११ भदौ, काठमाडौँ ।
नेपालको उत्तरी हिमाली क्षेत्र यतिबेला जलवायु परिवर्तनको सबैभन्दा क्रूर चपेटामा परेको छ । बुधबार रसुवामा आएको भीषण बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई स्तब्ध बनाएको छ । हालसम्म ९५ जनाको मृत्यु भइसकेको (यो समाचार प्रकाशित गर्दासम्म) र सयौँ मानिस अझै बेपत्ता छन् । अर्बौँका संरचना क्षणभरमै ध्वस्त भएका छन् ।
यो घटना केवल एउटा प्राकृतिक विपद् नभएर हिमाली क्षेत्रमा निरन्तर सिर्जना भइरहेको ठुलो पर्यावरणीय संकटको परिणाम हो । गत वर्ष पनि यही बाढीकै घटना बेहोरेको रसुवा र नेपालका लागि यो पटकको धक्का निकै गम्भीर भयो ।
चीनको तिब्बत क्षेत्रबाट सुरु भई त्रिशूली नदीमा मिसिएको यस विनाशकारी बाढीको भित्री कारण पहिल्याउन यतिबेला वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सक्रिय छन् । चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका नेपाली अनुसन्धानकर्ता नितेश खड्काका अनुसार प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फको भू–भागमा एउटा ठुलो हिमपहिरो खसेर नदी थुनिएको संकेत गरेको छ ।
तिब्बतको जिलोङ काउन्टी अर्थात् केरुङ क्षेत्रमा पर्ने दोङलिङ साङ्पो खोलामा पहिरो खसेर केही समय नदी थुनिएपछि बनेको अस्थायी ताल फुट्दा त्रिशूलीमा अचानक यो प्रलयकारी बाढी आएको अनुमान गरिएको छ । यद्यपि, त्यस क्षेत्रमा साना–साना हिमतालहरू मात्र रहेकाले एउटै मात्र ताल फुट्दा यति ठुलो क्षति हुन सम्भव नहुने हुँदा यो विपद् बहुआयामिक कारणहरूको संयुक्त प्रभाव हुन सक्ने खड्काको विश्लेषण छ ।
खड्काका अनुसार बाढीको प्रकृतिलाई भारतको उत्तराखण्डस्थित चामोलीमा सन् २०२१ मा भएको भीषण हिमपहिरोको घटनासँग तुलना गर्न सकिन्छ । सिक्किमको दक्षिण लोनाक ताल फुटेजस्तो ठुलो हिमताल त्रिशूलीको आसपास नभएकाले वर्षायाममा नदी थुनिएर पानीको बहाव घटेको तत्काल थाहा नभएको र पछि त्यो अवरोध एकैपटक खुल्दा तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आएको बुझिन्छ । यस क्षेत्रको वास्तविक वस्तुस्थिति बुझ्न र थप तथ्यहरू बाहिर ल्याउन भू–उपग्रहबाट प्राप्त तस्बिरहरूको सहयोग लिने प्रयास भइरहेको छ । मनसुनी बादल हटेर सफा तस्बिरहरू प्राप्त भएपछि मात्रै यस घटनाको वास्तविक उत्पत्तिको थप स्पष्ट चित्र बाहिर आउने अनुसन्धानकर्ताहरू बताउँछन् ।

२५ प्रतिशत बढ्यो हिमताल, बन्दैछन् 'टाइम बम'
