१४ साउन, कञ्चन
मानव बेचबिखन तथा मानव तस्करी सम्बन्धी सचेतना सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ आज रुपन्देहीको कञ्चनमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस–२०२६ अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय रुद्रपुर, रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचविखन जस्तो जघन्य अपराधको अन्त्य गर्न सबै सरोकारवाला पक्षहरुको सहकार्य र समन्व हुनुपर्नेमा जोड दिएका छन।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले मानव बेचबिखन मानवताको विरुद्धको गम्भीर अपराध भएको र यसले व्यक्तिको स्वतन्त्रता, सम्मान र भविष्य खोस्ने काम गर्ने बताउनु भएको थियो। मानव बेचविखन नियन्त्रणका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै अध्यक्ष ढकालले महिला, बालबालिका तथा वैदेशिक रोजगारीका नाममा ठगीमा पर्ने जोखिममा रहेका नागरिकलाई सचेत बनाउनु आजको आवश्यकता रहेको बिचार व्यक्त गर्नु भएको थियो । समुदायस्तरबाटै सचेतना, शिक्षा र निगरानीलाई प्रभावकारी बनाउन सके मात्र यस्ता अपराध न्यूनीकरण गर्न सकिने अध्यक्ष ढकालले उल्लेख गर्नु भएको थियो।
यसैगरी कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले महिला, बालबालिका तथा सबै नागरिकको सुरक्षा, अधिकार र सम्मानप्रति गाउँपालिका प्रतिबद्ध रहेको र मानव बेचबिखन रोकथामका लागि सचेतना कार्यक्रम, क्षमता विकास, विद्यालय तथा समुदायसँगको समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता रहेको बताउनु भएको थियो।
उपाध्यक्ष थापा मगरले विशेषगरी अभिभावक, युवा तथा किशोरीहरूलाई सुरक्षित वैदेशिक रोजगारी, शिक्षा र कानुनी प्रक्रियाबारे जानकारी गराउनु आजको आवश्यकता रहेको समेत बताउनु भएको थियो।
यसैगरी कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले मानव बेचबिखन कुनै एउटा व्यक्ति वा परिवारको मात्र समस्या नभई यो सम्पूर्ण समाजको चुनौती भएको उल्लेख गर्नु भएको थियो।
निवर्तमान अध्यक्ष क्षेत्रीले मानव बेचविखनको अन्त्यका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको र गाउँ–समाजमै सचेतना अभिवृद्धि गर्दै जोखिममा रहेका नागरिकको पहिचान, संरक्षण र सशक्तीकरणमा जोड दिनुपर्नमा जोड दिनु भएको थियो।
यस्तै रुपन्देही जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश अर्यालले मानव बेचबिखन संगठित अपराध हो, जसले मानव अधिकारको गम्भीर उल्लङ्घन गर्दछ भन्दै यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय तह तथा सम्बन्धित सबै निकायबीच निरन्तर समन्वय आवस्यक पर्ने विचार व्यक्त गर्नु भएको थियो।
मानव बेचबिखनका घटनाहरू रोक्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकको सचेतना अत्यन्त आवश्यक छ। कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराई अपराध नियन्त्रणमा सहयोग गर्न समेत प्रजिअ अर्यालले सबैमा अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रुद्रपुर, रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङ्गले मानव बेचबिखन सम्बन्धी प्रस्तुतीकरण गर्दै विश्वमा हुने मानव बेचविखनको प्रकृति र त्यसको समाधानको उपायहरुबारे आफ््नो अनुभव प्रस्तुत गर्नु भएको थियो। प्रहरी निरीक्षक तामाङ्गले कार्यक्रममा मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय अभ्यास, मानव बेचबिखनका नयाँ स्वरूप, अपराधीहरूले अपनाउने तरिका तथा त्यसबाट सुरक्षित रहने उपायहरूबारे प्रस्तुत गर्नुभयो।
प्रहरी निरीक्षक तामाङ्गले सन् 2024 अक्टोबर 28 मा इन्टरपोलद्वारा आयोजित "12th Interpol Global Human Trafficking & Migrant Smuggling Conference for experts groups" बेलग्रेड, सर्बियामा आयोजित सेमिनारमा समेत सहभागिता जनाउनु भएको थियो।
हरैया बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रक्रमा रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले मानव बेचबिखन एउटा गम्भीर संगठित अपराध मात्र नभई मानव अधिकारमाथिको जघन्य उल्लङ्घन भएको कुरा बताउनु भयो। यस अपराधले विशेषगरी महिला, बालबालिका, युवा तथा आर्थिक रूपमा विपन्न समुदायलाई बढी प्रभावित पार्ने गरेको र यसको रोकथाम केवल प्रहरीको जिम्मेवारी मात्र होइन, परिवार, समुदाय, स्थानीय सरकार, विद्यालय, सञ्चारमाध्यम तथा सरोकारवाला सबै निकायको साझा दायित्व भएको प्रहरी उपरीक्षक शाहीले बताउनु भयो।
प्रहरी उपरीक्षक शाहीले नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउने, सूचना संकलन गर्ने, पीडितको उद्धार तथा अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको समेत जानकारी दिनु भएको थियो।
कञ्चन गाउँपालिका, सुनगाभा सामुदायिक विकास केन्द्र, कञ्चन साथी सञ्जाल र हरैया बहुमुखी क्याम्पसको सहकार्य तथा समन्वयमा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्था, शैक्षिक संस्था, सञ्चारकर्मी तथा स्थानीय प्रतिनिधिहरु सहित करिब ४०० जना व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।