आमाको मृत्यु
माओले त्यस नर्मल स्कूलमा ५ वर्ष अध्ययन गरे । त्यो स्कूले जीवन नै उनको जीवनको महत्वपूर्ण दिन थियो । सन् १९१७ मा माओकी आमा बितिन् । त्यसबेला माओ २४ वर्षका युवक थिए । माओ आमालाई अति माया गर्थे । अब आफ्नो शाऊशान गाउँ उनको निम्ति बिरानो लाग्यो ।
तालिम स्कूलको पढ्ने कोठामा अरू विद्यार्थीहरू आ–आफ्ना पाठ घोक्थे । माओचाहिँ कलेजमा आउने र छुट्टै अखबार मगाएर पढ्थे । त्यसबेला पहिलो विश्वयुद्धको समय थियो । उनलाई संसारका सबै मुख्य राजनीतिक र सैनिक घटनाहरू याद हुन्थ्यो । हरेक घटनाको विषयमा उनको विश्लेषण गर्नसक्ने क्षमता देखेर सबै दङ्ग हुन्थे ।
विद्यार्थी नेता
त्यसबेला माओले स्कूलमा विद्यार्थीहरूको एक सङ्घ बनाए र साहित्य गोष्ठी, वादविवाद र खेलकुदको गतिविधि सुरू गरे । प्रतिक्रियावादी फौजले कलेजलाई छाउनी बनाउन खोज्दा कलेज प्रशासन थरथर काँप्यो । तर, माओले लडाकु विद्यार्थीहरूको एक रक्षादल बनाएर बेञ्च, टेबुलहरूले कलेजको गेट बन्द गरिदिए । केही बन्दुक लिएर मोर्चा लिए । बन्दुकको आवाजले आफूहरूलाई ठूलो ठान्ने सबै प्राध्यापकहरू पुच्छर लुकाउन पुगे । माओले कलेजलाई बचाए । यो माओको पहिलो सैनिक कारबाही थियो ।
त्यसबेला पेचिङबाट प्रगतिशील विचारको ‘नयाँ युवक’ भन्ने एक पत्रिका निस्कन्थ्यो । त्यसको भाषा र शैली सरल र जनताले बुझ्ने खालको थियो । माओमा त्यसको ठूलो प्रभाव प¥यो । सन् १९१७ को शरद्मा ३०–४० जवान साथीहरू भेला गराएर माओले बुद्धि विकास गर्ने र जुवा नखेल्ने, गुण्डागर्दीजस्ता खराब लतमा नलाग्ने उद्देश्यले ‘नयाँ जनअध्ययन गोष्ठी’ नामको एउटा सङ्गठन बनाए । माओ त्यसको प्रधान हुन नचाहेर उपप्रधानमात्र रहे ।
त्यसबेला चीनमा अनेक राजनैतिक सुधारवादी र काल्पनिक समाजवादका किताबहरू निस्किन्थ्यो । माओ ती सबै किताबहरू पढ्थे । सन् १९१८ मा नर्मल स्कूलबाट माओ स्नातक भए । तर, माओ स्कूल र कलेजको अध्ययनलाई भन्दा आफ्नै बाहिरी अध्ययनलाई महत्व दिन्थे । उनले कलेज र विश्वविद्यालयमा अध्ययन गरेनन् ।
पुस्तकालयमा जागिरे
सन् १९१९ मा पहिलो विश्वयुद्ध सकिसकेको थियो । फ्रान्समा त्यसबेला निर्माण कार्यको लागि सस्तो ज्यामी चाहिएको थियो । फ्रान्स र चीनको बिचमा भएको एक सम्झौताअनुसार चीनबाट लाखौँ ज्यामीहरू फ्रान्समा गए । त्यसलाई ‘काम गर्ने र पढ्ने योजना’ भनिन्थ्यो । हुनानका विद्यार्थीहरू पनि फ्रान्स गएर काम गर्ने र पढ्ने विचारले राजधानी पेचिङ गए । माओ पनि सापटी मागेर पेचिङ गए । तर, उनी आफ्नै देशमा अध्ययन गर्ने विचारमा थिए ।
पेचिङमा माओले पुराना शिक्षक याङलाई भेटे । याङले माओलाई धेरै मद्दत गरे । याङमार्फत ली ता–चाओ भन्ने एक प्रगतिशील विद्वानसँग माओको परिचय भयो । ली ता–चाओ पेचिङ राष्ट्रिय विश्वविद्यालयको पुस्तकालयका अध्यक्ष थिए । उनले माओलाई सहायकको काममा भर्ना गरे । माओले ८ रूपैयाँ महिनावारी पाउँथे । माओ र अरू ७ जना साथीहरू एउटा सानो कोठामा बस्थे । माओको काम अखबार हेर्नेहरूको नाम टिप्ने थियो । उनी त्यसबेला विद्वान र नेताहरूसँग कुरा गर्न चाहन्थे । तर, माओ एक जना तल्लो दर्जाको कर्मचारी र गाउँले भएकोले तिनीहरू उनलाई मान्छे गन्दैनथे । तैपनि, प्रोफेसर याङमार्फत धेरै विद्वानहरूसँग परिचित भए । पुस्तकालयमा काम गर्दै उनले दर्शन र पत्रकारिताको विषयमा अध्ययन गर्न थाले ।
माओ पत्रकारितामा
आफ्ना साथीहरूलाई फ्रान्स पठाउन माओ पैँचो लिँदै औद्योगिक सहर साङ्घाई गए । फ्रान्स जानेमा चाओ एन–लाइ पनि थिए । साङ्घार्ई जाँदा पैसा नभएर माओ हिँड्दै अरू प्रान्तहरू पनि घुम्दै गएका थिए । आफ्ना साथीहरूलाई जहाजबाट बिदा गरिसकेपछि माओ हुनान फर्के ।
सन् १९१९ को सुरूमा बेलायत, फ्रान्स, संयुक्त राज्य अमेरिका, जापान, इटाली र अरू साम्राज्यवादीहरू पेरिसमा भेला भई पहिलो विश्वयुद्धमा हात पारेका देशहरूको भागबन्डा गरे । चीनको शानतुङ प्रान्त पहिले जर्मनीको मातहतमा थियो । त्यस भागबन्डाले त्यो प्रान्त अब जापानले पाउने निधो भयो । साम्राज्यवादीहरूको त्यस भागबन्डाले चिनियाँ जनतामा साम्राज्यवादविरोधी भावना जाग्दै थियो ।
जापान चीनको शानतुङ प्रान्तमात्र होइन उत्तरपूर्वी भागहरू पनि दखल गर्न खोज्दै थियो । त्यस्तै अङ्ग्रेज र अमेरिकीहरूले चीनको व्यापार, कलकारखाना, खानी आदि सबै क्षेत्र आफ्नो कब्जामा लिन खोज्यो । त्यसको विरोधमा ’युवक’ पत्रिकाले सबै विद्यार्थी र बुद्धिजीवीहरूलाई सङ्घर्ष गर्न आह्वान ग¥यो । एक रात पेचिङमा अमेरिकी सिपाहीहरूले विद्यार्थीहरूमाथि छाडा व्यवहार गरे । त्यस घटनाले विद्यार्थीहरूमाथि भएको साम्राज्यवादविरोधी भावनालाई झन् चर्काइदियो । ४ मई १९१९ को दिन विद्यार्थीहरूले साम्राज्यवादको विरोधमा पेचिङमा ठूलो जुलुस गरे । ‘जापानी दलालहरू निक्ली जा ¤’, ‘देश बेचुवा मन्त्री मुर्दावाद ¤’ भनेर नारा लगाए । उत्तरी गभर्नरले देशको बेचबिखनको विरोध गर्ने ३० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार गर्यो । पक्राउले गर्दा सङ्घर्षले झन् चर्को रूप लियो । पेचिङ विश्वविद्यालयमा हडताल भयो । ‘हाम्रा साथी छोडी देऊ’ भनेर फेरि जुलुस भयो । जापानसँगको सन्धिमा सही गर्ने चिनियाँ राजदूतको घरमा जुलुस पुग्यो । चिनियाँ राजदूतलाई प्रदर्शनकारीहरूले लात र मुक्काले सजाय दिए । त्यसका घरमा बसेका ३ जना जापानी सल्लाहकारहरू पुच्छर लुकाएर भागे । फेरि ३२ जना विद्यार्थीहरू गिरफ्तार भए । त्यसबाट त्यो ४ मई आन्दोलन देशभर फैलिन गयो । देशभरका सहरहरू र स्कूल, कलेज र विद्यालयहरूमा हडताल भए । साङ्घाईका मजदुरहरूले हडताल गरे, पसलहरू बन्द भए ।
