सत्य राम कासिछ्वा
चामलको पिठोबाट गणेश, कुबेर, लक्ष्मी जस्ता कलाकृति बनाउनु यस पर्वको विशेषता हो । यसरी किसानले आफूभित्र लुकेको कलालाई चामलको पिठो मार्फत् मुर्ति निर्माणको प्रस्तुती दिने दुर्लभ परम्परा यमरी पुन्हीभित्र रहेको छ। प्रतिस्पर्धा नभए पनि एउटा कलाकारले अर्को कलाकारसम्म आफू बढी सक्षम भएको साबित गर्ने अवसर हो । चामलको पिठोद्वारा गणेश, कुबेर, लक्ष्मी जस्ता कलाकृति बनाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपन उजागर गर्छ ।
सांस्कृतिक प्रदर्शन र लोककलामा आजको सन्दर्भमा यमरी
आजभोलि यमरी केवल धार्मिक पर्वमा होइन, नेवारी भोज, विवाह, सांस्कृतिक कार्यक्रममा पनि बनाइन्छ। यसले नेवार समुदायको सांस्कृतिक पहिचान र परम्परागत पाककलालाई जगेर्ना गर्न मद्दत गरेको छ।
यमरीको सांस्कृतिक पक्ष नेवार समुदायको जीवन, विश्वास, र सामूहिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ। यो केवल स्वादिलो परिकार मात्र होइन, संस्कृति, आस्था र सामाजिक सम्बन्धको प्रतीकात्मक माध्यम हो।
यमरी पुन्हीको अवसरमा देवपाटन, खोकना, पनौती, काठमाडौं, भक्तपुर, ललितपुरमा मेला सहित कहिकतै यमरी बनाउने प्रतियोगिता, नेवारी नाचगान, ढोल-नगारा र देवी-देवताको शोभायात्रा समेत हुन्छ। यसले नेवार समुदायको लोककला र परम्परागत संगीतलाई जगेर्ना गर्न मद्दत गर्छ।
सांस्कृतिक पहिचान र समकालीन अर्थ
आज यमरी नेवारहरूको मात्र होइन, नेपालको सांस्कृतिक सम्पदाको प्रतीक बनिसकेको छ। यमरी नेपाली खानाको विविधता र मौलिकता देखाउने एउटा प्रमुख उदाहरण हो।विदेशमा बस्ने नेवार समुदायले पनि यमरी पुन्ही मनाउँछन्, जसले प्रवासी नेपालीबीच सांस्कृतिक निरन्तरता कायम राखेको छ।
यमरी नेवार सभ्यताको अन्नप्रेम, परिवारप्रेम, धर्म-संस्कृति प्रेमको प्रतीक हो। यो परिकारले भोजन र भावनाको अद्भुत संगम देखाउँछ, जसले संस्कृति र स्वादलाई एउटै धागोमा बाँधेको छ।
यमरी बनाउने ताैरतरिका र विविध पक्ष
यमरी पुन्ही एक पर्व हो, जुन नेवार समुदायले अन्नकी देवी अन्नपूर्णालाई पूजा गर्दै यमरी बनाउँछ। यो पर्वलाई धान्य पुर्णिमा पनि भनिन्छ । चामलको पिठो मुछेर माथिल्लो भाग चुच्चो र मुनितिर गोलाकारवृत्त बनाई यमरी अर्थात् मनपर्ने रोटीमा चाकु, घ्यू, नरिवल, खुवा र अन्य भराइ सामग्री राखेर बाफ मार्फत पकाईन्छ । यो रोटी अहिले देश विदेशमा प्रमुख आकर्षण बनेको छ । नेवार समुदायका कोही कोही जातिले यमरी पुन्हीलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् ।
कृषि विनाको जीवन परिकल्पना गर्न सकिँदैन । मानव जीवनको अस्तित्व कृषि उपज र उत्पादनमा निर्भर रहेको हुन्छ । कृषि आविष्कारको जननी हो । विश्वमै अद्वितीय र माैलिक सांस्कृतिक पर्वको रूपमा रहेको यमरी पुन्हीलाई संरक्षण र सम्वर्धन गर्न कृषि योग्य जमिनको संरक्षणसहित उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्नु आवश्यक छ । यसले पर्यटन प्रवर्द्धन भई राष्ट्रिय आम्दानीमा उल्लेख सहयोग पुग्छ ।