२२ जेठ, गुल्मी
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन तथा निर्दोष बालबालिका माथि हुने अत्याचार विरुद्धको दिवसको सन्दर्भमा अन्तक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। सत्यवयती गाउँपालिका वढा नं. ३ ठूलो लुम्पेकको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय भेदभाव तथा छुवाछुत र निर्दोष बालबालिका माथी हुने अत्याचार जस्तो जघन्य अपराधको अन्त्य कानुनी बन्दोबस्तले मात्र नहुने र त्यसका लागि समुदायबाट नै परम्परा तोड्न आवस्यक रहेको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति गुल्मीका सदस्य नरमाया रानाले बर्षौंदेखि सामाजिक अपराधको रुपमा जरा गाडेर बसेको जातीय भेदभाव र छुवाछुतको अन्त्यका लागि ऐन कानुन नबनेका होइनन तर त्यसको कार्यान्वयन भन्दापनि समाजले सहजै स्विकार गर्न नसक्दा उक्र समस्या अझै जिवित रहदै आएको बिचार व्यक्त गर्नु भएको थियो। जवसम्म समुदायले नै जातीय भेदभाव र छुवाछुत विरुद्ध सजनात्मक कार्यक्रम र सम्बन्ध स्थापित गर्न सकिदैन तवसम्म कानुनी व्यबस्थाहरु असफल भएर जाने भएकोले सभ्य र समतामूलक समाज निर्माणका लागि जात तथा वर्ण व्यबस्थाका कारण ल्याएको भेदभाव तथा स साना बालबालिकाहरु माथी हुने अत्याचारलाई प्रसय दिन नहुने कुरामा जिल्ला समन्वय समितिका सदस्य रानाले जोड दिनु भएको थियो।
यस्तै सत्यवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुले हिजो शिक्षाका अभावले जातीय भेदभाव तथा छुवाछुतले सामजिक मान्यता पाउदै आएको तर अहिले व्यक्तीगत रुपमा शिक्षित भएपनि सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक र कानुनी रुपमा सचेत हुन नसक्दा जातीय भेदभाव र छुवाछुत जस्तो असामाजिक व्यबस्थाको उन्मुलन हुन नसकिरहेको बताउनु भएको थियो।
वडा अध्यक्ष तरामुले नेपालको संविधानले सबै नागरिकलाई समान अधिकारको सुनिश्चितता गरेको छ भने जातीय भेदभाव तथा छुवाछुतलाई कानुनी रूपमा दण्डनीय अपराधको रूपमा परिभाषित गरेको भएपनि समुदायले त्यसलाई स्विकार्न नसकिरहेको अवस्थामा यस किसिमका सन्दर्भ कार्यक्रमहरुले सचेत हुने अवसर मिल्ने बताउनु भएको थियो।
यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय जोहाङ, गुल्मीका प्रहरी निरीक्षक नरेन्द्र बहादुर सुनारले कुनै पनि व्यक्तिलाई जात, धर्म, भाषा, लिङ्ग वा समुदायका आधारमा विभेद गर्नु मानवअधिकारको गम्भीर उल्लङ्घन हुने विचार व्यक्त गर्नु भएको थियो। बालबालिका राष्ट्रका अमूल्य सम्पत्ति हुन्। उनीहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सहभागिता र समग्र विकास सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व भएको कुरा उल्लेख गर्दै प्रहरी निरीक्षक सुनारले बालबालिकामाथि हुने शारीरिक, मानसिक, यौनजन्य तथा अन्य कुनै पनि प्रकारका हिंसा र दुर्व्यवहारलाई समाजले शून्य सहनशीलताको दृष्टिकोणबाट हेर्न आवश्यक रहेको बताउनु भएको थियो।
यस्तै सामाजिक अगुवा लोक सुनारले यो दिवसलाई दिवसको रुपमा मात्र नभई समाजका रहेको जातीय मात्र नभई हरेक प्रकृतिको भेदभाव र छुवाछुतको अन्त्य गर्ने प्रणको रुपमा लिन उत्प्रेरणा थप्ने बताउनु भएको थियो।
अन्तरकृया कार्यक्रमका सहजकर्ता तथा सामजिक अभियान्ता पासाङ्ग सिञ्जालीले जातीय छुवाछुत उन्मुलन तथा निर्दोष बालबालिका माथि हुने अत्याचार विरुद्धको दिवसले सबैलाई सामाजिक सद्भाव, समानता, मानवता र न्यायको पक्षमा एकजुट हुन प्रेरित गरेको उल्लेख गर्दै समाजमा विद्यमान गलत परम्परा, अन्धविश्वास र विभेदकारी सोचको अन्त्य गरी समान अवसर र सम्मानयुक्त वातावरण निर्माण गर्न हामी सबैले आ(आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने भावनाको बिकास गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको थियो।
वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुको अध्यक्षता तथा वडा सचिव नन्दलाल रानाको सञ्चालनमा भएको उक्र कार्यक्रममा कवि तथा लेखक खोमा तरामु मगरले सत्यवती गाउँपालिका वडा नं. ३ लाई सामाजिक सद्भाव, समावेशी विकास तथा बालमैत्री समाज निर्माणका लागि विभिन्न सन्दर्भ तथा दिवसहरुमा गरिने कार्यक्रमहरुले समाजलाई सामाजिक, साँस्कृतिक, राजनैतिक लगायतमा सचेत गराउने विश्वास गर्दै सचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिँदै जातीय भेदभावमुक्त, छुवाछुतमुक्त तथा बालमैत्री समाज निर्माणका लागि आवश्यक पहल र सहकार्य गर्नमा सहज वातावरण सृजना हुदै जाने विचार व्यक्त गर्नु भएको थियो। कार्यक्रममा समिक्षा सुनारले कविता वाचन गर्नु भएको थियो।
सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकको वडा कार्यालयमा भएको कार्यक्रममा विभिन्न टोल बिकास संस्थाका प्रतिनीधि, विद्यालयका शिक्षक, कर्मचारी, जनप्रतिनीधि, स्वास्थ्यकर्मी, क्लव, आमा समूहका प्रतिनीधि, समाजका अगुवा तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो।