१ चैत्र, गुल्मी/ओसिङ्ग थापा मगर
बाइसे चौविसे भूरेटाकुरे राज्य अन्तर्गत पारकोट राज्यमा पर्ने गुल्मीको करिब ५ सय ७५ बर्ष इतिहास बोकेको हचिनकोट दरवारलाई जैविक विविधतायक्त एकिकृत पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिएको छ।
स्थानीयहरुको १११२ जनश्रमदानबाट बिकास गरिएको उक्त ऐतिहासिक हचिनकोट दरवार क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकषर्णको केन्द्र बनाइएको हो। गुल्मीको १२ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी पर्यटक भित्रिने सत्यवती गाउँपालिकामा ऐतिहासिक हचिनकोट दरवारलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा स्थापित गरिएको हो।
सन्त्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा भूरेटाकुरे राज्यको समयमा विभिन्न गणराज्यको रुपमा अस्तित्वमा रहेको हचिनकोट दरवारलाई पुरातात्विक हिसावले अध्ययन तथा अन्वेषणको रुपमा राज्यको चासो र ध्यानाकर्षित गराउदै स्थानीयहरुको स्वःस्फूर्तरुपमा जनश्रमदानबाट बिकास गरिएको हचिनकोट दरवारलाई सत्यवतीको पर्यटकीय गन्तव्य क्षेत्रको दर्ज गरिएको हो।

हचिनकोट ऐतिहासिक दरवार क्षेत्रमा भएको जनश्रमदानको १११२ औ दिन पारेर आयोजना गरिएको बिशेष कार्यक्रममा वोल्ने वक्ताहरुले हचिनकोट दरवारलाई पनि सत्यवती गाउँपालिकाको ऐतिहासिक र महत्वपूर्ण आकर्षक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन। यसैक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेयले सत्यवती गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुलाई एकिकृत बिकासगरी आन्तरिक तथा बाहय पर्यटकहरुलाई अवलोकन भ्रमणको महत्वपूर्ण गन्तव्य क्षेत्रको रुपमा बिकास गरिने योजनाको प्राथमिक सूचिमा राखिने विचार व्यक्त गर्नु भएको छ। स्थानीयहरुको श्रमदानलाई अझ प्रोत्साहित गर्ने उद्धेश्यका साथ हचिनकोटको जैविक विविधतालाई असर नगर्नेगरी भौतिक संरचना तयार गर्न पालिकाले ट्रष्ट निर्माणका लागि अनुदान समेत दिएको र आगामी बर्षहरुमा अन्य क्षेत्रहरुमा जस्तै हचिनकोट ऐतिहासिक दरवारलाई पनि पालिकाको बार्षिक योजनामा समावेश गरिने पालिका अध्यक्ष पाण्डेयले प्रतिवद्धता व्यक्त गर्नु भएको हो।

सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले सत्यवतीमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको भन्दै स्थानीय उत्पादनसंग नजोडिएको कुनै पनि भौतिक तथा अभौतिक बिकासहरु अर्थ नहुने कुरा पछिल्लो राजनैतिक घटनाक्रमहरुले पुष्टि गरेको समेत उल्लेख गर्नु भएको थियो। सत्यवतीमा आउने पर्यटकहहरुले सत्यवतीको प्राकुतिक र जैविक उत्पादनको आशा गरिएको भएपनि हामीले यहाँको श्रोत साधनहरुको उपयोगमा ध्यान दिन नसक्दा पर्यटनलाई आर्थिक उपार्जनमा परिवर्तन गर्न नसकिएको उपाध्यक्ष तरामुले उल्लेख गर्नु भयो।
वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामुले सत्यवती क्षेत्र नेपालको सय पर्यटकीय गन्तव्य क्षेत्रहरुमा समाबेस भएको स्मरण गर्दै साविक ठूलो लुम्पेकमा रहेको ऐतिहासिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक क्षेत्रहरुलाई एकिकृत पर्यटन क्षेत्रको रुपमा बिकास गर्न सकेमा मात्र ठूलो लुम्पेकमा आउने पर्यटकहरुको संख्यमा अझ उल्लेख्य बृद्धि हुदै जाने बिश्वास व्यक्त गर्नु भयो। हामी साँस्कुतिक र ऐतिहासिक रुपमा भरिपूर्ण भएपनि त्यसको पहिचान, संरक्षण र सम्बर्द्धनमा बरोबर ध्यान जान नसक्दा हरिणको कस्तुरी सरह हुनुपरेको उल्लेख गर्दै वडा अध्यक्ष तरामुले जुन स्थानीय तहहरुमा स्थानीयहरुको चासो, लगानी र जनश्रमदानलाई महत्व दिइएको हुन्छ ती ठाउँहरुमा हरेक बिकासले गति लिर्दै जान सक्छ भन्ने एक ज्वलन्त उदाहरणको रुपमा हचिनकोट ऐतिहासिक दरवारको पर्यटन क्षेत्रको बिकासमा स्थानीयहरुको लगानी भएको बिचार व्यक्त गर्नु भएको थियो।

