२५ फागुन, कञ्चन
फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उमेद्वार जगीलाल थापाले निर्वाचन खर्च सार्वजनिक गरेका छन। निर्वाचनको समयमा भएको सम्पूर्ण खर्चको विवरण प्रतिनीधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गर्नु पर्ने प्रावधान अनुसार उमेद्वार थापाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन ।
पार्टीको घोषणा पत्र र सोही घोषणा पत्र अनुसार प्रकाशित अन्य प्रचार प्रसार सामग्री समेत पार्टी निर्वाचन परिचालन समितिबाट भएकोले व्यक्तीगत रुपमा कुनै खर्च नभएको भए पनि आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उमेद्वार थापाले खर्च सार्वजनिक गरेका हुन ।
बिशेषगरी मतदाताहरुको घर घरमा पुगेर पार्टीको घोषणा पत्र अनुसार नेपाल मजदुर किसान पार्टीलाई मत दिन आग्रह गर्दै चुनावी प्रचार प्रसार गरेका थापाले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिताको पूर्ण पालना गरेका थिए। आचारसंहिता बिपरीत शासक दल र शासक दलका उमेद्वारहरुको अभद्र चुनावी प्रचार शैलीलाई चुनौती दिदै चुनाव प्रचार गरेका थापाले कुनै पनि दललाई मत दिनु पूर्व सबै दल र उमेद्वारको घोषणा पत्रको अध्ययन गरेर आफुलाई चित्त बुझ्ने दल र दलको उमेद्वारलाई मतदान गर्न समेत आग्रह गरेका थिए । उक्त निर्वाचन खर्च विवरण सार्वजनिक गरी निर्वाचन सकिएको १५ दिन भित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यलयमा सार्वजनिक गरिएको खर्च विवरणका प्रतिलिपी सहित खर्च सार्वजनिक गरेको जानकारी गराउनु पर्ने प्रावधान रहेको छ।
आफ्नो क्षेत्र अन्तर्गत लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन, गैडहवा, मायादेवी गाउँपालिका र सैनामैनाका विभिन्न क्षेत्रहरुका मतदाताहरुको घर घरै पुगेर संघ, प्रदेश र स्थानीय तहको चुनावको फरक र बिशेष्ताबारे आफ्ना मतदाताहरुलाई जानकारी दिएका थिए। चुनाव प्रचारको क्रममा उमेद्वार थापाले देश र जनताको निःस्वार्थ सेवा गर्न र समाजवादी प्रचार अभियानलाई अझ सशक्त बनाउन, नेपालको हितविपरीतका कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, फुकोट कर्णालीलगायत सन्धि सम्झौता गरी देशलाई नवउपनिवेश बनाउने देशद्रोही पार्टी र उम्मेदवारलाई हराउन नेपाल मजदुर किसान पार्टी र उमेद्वारहरुको चुनवा चिन्ह मादलमा मतदान गर्न आग्रह गरेका थिए।
स्थानीय सञ्चारकर्मी समेत रहेका उमेद्वार थापाले आफ्नो चुनावी मुद्दा अन्तर्गत जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गरी साम्यवाद स्थापनाका लागि वातावरण तयार गर्न, जमिन जोत्नेको सिद्धान्तअनुसार क्रान्तिकारी भूमिसुधार लागु गर्न, १५ लाख रुपैयामा MBBS पढाउने ख्वप विश्व बिद्यालय स्थापना गर्न ,व्यक्तित्व बिकासमा समान अवसरको बन्दोवस्त गर्न, योग्यता अनुसार काम, काम अनुसारको ज्याला बन्दोबस्त गर्न, शिक्षा निःशुल्क र अनिवार्य र स्वास्थ्य सेवा निःशुल्क गर्न, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न, भ्रष्ट, घुस्याहा, कमिसनखोर, दलाल, कामचोर, भु माफिया शासक दलका नेता तथा कर्मचारीहरुलाई मृत्युदण्ड तथा फाँसीको सजाय दिन लगायत देश र जनताको जिवन र सरोकारका विभिन्न बिषयहरुलाई आफ्नो मुख्य राजनैतिक मुद्धा उठाएका थिए।
समय र परिस्थिति अनुसार भएको परिवर्तन तथा जनादेशलाई बर्खे भेलको रुपमा लिनु र बुझ्नु नहुने भन्दै उमेद्वार थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक माफर्त रुपन्देही क्षेत्र नं.५ लगायत देशभरबाट नेमकिपाको चुनाव चिन्ह मादललाई विश्वास गर्दै शुभेच्छा सहित मत प्रकट गर्नु हुने सम्पूर्ण देशभक्त मतदाता, शान्तिपूर्ण निर्वाचन सम्पन्न हरदम खट्नु हुने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, मतदान प्रतिनीधिहरुमा समेत धन्यवाद प्रकट गरेका छन।
विगतको संसदीय अभ्यासमा नेमकिपाले जनताद्वारा प्राप्त मत अनुसार सडक र संसदमा दरिलो प्रतिपक्षीको भूमिका खेलेर संसदलाई संसद जस्तो बनाउने प्रयास गर्दै आएको र निर्वाचनको समयमा आफ्ना मतदाता समक्ष प्रस्तुत गरेको घोषणा पत्र अनुसार देश र जनताको पक्षमा काम गर्नु नै लोकतान्त्रिक निर्वाचन प्रणालीको मूल मर्म हुने कुरालाई स्मरण गराउदै उमेद्वार थापाले शासक दलहरुको रिस र असन्तुष्टीको घानमा "देश र जनताको पक्षमा काम गर!" भन्दै निरन्तर संसदमा कामदार जनताको दलको रुपमा उभिएको प्रखर प्रतिपक्षी दलको रुपमा रहेको नेपाल मजदुर किसान पार्टी समेत परेको स्पष्ट पारेका छन।
"स साना दलहरुको यो देशमा काम छैन" भनेर नेमकिपालाई खरानी बनाउन उद्धत शासक दलका हस्तीहरुको लज्जास्पद हार भएको भन्दै उमेद्वार थापाले "आगो र पानीसंग खेल्नु हुदैन" भन्ने नेमकिपाका अध्यक्ष का. रोहितको भनाई अझ सार्थक बनेको समेत बिचार व्यक्त गरेका छन।
आफु खरानी भएको दुःख मनाउ भन्दा पनि नेमकिपालाई हराएकोमा भक्तपुर लगायत स्थानमा शासक दलहरुको हर्सोलास देखिएको भन्दै उमेद्वार थापाले समय र परिस्थितिले ल्याएको परिणामले निहित स्वार्थलाई भन्दा देश र जनताको पक्षमा काम गर्न विजयी दल र उमेद्वारहरुलाई आग्रह गरेका छन। जनताले यही भरोसा र विश्वासले मत परिवर्तन गरेका हुन भन्दै रास्वपाले उक्त विश्वास र भरोसा तोड्ने छैन भन्ने विश्वास समेत उमेद्वार थापाले गरेका छन।
चुनाव सकिएसंगै उमेद्वार थापा पुनः नियमित कार्य सहित आफ्नो सञ्चारकर्ममा फर्किएक छन। उमेद्वार थापा विगत एक दशक देखि स्थानीय सञ्चारकर्मीको रुपमा कार्य गर्दै आइरहेका छन। वहाँको आफ्नै सञ्चार गृह कञ्चन सूचना तथा सञ्चार केन्द्र रहेको र सोही सञ्चार गृहद्वारा प्रकाशित कञ्चन खवर अनलाइन डिजिटल पत्रिकाको प्रकाशक समेत हुन।
