनोपयोगी र व्यवहारिक बनाउन विद्यालय, परिवार तथा समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताउनु भयो। बालबालिकाको सिकाइलाई जीवन र समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गदै विद्यालयले मात्र नभई अभिभावक र समुदायले पनि बालबालिकाको सिकाइमा भूमिका निर्वाह गर्नु पर्नेमा अध्यक्ष तरामु मगरले जोड दिनु भएको थियो।

ठूलो लुम्पेकको ऐतिहासिक हचिनकोट दरवार क्षेत्रमा भएको कार्यक्रममा शिक्षक, अभिभावक, बालबालिका तथा स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा स्थानीय संस्कृति, रैथाने परिकार र व्यवहारिक ज्ञानलाई शिक्षासँग जोड्दा बालबालिकाको सिकाइ थप प्रभावकारी, सिर्जनात्मक र जीवनोपयोगी बन्न सक्ने स्थानीय अभिभावकहरुले अपेक्षा गरेका छन।
धर्मपुर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामु मगरको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रदिपा थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न जाती तथा समुदायको भेषभूषामा सहभागी बनाई विविधतामा एकताको सन्देश समेत प्रवाह गरिएको थियो ।