२२ चैत्र, कञ्चन
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीमा आगामी २०८२ साल चैत्र २३-२५ गतेसम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। यस सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब १२० जना अनुसन्धाताहरू सहभागी हुनेछन्। सम्मेलन लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (NARC), WWN र WWF नेपालको संयुक्त आयोजकत्व तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा हुँदैछ। सम्मेलनको मुख्य उद्देश्य कृषिप्रणालीमा रूपान्तरणकारी परिवर्तनबारे प्राज्ञिक विमर्श गर्नु रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी, नेपालले जनाएको छ। सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो, पुनरुत्थानशील र प्रकृतिमैत्री कृषिप्रणालीको विकाससम्बन्धी विषयलाई विशेष प्राथमिकता दिइने छ। सम्मेलनले गहन पुनरुत्थानशील कृषि तथा स्वदेशी आध्यात्मिक कृषिसम्बन्धी वैज्ञानिक अनुसन्धानद्वारा ज्ञानको विनिमयका लागि प्रभावकारी मञ्चद्वारा नेपाल, भारत र भुटानका सरोकारवालाबीच क्षेत्रीय सहकार्यलाई सुदृढ गर्न मद्दत पुर्याउने लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी, नेपालले विश्वास गरेको छ। त्यसका लागि नीतिगत प्रगतिमा जोड दिइनेछ र स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण र समुदायको सामर्थ्य अभिवृद्धिका लागि कार्यान्वयनयोग्य रणनीतिहरू विकास गरिनेछन् भने जलवायु अनुकूलित खाद्य प्रणालीका लागि पर्या–आध्यात्मिक परम्पराहरूलाई नवप्रवर्तनशील मार्गका रूपमा उजागर गरिने आयोजकले जनाएको छ। सम्मेलनले परस्पर अन्तरसम्बन्धित दस घटकहरू (संस्कृति, धार्मिक मूल्य, कृषि जैविक विविधता, वन जैविक विविधता, परम्परा, आध्यात्मिकता तथा ज्योतिष, पानी तथा नवीकरणीय ऊर्जा, वायु तथा वातावरण, भूमि र सामाजिक प्रणाली (CRAFTSWALS) को रूपरेखालाई अंगीकार गरेको छ। यस रूपरेखाले कृषि केवल खाद्य उत्पादन प्रणाली मात्र नभई स्वास्थ्य, पोषण, जैविक विविधता, वातावरण, संस्कृति तथा जीविकोपार्जनमा निर्णायक भूमिका खेल्ने व्यापक प्रणाली हो भन्ने कुरालाई स्पष्ट रूपमा स्थापित गर्नेछ। सम्मेलनमा किसान, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षाविद्, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूले यही रूपरेखामा केन्द्रित भएर कृषि क्षेत्रमा रूपान्तरणकारी परिवर्तन (paradigm shift)को अत्यावश्यकताबारे गहन छलफल गर्नेछन्।
सम्मेलनमा “Regenerating Futures: Integrating Agrobiodiversity, Eco-Spirituality, and Climate-Resilient Agriculture” शीर्षकमा सम्वन्धित बिषयका विषयविज्ञहरुले कार्यपत्र सहितको विचार राख्ने आयोजकले जनाएको छ। सम्मेलनमा व्यक्त गरिने विचारहरुलाई गहन पुनरुत्थानशील कृषिस् दिगोपनभन्दा पर, कृषि जैविक विविधताको संरक्षण तथा दिगो उपयोग, पर्वतीय कृषिस् सहनशील भविष्यका लागि प्रकृति, जलवायु र साझा विश्वासको एकीकरण, उच्च हिमाली क्षेत्रमा जलवायु अनुकूल कृषि अभ्यासहरू, कृषि क्षेत्रमा पर्या–आध्यात्मिक तथा नव–मठीय अभ्यासहरू, खाद्य, पोषण र स्वास्थ्यका लागि मूल्य शृङ्खला तथा बजार र रिगाग्रीस् नीतिगत प्रावधान, अन्तराल र अवसर लगायत विषयसारहरूमा संवादलाई मार्गदर्शनको रुपमा केन्द्रित गर्नेछ ।
