
४ असार, बुटवल
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजना, नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा आगामी असार ६ र ७ गते बुटवल, रुपन्देहीमा “चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३” आयोजना हुने भएको छ ।
“संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” भन्ने मूल नारासहित तथा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” भन्ने उपनारासहित आयोजना हुन लागेको उक्त सम्मेलनले नेपाली मिडिया क्षेत्रले हाल भोगिरहेका आर्थिक, नीतिगत, प्राविधिक तथा संरचनागत चुनौतीहरूबारे व्यापक छलफल गर्नेछ ।
नेपाली मिडिया उद्योग, विशेषगरी छापा सञ्चारमाध्यम, पछिल्ला वर्षहरूमा विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च, पाठक तथा दर्शकको बदलिँदो व्यवहार तथा राजस्व स्रोतको कमीका कारण गम्भीर संकटको सामना गरिरहेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलनको मुख्य उद्देश्य सरकारी विज्ञापन नीतिमा आवश्यक सुधारका लागि साझा धारणा निर्माण गर्नु, मिडियाका लागि वैकल्पिक राजस्व स्रोतहरूको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र साझा सहकार्य र एकताको वातावरण सुदृढ गर्नु रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यका विषयमा कार्यपत्र प्रस्तुति, विषयगत छलफल, प्यानल बहस तथा खुला अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला आयोजना गरिनेछ, जहाँ दैनिक पत्रिकाहरूले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुनेछ ।
सम्मेलनको समापनमा “बुटवल घोषणा–२०८३” जारी गरिनेछ । उक्त घोषणामार्फत नेपाली मिडिया उद्योगको दिगोपन, विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिनेछ ।
यसैगरी सम्मेलनले सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न सम्बन्धित निकायहरूसँग पहल गर्ने अपेक्षा राखिएको छ ।
सम्मेलनमा देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने छ ।
नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणका लागि सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।