
२४ माघ, भक्तपुर
“हामी देशको निम्ति अन्तिम दमसम्म लडछौँ । हामी कुनै शक्तिसामु झुक्ने कुरा गर्दैनौँ र इमानदारीपूर्वक काम गर्छाैँ । आकाशमा थुप्रै तारा छन् । चन्द्रमा एउटैमात्र छ । नेमकिपा त्यो चन्द्रमा हो, त्यो उज्यालो हो । ” यो भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिले आयोजना गरेको महिला भेलामा राख्नुभएको हो ।
पार्टी अध्यक्ष बिजुक्छेँले महिलाहरूलाई पार्टीको इतिहास, पार्टी स्थापनाका आधार, पार्टी स्थापना हुनुपूर्वका भूमिगत गतिविधिबारे प्रशिक्षण दिनुभयो ।
किसान सङ्घर्ष, सरसफाइ आन्दोलन, शैक्षिक आन्दोलन, भ्रष्टाचारविरोधी सङ्घर्षको जगमा नेमकिपा उभिएको चर्चा उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले २०१५ –२० सालदेखि जनताको राजनीतिक चेतनास्तर, शैक्षिकस्तर, जीवनस्तर उठाउने काम ग¥यौँ । त्यतिबेला दलितलाई भन्दा बढी किसानलाई हेला गरिन्थ्यो । यहाँका किसानहरूलाई बेलायत, इजिप्टका दासहरूलाई जस्तो व्यवहार गरिन्थ्यो । हामीले तल्लो तहदेखि राजनीति, भूगोल र इतिहास पढायौँ । जनताको सेवा नै राजनीति हो भन्ने विचार हुर्कायौँ ।”
उहाँले भन्नुभयो, “नेपालमा विभिन्न भाषाभाषी र जातजाति छन् । तिनका आ–आफ्नै परम्परा, संस्कृति र समस्या छन् । सबैलाई माक्र्सवादजस्तो अत्यन्त जटिल र बौद्धिक विषय बुझाउन समय लाग्नु स्वाभाविक हो । तर, हामी निरन्तर अगाडि बढ्छौँ ।”
उहाँले भन्नुभयो, “हामी तत्कालको फाइदाका लागि होइन । दीर्घकालीन हितको लागि काम गर्छौँ ।” आफ्नो अडानमा बस्दा दुःख पाइए पनि त्यो दुःखले नयाँ पुस्तालाई सजिलो बनाउने तर्क उहाँले राख्नुभयो ।
नेमकिपालाई विदेशीको मात्र कुरा गर्ने पार्टी भन्ने आरोप पनि छ । संसारको कुनै पनि कुनामा भएको अन्याय अत्याचारको विरोध हामी गर्छौँ । आज छिमेकीको घरमा चोर पस्दा नबोलेपछि भोलि हाम्रै घरमा चोर लाग्दा कसले बोल्ने, कसलाई गुहार्ने ? उहाँले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “जमिन जोत्नेलाई मोहियानी हक दिलाउन संसद्मा आवाज दिने पार्टी नेमकिपा हो । कमैयालाई आफूले जोत्दै आएको जमिनको हक नदिन मुक्तिको घोषणा गरेको हो । पुँजीवादी देशमा सस्तो ज्यामी मजदुर पठाएको विरोधमा नेमकिपाले संसद्मा आवाज उठायो ।”
उहाँले जोड दिनुभयो, “संसदीय व्यवस्था र राजनीतिक कुरा थाहा भएकाहरूले संसद्मा प्रतिनिधित्व गरे देश र जनताको लागि राम्रो योगदान दिन सक्छन् ।”
उहाँले थप्नुभयो, “हामीले महिलाहरूलाई साक्षर र शिक्षित बनाउन मेहनत ग¥यौँ । फलस्वरूप २०४५ सालको भक्तपुर काण्डमा यहाँका महिलाहरू सङ्घर्ष गर्न सक्षम बने ।” “छोरीहरूलाई राम्रो शिक्षा र व्यवहार सिकाउँदा समाज राम्रोसँग अगाडि बढ्छ”, उहाँले जोड दिनुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई उपयोग गरेर २०१९ सालयता भ्रष्टाचारविरोधी आन्दोलन, मोहियानी हकको आन्दोलन, सुस्तामाथि भारतीय विस्तारवादको हस्तक्षेपको विरोधमा सार्वभौमिकता रक्षा आन्दोलन, साम्राज्यवादको सार्वभौम देशमाथिको नाकाबन्दी, धम्की, अपहरण, आक्रमणको विरोध गर्दै आएको छ भन्नुभयो ।
देश हितविपरीतका सन्धि–सम्झौताको सडकमा विरोध एवं संसद्मा विपक्षमा मत दिँदै आएको उल्लेख गर्दै उहाँले नेपालको सार्वजनिक संस्थानहरू निजीकरणको नाममा विदेशी समेतलाई बेच्ने शासक दलहरूको नेमकिपाले विरोध गर्दै आएको छ भन्नुभयो ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डको सजायसमेत हुने कानुनी व्यवस्थाको आवाज उठाउँदै आएको स्पष्ट पार्दै उहाँले नेमकिपाले देशको सन्तुलित विकास गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “ख्वप कलेजहरू सञ्चालन गरेर देशभरिका नयाँ पुस्तालाई उच्च शिक्षाको अध्ययन, सीप तालिम एवं विदेशी भाषाको समेत प्रशिक्षण दिँदै आएको नेमकिपा नै नयाँ विचार भएको पार्टी हो ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईंले भन्नुभयो, “सरकारमा जानुमात्र राजनीतिक दलको काम होइन, महत्वपूर्ण कुरा देशको पक्षमा लड्नु हो । जनताको पक्षमा आवाज उठाउनु हो । इमानदारीपूर्वक सेवा गर्नु हो ।”
उहाँले भन्नुभयो, “इमान, विचार र सिद्धान्तमा बाँच्न गा¥हो हुन्छ । नेमकिपाले प्रतिपक्षमा बसेर देशलाई जोगाउँछ । संसद्मा प्रखर प्रतिपक्षको खाँचो छ ।”
नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले समाजवादी व्यवस्थाले मात्र महिलाहरूको हित गर्ने विचार राख्दै भन्नुभयो, “साम्राज्यवाद सिङ्गो मानव समाजको निम्ति क्रूर हुन्छ, महिलाको लागि झन् बढी क्रूर हुन्छ ।”
नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा सम्पन्न उक्त भेलामा वाग्मती प्रदेशसभा सांसद गीता काफ्लेले पनि आफ्नो विचार राख्नुभयो ।
शुक्रबार सम्पन्न सो कार्यक्रममा जनगायिका सपना शाहीले गीत प्रस्तुत गर्नुभयो । समितिका सदस्य गङ्गा वैद्यले पनि कार्यक्रममा बोल्नुभएको थियो ।