#नारायणमान बिजुक्छेँ (रोहित)
त्यस्तै अरू जातिबाट डा. केशरजङ्ग रायमाझी, हिक्मत सिंह, कमर शाह, निर्मल लामा, पी.एन. राणा, मोहनविक्रम सिंह, कृष्णराज बर्मा, विष्णुकुमार तुम्बाहम्फे, सहिद उद्दीन, मकबुल शाह, सूर्यनाथ यादव, हरदयाल, जयगोविन्द आदि नाउँ चलेका कम्युनिस्ट नेताहरू देखापरेका थिए । नयाँ पुस्तामा हर्षबहादुर खड्का, डम्बर बान्या (क्षेत्री) मङ्गलमणि सुनार, बुद्धसिंह मेचे आदि देखापरेका छन् । साहित्यको फाँटमा भूपी शेरचन, टि.आर. विश्वकर्मा, पी.वी. सिंह, डी.वी. सिंह, मदन भण्डारी, गणेश पण्डित, पदमसिंह कार्की, गाउने साहिँलो आदि देखापरेका थिए र देखा पर्दै छन् मजदुर र किसान आन्दोलनमा काम गर्दागर्दै सहिद भएका र पछि रोगले मरेकाहरूमध्ये एकदेव आले, मुखलाल महतो, कंछु यादव, अघोरी यादव, डी.पी. शर्मा, कैलाशपति र झापाबाट नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन्द्र राजवंशी, रामनाथ दाहाल आदि र अरू ठाउँमा सहिद भएका थुप्रै नेता र कार्यकर्ता ब्राह्मण र अरू जातिका छन् ।
बी. ए. नेवार जातिबाट पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, शम्भुराम श्रेष्ठ, रामबहादुर श्रेष्ठ पुराना नेताहरूमध्ये हुन् भने सिद्धिलाल महर्जन, आजाद, कृष्ण, विष्णु मानन्धर, नरेश शाक्य आदि नयाँ पुस्तामा आउँछन् । प्रगतिशील साहित्यको फाँटमा हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, माणिकलाल श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ आदि प्रमुख छन् । सहिद हुनेहरूमा नेपाली काङ्ग्रेसको सरकारको गोलीबाट चिनियाँकाजी श्रेष्ठ र पञ्चायती व्यवस्थाको गोलीबाट झापाका नारायण श्रेष्ठ हुन् । माथिका ब्राह्मण, क्षेत्री र अरू जातिहरूको तुलनामा नेवार जातिबाट कम नेताहरू र साहित्यकारहरू देखापरेका छन् । साँचो भन्ने हो भने नेवार, ब्राह्मण र क्षेत्री जातिका बुद्धिजीवीहरू नै पहिले माक्र्सवादी दर्शनको नजिक पुगे । तिनीहरूले नै देशका अरू जाति र मजदुर – किसानहरूमा साम्यवादी विचारहरू फैलाएका थिए । आज त्यो विचारधारा देशको तल्लो जाति र वर्गमा पुगिसकेको छ । माक्र्सवाद एक मानसिक शक्ति हो, नेपालमा अब त्यो भौतिक शक्तिमा फेरिने अवस्थामा छ ।
माथिका सबै तथ्यहरूले नेपालमा प्रगतिशील विचारधारा र कम्युनिस्ट सिद्धान्त फैलिनुमा जातिवादी कारण होइन बरु त्यो त नेपाली जनताको राजनैतिक चेतनाको विकासको फल हो भने सावित गर्छ । (तर यस कुरालाई भने बिर्सनु हुन्न कि माथि उल्लेख गरिएका कति व्यक्तिहरूले आफ्नो प्रगतिशील विचार र कम्युनिस्ट सिद्धान्तलाई त्यागिसकेका छन् ।) हिन्दू–सामन्ती राज्यहरूमा ब्राह्मण जातिलाई अरू जातिको तुलनामा पढाइ–लेखाइ र अरू क्षेत्रमा विशेष सहुलियत पाएको हुन्छ, जसमा ऐतिहासिक पृष्ठभूमि छ । ब्राह्मण जाति स्वयं पहिले शासक वर्गका थिए । समाजको विकासले श्रम विभाजन सुरु भयो र श्रम विभाजनले समाजलाई दक्षता दियो र समाज अगाडि बढ्यो । दास युग सामन्त युगमा भित्रिँदै गयो । ब्राह्मण जाति शासक वर्गबाट शासनको बौद्धिक पक्षमा दक्षता हासिल गर्दै गयो ।
अब त्यो जाति गुरुकुलका कुलपति, शिक्षा, कला र संस्कृति, अनि नीति विधि–विधानका हर्ताकर्ता भए । विद्या अध्ययन र अध्यापन तिनीहरूको पेशा बन्यो । संस्कृत विद्यालयहरूमा छात्रवृत्ति पाएर बौद्धिक विकास गर्ने सहुलियत पाउँदै गए । त्यस पेशा र सहुलियतले गर्दा नै अरू जातिको तुलनामा ब्राह्मण जातिबाट बढी सङ्ख्यामा बुद्धिजीवीहरू तयार हुन गएको हो । बुद्धिजीवीहरू माक्र्सवादजस्तो वैज्ञानिक दर्शनप्रति आकर्षित हुनु स्वाभाविक पनि हो । यो कुरो भारतमा पनि लागु छ । भारत धर्मनिरपेक्ष र गणतान्त्रिक देश मानिए पनि जातीय सहुलियतको सामन्ती संस्कार भने बाँकी नै छ । यो हिन्दू साम्राज्यकै सिलसिला र बाँकी बक्यौता हो । यसकारण, भारतीय कम्युनिस्ट आन्दोलनका पुराना नेताहरू ब्राह्मण र अरू माथिल्ला जातिबाटै धेरै थिए । आज पनि भारतका कति राज्यहरूमा यो अपवाद छैन । त्यस्तै नेपालमा पनि राणाकालमै आर्थिकरूपले अगाडि बढेका, शाह र राणाहरूका गुरु–पुरोहित, पण्डित र चाकडीबाज ब्राह्मण परिवारले जागिर, बक्सिस जमिनदारी पाएर आर्थिकरूपले सबल भए । तिनीहरूकै छोरा–छोरीहरू भारतका विभिन्न सहरहरूमा संस्कृत र अङ्ग्रेजी शिक्षा हासिल गर्ने मौका पाउँदै गए । अध्ययनकै सिलसिलामा तिनीहरू भारतीय स्वतन्त्रता आन्दोलनको आँधीबेहरीमा हुरिए । त्यसकै प्रभावले तिनीहरूमा पनि देशभक्ति र साम्राज्यवादविरोधी भावना बढ्दै गयो । भारतीय प्रगतिशील जनताकै संसर्गमा तिनीहरू माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारासम्म पुगेका थिए ।
यही कुरो क्षेत्री वा माथिल्ला जातिमा पनि लागु हुन्छ । राज्यशासनसँग नजिक रहेका, भाइ–भारदार, काजी, सैनिक अफिसर, सरदार र जमिनदार परिवार आर्थिकरूपले अरूको तुलनामा सम्पन्नै हुन्छन् । सरकारी सेवा र ज्ञानकै निम्ति ती परिवारका छोरा–छोरीहरू भारत गएर अध्ययन गर्थे । ब्राह्मण परिवारका छोरा–छोरीजस्तै तिनीहरू पनि भारतीय आन्दोलनमा आकर्षित भए, साथै भारत स्वयं एक दर्शनको भूमि रहेको हुनाले भारतीय प्रगतिशील तत्वकै सत्संगले तिनीहरू पनि माक्र्सवादी दर्शनसम्म पुगे । त्यस्तै राजधानीमा रहेका माथिल्ला नेवारहरू, शाह राणाहरूका चाकडीबाज– साहुमहाजन, कर्मचारी–नेवारहरूका छोरा–छोरीहरूले काठमाडौँमै वा भारतमा गएर पढ्ने सहुलियत पाएका थिए । जिल्ला–जिल्लाका सम्पन्न नेवारका छोरा–छोरीहरूले भारतमा गएर अध्ययन गर्थे । यसरी तिनीहरू पनि भारतको स्वतन्त्रता आन्दोलन र मजदुर आन्दोलनको प्रभावमा पुगे, माक्र्सवादी दर्शनसम्म पुगे । यसमा झन् सन् १९१७ को रुसी अक्टोबर क्रान्ति र दोस्रो विश्व युद्धपछि फासिस्ट शक्तिमाथि रुसी विजय, चिनियाँ क्रान्तिको सफल लहरले, दक्षिणपूर्वी एसियाको स्वतन्त्रता र मुक्ति आन्दोलनले नेपाली माक्र्सवादीहरूलाई नयाँ प्रेरणा र मानसिक खुराकहरू प्रदान गर्यो । बेलायती उपनिवेशवादीहरूको पिछलग्गू, राणाशासनको दमन, शोषण र परतन्त्रताले नै नेपालीहरूलाई विद्रोही बनायो । त्यही विद्रोहको आगोले तिनीहरूलाई माक्र्सवादजस्तो सही र क्रान्तिकारी दर्शन र विज्ञानसम्म पु¥याइदियो । तिनीहरूको निम्ति माक्र्सवाद औपनिवेशिक शोषण र विदेशी हस्तक्षेपको विरोधमा लड्ने एक खँदिलो शस्त्र बन्यो । माक्र्सवाद–लेनिनवाद चीनको दर्शन नभई जर्मनी र रुसी भूमिमा विकास भएको सर्वहारा वर्गको क्रान्तिकारी विचारधारा हो । नेपालमा त्यसको प्रवेश भारतीय स्वतन्त्रता आन्दोलन र मजदुर आन्दोलन सँगसँगै भारतबाटै पसेको थियो, त्यस्तै माओ त्सेतुङ विचारधारा पनि ।
तुल्सीलाल अमात्य
अब श्रीमन नारायण र गलत बुझाइमा परेका भारतका नेपालविदहरूलाई प्रस्ट हुनुपर्छ कि नेपाल–भारत सम्बन्धमा आउने गरेका तीतोपनामा नेवार जाति, मङ्गोल नस्ल (रगत) र तिब्बती–बर्मी भाषा दोषी छैनन् बरु स्वयं, भारतीय एकाधिकारी पुँजीको थिचोमिचो नै त्यस तितो–पिरोमा दोषी छ । बेलायती – भारतको छिमेकी देशहरूमाथिको उपनिवेशवादी नीतिलाई स्वतन्त्र भारतले पनि अगाडि बढाउन खोज्ने महत्वाकाङ्क्षा नै छिमेकी देशहरूसँगको विवादमा जिम्मेवार छ । नेपालमाथि ‘चीनको प्रभाव’, ‘भारतविरोधी’ र ‘माओवादी प्रचारको अखडा’ को हावा देखाएर पश्चिमी देशहरूबाट सहानुभूति र आर्थिक सहयोग पाउने विचार भएका विद्वानहरू भारतमा नहोलान् भन्न सकिन्न, तर उहाँहरूले पहिले आफ्नो देशका जनताको भावनालाई बुझ्ने कोशिश गर्नुभएको भए वास्तविक स्थितिको ज्ञान हुने थियो । माओ त्सेतुङ विचारधारा एक विश्वव्यापी विज्ञान हो, वर्गसङ्घर्ष, साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षमा संसारका सबै महादेशका जनताले यसलाई लागु गरेका छन् र सफलता पाएका छन् । भारतमा पनि संसारको सबभन्दा बढी माओ त्सेतुङ विचारधाराको प्रचार र ‘प्रभाव’ परेको छ । संसारमा भारत नै यस्तो पहिलो देश हो, जहाँका जनताले ‘चिनेर चेरम्यान हमार चेरम्यान’ (चीनको अध्यक्ष– हाम्रो अध्यक्ष) भनेर स्वीकार गरे । भारत नै यस्तो पहिलो देश हो, जहाँको भित्ता–भित्ता र चोक चोकमा चिनेर रास्ता – हमर रास्ता’ (चीनको बाटो–हाम्रो बाटो) लेखिएको छ । सायद संसारमा भारतमै सबभन्दा बढी माओवादीहरू (जसलाई भारतमा माक्र्सवादी–लेनिनवादी र नक्सलवादी पनि भन्ने गर्छन्) जेलमा छन् । केही वर्ष अगाडिसम्म तिनीहरूको सङ्ख्या ५५ हजारभन्दा बढी बताइएको थियो भने हालैको भारतीय अखबारहरूको रिपोर्टअनुसार भारतीय जेलहरूमा ४० हजार माओवादीहरू छन्, जसलाई राजनैतिक कैदीको रूपमा व्यवहार गरिएको छैन भनेर अन्तर्राष्ट्रिय क्षमादान समितिले जनाएको थियो । एसियामा इन्डोनेसियापछि भारत नै कम्युनिस्ट आन्दोलन दबाउने देशहरूमा सबभन्दा अगाडि छ । यसकारण, भारतीय जनता स्वयं आफ्नो सरकारलाई ‘फासिस्ट’, ‘अर्ध–फासिस्ट र तानाशाही’ भन्दछन् । यस अर्थमा नेपाल होइन, भारत नै संसारमा सबभन्दा बढी ‘माओवादको प्रचार’ भएको र ‘चीनको प्रभाव’ भएको देश हो । माओ त्सेतुङ विचारधारा नराम्रो कुरो होइन, यो त करोडौँ–करोड जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्षले खारिएको एक धारिलो हतियार हो । त्यो हाम्रो युगको सबभन्दा अगाडि बढेको दर्शन र विज्ञान हो । यो बीसौँ शताब्दीको ठूलो उपलब्धि हो । मानव सभ्यताको विकासमा चिनियाँ जनताको यो ठूलो योगदान हो, तर त्यो आज चीनको मात्रै नभएर संसारका सबै क्रान्तिकारी जनताको साझा सम्पत्ति भइसकेको छ । यसकारण, त्यस महान् विचारलाई देशको सीमाभित्र मात्रै घेर्ने कोशिस गर्नु सङ्किर्णता र पुरानपन्थी विचार हो । भारतीय जनताले त्यस महान् विचारधारालाई अँगाल्नुमा अलिकति पनि आश्चर्य र खिन्न मान्नुपर्ने कुरा देखिन्न । यो भारतजस्तो दार्शनिक परम्परा भएको संवेदनशील र लगनशील देश र जनताको स्वाभाविक ग्रहणशीलताको एक उदाहरणमात्रै हो । भारत हिन्दू धर्म वा अरू अध्यात्मवादी दर्शनको थलोमात्रै होइन, बरु चारवाक र बुद्धजस्ता नास्तिक दर्शनको पनि थलो हो । आज भारत हिन्दू धर्मावलम्बीहरू सबभन्दा बढी सङ्ख्या भएको देशमात्रै होइन, संसारमा सबभन्दा बढी इस्लाम धर्म मान्ने मुसलमान जनसङ्ख्या भएको देश पनि हो । इसाई, जैन, सिख आदि विभिन्न धर्म र विश्वासको थलो पनि हो । त्यही विविध दार्शनिक प्रवृत्तिले गर्दा नै भारतीय जनताले पनि मानव सभ्यतामा ठूलो योगदान गर्न सकेको हो । त्यस्तै चीन पनि मानव सभ्यता र दर्शनको भूमि रहेर आएको छ । त्यही दार्शनिक परम्परा र औद्योगिक क्रान्तिले तयार पारेको नयाँ परिस्थितिले चीनमा माक्र्सवादी–लेनिनवादी दर्शनले जग हाल्यो र आज मानव सभ्यता र संस्कृतिमा नयाँ–नयाँ योगदानहरू दिँदैछ । भारतका महान् जनता पनि त्यसै गौरव प्राप्त गर्ने बाटोमा पछि पर्ने छैनन् भन्ने हाम्रो विश्वास छ, किनभने सानोबाट ठूलो हुने र काँचोबाट परिपक्व हुने त प्रकृतिको नियम हो । विकासको नियम हो, जो मानव समाजको विकासमा पनि लागु हुन्छ ।
माणिकलाल श्रेष्ठ
