#मार्टिन ज्याकस
चीनको शासन प्रणालीबाट पश्चिमले धेरै कुरा सिक्न सक्छ । तर, निकट भविष्यमै यस्तो हुने सम्भावना छैन । उल्टो पश्चिमाहरू आफ्नो शासन प्रणालीलाई विश्वकै उत्कृष्ट ठान्छन्, परिमार्जन गर्नुपर्ने मान्दैनन् र चीनको भन्दा कता हो कता सर्वोत्कृष्ट ठान्छन् । त्यसो भए पश्चिम किन लगातार ओरालो लाग्दै छ ? यसको विपरीत चीन गत चार दशकयता किन फटाफट उकालो चढ्दै छ ? यस्तो विपरीत दृश्यको सम्बन्ध के तिनको शासन प्रणालीसँग नजोडिएको होला ? के राष्ट्रिय सफलता र शासन प्रणाली अलग्ग विषय हुन् ? के शासन प्रणाली झिलिमिलीमात्र हो ? देशले प्राप्त गर्ने उपलब्धिमा के त्यसको कुनै महत्व हुन्न ?
पश्चिमको यो सोच वाहियात हो । देशको सफलता र विफलता मूलतः शासन प्रणालीमै निर्भर हुन्छ । कुनै देशले प्रगति गर्दै छ भने त्यहाँ शासन प्रणालीले काम गरिरहेको हुन्छ । कुनै देश दुर्गतिको बाटोमा झर्दै छ भने त्यहाँ शासन प्रणालीको अभाव छ भनी बुझ्नुपर्छ । पश्चिमाहरूलाई यो सुन्दा अचम्म लाग्ला, तर चिनियाँ शासन प्रणालीमा उनीहरूले सिक्नुपर्ने धेरैथोक छ । यसको अर्थ पश्चिमा शासन प्रणाली चिनियाँजस्तै हुनसक्छ वा हुनुपर्छ भन्ने होइन । बरु प्रत्येक देशको शासन प्रणाली अत्यन्त रैथाने खालको हुन्छ र हुनुपर्छ । तर, विभिन्न देशले एकअर्काबाट सिक्नुपर्छ । त्यसो भए पश्चिमी शासनतन्त्रले चीनको अविच्छिन्न जनवादी प्रणालीबाट के सिक्न सक्छ ? सिक्नुपर्ने पाँच पाठ छन् ।
पहिलो, आम सहमति । आधारभूत र व्यापक सहमतिबेगर कुनै पनि समाज सफल बन्न सक्दैन । चीनमा चिनियाँ कम्युनिस्ट पार्टी यस्तो सहमतिको प्रतिमूर्ति र अभिव्यक्ति हो । सो पार्टीमा सम्पूर्ण वर्ग, पेशा, देशका प्रत्येक भूभाग, सम्पूर्ण जाति र थरीथरी राजनीतिक प्रवृत्तिहरूको प्रतिनिधित्व छ । चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई प्रतिबिम्बित गर्छ । कम्युनिस्ट पार्टीको कार्यभार देशलाई अघि बढाउने दिशामा जनताबिच सहमति हासिल गर्नु हो । ऊ आफ्ना प्रयासहरूमा अत्यन्त सफल हुँदै आएको छ । प्रमुख राजनीतिक दलहरू कुनै आधारभूत सवालमा एकमत हुँदाका घडी पश्चिमी देशहरूले पनि आम सहमति हासिल गर्ने गरेका छन् । तर, यो कुरा सम्भावना बिस्तारै क्षीण हुँदै छ । उदाहरणको लागि अमेरिका, बेलायत, फ्रान्स र इटलीलाई नै हेरौँ । उनीहरूबिच अहिले राजनीतिक ध्रुवीकरण बढ्दै छ । पतनको बेला टुक्रिने शक्ति बलवान् हुन्छ र त्यसले सामाजिक संरचना च्यातचुत पारिदिन्छ । यसको विपरीत चिनियाँ मानसिकता सहमतिमा आधारित छ । उसको असामान्य उन्नति र सामाजिक स्थायित्वले यो कुरा पुष्टि गर्छ । विश्वव्यापी परिवर्तनको वर्तमान युगमा आम सहमति हासिल गर्ने सवालमा एकदलीय राज्य पश्चिमको बहुदलीय प्रणालीभन्दा अब्बल साबित भएको छ ।
