
१८ माघ, लुम्बिनी/दिनेश प्रसाल लोध
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा १५ बर्ष मुनिका बालबालिकाहरूका लागि आफ्ना अधिकार, कर्तव्य तथा कानुनी ज्ञानबारे सचेत गराउने उद्देश्यले सञ्चालित दुई दिने कानुनी सचेतना तालिम सम्पन्न भएको छ। तालिममा बालअधिकार, बाल हिंसा विरुद्धका कानुनी व्यवस्था, विद्यालय तथा समाजमा अपनाउनुपर्ने आचरण तथा कानुनी समस्या पर्दा लिन सकिने सहयोगका बारेमा जानकारी दिएको थियो।
तालिमको समापन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहाक नगर प्रमुख कल्पना हरिजनले बालबालिकालाई कानुनी सहायताले आफ्नो अधिकार, कर्तव्य र सुरक्षाबारे सचेत हुन सहयोग पुग्ने बताउनु भयो। सानै उमेरदेखि कानुनी ज्ञान प्राप्त गरेमा उनीहरू समाजमा हुने अन्याय, हिंसा र शोषणको सामना गर्न सक्षम हुने र यस किसिमका तालिमहरुलाई निरन्तरता दिन सकिएको अवस्थामा बालबालिकाहरुमा काननी ज्ञानबारे पुनरताजगी भइरहने कार्यबाहक नगर प्रमुख हरिजनले बताउनु भयो।
यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बालबालिकाहरूलाई कानुनी रूपमा सचेत गराएमा उनिहरूले आफ्ना जिम्मेवारी राम्रोसँग बुझ्न सक्ने र कुन समयमा आफुले के गर्ने, के नगर्ने भन्नेबारे चेतनाको विकास हुने बिचार व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले सानै उमेरदेखि कानुनी ज्ञान दिँदा बालबालिकाहरुमा समाजमा हुने हिंसा, शोषण र अन्यायविरुद्ध आवाज उठाउन र कुनैपनि हिंसा, शोषण रर अन्याय भए गरेको अवस्थामा कनाुनी उपचारबारे समेत बहस तथा पैरवी गर्न सक्ने ज्ञान प्राप्त हुने बताउनु भयो। बिद्यालय तहमै कानुनी सचेतना दिन सकिएको खण्डमा विद्यालय, परिवार तथा समाजमा सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्न मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बिचार व्यक्त गर्दै कानुनी सहयता सम्बन्धी सचेतना तालिमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो।

तालिमका प्रशिकक्षक तथा उघोग वाणिज्य तथा उपभोक्ता हित मञ्चका निर्देशक शारदा बस्यालले बालबालिकाहरूलाई घरेलु हिसां बालबालकलिकामा प्रभाव र असर र निराकरण, उपाय, प्रचलित कानुन अनुसार हुने सजाय, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन नियम र कार्यान्वयन अवस्थाको वारेमा जानकारी दिनु भएको थियो। यस्तै प्रशिक्षक बस्यालले तालिम अवधीमा बालबालिका सम्बन्धी ऐन २०७५ सम्बन्धी जानकारी, बालविवाहका कारण र त्यसले पार्ने असर तथा परिणाम र निवारणका उपायहरु, संविधानमा व्यवस्था भएका बालअधिकार सम्बन्धी व्यवस्था, लैङ्गिक बिभेद, पितृसत्ता र बालबालिकाको समग्र विकासमा पारेका असरहरु स्वास्थ्य, शिक्षामा पारेका असरहरुका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५१ जना किशोर किशोरीहरुको सहभागिता भएको तालिममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाह, शिक्षा शाखाका प्रमिला पछाइ लगायत जनप्रतिनीधिहरुको समेत उपस्थिित रहेको थियो।