१ असार, बुटवल
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीको ८औँ जिल्ला अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले आदिवासी जनजाति समुदायको हक, अधिकार, भाषा, संस्कृति, पहिचान तथा सामाजिक न्यायको संरक्षण र प्रवर्द्धनमा महासंघले खेलेको भूमिकाको समीक्षा गर्दै यस अघि बरिष्ठ उपाध्यक्ष रहनु भएका आशा तमुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा ईन्द्र राई, अरुणा श्रेष्ठ र नेत्रलाल थारु, सचिवमा मीन सारु मगर, कोषाध्यक्षमा कृष्णबहादुर छन्त्याल, तथा सहसचिवमा शम्भु मोक्तान, धर्मेन्द्र शेरचन र रामानन्द कुमाल चयन भएका छन ।
नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आदिवासी जनजाति समुदाय नेपालको मौलिक सभ्यता, संस्कृति र सामाजिक विविधताको महत्वपूर्ण आधार भएको बताउनुभयो।आदिवासी जनजातिहरूले देशको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै स्थानीय तहले समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणका लागि सहकार्यलाई प्राथमिकता दिएको नगर प्रमुख पाण्डेयले बताउनुभयो।
समावेशी विकास, सामाजिक न्याय र समान अवसरको सुनिश्चितताका लागि आदिवासी जनजाति समुदायको सक्रिय सहभागिता आवश्यक रहेको कुरा उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले शिक्षा, सीप विकास, युवा सशक्तीकरण तथा सांस्कृतिक संरक्षणमा महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश समन्वय परिषद्का अध्यक्ष जित बहादुर तरामु मगरले आदिवासी जनजाति समुदायको अधिकार स्थापित गर्न संगठनात्मक एकता अपरिहार्य रहेको बताउनुभयो। संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि समुदाय अझ सशक्त रूपमा संगठित हुनुपर्नेमा जोड दिदै अध्यक्ष तरामु मगरले भाषा, संस्कार, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षणसँगै नयाँ पुस्तालाई नेतृत्व विकास र शिक्षामा जोड्नुपर्ने आवश्यकता औँल्याउँनु भएको थियो।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शंकर गाहा मगरले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो।
नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष थर्क बहादुर बाह्रघरे मगरले शिक्षा, सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, युवा नेतृत्व विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको थियो।
नेपाल आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ तिलोत्तमाकी अध्यक्ष दिलमाया गुरुङले आदिवासी जनजाति समुदायको एकता, पहिचान र अधिकार संरक्षणका लागि महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभएको थियो।
महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत कार्यकालमा आदिवासी जनजाति समुदायको हकहित, पहिचान, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य भएको जानकारी दिनुभयो। समुदायका युवालाई नेतृत्व विकास, शैक्षिक अवसर तथा सीपमूलक कार्यक्रमसँग जोड्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले विभिन्न जातीय संस्थाहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै सामाजिक सद्भाव तथा साझा अधिकारका सवालमा महासंघ निरन्तर सक्रिय रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
महासंघका अध्यक्ष चित्रलाल तुलाचनको अध्यक्षतामा भएको अधिबेशनमा बरिष्ठ उपाध्यक्ष आशा तमुको स्वागत तथा सचिव प्रेम कनौजे मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । होटल मेरीगोल्डमा भएको अधिबेशनले अध्यक्ष चित्रलाल तुलाचनद्वारा प्रस्तुत महासंघको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिपक श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ।
अधिबेशनमा तिलोत्तमा नगर समन्वय समितिका धन बहादुर चौधरी, देवदहका मिना कुमारी श्रोष्ठ, सिद्धार्थ नगर समन्वय समितिका प्रेम बहादुर गुरुङ्ग लगायतले नगरको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।