सम्मेलनमा आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गराए पनि यसले माटोको क्षय, जैविक विविधताको ह्रास, पारिस्थितिक असन्तुलन तथा परम्परागत ज्ञान प्रणालीहरूको क्षरण निम्त्याएको कुरामा प्रमुख बहसहरू केन्द्रित हुनेछन्। सहभागीहरूले गहन पुनरुत्थानशील कृषि दिगोपनभन्दा परको अवधारणा रहेको पक्षमा जोड दिँदै माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापनामा केन्द्रित भई सहनशील कृषि तथा सामाजिक प्रणालीहरूको पुनर्निर्माणमा मार्गदर्शनको खोजी गर्नेछन्। यससँगै, जलवायु अनुकूल तथा पोषणबारे संवेदनशील कृषिको आधारका रूपमा कृषि जैविक विविधताको महत्त्वलाई विशेष रूपमा पहिचान गरिनेछ। साथै, स्वदेशी ज्ञान, संस्कृति र पर्या–आध्यात्मिक मूल्यहरूको निर्णायक भूमिकालाई पनि उत्तिकै महत्वका साथ उजागर गरिनेछ।
सम्मेलनमा आमन्त्रित कार्यपत्र, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमहरू समाविष्ट हुनेछन्। उक्त सम्मेलन अभ्यासमुखी सत्रहरू, नेटवर्किङ, साझेदारी निर्माण तथा कार्यमुखी परिणामहरूमा विशेष जोड दिइने बहुविषयक तथा अधिकांश सरोकारवालाहरुको सहभागितामा आधारित साझा मञ्च बन्ने आयोजकले जनाएको छ। यसका साथै “बुद्ध थाली” सहितका परम्परागत भोजन अनुभवका लागि सजग भोजन (mindful eating) को प्रवर्द्धन गर्नुका साथै कृषि–पारिस्थितिक तरिकाले उत्पादन गरिएका स्थानीय खाद्य सामग्रीमार्फत शान्ति, स्पष्टता र समग्र कल्याणलाई प्रोत्साहन गरिनेछ।
यो सम्मेलन रकफेलर फाउन्डेसनको सहयोगमा नेपाल जीन बैंक, बैंक, WWN र WWF द्वारा मुस्ताङ, मनाङ, लुम्बिनी र ललितपुरमा कार्यान्वयन भइरहेको REGAGRI परियोजनाको एक हिस्सा हो (नेपालका उच्च हिमाली क्षेत्रमा गहन पुनरुत्थानशील कृषि)। उक्त परियोजना स्थानीयर रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, कृषि–पारिस्थितिक अनुकूलताको सुदृढीकरण, स्वदेशी ज्ञान तथा आध्यात्मिक कृषिको प्रवर्द्धन, तथा हिमाली क्षेत्रमा परम्परागत कृषि आनुवंशिक स्रोतहरूको सांस्कृतिक र पोषणसम्बन्धी मूल्यको अभिलेखीकरणमा केन्द्रित छ। यसअन्तर्गत राष्ट्रिय जीन बैंकमा विभिन्न स्थानीयर रैथाने आनुवंशिक स्रोतहरूको संकलन तथा संरक्षण गरिएको छ, स्थानीय जातहरूको पुनःप्रवेश (repatriation) प्रक्रिया सुरु गरिएको छ, र सामुदायिक जीन बैंक, स्कूल फिल्ड जीन बैंक, कृषि वंशानु आरक्ष स्थल, सहभागितामूलक रैथाने बिउको उन्नयन तथा पोषण संरचना विश्लेषण जस्ता समुदायमा आधारित संरक्षण अभ्यासहरू कार्यान्वयन गरिएका छन्।
सम्मेलनमा हिमाली क्षेत्रका आनुवंशिक स्रोतहरूको दीर्घकालीन संरक्षण तथा सुरक्षित प्रतिलिपि (safety duplication) सुनिश्चित गर्न “हिमालयन बीज कोष” स्थापना गर्ने सम्भावना पनि खोजिनेछ । “स्थानीयमा जाऔँ, स्थानीयमै काम गरौँ, स्थानीयलाई सम्मान गरौँ, र स्थानीयलाई विश्वस्तरमा पुर्याऔँ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै स्वनिर्भर कृषि प्रणाली सुदृढ गर्ने दिशामा जोड दिइनेछ।
सम्मेलनका मूल सन्देशहरूमा कृषि केवल खाद्य उत्पादनमा सीमित नभई पारिस्थितिक प्रणाली र समुदायको दिगोपन सुनिश्चित गर्ने व्यापक प्रणालीका रूपमा पुनः परिभाषित हुनुपर्ने लगायतका विषयहरू पर्दछन्। गहन पुनरुत्थानशील कृषिले क्षतिग्रस्त भू–परिदृश्यको पुनः स्थापनाका लागि रूपान्तरणकारी मार्ग प्रशस्त गर्दछस गतिशील तथा अनुकूलित कृषि जैव-विविधता कायम राख्ने प्रमुख उपायका रूपमा प्रयोगद्वारा संरक्षण भन्ने मान्यता राख्नेछ। विदेशी आनुवंशिक बीजस्रोतको निर्भरता घटाउँदै स्थानीय स्रोतहरूको प्रवर्द्धन अपरिहार्य रहेको कुरा स्पष्ट स्थानीय उत्पादनका लागि बजार पहुँच र मूल्य अभिवृद्धि सुनिश्चित गर्नु नै कृषि रूपान्तरणको मुख्य आधार हो भन्ने कुरा सुनिश्चित गर्दछ।
गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय घोषणापत्र तथा आगामी कार्यदिशाको अनुमोदनसहित सम्मेलनको समापन हुनेछ।