रुषा थापा
भmण्डै चार वर्षअघि देशभरका पार्टी प्यालेसहरु दिनहुँजसो भरिभराउ हुन्थ्यो । एकै दिन तीन–चार वटासम्म कार्यक्रम हुने गथ्र्यो । दिउँसो बैंक तथा वित्तिय संस्थाको साधारणसभा र बेलुका विवाह वा भोजभतेर हुन्थ्यो । आम नागरिकलाई पनि कार्यक्रममा जान भ्याईनभ्याई हुन्थ्यो ।
आफु सदस्य रहेको बैंक, सहकारी, लघुवित्त तथा फाइनान्सको साधारणसभामा उनीहरु पुग्थे । प्रायजसो मानिसहरुको मुखबाट आज यो बैंकको साधारणसभा छ, भोलि सहकारीको छ भन्ने गरेको सुनिन्थ्यो । बैंक तथा वित्तिय संस्थाको साधारणसभामा सो संस्थाका सदस्यदेखि सम्बन्धित वडाध्यक्ष, मेयर, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म सहभागी हुन्थे ।
यी संस्थाको अध्यक्ष हुन हानाथाप हुन्थ्यो । सांसद बन्न निर्वाचन लडेझैं सहकारी, लघुवित्त, फाइनान्सको अध्यक्ष बन्न पनि कस्साकस्सी चल्थ्यो । साधारणसभामा बैंक तथा वित्तिय संस्थाले आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने गर्छन् । प्रायजसो संस्थाहरुले हामीले यो वर्ष यति नाफा कमायौं भनेर विवरण देखाउने गर्छन् ।
सो नाफाबाट संस्थाका शेयर होल्डरलाई बोनस र बचतकर्तालाई बढी ब्याज दिइने गरिन्थ्यो । बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारीहरुले १५ हजारदेखि तीन लाखसम्म तलब खान्थे । अध्यक्षहरु दिउँसो १२–१ बजे कार्यालय आउन्थे । तर, मासिक लाखौं रुपैयाँ तलब बुझथे । भत्ता छुट्टै प्राप्त गर्थे । संस्थाकै रकमबाट गाडी सुविधा पनि लिन्थे ।
यीनीहरुले पनि मिटिङ्ग बस्दा महँगामहँगा खाजा खान्थे । तर, बैंक तथा वित्तिय संस्थाहरुले वार्षिक यत्रो आम्दानी कसरी गर्छ ? भनेर न सरकारले खोज्थ्यो न सर्वसाधारण जनताले यसप्रति चासो देखाउँन्थे । यी संस्थाले मिटरब्याजमा कर्जा प्रवाह गर्ने गर्थे । एक लाखको मासिक २० हजारदेखि ३० हजारसम्म ब्याज असुल्थे ।
घरजग्गा, गाडी र सेयर दलाली पनि यीनीहरुले नै पाल्थे । अध्यक्ष, सञ्चालकहरु आफु पर्दाभित्र बसेर दलालीमार्फत जनतालाई फसाउन्थे । यीनीहरुकै मिलीजुलीमा खेतीयोग्य जमिन टुक्रटुक्रा बनाइयो । प्लाटिङ गरियो । डाँडाकाँडा समेत बाँकी राखेनन् । रोपनीको पाँच हजार बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचे ।
बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको शेयर एकाएक मूल्य बढाएर ३२ सयमा बेचियो । छिमेकी देश भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३०–३५ लाखमा बेचबिखन गरियो । हिजो दलालीको प्रयोग गरेर बैंक तथा वित्तिय संस्थाहरुले आम नागरिकलाई लुटे । एकातिर बचतकर्तालाई बढी ब्याजको प्रलोभन देखाए । अर्कोतिर ऋणीको उठीबास लगाए । जन्मदिनमा घरमै पुगेर केक काटिदिनेदेखि पिकनिक लग्ने, बुढाबुढीलाई लौरो उपहार दिनेसम्म गरे । बालबालिकालाई पनि बचत रकम खोल्न लगाए । उनीहरुले आफ्नो खाजाको पैसा समेत सहकारीमा जम्मा गरे ।
यता, ज्येष्ठ नागरिकहरुले आफ्नो वृद्धभत्ता सहकारीमा राखे । कतिपयले घरखेत बेचेको रकम राखे त कतिपयले विदेशमा कमाएको, व्यापार व्यवसायबाट आम्दानी भएको रकम जम्मा गरे । बाटोमा मकै पोल्नेदेखि अर्काको घरमा भाडा माँझ्नेसम्मले सहकारीमा बचत गरे । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीको विश्वासमा परेर आफुले नखाएर भएपनि बचत गरे ।