तथ्याङ्कीय इतिहासलाई हेर्दा सन् १९५० को दशकदेखि नै विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमतालहरू बन्ने र तिनको आकार फैलिने क्रम तीव्र गतिमा भइरहेका छन् । सन् १९८७ देखि २०१७ सम्मको तीन दशक लामो अध्ययनले हिमतालहरूको क्षेत्रफल करिब २५ प्रतिशतले बढेको देखाएको छ । अनुसन्धानकर्ता खड्काका अनुसार यी हिमतालहरू अहिले ‘टाइम बम’ जस्तै संवेदनशील अवस्थामा छन्, जो जुनसुकै बेला विस्फोट हुन सक्छन् । त्रिशूली, भोटेकोशी, तामाकोशी, मर्स्याङ्दी र अरुणजस्ता नेपालका प्रमुख नदीहरूको ठुलो जलाधार क्षेत्र तिब्बतमा रहेकाले सीमापारि हुने साना वातावरणीय हलचलले पनि नेपालमा सधैँ उच्च जोखिम सिर्जना गरिरहेको हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले हिमाली क्षेत्रको भयावह अवस्था थप प्रस्ट पार्छ । प्राधिकरणका अनुसार २०६८ देखि २०८२ सालसम्म १४ वर्षको अवधिमा नेपालमा ४५ वटा ठुला हिमपहिरोका घटना अभिलेख गरिएका छन् । यी घटनाहरूमा परेर ६२ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् । ६४ जना घाइते भएका यी घटनाहरूले हिमपहिरोको संख्या कम देखिए पनि यसले पुर्याउने मानवीय क्षति निकै गम्भीर र अपूरणीय रहेको पुष्टि गर्छन् । यस विपद्को प्रभाव पर्वतारोहीहरूमा मात्र सीमित छैन, बरु उच्च हिमाली क्षेत्रमा पुस्तौँदेखि बसोबास गर्दै आएका स्थानीय समुदाय अहिले आफ्नो अस्तित्व जोगाउने सङ्घर्षमा छ ।
हिमाली क्षेत्रमा हिमपहिरोसँगै हिउँहुरीको प्रकोप पनि कम छैन । पछिल्लो १४ वर्षमा भएका १० वटा ठुला हिउँहुरीमा परेर १७ जनाले ज्यान गुमाइसकेका छन्, जसमा धेरैजसो पदयात्री र स्थानीय गोठालाहरू छन् । यस तथ्याङ्कले मानवीय क्षतिको दर्दनाक तस्बिर मात्र देखाउँदैन, बरु नेपालको हिमाली अर्थतन्त्रको मुख्य खम्बा मानिने पर्यटन व्यवसाय र पर्वतारोहण क्षेत्र कसरी क्रमिक रूपमा असुरक्षित बन्दै गइरहेको छ भन्ने सङ्केत पनि गर्छ ।
सन् २०७८ सालमा मेलम्चीमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा भएको वातावरणीय परिवर्तनले तल्लो तटीय क्षेत्रमा कस्तो प्रलय ल्याउन सक्छ भन्ने कुरा यसअघि नै प्रमाणित गरिसकेको थियो ।

४७ तालहरू विस्फोटको जोखिममा
प्राधिकरण र इसिमोडको संयुक्त अध्ययन अनुसार नेपालका मुख्य नदी प्रणालीहरू कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा कुल ३ हजार ६ सय २४ वटा हिमताल छन् । तीमध्ये ४७ वटा तालहरू यस्ता छन्, जुनसुकै बेला विस्फोट हुन सक्ने र तिनलाई ‘अति उच्च जोखिम’को सूचीमा राखिएको छ । अझ चिन्ताको विषय के छ भने यी ४७ जोखिमयुक्त तालमध्ये २५ वटा चीनको तिब्बत क्षेत्रमा अवस्थित छन् । यदि तिब्बतमा रहेका ती ताल फुटे त्यसको प्रत्यक्ष र विनाशकारी असर नेपालका भोटेकोशी, सुनकोशी, तामाकोशी र त्रिशूली जस्ता नदी किनारका ३ हजारभन्दा बढी घरमा पर्ने सुनिश्चित छ । यी तटीय बस्तीहरू अहिले प्राकृतिक विष्फोटकको सिधा मार्गमा रहेका छन्, तर तिनलाई बचाउने वा पूर्वसूचना दिने प्रभावकारी संयन्त्रको अझै अभाव देखिन्छ ।