हो, चीनसँग नेपालको सम्बन्ध राम्रो छ, किनभने त्यो सम्बन्ध नयाँ होइन, त्यसमा अरूले टाउको दुखाउनु वा इश्र्या गर्नु महानता होइन बरु इतिहासबाट आँखा चिम्लनु हो । भारतसँग नेपाली जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध छ । नेपाल र भारतको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ । त्यस्तै नेपाली र चिनियाँ जनताको सम्बन्ध पनि रगतको हो । नेपाल र चीनको सम्बन्ध पनि इतिहासभन्दा पुरानो छ । सामन्तवादी युगको तुलनामा नेपाल र चीनको आजको सम्बन्ध साहै्र तर्कपूर्ण छ, जो पञ्चशीलमा आधारित छ । इतिहासमा नेपालले चीनलाई ’पिता सरह’ मानेको थियो । त्यस्तै राणाकालीन नेपालले बेलायती साम्राज्यवादको षड्यन्त्रमा परेर तिब्बत वा चीनमाथि आक्रमण पनि गरेको थियो । भारतका नेपालविद्हरू नेपाललाई भारतको विरोध गर्न चीनले उक्साएको ठान्छन् । तर, नेपालको उत्तेजना फैलाउने चीनका आलोचकहरू बेलायती साम्राज्यवादले काँगडादेखि सिक्किमसम्मको हजाराँै किलोमिटर इलाका भारतमा मिलाएको ‘सुगौली सन्धि’ ताका नेपाललाई ‘पिता सरह’ को चीनले सैनिक सहयोग नदिएकोमा ‘चीनले धोखा दिएको’ मान्ने गर्दछन् (हेर्नुस् मदनमणि दीक्षितको ‘भू–राजनीतिको आधार र अर्थ के ?’ र ‘विशेष सम्बन्ध–निरर्थक विवाद’ रूपरेखा सङ्ख्या १८०– १८१ ।) सन् १७९२ मा सम्पन्न भएको नेपाल–चीन सन्धिको पाँचौँ दफामा कुनै विदेशी शक्तिले नेपालमाथि आक्रमण गर्यो भने चीनले नेपाललाई मद्दत गर्नुपर्नेछ भन्ने बन्दोबस्त गरिएको थियो । नेपालका चीनका आलोचकहरू त बङ्गलादेश र सिक्किम काण्डबारे लक्ष्य गरेर भन्छन्, “पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाको तरुल भने तापनि त्यो तरुललाई दक्षिणी ढुङ्गाले सन् १८१६ मा सुगौलीले पेल्दा उत्तरको चीनले टुलुटुलु हेरिरहेको र… नेपाललाई त्यस्तो जीउज्यानको मर्का पर्दा आफ्नो वचनविरुद्ध चीनले धोखा दिएको उदाहरण उन्नाइसौँ शताब्दीमा चीन निर्बल रहँदामात्र पाइएको होइन कि बीसौँ शताब्दीमा चीन बलियो भएपछि पनि दक्षिण एसियामा कैयौँ मुलुकले देखेकै हुन् ।’ भारतका नेपालविद्हरूले बुझ्नुपर्छ कि नेपालका केही पक्ष चीनबाट के चाहन्छन् ? तिनीहरू माओवादी होइनन् बरु माओवादविरोधी तत्व हुन् । तर, नेपालमा राणाविरोधी सङ्घर्षपछि र चीनको जनवादी क्रान्तिपछि त्यो पुरानो सामन्ती र शत्रुतापूर्ण सम्बन्ध खत्तम भएर नेपाल र चीनको बिचमा पूर्ण समानता र पञ्चशीलको आधारमा सम्बन्ध विकास हुँदै गयो । भारतसँग पनि यस्तै सम्बन्ध होस् भनी नेपालका सबै जातिका जनता चाहन्छन् । बेलायती भारतदेखि स्वतन्त्र भारतसम्मै भारतको पक्षमा रगत बगाउने नेपालीहरूमा राई लिम्बु, गुरुङ, मगर र तामाङजस्ता मङ्गोल रगत नै सबभन्दा बढी छन् । माथिका सबै तथ्यहरूले नेवार वा मङ्गोल रगत वा केही जनसमुदाय ‘चीन–समर्थक’, ‘भारतविरोधी’ र ’माओवादी’ हुन् भन्ने कुरो असत्य र भ्रम सावित हुन्छ ।