हचिनकोट ऐतिहासिक दरवार क्षेत्र बिकास समितिका सल्लाहकार जुक्त बहादुर थापाले हचिनकोट दरवारलाई पुरातात्विक अध्ययन र अन्वेषणमा राज्यको ध्यानाकृत गर्न नेपाल सरकार अन्तर्गत रहेको पुरातात्व विभागमा आग्रह गर्ने र यसको ऐतिहासिकतालाई अझ जिवन्त बनाउन पर्यत्न रहने बताउनु भएको छ। हचिनकोटलाई वातावरणीय र जैविक विविधतालाई समेत कुनै असर नगरी गुराँसपार्कको रुपमा समेत बिकास गरी ठूलो लुम्पेकलाई पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने मुख्य ध्येय भएको उल्लेख गर्दै धर्मपुर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहनु भएका थापाले पौने ६ सय बर्षको इतिहास बोकेको हचिनकोट दरवार क्षेत्रमा रहेका भग्नावशेषहरुको संरक्षण गर्दै यो ठाउको आकर्षणको केन्द्र बनाउन भूरेटाकुरे राज्यको झलको दिनेगरी दरवार बनाउने तत्कालिन योजना भएको जानकारी दिनु भएको थियो।
हचिनकोट ऐतिहासिक दरवारको अवलोकनका लागि स्थानीय लोक संस्कृति झल्किने पञ्चेबाजा, झ्याउरे सहित स्थानीयहरुको उल्लेख्य सहभागिता भएको उक्त क्षेत्रलाई अझ व्यबस्थित रुपमा बिकास गर्न देश बिदेशबाट चन्दा सहयोगको रुपमा आर्थिक तथा विभिन्न भौतिक सहयोग समेत संकलन भइरहेको हचिनकोट ऐतिहासिक दरवार क्षेत्र बिकासका अभियानकर्मी प्रकाश थापा मगरले जानकारी दिनु भएको छ।

हचिनकोट ऐतिहासिक दरवार क्षेत्रसंग जोडिएका सेतीनाग, गाग्री ढुङ्गा, जाँतो संग्राहलय, हेलप्यिाड, लामठुडी झरना, थानी बाजेबजैको मन्दिर, सत्यवती बजैको मन्दिर, थाप्ले, हिले सिद्ध, आलमदेवीको थानलाई यस क्षेत्रको एकिकृत पर्यटन क्षेत्रको रुपमा बिकास गर्न सके पर्यटकहरु आउने संख्यामा अझ बृद्धि हुने बलियो सम्भावना रहेको देखिन्छ।
कार्यक्रममा हचिनकोट ऐतिहासिक दरवार क्षेत्र बिकास समितिका संयोजक निमप्रसाद तरामुको अध्यक्षतामा भएको कार्यक्रमा कृष्ण पुलामीले स्वागत गर्नु भएको थियो भने दुर्गा तरामु र जिवमाया रानाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय आमा समूह, टोल र कलाकारहरुले साँस्कृतिक तथा सांगेतिक नृत्य प्रस्तुत गर्नुको साथै हचिनकोट दरवारको अवलाृकन भ्रमण आएका पर्यटकहरुलाई स्थानीय आमा समूहहरुद्वारा स्थानीय लोक तथा साँस्कृतिक नृत्य तथा झाँकीदेवारा स्वागत गरेको थिए।