हिजो साेमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आक्रमण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीकाे पनि ज्यान गएको बीबीसीले जनाएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताउनुभएको छ । उहाँले अहिले युक्रेनमा दुःखद घटना भइरहेको भन्दै आफूहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनका लागि लडिरहने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले युक्रेनी बालबालिकालाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउनुभयो र भन्नुभयो, ‘युक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’ यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताउनुभयो ।