- नारायणमान बिजुक्छेँ (रोहित)
२९ अक्टोबर (११ नोभेम्बर)
संवैधानिक प्रजातान्त्रिक पार्टीलाई अङ्ग्रेजीमा कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी भनिन्छ । ती अङ्ग्रेजी शब्दको पहिलो अक्षर मिलाएर ‘क्याडेट’ शब्द बनेको हो । ‘जनमुक्ति पार्टी’ नामले चिनिने त्यो उदार सामन्त र धनीहरूको पार्टी थियो । ११ नोभेम्बरको दिन त्यस पार्टीले पेट्रोग्रादमा विद्रोह गर्यो । तिनीहरूले पितृभूमि र क्रान्ति रक्षा समिति भनेर क्रान्तिविरोधीहरूको सङ्गठन बनाएका थिए ।
पेट्रोग्रादको भोर्काया सडकमा टेलिफोन अड्डा थियो । ढुङ्गै ढुङ्गाले बनेको त्यो अड्डा एक ठुलो किल्ला जस्तो थियो । केही बोल्शेभिक सिपाहीहरूले लाखौँ तारहरूको त्यस केन्द्रलाई पहरा दिइरहेका थिए । दिनभरको पहराले थाकेका ती सिपाहीहरू पालो फेर्न पर्खिरहेका थिए ।
रातको १२ बजिसकेको थियो । ११ नोभेम्बरको सबेरै केही युङ्करहरू त्यहाँ पुगे । शीतल दरबारमा बन्दी बनाउँदा सोभियत हुकुमको विरोधमा नलड्ने प्रतिज्ञा गरेपछि छोडिएका ती खानदानी परिवारका युवा अफिसरहरू लालरक्षकहरूकै भेषमा त्यहाँ पुगे । तिनीहरूको पोसाक, बन्दुक भिरेको तरिका, सबै काटीकुटी बोल्शेभिकहरूको जस्तै थियो । तिनीहरूले पहरा बसेका सिपाहीहरूलाई बोल्शेभिकहरूले जस्तै कानमा गुप्त सन्देश सुनाए । त्यसअनुसार पहरामा बसेका सिपाहीहरूले आफ्ना बन्दुकहरू एक कोठामा जम्मा गरे । त्यति हुनासाथै २० जवान ती युङ्करले पिस्तोल देखाएर सबै बोल्शेभिकलाई बन्दी बनाए । क्रान्तिलाई धोका दिएर ती युङ्करहरूले टेलिफोन अड्डालाई आफ्नो कब्जामा राखे ।
सडकमा पहरा दिएर युङ्करहरूले आवतजावत गरेका मोटर र जनताबाट पैसा र कर असुल गर्न लागे । त्यसैबेला संजोगले सोभियत युद्धमन्त्री अन्तोनोभ पनि तिनीहरूबाट पक्रिए । पेट्रोग्रादमा कुशल नेताहरूको कमी थियो । अन्तोनोभको पक्राउले प्रतिक्रियावादीहरू सा¥है खुसी भए ।
त्यो कुरो थाहा पाउनासाथै बोल्शेभिक र मजदुरहरूले टेलिफोन अड्डालाई चारैतिरबाट घेरे । युङ्करहरूलाई ध्वस्तै पार्ने ढङ्गले लडाइँको तयारी गरियो । दुवैतिर गोली हानाहान भयो । युङ्करहरूले आफ्नो खराब स्थितिलाई बुझेर अन्तोनोभलाई अगाडि सारेर शान्ति वार्ताको प्रस्ताव राखे । पहिले पनि वचन पालन नगरेको हुनाले लालरक्षकहरूले तिनीहरूलाई विश्वास गरेनन् । यसकारण, बोल्शेभिकहरूले अन्तोनोभलाई आफ्नै बलले छुटाउने दृढता व्यक्त गरे ।
एउटा मोटरको चारैतिर रेडक्रस (परोपकार) को चिह्न टाँसेर युङ्करहरूले रेडक्रसको केन्द्रबाट घाइते सिपाहीहरूलाई औषधि ल्याउने निहुँ झिके । उपचार दल र रेडक्रसको चिह्न भएको मोटरमा गोली नचलाउने लडाइँको नियम थियो । तर, त्यसले हातहतियार र गोलाबारुद ओसार्न पाइँदैनथ्यो । पुँजीपतिवर्ग आफैले बनाएको नियम सजिलैसित उल्लङ्घन गर्ने गर्छ र प्रतिक्रियावादीहरूले धोका दिन्छन् भन्ने कुरा बोल्शेभिकहरूले सोचेका थिएनन् ।
युङ्कर अफिसरहरूले त्यो गाडीलाई प्रतिक्रान्तिको सदरमुकाम सैनिक इन्जिनियरिङ अड्डा र मिखाइलोभ्स्की युङ्कर स्कूलमा लगे । त्यहाँ बेलायती र फ्रान्सेली अफिसरहरू सिधै लडाइँका गतिविधिहरूलाई सञ्चालन गर्दै थिए । त्यहाँ प्रतिक्रियावादी अफिसरहरूले ‘युङ्करहरूलाई सैनिक क्रान्तिकारी समिति’ को नक्कली पास, बोल्शेभिकहरूलाई मार्ने औषधि र सामान दिए । लडाइँसम्बन्धी अरू सल्लाह पनि दिए । त्यहाँबाट एक तोप गाडी र सहायक टोली पठाउने आदेश पनि दिए । गाउँ–गाउँबाट आएका किसान, सैनिकहरू, लालरक्षक र माझीहरू ती सबै जालझेललाई बुझ्दैनथे ।
बोल्शेभिकहरूले पनि गोलाबारुद बर्साएर टेलिफोन अड्डा ध्वस्तै पार्न थाले । युङ्करहरू आउने सबै बाटो बोल्शेभिकहरूले छेकिसकेका थिए । केही नलागेर युङ्करहरूले आत्मसमर्पण गरे । केही समय अघिसम्म बन्दी बनाइएका सोभियत युद्धमन्त्री अन्तोनोभले अमेरिकी पत्रकार अल्वर्ट रीस विलियम्समार्फत प्राण रक्षाको वचन दिए ।
तर, चारैतिर जम्मा भएको उत्तेजित भिडले बन्दी युङ्करहरूलाई छोए अन्तोनोभले गोली हान्ने कुरा बताए । उत्तेजित भिड धोकेबाज, जनविरोधी र हत्यारा युङ्करहरूलाई टुक्राटुक्रा गर्न खोज्दै थिए । आखिर क्रान्तिको निम्ति, नयाँ व्यवस्थाको निम्ति र अनुशासनको निम्ति आफ्नो नेतृत्व कलाको शक्तिबाट अन्तोनोभले स्थितिलाई काबुमा ल्याउन सफल भए । प्रतिक्रान्तिको फेरि हार भयो ।
टेलिफोन अड्डाजस्तै युङ्करहरूले सैनिक होटल र रेडियो पनि कब्जा गरेका थिए । त्यहाँ पनि चर्को लडाइँ भयो ।
टेलिफोन अड्डामा थुप्रै माथिल्लावर्गका केटीहरू काम गर्थे । लडाइँ हुँदा तिनीहरूले फेरि जार सरकार नै फिर्ता ल्याउने हिसाबले खानदानी सैनिक अफिसरहरूलाई गोली–बारुद ओसारेर मद्दत गरेका थिए । घाइतेहरूलाई मलमपट्टी लगाउँथे । ठुलाबडाका छोराहरूको सङ्गठन तिनीहरूलाई मनपथ्र्याे । तर, बोल्शेभिकहरूको कब्जामा अड्डा जानासाथ तिनीहरू डरले रुवाबासी गरेका थिए । प्राण रक्षाको वचन पाउनासाथ तिनीहरूले मजदुर, किसान, माझी र बोल्शेभिकहरूलाई ‘छि’, ‘फोहरी’, ‘मूर्ख’, ‘गाउँले’ जस्ता शब्दहरूले घृणा गरे । सैनिक क्रान्तिकारी समितिले तिनीहरूलाई टेलिफोन अड्डामै काम गर्न सम्झायो । तिनीहरूको तलब ६० रुबलबाट १५० रुबल र कामको घण्टा १० बाट घटाउने कुरा ग¥यो । तिनीहरूले प्रस्ट शब्दमा बोल्शेभिक ‘जनावरहरूको तल’ बसेर महिनाको १००० रुबल दिए पनि काम नगर्ने निर्णय बताए ।
