‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि वैदेशिक आर्थिक लेनदेन र राजनीतिक बेइमानीको गम्भीर आरोप लगाएका छन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रसाईले लिङ्देनले विदेशी संस्थाहरूबाट रकम लिएर राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई केवल 'कमाई खाने भाँडो' बनाएको दाबी गरे ।
प्रसाईले लिङ्देन र राप्रपा वैदेशिक संस्थाहरूको एजेन्ट बनेको आरोप लगाउँदै भने, "एनइडीको पैसा खाएर, एनआइडीको मेम्बर बनेर, बारबार फाउन्डेसनको पैसा खाएर राजसंस्था आउँछ?" ।
उनले राप्रपा वैदेशिक संस्थाको सदस्य रहेको दाबी गर्दै थपे, "राप्रपा त एनआइडीको मेम्बरै हो नि, राप्रपा नै हो"। प्रसाईले यसबारे आफूसँग भिडियो प्रमाण समेत रहेको दाबी गरेका छन्। उनले भने, "म भिडियो नै दिउँला, क्लिप नै दिउँला, प्रमाणै छ" ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई निष्ठापूर्वक नबोकेको प्रसाईको आरोप छ। लिङ्देनको शैलीप्रति लक्षित गर्दै उनले भने, "राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा स्थापित गराउन होइन, चुनावमा भोट माग्न मात्रै बोक्छन्। चुनाव जितेर ठाउँमा पुगेपछि यी सबै चिज लगेर कुनामा थन्काइदिन्छन् र कमाउ धन्दामा लाग्छन्"। उनले राप्रपाका नेताहरूले राजाको फोटो शिरमा राखेर भोट माग्ने तर सत्तामा पुगेपछि मुद्दा बिर्सने गरेको टिप्पणी गरे ।
प्रसाईले २०८१ चैत १५ को आन्दोलनमा राप्रपाले आफूलाई धोका दिएको र अन्य दलका नेताहरूसँग मिलेर आफ्नो ह*त्या गर्ने निर्णय गरेको समेत आरोप लगाए [६]। उनले भने, "कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका प्रचण्ड र राप्रपाका राजेन्द्र लिङ्देन बसेर दुर्गा प्रसाईलाई मा*र्ने निर्णय गरे" । राप्रपालाई आफ्नो अभियानका कारण 'सौता' आएको जस्तो लागेको र आफ्नो 'कमाई खाने भाँडो' सकिने डरले धोका दिएको प्रसाईको तर्क छ ।
लिङ्देनले भ्रष्टाचारलाई 'आमाको र*गत खानु सरह' भनेर दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै प्रसाईले प्रश्न गरे, "राजेन्द्र दाईका पाँच वटा आमा थिए, कुन आमाको कसम खाएको? कसम खान सजिलो छ। देश र आमा माथि गद्दार गर्नु भनेको त्यो भन्दा ठुलो अपराध केही होइन" । उनले लिङ्देन र राप्रपाका पूर्व अध्यक्ष कमल थापाले मन्त्री बन्नकै लागि राजसंस्था र धर्म फालेको र अहिले फेरि सोही मुद्दामा राजनीति गरिरहेको आरोप लगाए ।
प्रसाईले अब आफू धबल शमशेर राणासँग मिलेर नयाँ राजनीतिक शक्ति निर्माणको दिशामा अघि बढ्न लागेको र अबको आन्दोलनले व्यवस्था नै परिवर्तन गर्ने दाबी समेत गरे ।