माओ चाङशामा बसेर ‘उठ, दाजु भाइहरू’ भन्ने पर्चा छरेर ४ मई आन्दोलनको समर्थनमा सक्रिय भए । ४ मईको त्यस आन्दोलनलाई उनले प्रजातन्त्र र नयाँ सांस्कृतिक आन्दोलनमा फेरिदिए । माओ ‘स्याङ नदीको समीक्षा’ भन्ने एक विद्यार्थी पत्रिकाको सम्पादन गर्न लागे । त्यो पत्रिका दक्षिणी चीनमा सा¥है लोकप्रिय भयो र उनले ‘सांस्कृतिक पुस्तक गोष्ठी’ भन्ने एक प्रगतिशील सङ्गठन गठन गरे । हुनानको गभर्नर दुष्ट थियो र जनतालाई स्वतन्त्रता दिन चाहँदैनथ्यो । यसकारण, ‘नयाँ जनअध्ययन गोष्ठी’ र ‘सांस्कृतिक पुस्तक गोष्ठी’ ले त्यसको विरोध ग¥यो । उसको विरोध गरेकोले ‘स्याङ नदीको समीक्षा’ बन्द गरियो । माओ सैन्यवादको विरोध र प्रजातन्त्रको पक्षमा लड्दै गए ।
माओ माक्र्सवादी भए
२८ जून १९१९ को दिन पेरिसमा चीनलाई अरू देशहरू मिलेर बाँडचुँड गर्ने एउटा सन्धि हुन गइरहेको थियो । सारा चीनमा फेरि ‘साम्राज्यवाद मूर्दावाद ¤’, ‘सन्धिमा सही गर्दैनौँ ¤’ भन्ने नारा लाग्न थाल्यो । विदेशी मालसामान किनबेच बन्द गर्ने आन्दोलन चल्यो । साङ्घाईमा ७० हजार मजदुरहरूले हडताल गरे । सारा स्कूल कलेज बन्द भयो । जनताको आन्दोलन उग्र भएको देखेर चीन सरकारले सन्धिमा सही नगर्ने घोषणा ग¥यो ।
त्यसैबेला ली ता–चाओको ‘जनताको विजय’, ‘बोल्शेविक विचारको विजय’ र ‘माक्र्सवादमा मेरो विचार’ भन्ने किताब छापिएको थियो । गभर्नर च्याङ जिङयाङको सैनिकतन्त्रको विरोध गर्न माओ ‘नयाँ जन अध्ययन गोष्ठी’ को प्रतिनिधिको रूपमा पेचिङ पुगे । त्यहाँ ली ता–चाओले उनलाई चेन वाङ–ताओले उन्था गरेको ‘कम्युनिस्ट घोषणापत्र’, जर्मनीका काउत्स्कीको ‘वर्ग सङ्घर्ष’, किर्कुपको ‘समाजवादको इतिहास’ आदि कम्युनिस्ट किताब पढ्न दिए । साङ्घाईमा चेन तु श्युसँग भेट्न गए । माओले उनीसँग आफूले अध्ययन गरेका किताबहरूबारे छलफल गरे । माओ हुनान फर्केर ‘माक्र्सवाद अध्ययन गोष्ठी’ र ‘नयाँ हुनान’ भन्ने पत्रिका चलाए । माओ त्यसबेला हुनान एक स्वतन्त्र राज्य भयो भने बढी विकास गर्न सक्छ भन्ने सोच्थे र त्यसबेला हुनानमा तान ऐन–काइ भन्ने गभर्नर थियो । तान ऐन–काइलाई अर्को एक सैन्यवादी चाओ हेंग–तिले भगाइदियो र आफू गभर्नर भयो । त्यस पत्रिकाले हुनानको प्रतिकृयावादी गभर्नर चाओ हेंग–तिको विरोधमा जनताको आन्दोलनलाई उठाइदियो । पत्रिकाले जनताको राजनैतिक अधिकारलाई लिएर हुनानका जमिनदार सैन्यवादी प्रतिनिधिहरूको पनि विरोध ग¥यो । ती विरोधलाई सरकारले नराम्रोसँग दबायो ।
७ नोभेम्बर १९२० मा रूसी अक्टोबर क्रान्तिको तेस्रो दिवस थियो । चाङशाका जनताले रातो झन्डा बोकेर जुलस गरे । तर, पुलिसले रातो झन्डा फहराएर जुलुस गर्न दिएन । विद्यार्थीहरूले संविधानको सभा र जुलुस गर्ने अधिकारलाई उल्लेख गरे । पुलिसले आफूहरू गभर्नरको आदेश लागू गर्न आएका हौँ, संविधान पढ्न होइन भनी जवाफ दिए । त्यसैबेलादेखि माओको मनमा जनसङ्घर्षको माध्यमबाट आएको जनताको राजनैतिक शक्तिले मात्रै ठूल्ठूला सुधार गर्न सकिन्छ भन्ने भावना लाग्यो । माक्र्सवादप्रति उनको विश्वास अब झन् बलियो भयो र चाङशामा समाजवादी युवक दलको सङ्गठन गर्न उनी लागे ।
याङ काई हुइसँग विवाह
अब माओ २७ वर्षका भए । सन् १९२० मा माओ फेरि पेचिङ गए र प्रोफेसर याङकी छोरी याङ कोइ हुइसँग विवाह गरे । उनी २५ वर्षकी थिइन् । माओ नर्मल स्कूलमा पढ्दा (सन् १९१३–१८) तिनीसँग चाङशामै चिनजान भएको थियो । माओ पेचिङमा बस्दा नै ती दुई प्रेम सूत्रमा बाँधिएका थिए । याङ काई हुई पेचिङ राष्ट्रिय विश्वविद्यालयमा पढ्ने एक क्रान्तिकारी थिइन् । ४ मई आन्दोलनको सङ्घर्षमा तिनले सक्रिय भाग लिएकी थिइन् । तिनी माओको क्रान्तिकारी विचार मन पराउँथिन् ।
सन् १९२० मई महिनामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको निर्देशनमा चेन तु–श्यूले क्यान्टन, शान्तुङ, हुपे र हुनान प्रान्तका माक्र्सवादी प्रतिनिधिहरूको एक सम्मेलन बोलाए ।
कम्युनिस्ट पार्टीको स्थापना
२१ जुलाई १९२१ को दिन साङ्घाइमा चिनियाँ कम्युनिस्ट पार्टीको गुप्त सम्मेलन भयो । त्यस सम्मेलनमा माओ त्सेतुङ हुनानका एक प्रतिनिधि हुनुहुन्थ्यो । सम्मेलनमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक प्रतिनिधि पनि थिए । सम्मेलनले पार्टीको पहिलो विधान पास ग¥यो । केन्द्रीय समितिको चुनाव ग¥यो र माओसमेत त्यस समितिमा १२ जना सदस्यहरू छानिए । माओ हुनान प्रान्तका सेक्रेटरी छानिनुभयो । यसप्रकार माओ त्सेतुङ चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापकमध्ये एक हुनुभयो । त्यसबेला चाउ एन–लाइ, चु तेह, चु चु पाइ, चाओ फू हाइ र अरू चिनियाँ कम्युनिस्टहरू पनि फ्रान्स, जर्मनी, रूस, जापान आदि विभिन्न देशहरूमा चिनियाँ कम्युनिस्ट सङ्गठन बनाउँदै थिए । चेन तु–श्यु पार्टीका महासचिव भए । उनी ‘युवक’ पत्रिकाका सम्पादक र पेचिङ विश्वविद्यालयका एक प्राध्यापक थिए ।
आनयान मजदुर आन्दोलनको निर्देशन
सम्मेलनबाट हुनान फर्कनुभएपछि माओले हुनान प्रान्तीय, अञ्चल र जिल्ला पार्टी समितिहरू गठन गर्नुभयो । यो चिनियाँ पार्टीको निम्ति नौलो कुरो थियो । समाजवादी युवा दलका खारिएका सदस्यहरूलाई मात्रै उहाँले पार्टीमा लिनुभयो । पार्टी कार्यकर्ताहरूको राजनैतिक स्तर उठाउन उहाँले एउटा पार्टी तालिम कलेज चलाउनुभयो र त्यसमा उहाँले माक्र्सवाद–लेनिनवादको मुख्य मुख्य सिद्धान्तबारे शिक्षा दिनुभयो । त्यस कलेजको तर्फबाट ‘सिन सिह ताइ’ (नयाँ युग) भन्ने एक मासिक पत्रिका पनि चलाउनुभयो । त्यसपछि उहाँले खानी, रेलवे, नगरपालिका, छापाखाना, सरकारी टक्सार आदि ठाउँमा काम गर्ने मजदुरहरूको सङ्गठन गर्नुभयो । हुन त त्यसबेला विद्यार्थी र मजदुरहरूको सबै सङ्गठन थियो, किसानहरूको सङ्गठन भने कम थियो ।
श्रीमती याङ काई हुइका साथ माओ
हुनानमा लगातार विद्यार्थी र मजदुरहरूको सङ्घर्ष भई नै रहन्थ्यो । त्यसैले हुनानको गभर्नरले २ जना मजदुरहरूलाई फाँसी दिने सजाय सुनायो । त्यो सजाय बदर गराउन माओ त्सेतुङले मजदुरहरूको ठूलो सङ्घर्ष उठाउनुभयो । मारिने मजदुरहरू मजदुरविरोधी सङ्गठनका थिए । तर, माओले विरोधी गुटलाई समेत हातमा लिन त्यस सङ्घर्षलाई अगाडि बढाउनुभयो । क्याङसी प्रान्तको पिङ स्याउको आनयान कोइला खानीका मजदुरहरू साम्राज्यवाद, कर्मचारी पुँजीवाद र सामन्तवादको तेहरो चुसाइमा परेका थिए । हुनान र क्याङसीलाई चुचो – पिङस्याङ रेलको बाटोले जोडेको थियो । आनयानको पार्टी सङ्गठन हुनान पार्टीभित्रै थियो । त्यसकारण, माओ सन् १९२१ को शरदमा आनयान जानुभयो । आनयान कोइला खानीमा ७० हजार मजदुरहरू काम गर्थे । तिनीहरूले दिनको १४ घण्टा काम गर्नुपर्दथ्यो । पुँजीपतिहरू अझ बढी काम गराउन खोज्थे । काम गर्ने ज्यावल पुराना र कामै नलाग्ने खालका थिए । बरोबर दर्जनौँ मजदुरहरू मर्थे । काम गर्ने प्रबन्ध सा¥है खराब थियो । बिहान खानीभित्र पस्दा बेलुकी ननिस्केसम्म ज्यानको माया मार्न पर्दथ्यो । मजदुरहरू साना–साना छाप्रामा बस्थे । बिरामी हुँदा तिनीहरू खानीको कामबाट निकालिन्थे, काम गर्ने मजदुरहरू बूढा हुनासाथै मागेर खानुपथ्र्यो । कारखानाबाट कुनै किसिमको पेन्सन वा भत्ता पाउँदैनथे । ज्यालाको दर साहै कम थियो । मुश्किलले ज्यान बचाउन सकिन्थ्यो । उपचार, भत्ता र ज्याला बढाउने कुरा गर्दा खानीका अधिकारीहरू मजदुरहरूलाई हेला गरेर भन्थे, “गाई–गोरू वा पशु मर्दा त्यसको मासु खानुहुन्छ, मान्छे मर्दा त्यो पनि हुन्न ।” पुँजीपतिहरूले मजदुरहरूलाई पशुभन्दा तल राख्थे । त्यस्तो अन्धकारको बेला माओ त्सेतुङले खानीका मजदुरहरूलाई भेट्नुभयो । तिनीहरूको दुःख–सुखबारे थाहा पाउनुभयो र त्यसलाई पन्छाउने कुरा बताउनुभयो । मजदुरहरूलाई उहाँले क्रान्तिको कुरो बताउनुभयो । तर, केही मजदुरहरू आफ्नो दुःखलाई आफ्नै भाग्य सम्झन्थे र दुःखमै मर्ने भाग्य भन्थे । तर, माओले धैर्यपूर्वक तिनीहरूलाई सम्झाउनुभयो र दुःखको कारण भाग्य होइन, बरू पुँजीपतिहरूको शोषण र अत्याचार हो भनेर सम्झाउनुभयो । मजदुरहरू एक भएर लड्नुपर्छ, पुँजीवादी व्यवस्थाको हारपछि मजदुरहरू स्वतन्त्र हुनेछन् र दुःख हटेर जानेछ भनेर बताउनुभयो । पुँजीवादको विरोधमा सङ्घर्ष गर्न मजदुरहरूमा ठूलो एकता र लड्ने भावना हुनुपर्छ भनेर सम्झाउनुभयो । मजदुरहरू सङ्गठित हुन थाले । एक हप्तासम्म त्यहीँ बसेर उहाँले धेरै साथीहरू बनाउनुभयो र त्यहाँका मजदुरहरूलाई माक्र्सवाद–लेनिनवादको अध्ययन गराउन एक रात्रि स्कूल खोल्न चाङशाबाट कार्यकर्ताहरू पठाउनुभयो । पार्टीको सङ्गठन गर्न मजदुरहरूको एक क्लव पनि खोल्नुभयो र एक वर्षभित्र त्यसको सदस्य सङ्ख्या ७ हजार पुग्यो, त्यो एक बलियो क्रान्तिकारी शक्ति बन्यो ।
पार्टीको दोस्रो महाधिवेशन
सन् १९२९ मे महिनामा कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन साङ्घाईमा बोलाइएको थियो । तर, त्यसबेला पार्टी कानुनी नभएको हुनाले सभा हाङचाउमा गरियो । धेरै कोसिस गर्दा पनि ठाउँ पत्ता लगाउन नसकेको हुँदा माओ बैठकमा पुग्न सक्नुभएन र त्यसै फर्कनुभयो । हाङचाउ अधिवेशनले साम्राज्यवाद र सामन्ती युद्ध सरदारहरूको विरोधमा सङ्घर्ष गर्ने निर्णय गर्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (छोटकरीमा कोमिन्टर्न) सँग सम्बन्ध राख्ने पनि निर्णय ग¥यो ।
मजदुरहरूको सङ्गठन र जागृतिले रेलको बाटो र खानीका प्रतिकृयावादी मालिकहरू तर्सन थाले । तिनीहरूले मजदुर सङ्गठनलाई भङ्ग गर्न जालझेल गर्न थाले । सङ्कटको अवस्था थियो । सन् १९२२ सेप्टेम्बर महिनाको सुरूमा माओ फेरि आनयान पुग्नुभयो । क्रान्तिकारी परिस्थितिलाई व्याख्या गर्नुभयो, मजदुरहरू र शत्रुहरूको शक्तिको लेखाजोखा गरेर देखाउनुभयो र मजदुरहरूको ज्याला बढाउन, काम गर्ने अवस्था सुधार्न र मजदुरहरूको सङ्गठनलाई मान्यता दिन लगाउन माओले मजदुरहरूको ठूलो हडतालको आह्वान गर्नुभयो ।
१३ सेप्टेम्बर १९२२ को दिन सारा खानीमा हडताल गर्ने योजना थियो । तर, ल्यू शाऊ–ची ११ सेप्टेम्बरकै दिन त्यहाँ पुगे र उसले मजदुरहरूलाई ‘हडतालको समय भएको छैन र हामीले जित्ने निश्चय छैन’ भने । उनले हडताललाई ‘दुस्साहसवाद’ बताए । उनको कुरा सुनेर मजदुरहरू सा¥है रिसाए । आखिर १३ सेप्टेबरको दिन हडताल भइछाड्यो । जनमत आफ्नो पक्षमा लिन मुटु छुने नाराहरू दियो, “अबदेखि हामी मानिस भयौँ, बोझ बोक्ने पशु होइनौँ ।” हडतालमा जम्मा १७ हजार मजदुरहरूले भाग लिए ।
हडताललाई बिगार्ने ल्यू शाऊ–चीले ‘सभ्य हडताल’ को कुरो गरे । पुँजीपतिहरूसँग मेलमिलाप गर्ने कुरा उठाए । प्रतिकृयावादी सरकारले धेरै पुलिस फौज पठायो । ल्यू शाऊ–चीलाई गिरफ्तार गरियो । उनलाई मार्ने धम्की दिए । अनि उनले भने, “म मजदुर होइन, म त मिलाप गर्नमात्रै आएको हुँ ।” तर, मजदुरहरूले खानी कब्जा गरिसकेका थिए । आखिर पुँजीपतिहरू झुक्नुपर्यो । मजदुरहरूको माग पूरा भयो । त्यसबेला माओको हृदय अरू मजदुर वर्गको हृदयसँग गाँसिएको थियो । हडतालबाट प्रतिकृयावादी अधिकारीहरू मजदुरहरूलाई राजनैतिक अधिकार दिन, जीवनस्तर र काम गर्ने अवस्था सुधार्न र ज्याला बढाउन बाध्य भए । मजदुरहरूको एकताबाट हुनान पार्टीले पाएको मजदुर आन्दोलनको त्यो पहिलो विजय थियो ।
