२८ बैशाख, गुल्मी
गुल्मीको गोगलपुर आधारभूत विद्यालय, सत्यवती ३ ठूलो लुम्पेकका पूर्व विद्यार्थी समूह २०६८ ब्याचद्वारा विद्यालयलाई एक थान प्रोजेक्टर प्रदान गर्दै त्यस विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ। विद्यार्थीहरुलाई नयाँ नयाँ प्रविधिसंग जोडेर प्रविधिमैत्री शैक्षणिक कार्यकलापमा सहयोग पुर्याउने उद्धेश्यका साथ पूर्व विद्यार्थीहरुले आफुले अध्ययन गरेको विध्यालयलाई उक्त प्रोजेक्टर हस्तान्तरण गरिएको हो।

कार्यक्रममा शिक्षकहरुलाई सम्मान गर्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आफुलाई जिवनको तेश्रो आँखाको रुपमा ज्ञानको ज्योती प्रदान गर्ने हरेक शिक्षकहरु आमा बुवा पछिको दोश्रो अभिभावक भएको बिचार व्यक्त गर्नु भयो। पछिल्लो समय संस्कार र अनुशासनको महत्वलाई कम प्राथमिकता दिइरहेको अवस्थामा आफुले अध्ययन गरेको विद्यालय र शिक्षा दिने शिक्ष्ँकहरुलाई सम्मान गर्ने परमपराको शुरुवात गरेकोमा पूर्व विद्यार्थी समूहलाई अध्यक्ष पाण्डेले धन्यवाद व्यक्त गर्नु भयो।

अध्यक्ष पाण्डेले शिक्षक सम्मान र प्रोजेक्टर हस्तान्रण कार्यक्रमले आज हाम्रो सत्यवती गाउँपालिकाको शैक्षिक सुधारको अभियानमा एउटा सानो तर महत्त्वपूर्ण इँटा थपिएको छ उल्लेख गर्दै प्रविधिको यो युगमा हाम्रा विद्यार्थीहरू केवल किताबी ज्ञानमा मात्र सीमित नभई आधुनिक शिक्षण विधिमा जोडिनु पर्छ भन्ने मान्यतालाई पूर्व विद्यार्थीहरुले आत्मसात गरेर विद्यालयलाई प्राजेक्टर हस्तान्तरण गरेको प्रति पनि अध्यक्ष पाण्डेले प्रशंसा गर्नु भएको थियो।

यस्तै साहित्यकार तथा अध्येता खोमा तरामु मगरले अहिलेको समय भनेको देखेर सिक्ने समय भएको र एउटा शिक्षकले कक्षाकोठामा घण्टौं व्याख्या गरेर नबुझिने कुरा एउटा छोटो भिडियो वा चित्र ९ख्ष्कगबकि० बाट विद्यार्थीले छिटो बुझ्न सक्ने भएकोले हरेक विद्यालयहरुलाई प्रविधियुक्त बनाउन आवस्यक भएको बिचार व्यक्त गर्नु भएको थियो। यो प्रोजेक्टर केवल एउटा मेसिन मात्र नभई यो हाम्रा विद्यार्थीका लागि विश्व नियाल्ने एउटा झ्यालको व्यबस्था गर्न पूर्व विद्यार्थीहरुको समूहबाट भएको यो अनुकरणिय कार्यको समेत प्रशंसा व्यक्त गर्दै लेखक तरामु मगरले अन्य विद्यालयका पूर्व विद्यार्थीहरुका लागि सिकाई हुने बताउनु भएको थियो ।

यसैगरी गोगलपूर आधारभूत विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनु भएका पूर्व शिक्षक भरत सिंजाली मगरले पूर्व विद्यार्थीहरुबाट भएको सम्मानले आफु र आफु सरहका शिक्षक कर्मचारीहरुमा शिक्षण पेशा कुनै समय व्यतित गर्ने तलवी समय मात्र नभएर एक असल अभिभावक, देश र जनताप्रति उत्तरदायी नागरिक उत्पादन गर्ने उत्प्रेरक शिक्षक समेत भएको कुरालाई आत्मसाथ गराएको विचार व्यक्त गर्नु भएको थियो।
यसैगरी पूर्व विद्यार्थीहरुद्वारा प्रदान गरिएको प्रोजेकटर स्टोरमा थन्क्याउनका लागि नभई यसको अधिकतम प्रयोग गरेर शिक्षण सिकाईलाई रमाइलो र प्रभावकारीु बनाउनमा सहायक सिद्ध हुने उल्लेख गर्दै पूर्व शिक्षक सिंजालीले नयाँ युगले ल्याएको नयाँ नयाँ प्रविधिमार्फत विद्यार्थीहरुलाई विश्वस्तरको ज्ञान आफ्नै गाउँमा बसेर लिन सक्ने वातावरण श्रृजना गर्न समेत आग्रह गर्नु भएको थियो।
पूर्व विद्यार्थी समूह (२०६८)का संयोजक पासाङ्ग सिंजालीले गुणस्तरीया शिक्षा, स्वास्थ्य सेवामा नागरिकहरुको सहज पहुँच र पूर्वाधार विकारमा सत्यवती गाउँपालिकाको दृढता र प्रणलाई इटाको सानो टुक्रा भएपनि थपेर सहयोग र सहकार्यको अविचल्लित यात्रालाई निरन्तरता दिने प्रयास गरिएको बताउनु भयो।
भूगोलका कारण प्रविधिबाट प्राप्त हुने शिक्षण सिकाईबाट कुनै पनि विद्यार्थी बञ्चित हुने नपरोस भन्ने उद्धेश्यले आफुले अक्षराम्भ गरेको विद्यालयलाई प्रोजेक्टर प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै पूर्व विद्यार्थी सिंजालीले यस विद्यालयका विद्यार्थीहरू श्रृजनशिल अनुशासित र संस्कारयुक्त विद्यार्थी उत्पादन गर्नमा शिक्षक तथा कर्मचारीहरुको अथक मेहनत र शिक्षणप्रति आभार व्यक्त गर्नु भएको थियो।

यसैगरी विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नर बहादुर पुलामीले विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि ल्याउन र श्रृजनशिल बनाउन शिक्षण सिकाईका विभिन्न माध्यमहरुमध्ये समय परिवर्तनसंगै आएको प्रविधिधको उपयोगले सुनेको कुरा प्रत्यक्ष देखेर सिक्नमा अझ समयानुकुल हुने बताउनु भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुन्ती सिंजालीले पूर्व विद्यार्थी समूहलाई धन्यवाद दिदै पूर्व विद्यार्थीहरुबाट प्राप्त भएको सहयोगले विद्यालयको शैक्षिक गुणस्तरीयता र शैक्षणिक कार्यकलापलाई अझ प्रभावकारी र आकर्षणयुक्त बनाउन सहयोग गर्ने बताउनृ भएको थियो।

पूर्व विद्यार्थी समूह (२०६८)का पूर्व विद्यार्थी नर्मली फौंजाको अध्यक्षता तथा शिक्षक पहलमान फौजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
