११ असार, एजेन्सी ।
सन् २०१२ मा विश्व बैंकले बङ्गलादेशको सबैभन्दा लामो पुल निर्माणमा दिने भनेको १.२ अर्ब डलरकोऋण रद्द गर्यो । त्यसबेला विश्व बैंकले ‘परियोजनामा भईरहेको भ्रष्टाचारका प्रमाणहरूलाई आफूले अनदेखा गर्न नसक्ने र नहुने’ प्रतिक्रिया दिएको थियो । बङ्गलादेशको सरकारले भने विश्व बैंकले लगाएको भ्रष्टाचारको आरोपलाई खण्डन गरिरह्यो । पछि देशकी प्रधानमन्त्री शेख हसिनाले सरकारले आफ्नै कोषबाट पुल निर्माण गर्ने बताइन् । काम सुरु भएको आठ वर्षपछि आज(जुन २५) बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशकै लामो पद्मा नदी पुल उद्घाटन गरिन् । ६ किमीभन्दा लामो यो पुल बनाउन ३ अर्ब ८७ करोड अमेरिकी डलर खर्च भएको सरकारले बताएको छ ।
पद्मा पुल बङ्गलादेशमा निर्माण भएको सबैभन्दा ठुलो र सबैभन्दा चुनौतीपूर्ण पूर्वाधार योजना हो । यसले देशका आधा जनसङ्ख्या अर्थात ८ करोड मानिसलाई जोड्नेछ भने देशको कुल ग्राहस्थ उत्पादन वृद्धिमा योगदान गर्ने बताइदैछ । देशको दक्षिण–पश्चिमलाई देशको राजधानीसँग जोड्ने पुलले आवगमन, व्यापार, र समग्र रूपमा बङ्गलादेशको अर्थतन्त्रलाई अभूतपूर्व बढावा दिने अपेक्षा गरिएको छ । पुल पूर्ण रूपमा सञ्चालन आउन थालेपछि यसले समग्र देशको कुल ग्राहस्थ उत्पादन १.२३ प्रतिशत र दक्षिण–पश्चिम भेगको कुल ग्राहस्थ उत्पादनले २.३ प्रतिशतले बढ्ने सरकारले अनुमान गरेको छ । यसले नाटकीय रूपमा ढाका र दक्षिणका सहरहरू खुलना, जेसोर र बरिसालबीचको दूरी छोट्याउनेछ ।
बङ्गलादेशको तुलनात्मक कम विकसित दक्षिण–पश्चिम भेग र अधिक विकसित पूर्वी भेगबीच सडक र रेल सज्जाल निर्माण भएपछि पुलले क्षेत्रीय बजारहरूको ठुलो एकीकरण गर्ने विज्ञको अपेक्षा छ । पुलमा रहेको रेलवे सेवा सुचारु भएपछि ९जुन मार्च २०२४ बाट सुरु हुने बताइएको छ० ढाका र कोलकाताबीचको यात्रा समेत साढे तीन घण्टा भित्र गर्न सकिनेछ । यसले बङ्गलादेश र भारतबीचको व्यापारमा ठुलो परिवर्तन ल्याउनेछ । तर अहिलेको लागि अधिकांश बङ्गलादेशी नागरिकका लागि पद्मा पुल राष्ट्रिय गौरवको पूर्वाधार बनेको छ । यसले प्रगतिको पथमा लम्किरहेको तिनको मुलुकको सबलतालाई प्रतिबिम्बित गरेको तिनको विश्वास छ । पद्मा पुल चिनियाँ सरकारी स्वामित्वमा रहेको चाइना रेलवे समूहको सहायक कम्पनी ‘चाइना मेजर ब्रिज इन्जिनियरिङ कम्पनी’ले निर्माण गरेको हो।
कम्पनीले मे २०१४ मा पुल निर्माणको ठेक्का पाएको थियो । उसले सबैले प्रस्ताव गरेभन्दा कम अर्थात १.५५ अर्ब डलरको प्रस्ताव गरेपछि ठेक्का हात पारेको थियो । निर्माण कार्य सोही वर्ष वर्ष नोभेम्बरबाट सुरु भयो । मुख्य पुल ६.१५ किमी लामो छ भने पुलको दुई तर्फको सडकको लम्बाइसमेत गरेर कुल लम्बाई ९.८३ किमी छ । २१.६५ मिटर चौडाइ रहेको माथिल्लो डेकमा चार लेनको राजमार्ग हुनेछ भने तल्लो डेकमा डुअल गेज रेलवे लाइन हुनेछ ।
सन् २०१६ देखि पुल निर्माणमा संलग्न बङ्गलादेश ब्रिज अथोरिटीका इन्जिनियर अहमद अहसान उल्लाह मजुमदारले परियोजनाले विभिन्न इन्जिनियरिङ चुनौती सामना गरेको बता ।‘गंगा–पद्मा–ब्रह्मपुत्र नदी प्रणालीले विश्वमै सबैभन्दा ठुलो परिमाणको पानी बोक्छ । यहाँको बलौटे किनारहरू निरन्तर बढ्छन्, खस्छन् र सर्छन् । पानीको बलियो धार निर्माणको लागि अर्को जटिल समस्या रह्यो ,’मजुमदारले भने ।
पुलमा ४२ वटा खम्बा रहेको र त्यसमध्ये ४० नदीमा र दुई वटा नदी र जमिनबीचको भागमा रहेका मजुमदारले बताए । पुललाई नदीमा आवतजावत गर्ने ठुला जहाजहरू पनि पुलमुनिबाट जान सक्ने गरी पर्याप्त उच्च बनाइएको छ ।