यस घटनाबाट पनि थाहा हुन्छ कि वर्गसङ्घर्षको बेला महिला र पुरुषको कुरा आउँदैन । शोषकवर्गका महिलाहरू पनि मजदुर र किसानहरूका विरोधी हुन्छन् । ‘नारी मुक्ति’ को नाउँमा शोषकवर्गका महिलाहरूलाई मजदुरवर्गले छुट दिने कुरो उठ्दैन ।
टेलिफोन अड्डा, ब्लादीमिर स्कूल र अन्य ठाउँ फेरि बोल्शेभिकहरूको कब्जामा गएको समाचारले १ लाख ८३ हजार मतले चुनेको नगर ड्युमाको अधिवेशनमा निराशा देखियो । तर, पत्रपत्रिकाहरू क्रान्तिमाथि टीकाटिप्पणी गर्दै थिए ।
२९ अक्टोबरको राति पेट्रोग्रादका मजदुर र सैनिकहरूको प्रतिनिधिसभा (सोभियत) को बैठक हुँदै थियो । बैठकमा मजदुरहरूको ८ घण्टाको कामको दिन, खाली भवनहरूमा मजदुरहरूलाई बस्न दिने, रोगी, असक्त, बुढाबुढी, सुत्केरी, विधवा, अनाथ र बेकारीको बन्दोबस्तमा मालिकहरूले खर्च बेहोर्नुपर्ने सामाजिक बीमा, शिक्षा आदि विषयका आदेशहरूबारे छलफल हुँदै थियो । बैठकमा ३०० जति मानिस उपस्थित थिए ।
मजदुर र किसानहरूको सोभियतको केन्द्रीय कार्यकारिणी समिति (त्से–इ–काह) को बैठकमा रेल मजदुर सङ्घको केन्द्रीय कार्यकारिणी समितिको एक प्रतिनिधि बोल्दै थियो, “हामी दुवै पक्षको सामान ओसार्न अस्वीकार गर्छौँ ।” ऊ सबै समाजवादीहरूको एक सम्मेलनको माग गर्दै थियो । त्यसको जवाफमा कामेनेभले बोल्शेभिक कार्यक्रमलाई स्वीकार गर्नुपर्ने कुरामा सङ्केत गरे । त्रोत्स्कीले बोल्शेभिकहरूको जितको बयान गर्दै भने, “.. रगत बगिसकेको हुनाले क्रूर सङ्घर्षबाहेक अर्को बाटो छैन । अर्को तरिकाले हामी जित्छौँ भन्ने कुरा केटाकेटीपन हुनेछ ।” मेन्शेभिक सदस्य श्योफेले आफ्नो पार्टीको घोषणा पढ्न खोज्दा त्रोत्स्कीले ‘मौलिक कुरामा बहस’ गर्न दिएनन् । मेन्शेभिक सदस्यले ठुलो स्वरले कराउँदै भन्यो, “अब हाम्रो बहस चौबाटोमा हुनेछ ।” एक सिपाहीले भन्यो, “लडाइँंको मोर्चाको खाडलमा यो समाचार पुगेपछि तिनीहरूले ‘यो हाम्रो सरकार हो’ भन्ने छन् ।” पालैपालो प्रतिनिधिहरूले बोल्शेभिकहरूलाई समर्थन गर्न लागे ।
नगर ड्युमाको माथि अलेक्सान्द्र बैठकमा पनि ‘रक्षा समिति’ को बैठक भइरहेको थियो । त्यहाँ अफिसरहरूको विभिन्न रङ्गका पोसाक चम्किरहेका थिए । मेन्शेभिक र समाजवादी क्रान्तिकारी बुद्धिजीवीहरू बसिरहेका थिए । झिलीमिली लुगा लगाएका बैङ्कपति, कूटनीतिज्ञ र सिङ्गारपटार गरेका महिलाहरू थिए । आफूलाई ‘गन्यमान्य’ सम्झिने ती भद्र–भलाद्मीले टेलिफोन अड्डाबाट छुटकारा पाएका सिङ्गारपटारमै मर्न चाहने केटीहरूको बयान सुन्दै थिए । ती केटीहरूले टेलिफोन अड्डामा मजदुरहरूबाट भएको ‘अपमान र कष्ट’ का झूटा कुरा बयान गर्दै थिए ।
ड्युमाको बैठक चलिरहेको थियो । त्यहाँ बोल्शेभिकहरूविरुद्ध प्रचार कार्यमा बल दिइँदै थियो । त्यस्तै, रेल मजदुर सङ्घको केन्द्रीय कार्यालयमा सबै समाजवादी पार्टीहरूको सम्मेलन भइरहेको थियो । तिनीहरू बोल्शेभिकहरूलाई निःशस्त्र पार्ने; पेट्रोग्राद छाउनीहरूलाई ड्युमाको मातहतमा राख्ने; बोल्शेभिकहरूबाहेक सबै समाजवादी पार्टीहरूको एक संयुक्त मन्त्रिमण्डल बनाउने विषयमा छलफल गरिरहेका थिए ।
उता लेनिन र बोल्शेभिकहरू पछिको लडाइँको निम्ति तयारी गर्दै थिए ।
३० अक्टोबर (१२ नोभेम्बर)
सोमबारको दिन थियो । पेट्रोग्रादको लडाइँ निर्णायक लडाइँ थियो । सारा रुसले पेट्रोग्रादको फैसला हेरिरहेको थियो । एकातिर सोभियतहरूको नयाँ सेना थियो भने अर्कोतिर पुरानो हुकुम थियो । सोभियत सेनाको अर्थ थियो, भर्खरका कलिला लालरक्षकहरू । तिनीहरूसँग अफिसरहरू थिएनन्, तिनीहरूसँग खास योजना थिएन । तिनीहरूसँग ५ हजार नियमित सेनामात्र थियो । बोल्शेभिकपट्टि लागेका तालिम प्राप्त पेट्रोग्राद छाउनीको सेना युङ्करहरूको विद्रोह दबाउनमा लागेको थियो ।
अर्कोतिर तालिम प्राप्त ठुलो सेना, अनुभव प्राप्त अफिसरहरू, बुद्धिजीवीहरू, पुँजीवादी सरकार र साम्राज्यवादी देशहरू थिए ।
विरोधीहरू भन्दै थिए, बोल्शेभिकहरूसँग बुद्धिजीवीहरू छैनन् । मन्त्रालयहरूमा कामै भइरहेको छैन । रुस भनेको पेट्रोग्राद सहरमात्र होइन; पूरै देश हो । तिनीहरू धेरै दिन टिक्दैनन्; तिनीहरू दुस्साहस गर्दै छन् आदि ।
जनकमिसार परिषद्ले गुप्त सन्धिहरू प्रकाशित गर्ने वचन दिएको थियो । तर, कागतपत्रको जिम्मा लिने कर्मचारी बेपत्ता थियो । भनिन्छ, त्यो कर्मचारी कागतपत्रसमेत लिएर बेलायतको दूतावासमा लुकेको थियो ।
नगर ड्युमा मानिसहरूले भरिएको थियो । बोल्शेभिकहरूले ड्युमालाई प्रतिक्रान्तिको केन्द्र भनेका थिए । त्यसको जवाफमा मेयर श्रेइदेरले ड्युमा राजनीतिक पार्टीहरूको सङ्गठनमा भाग लिइरहेको छैन; देशमा कुनै राजनीतिक सत्ता नहुँदा नगरपालिका सुव्यवस्थाको केन्द्र र स्वायत्त शासन हो; युङ्करहरूले बोल्शेभिकहरूको केन्द्र स्मोल्नीमा टेलिफोन काट्दा विरोध गरेका थिए भन्नेजस्ता कुरा गर्दै थिए । बोल्शेभिकहरूको विजयले नगर ड्युमाको अध्यक्षको घमण्ड झर्दै तटस्थ देखिदै थियो । बोल्शेभिकहरू उनलाई व्यङ्ग्य गर्दै थिए ।
नगर ड्युमाको एक बोल्शेभिक सदस्य कोबोजेभले भने, “हामीले ड्युमालाई राजनीतिक सभामा फेर्नु हुन्न भनेर मेयर महाशय भन्नुहुन्छ तर यहाँ मेन्शेभिक वा समाजवादी क्रान्तिकारी भलाद्मीहरू जेजति भन्छन्, त्यो तिनीहरूको पार्टी प्रचारबाहेक केही पनि होइन ।… तपाईँले जनताको नाममा एक अपिल प्रकाशित गर्नुभएको छ र हामी पनि यसो गर्ने अधिकार राख्छौँ ।”
संवैधानिक प्रजातन्त्रवादी भनिने शोषक पार्टीको एक क्याडेटले राजद्रोहको अपराधीलाई सजाय गर्नुपर्छ र बोल्शेभिक सदस्यलाई ड्युमाबाट निकाल्नुपर्छ भन्ने दाबी ग¥यो । मेन्शेभिकहरूले बोल्शेभिकहरूलाई मारकाटको निम्ति उत्तेजित पारिरहेको बताए । एकजनाले भने, “बोल्शेभिकहरूको विरोध गर्नेहरू क्रान्तिविरोधी हुने भए म क्रान्ति र अराजकतामा केही भेद देख्दिनँ ।” त्यस्तै, सबै विरोधी पार्टीहरू बोल्शेभिक पार्टीको विरोधमा आगो ओकल्दै थिए । तिनीहरूको रिपोर्टअनुसार सारा जनता बोल्शेभिकहरूको विरोधमा जाँदै छन्; करेन्स्की नआए पनि बोल्शेभिकहरूसँग सरकार चलाउने मानिसहरू नै छैनन् र तिनीहरू आपसमा लड्दै छन् ।
समाजवादी क्रान्तिकारी पार्टीको ‘रक्षा समिति’ ले भित्रभित्र षड्यन्त्र गर्दै थियो । तिनीहरू करेन्स्की, युङ्कर र क्याडेटरलाई उचालेर बोल्शेभिकहरूलाई खतम गर्न चाहन्थे । फेरि तिनीहरू ‘बोल्शेभिकहरूले किसानको समर्थन प्राप्त गर्न हाम्रो कार्यक्रम चोरेका हुन्; यो पूरै बेइमानी हो; संविधानसभालाई पर्खनुपर्छ’ भन्थे ।
उता स्मोल्नीमा पनि बोल्शेभिकहरूको बैठक भइरहेको थियो । बैङ्कहरूले बोल्शेभिकहरूलाई पैसा दिन मानिरहेका थिएनन् । यसकारण, लेनिनले राष्ट्र बैङ्कलाई बारुदले उडाइदिन र निजी बैङ्कको ढुकुटी पनि खोल्न आदेश दिनुभयो । कज्जाकहरू क्रास्नोये सेलोबाट पनि हट्दै छन्; पुल्कोभामा चर्को लडाइँ हुँदै छ; मस्कोको स्थिति पेट्रोग्रादको स्थितिमा निर्भर छ; लडाइँंको मोर्चाहरूमा शान्ति र भूमिको विज्ञप्तिले राम्रो असर पारेको छ; आदि रिपोर्ट त्रोत्स्कीले दिँदै थिए ।
भूमि कार्यक्रमबारे लेनिनले बोल्नुभयो, “तिनीहरूको भूमि कार्यक्रम हामीले चोरेको आरोप लगाइँदै छ… कुरो यस्तै हो भने हामी तिनीहरूको अगाडि टाउको झुकाउँछौँ । हाम्रो निम्ति कार्यक्रम धेरै राम्रो छ ।”
एकपछि अर्को नेता, सिपाही, मजदुर र किसान उठेर बोल्थे, वादविवाद गर्थे । घाइते सिपाही र मानिसहरू आउँथे; जान्थे; बैठक चल्दै थियो । उता लडाइँमा चर्काचर्की चलिरहेको थियो ।
पेट्रोग्रादको बाहिरी फेराको कोलपिनो, ओबुखोभो, पुल्कोबो र त्रोस्नोये सेलो भन्ने ठाउँमा अस्थायी सङ्गठनहरू २९ अक्टोबर वा ११ नोभेम्बरमा मात्रै बनाइएको थियो । तितरबितर भएका सिपाहीहरूका दल त्यतैतिर मिल्न गइरहेका थिए । सिपाही, लालरक्षकहरू, ब्यारेकका रेजिमेन्टहरूको केही भाग, पैदल सिपाही, घोडचढी सिपाही, तोप हान्ने दल, मजदुरहरू र सबै प्रकारका जनताका दल त्यहाँ भेला भए । ती खुकुलोरूपले सङ्गठित जनसमूहका दललाई बोल्शेभिकहरूले स्वागत गर्थे र तिनीहरूलाई लड्ने ठाउँ तोकिदिन्थे । तिनीहरू आफै आफ्ना दलका कमान्डरहरू चुन्थे । यसप्रकार पुरानो व्यवस्थालाई पल्टाउन चाहने र नयाँ युगलाई ल्याउन चाहने व्यापक जनसमूहको इच्छा एक भयो । शत्रुहरूदेखि रिसाएका ती जनता लडाइँंको निम्ति तयार भएर बसेका थिए ।