विडम्बना, अहिले त्यँही संस्थाले उनीहरुको रुवाबासी गराएको छ । सहकारीले करोडौं सर्वसाधारणको खर्बौ रकम झवम पारिदिएको छ । बचतकर्ताहरु बिचल्लीमा परेका छन् । सहकारीले पैसा खाइदिँदा कतिपयले सहन नसकेर आत्महत्या समेत गरे भने कतिपयले बचत हुँदाहुदै पनि नपाएपछि उपचार खर्च नभएर ज्यान गुमाए ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको साधारणसभा पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा भएको पाइदैँन । सहकारी त सबै भागि नै सक्यो । लघुवित्त र फाइनान्स पनि भाग्ने क्रम जारी छ । अब बैंकमा पनि समस्या देखिन थालेको बजारमा चर्चा छ । बैंक पनि छिट्टै टाट पल्टिने आम सर्वसाधारण बताउँछन् । अहिले सरकारी तथा निजी दुवै बैंकमा भीडभाड देखिन्छ ।
तर, त्यो भीड पैसा राख्नेको नभई निकाल्नेको हो । बैंकमा आफ्नो रकम सुरक्षित महसुस नभएपछि बचतकर्ताहरु धमाधम निक्षेप निकालिरहेका छन् । यता, बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न आफ्नो घर भाडामा दिएका घरधनीहरुको होश नै उडेको छ । केही गरी संस्था भागेको बचतकर्ताले आफ्नो घर तोडफोड गर्ने डर उनीहरुमा छ ।
त्यसैले, उनीहरुले भाडा नै मिनाहा गरेर भएपनि आफ्नो घर खाली गराइरहेका छन् । अनि नमानेमा वडा, नगरपालिका धाउँछन् । घरजग्गामा मन्दी आएको छ । यसको मूल्य निरन्तर घटिरहेको छ । चार वर्षअघि करोडौंको किनिएको घरजग्गा अहिले लाखौंमा झरेको छ । त्यो पनि बिक्री नभएर तनाव छ । गाडी र सेयरमा पनि यस्तै छ ।
गाडीको मूल्य कबाडको भाउमा झरेको छ । सेयर त जुवा भइहाल्यो । एक दिन थोरै बढ्छ, अर्को दिन ह्वात्तै घट्छ । अहिले बैंक तथा वित्तिय संस्था चोर, ठग रहेछन् भनेर आम सर्वसाधारणले थाहा पाएका छन् । तर, डुबेपछि जानेर के गर्नु ? अब रुनुबाहेक केही विकल्प छैन ।
जनता भन्छन्, ‘अब बैंक, सहकारी, लघुवित्त, फाइनान्स सञ्चालन गर्न दिनुहुन्न । यी संस्था चोर, ठग हुन् ।’ केही वर्षअघि इराकमा नेपाली नागरिकहरुलाई घाँटी रेटेर मारिएको छ । त्यसपछि यहाँ मिनपावर कम्पनीहरुमा तोडफोडदेखि आगलागीसम्म भयो । अहिले बजारमा आम नागरिकले बैंक तथा वित्तिय संस्था तोडफोड, आगलागी गर्नुपर्छ भन्न थालिसकेका छन् ।
पछिल्लो समय बैंकको खाताबाटै बचतकर्ताको रकम गायब भएको एकपछि अर्को घटना बाहिरिएका छन् । कयौं घटनामा बैंककै कर्मचारीको संलग्नता रहेको पनि भेटिएको छ । यसले बैंकप्रति आम नागरिकको विश्वासमा समेत नकारात्मक असर परेको छ । पहिलेजस्तो बैंकप्रति सर्वसाधारण विश्वास गर्दैनन् । बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुले हिजो घुस खाएर कर्जा प्रवाह गरे ।
घुस पाएमा र चिनजान भएमा कमसल धितोलाई समेत ऋण दिए । अनि घुस नपाएपछि उत्पादनमूलक क्षेत्रमा समेत कर्जा दिएनन् । एक करोड कर्जा दिँदा दश लाख घुस खान्थे । फेरि धितो पनि एक करोडकै राख्थे । १२ प्रतिशत ब्याज भनेर अनि ८० प्रतिशतसम्म असुल्थे । तीन प्रतिशत सेवाशुल्क ।
बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । यो तीनै क्षेत्रमा केही वर्षयता व्यापक मन्दी छ । यसमा लगानी गर्ने जोकोही डुबेका छन् वा डुबिरहेका छन् । सहकारीले हामी डुब्दैनौं, भाग्दैनौं भन्दाभन्दा बचतकर्ताहरुको बिजोग बनाए ।
अब बैंकले हामी डुबेका छैनौ भन्दै कति सर्वसाधारणको रुवाबासी गराउने हो ? हेर्न बाँकी छ । बैंक तथा वित्तिय संस्थाले सधै ठगिरहन्छौं भनेर सोचेका थिए । तर, भनिन्छ कि १२ वर्षमा उभो लागेको खोला पनि फर्किएर आउँछ । त्यसरी नै अब बैंक तथा वित्तिय संस्थाको पनि ठग्ने दिन गएको छ ।
भक्तपुर