जोखिम केवल ठुला र पहिचान भएका हिमतालहरूबाट मात्रै छैन भन्ने कुरा पछिल्लो समय हिमनदीको सतहमाथि बन्ने अस्थायी ‘सुप्रा ग्लेसियल’ तालहरूको व्यवहारले देखाएको छ । सोलुखुम्बुको थामेमा गत वर्ष आएको आकस्मिक बाढी यस्तै प्रकृतिको थियो । तापक्रम वृद्धिका कारण हिमनदीको सतहमा साना–साना पोखरीहरू बन्ने र ती एकापसमा जोडिएर अचानक फुट्दा तल्लो क्षेत्रमा ठुलो लेदोसहितको बाढी आउने गरेको छ । नेपालका ३ हजारभन्दा बढी घरहरू यस्ता अस्थायी तालहरूको सिधा जोखिम रेखाभित्रै पर्छन्
विज्ञहरूका अनुसार विगत पल्टाएर हेर्ने हो भने नेपालमा हिमपहिरो र हिमाली विपद्को जोखिम पछिल्ला दशकहरूमा झनै तीव्र गतिले बढेको पाइन्छ । ‘जर्नल अफ टुरिजम एण्ड हिमालय एड्भेन्चर’ मा प्रकाशित प्रतिवेदन अनुसार सन् १९२२ देखि २०२० सम्मको एक शताब्दीमा ६० वटा ठुला हिमपहिरोबाट मात्रै ३७२ जनाको ज्यान गएको छ । पछिल्लो समय हिमताल विस्फोटको घटनाहरू बढ्न थालेका हुन् ।
राष्ट्रियसभाको दिगो विकास उपसमितिले तयार पारेको ‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ ले झनै डरलाग्दो तथ्य उजागर गरेको थियो । डा. अन्जान शाक्य संयोजकत्वको उपसमितिले नेपालले अहिले वातावरणीय मात्र नभई आर्थिक र मानवीय क्षेत्रमा समेत ‘बहुआयामिक संकट’ भोगिरहेको निष्कर्ष निकालेको छ ।
_DqXGRzOIfi.webp)
खतरनाक बन्दैछछन् ‘इन–ग्लेसियर च्यानल’
काठमाडौँ विश्वविद्यालयका हिमताल तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थका अनुसार विगत केही वर्षयता नेपालका हिमाली क्षेत्रहरूमा प्रकृतिले आफ्नो स्वरूप नाटकीय रूपमा बदल्न थालेको छ । विगतमा केवल सौन्दर्यको प्रतीकका रूपमा हेरिने हिमालहरू आज विभिन्न प्राकृतिक विपदका स्रोत बन्दै गएका छन् । २०७८ सालको मेलम्ची बाढीदेखि अहिलेसम्म आइपुग्दा नेपालले थुप्रै साना–ठुला हिमपहिरो र हिमताल विस्फोटका घटनाहरू भोगिसकेको छ । अहिले जोखिमको स्वरूप परिवर्तन भई हिमनदीभित्रै रहेका साना–साना पोखरीहरू र हिमनदीको सतहमा जमेका पानीहरू झन् खतरनाक साबित भइरहेका छन् ।
तापक्रम वृद्धिका कारण हिमनदीभित्रका प्राकृतिक पाइपजस्ता संरचना अर्थात् ‘इन–ग्लेसियर च्यानल’ हरू तातेर ठुला हुन्छन् र तिनले एकैपटक धेरै पानी तल पठाउँदा तल्लो तटीय क्षेत्रमा विनाश निम्तने गर्छ । रसुवा र मुस्ताङमा देखिएका बाढीका घटनाहरू यसकै परिणाम हुन् । हिमाली क्षेत्रको तापक्रम विश्वको औसत तापक्रम वृद्धिभन्दा झन्डै तीन गुणा बढी दरले बढिरहेको छ । हिमनदीमा रहेको हिउँ र बरफको तापक्रम सामान्यतया शून्यदेखि माइनस ५ डिग्री सेल्सियसको आसपास हुने गर्छ, तर जब तापक्रम सामान्य रूपमा बढ्छ, बरफहरू तीव्र गतिमा पग्लिन थाल्छन् र भित्र थुप्रिएको पानी एकैपटक बाहिर निस्कन्छ ।
दुर्गम स्थानमा रहेका हिमनदी र तिनको आकारमा भइरहेको परिवर्तनको जानकारी हरेक हप्ता वा हरेक दिन अद्यावधिक हुन जरुरी रहेको कायस्थको तर्क छ । विशेषगरी मनसुनको समय र तापक्रम बढ्ने वैशाखदेखि भदौसम्म यसलाई अझ बढी सक्रिय बनाइनुपर्छ ।
श्रोत :रातो पाटी