१२ नोभेम्बर दिउँसो ३ बजे गोलाबारी सुरु भयो । कज्जाकहरूको साहस घट्दै थियो । क्रास्नोये सेलोमा करेन्स्कीको एक दूत आएर गोलाबारी बन्द गर्ने एक प्रस्ताव दियो । प्रस्तावअनुसार गोलाबारी बन्द नगरे ‘निर्णायक’ कार्य गर्ने धम्की दिइएको थियो । बोल्शेभिकहरूले त्यस दूतलाई करेन्स्कीले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोक्ने जवाफ दिए । क्रास्नोये सेलो र पूरा इलाकामा बत्ती निभाइएको थियो र पादरीहरू जनतालाई धर्मको नाममा बोल्शेभिकहरूको विरोधमा भड्काउँदै थिए ।
राति करेन्स्कीले क्रान्तिकारी सेनालाई फेरि आत्मसमर्पण गर्न प्रस्ताव पठाए । करेन्स्कीले फेरि गोलाबारी गरे । बोल्शेभिकहरूले पनि त्यसको जवाफ दिए । कज्जाकहरूले जनतामाथि हमला गर्न थाले । बस, के थियो ! जनता लड्न तयार थिए । स्थानीय सोभियत र कारखानामा मजदुरहरूले आवश्यक हातहतियार र सामान पु¥याएकै थिए । माझीहरूले शत्रुहरूमाथि अचुक निशाना लगाएर गोली हान्न थाले । अनि, अचानक चारैतिरबाट सबैले एकैचोटि हमला सुरु गरिहाले । लडाइँको केही ज्ञान नभएका साधारण मजदुरहरूले पनि लड्नमा खप्पिस सम्झिएका कज्जाक घोडचढी सिपाहीहरूमाथि धावा बोल्न थाले; कज्जाकहरूको घोडाको लगाम समातेर तिनीहरूलाई नै घोडाबाट खसालेर पछारे । यसप्रकार जनताको ठुलो सङ्ख्याको आँधी बेहरीजस्तो चर्को हमलाले शत्रु सेना तर्सियो । कज्जाकहरू तोप छोडेर भागे । बोल्शेभिकहरूले धेरै परसम्म तिनीहरूलाई लखेटे; ११–१२ बजेसम्ममा त्साइस्कोये सेलो नगर र सरकारको ठुलो रेडियो स्टेसन जनताकै कब्जामा रह्यो । त्साइस्कोएको रेडियो स्टेसनले तुरुन्तै सबै सोभियतलाई रेडियो सन्देश पठायो । लडाइँमा माझी, सिपाही र लालरक्षकहरूले ठुलो साहस देखाएका थिए ।
पुल्कोबोले सैनिक स्टाफबाट राति २ बजेर १० मिनेट जाँदा स्मोल्नीको बैठकमा एक समाचार पठाए । समाचारमा भनिएको थियो, “३०–३१ अक्टोबरको रात इतिहासमा सदा अङ्कित रहनेछ । क्रान्तिको राजधानीको विरोधमा क्रान्तिविरोधी सेनाबाट धावा बोल्ने करेन्स्कीको कोसिस निर्णायकरूपले विफल गराइयो । पुँजीपतिवर्गले क्रान्तिकारी सेनालाई अलग गर्ने कोसिस गरेको थियो । करेन्स्की कज्जाकहरूको शक्तिबाट त्यसलाई टुक्राउन चाहन्थ्यो । ती दुवै योजना दयनीयरूपले विफल भयो ।” करेन्स्की एक माझीको भेषमा भाग्यो ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व