त्यसपछि माओले चाङशामा ४ हजार डकर्मी र सिकर्मीहरूको हडतालको अगुवाइ गर्नुभयो । उहाँले आफैले हडतालको योजना बनाउनुभयो, घोषणाको खेस्रा गर्नुभयो र हडतालको समर्थनमा जनमतलाई उठाउनुभयो । २२ अक्टोबरको दिन सङ्घर्षमा मजदुरहरूलाई उत्साहित गर्न उहाँ स्वयं हडतालीहरूको काम गर्ने गाउँमा बस्नुभयो । २४ र २५ अक्टोबरको दिन मुख्य हडतालीको रूपमा उहाँले प्रान्तीय सरकारी अधिकारीहरूसँग सङ्घर्ष गर्नुभयो । आखिर २० दिनपछि मजदुरहरूको ज्याला बढाउन र मजदुर सङ्गठनलाई स्वतन्त्र गर्न अधिकारीहरू बाध्य भए ।
आनयान खानी र डकर्मी–सिकर्मीहरूको हडतालको सफलतापछि माओले क्वाङचाऊ–हानको रेल बाटोको उचाङ क्षेत्रको रेलका मजदुरहरूको हडताल गराउनुभयो । हडताली मजदुरहरूले राजनैतिक अधिकारहरूको सुरक्षा, जीवनस्तरको सुधार र धोकेबाजहरूलाई सजाय गर्ने माग गरेका थिए । माओले त्यस हडतालको सफलताको निम्ति देशको अरू भागका रेल बाटाका मजदुरहरूको समर्थनको बन्दोबस्त पनि पहिले नै मिलाउनुभएको थियो । मजदुरहरूको माग र भावनालाई ध्यानमा राखेर माओ त्सेतुङ सधैँ सङ्घर्षको अघिल्लो पङ्क्तिमा उभिनुहुन्थ्यो र सङ्घर्षमा जनतालाई लडाकु बन्न साहस दिनुहुन्थ्यो । उहाँ मजदुर आन्दोलनलाई सधैँ माक्र्सवाद–लेनिनवाद र किसान आन्दोलनसँग गाँस्नमा जोड दिनुहुन्थ्यो ।
सन् १९२३ जून महिनामा पार्टीको तेस्रो महाधिवेशन क्यान्टनमा भयो । तेस्रो महाधिवेशनले पार्टीमा भएका बिरामहरूलाई सच्यायो । प्रजातान्त्रिक क्रान्ति सफल पार्न सर्वहारा वर्गको नेतृत्व र किसान समस्यालाई पनि गाँस्ने सही नीति पारित गर्यो । साथै कोमिनताङसँग सहयोग गर्ने अथवा कोमिन्ताङभित्र कम्युनिस्टहरू गएर काम गर्ने नीति पनि पारित गर्यो । डा. सन यात सेन कम्युनिस्टसँग एकता र रूससँग सम्झौता गरेरमात्रै चीनलाई स्वतन्त्र र प्रजातान्त्रिक बनाउन सकिन्छ भन्ने टुङ्गोमा पुगेका थिए ।
त्यसबेला पार्टीमा दुई विचारधाराको सङ्घर्ष भयो । चेन तु–श्यु कोमिनताङसँग सम्झौता गर्दा कम्युनिस्ट पार्टी नै आवश्यक ठान्दैनथे । त्यो दक्षिणपन्थी अवसरवाद थियो । चाङ काङ–ताउ अरू पार्टी र वर्गसँग सम्झौता गर्न चाहँदैनथे । उनी ‘ढोका बन्द’ नीति अपनाउँथे । यसलाई ‘वामपन्थी’ अवसरवाद वा सङ्कीर्णतावाद भनिन्थ्यो । माओले खुकुलो र उत्ताउलो ती दुवै विचारधाराको विरोधमा मत दिनुभयो र उहाँ केन्द्रीय समितिको राजनैतिक ब्युरोको सदस्यमा चुनिनुभयो । माओ साङ्घाईमै बसेर पार्टी केन्द्रीय समितिमा काम गर्न थाल्नुभयो र सन् १९२४ को वसन्तमा क्यान्टनमा जानुभयो ।
का. माओ त्सेतुङ सङ्क्षिप्त जीवनीबाट