दोस्रो, सहभागिता । प्रजातन्त्रले जनतालाई स्वर र शक्ति दिने अपेक्षा गरिन्छ । अर्थात्, तिनलाई शासनमा सहभागी गराइन्छ । जनसहभागिताको सवालमा पश्चिमी प्रजातन्त्र थोत्रो भइसकेको छ । पश्चिमी प्रजातन्त्रको मुख्य विशेषता निर्वाचन हो । निर्वाचन आवधिक हुन्छ र दुई निर्वाचनबिच जनताको कुनै सहभागिता देखिन्न । अधिकांश समय राजनीति पेशेवर राजनीतिज्ञहरूको हातमा जान्छ । प्रजातन्त्र अविच्छिन्न प्रक्रिया हुनुपर्छ, प्रत्येक चार–पाँच वर्षमा हुने खेल हुनुहुन्न । यसलाई चीनसँग तुलना गरौँ । चीनमा प्रजातन्त्रले विभिन्न रूप लिन्छ – चुनाव, सरसल्लाहको निरन्तर प्रक्रिया, स्वशासन, कानुन निर्माणमा जनसहभागिता र पञ्चवर्षीय योजनाको निर्माण । अविच्छिन्न जनवादले जनतालाई विभिन्न तवरले सहभागी बनाउन खोज्छ । प्रजातन्त्रको मूल तत्व नै जनता हुन्छन्, राजनीतिज्ञ होइनन् । राजनीतिक प्रक्रियामा जनता निरन्तर सहभागी नभए, उनीहरूले वास्तवमै केही गर्न सक्दैनन् । अन्ततः प्रजातन्त्रको ऊर्जा, बल र क्षमता जनता कुन हदसम्म सहभागी छन् भन्ने कुरामा निर्भर हुन्छ । चीन सफल हुनुको प्रमुख कारण राजनीतिक प्रक्रियामा जनतालाई उत्साहित, सहभागी र परिचालित गर्न सक्ने उसको खुबी हो । यसरी जनताले देशको भविष्यको निम्ति योगदान गर्दै आएका छन् ।
तेस्रो, दीर्घकालीन सोच । दीर्घकालीन सोचको हिसाबले पश्चिमा प्रजातन्त्रहरू धेरै पछि देखिन्छन् । सोच खालि अर्को चुनावमै सीमित हुन्छ । सरकार हेरफेरले निरन्तरतामा ह्रास ल्याउँछ । अन्ततः यसले दीर्घकालीन उद्देश्यको खोजीमा अवरोध तेस्र्याउँछ । दलीय प्रणालीमा दलप्रतिको बफादारितामा जोड दिइन्छ र अर्को चुनाव कसरी जित्ने भन्नेमै सोचलाई सीमित पार्छ । यसबिच अर्को दस वर्षमा के गर्ने भन्नेपट्टि त्यति ध्यान जान्न । यसैबाट पश्चिमा राजनीतिक जगत दीर्घकालीन सोचको हिसाबले किन टाढा छ भन्ने कुरा बुझ्न सकिन्छ । यसैबाट पश्चिमा समाजहरू भौतिक पूर्वाधारमा किन पिछडिएका छन् भन्ने कुरा स्पष्ट हुन्छ । यस्तो पूर्वाधारको निम्ति सरकार ताक्ने सोचभन्दा पर दीर्घकालीन चिन्तन जरुरी हुन्छ । अब चीनसँग तुलना गरौँ । चीनले निरन्तर दीर्घकालीन सोच राख्दै आएको छ । अल्पकालीन योजनाहरू सधैँ दीर्घकालीन योजनाको दृष्टिले तय गरिन्छ । पञ्चवर्षीय योजना होस् वा २०३५ वा २०४९ ती सबै आपसमा जोडिएका हुन्छन् । यसरी विभिन्न आवधिक, अल्पकालीन, मध्यकालीन, दीर्घकालीन र युगीन योजनाहरूबिच जीवन्त र रचनात्मक सम्बन्ध बन्छ । आधुनिक समाजमा गहिरो परिवर्तन हासिल गर्ने यो एकमात्र उपाय हो । दीर्घकालीन चिन्तनप्रतिको चिनियाँ लगाव त्यस देशको वंशाणु गुण हो । ग्रेट वाल र ग्रायन्ड क्यानल यसका उदाहरण हुन् । सन् १९४९ यता चिनियाँ कम्युनिस्ट पार्टीले उज्ज्वल भविष्य हासिल गर्ने कुरामा ठूलो निष्ठा देखाएको छ । भविष्यप्रतिको चीनको मोह र पश्चिमी राजनीतिक बहसमा भविष्यको पूर्ण अभाव हुनु ठीक विपरीत दृश्य हुन् । चिनियाँ शासन प्रणालीमा वर्तमान र भविष्य आपसमा नङमासु छन् भने पश्चिममा आकाश र पातालजस्तै छन् ।
चौथो, विज्ञता । पश्चिमा राजनीतिले विज्ञतालाई उति महत्व दिन्न । राजनीति गर्नेबाहेक प्रमुख राजनीतिज्ञहरूमा निकै कम योग्यता र सीप हुन्छ । तिनीहरूले बिरलैमात्र महत्वपूर्ण वा ठूलो आकारको प्रशासन चलाएका हुन्छन् । त्यसैले ठूला संस्थानहरूले कसरी काम गर्छन् भन्ने विषयमा उनीहरू उति जानकार हुँदैनन् । यसले उनीहरूले जे दिन सक्ने हुन् त्यसमा अवरोध उत्पन्न हुन्छ र जनताको नजरमा तिनको गन्यमान्यता घट्छ । चीनसँग यसको तुलना गर्दा आनकोतान फरक पाइन्छ । त्यहाँ पार्टीको तल्लो तहमा पार्टी सदस्यले देखाउने उद्यमशीलता, पार्टी र सरकारका विभिन्न निकायको प्रशासन चलाउनमा उसले पाएको सफलता र उसले गरेको कामको कसीमा मात्र ऊ राजनीतिक सोपानमा माथि उक्लिन सक्छ । उच्च तहमा पुग्दासम्म उनीहरूले देश कसरी चलाउने भन्ने विषयमा प्रशस्त ज्ञान आर्जन गरिसकेका हुन्छन् । चिनियाँ मोडेलमा सिद्धहस्त पेशेवर हुनुपर्छ भने पश्चिमा मोडेलमा ‘पाको भलादमी’ भए पुग्छ । पश्चिमी राजनीतिकज्ञहरूको आधारभूत सीप बोल्ने खुबी हो । उनीहरूका चिनियाँ समकक्षीहरू भने काम गर्ने खुबीलाई महत्व दिन्छन् ।
पाँचौँ, कार्यसम्पादन । धेरै पश्चिमा राजनीतिज्ञहरूले प्रजातन्त्रलाई प्रजातन्त्रकै निम्ति मात्र सोचेको देखिन्छ । कुरा त्यसो होइन । प्रजातन्त्र ‘जनताको सेवा’ को निम्ति हो, तिनलाई सुन्दर जीवन दिनको निम्ति हो, समाज र अर्थतन्त्र सुधार्नको निम्ति हो । यस अर्थमा पश्चिमा प्रजातन्त्र टिठलाग्दो गरी विफल भएको छ । तिनका अर्थतन्त्रहरू ठप्प हुँदै छन्, तिनका समाजहरू झन्झन् विभाजित हुँदै छन्, विश्वमा तिनको तुलनात्मक महत्व एकाएक घट्दै छ र तिनीहरूसँग भविष्यको कुनै कल्पना छैन । राजनीतिक प्रणाली उनीहरूको एकमात्र उद्देश्य हो, तिनीहरू नै सबैभन्दा महत्वपूर्ण हुन् । यसको विपरीत चीनले असामान्य परिवर्तन हासिल गरेको छ । सन् १९७८ यता उसको अर्थतन्त्र अत्यन्त बढेको छ र अहिले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । उसले ८० करोड जनतालाई गरिबीबाट बाहिर निकालेको छ । जीवनस्तरमा ठूलो रूपान्तरण आएको छ । कोभिड–१९ नियन्त्रणमा चीनले पश्चिमलाई उछिनेको छ । ऊसँग भविष्यको स्पष्ट खाका छ । चिनियाँ प्रजातन्त्र आफ्नो कार्यभारमा खरो उत्रेको जोकोहीले निष्कर्ष निकाल्न सक्छ ।
शासन प्रणालीमा देखिएका आफ्ना विफलता र चिनियाँ सफलताहरूबाट सिक्ने बुद्धिमानी र विनम्रता के पश्चिमले देखाउन सक्ला ? चिनियाँ प्रणाली अपनाउनुमा चुनौती छैन । दुवैको इतिहास र संस्कृतिमा ठूलो भिन्नता हुनाले त्यो असम्भव र निराशा हात लाग्ने काम हुनेछ । चुनौती त चिनियाँ राजनीतिक प्रणालीका सबलताहरू बुझ्नु र तिनलाई पश्चिमी प्रजातन्त्रमा लागू गर्ने उपायहरूको खोजी गर्नु हो ।
(स्रोत : ग्लोबल टाइम्स)यो लेख अनलाईन मजदुरमा पनि प्रकाशित छ।
अनुवाद : सुरेश