पुष्पलाल श्रेष्ठ
नेपाली र भारतीय जनता महान् छन् तिनीहरू सँगसँगै साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै आएका छन् । महान् जनताको बिचमा पूर्ण समानता र पञ्चशीलको आधारमा मैत्री सम्बन्ध विकास गर्नु सुहाउँदो र लाभदायक कुरा हो किनभने दुवै देश सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र विकासशील देश हुन् । आकार, जनसङ्ख्या, विकासको स्तर र समस्याहरू फरक–फरक भए पनि साम्राज्यवाद र उपनिवेशवादका बाँकी बक्यौताको विरोधमा सङ्घर्ष गर्नु दुवै देशको समान समस्या हो, दुई महाशक्तिको प्रभुत्ववादको विरोध गर्नु साझा समस्या हो । ठूलो राष्ट्र अहङ्कारवाद, सङ्कीर्ण र अन्य राष्ट्रवादको विरोधमा सङ्घर्ष गर्नु दुवै देशको भित्री र साझा सङ्घर्ष हो, जसलाई हामी आफ्नो स्वार्थको विरोधमा सङ्घर्ष गर्नु भन्दछौँ । पञ्चशील र असंलग्न परराष्ट्र नीतिको आधारमा बलियो, सम्पन्न र ठूलो राष्ट्रलाई भौतिक र प्राविधिकरूपले गरिब, सानो, निर्बलियो र पछि परेको राष्ट्रलाई निःस्वार्थ, निश्चल र विनासर्तको सहयोग र सहायता दिने र आपसी भलाइ हुने विवेकशील सम्बन्धको सिद्धान्तको आधारमा मैत्री सम्बन्धलाई विकास गर्दा दुई देशको बिचमा देखापरेका सबै खिचलो, तानातानी र अप्ठ्यारा समस्याहरू एक–एक गरेर सुल्झिने छन् र शङ्का–उपशङ्का, वैमनस्य, मनोमालिन्य र कटुता सबै घाममा हिउँ पग्लेजस्तै पग्लेर बिलाएर जानेछन् । यसमा हामीले इतिहासबाट शिक्षा लिनुपर्छ । थिचोमिचो गर्ने हरेक सम्पन्न, ठूलो र सैनिकरूपले बलियो देश दलित, पीडित, साना, निर्बलिया र गरिब देशहरूबाट हारेर साँघुरिएको छ ।
गरिब, सानो, निर्बलियो, छिन्न–भिन्न र थिचिएका देशहरूले सधैँ अन्तमा आफूलाई एक स्वतन्त्र, लडाकू, बलियो र एकीकृत भएको राष्ट्रमा फेर्दै आएका छन् । पुरानो अति आक्रामक हिन्दू साम्राज्य होस् वा चंगेज खाँको मङ्गोल साम्राज्य होस्, नयाँ युगको स्पेनियाली साम्राज्य होस् वा ‘कहिले सूर्य नडुब्ने’ बेलायती साम्राज्य होस्, नेपोलियनको ‘सदा विजयी’ फ्रान्सेली साम्राज्य होस् वा आस्ट्रो–हङ्गेरी साम्राज्य होस्, विश्व विजयको महत्वाकाङ्क्षी इटाली र जर्मनीको फासीवाद र नाजीवाद होस्, जापानको आक्रामक सैन्यवाद होस्, सबैमा त्यही द्वन्द्ववाद लागु भयो आज संरा अमेरिका र रुसी सामाजिक–साम्राज्यवाद दुई महाशक्तिमा पनि यही द्वन्द्ववाद लागु हुनेछ । इतिहास बडो निर्मम हुन्छ, ठूलो राष्ट्रको अहङ्कार र अति महत्वाकाङ्क्षा भएको सबै अन्यायी र आक्रामक शक्ति हरेक न्यायोचित र रक्षात्मक आक्रान्त शक्तिबाट पराजित हुँदै आएको छ । भियतनाम, लाओस र कम्बोडिया यसका उदाहरण हुन् । क्युवा र गिनी बिसाउजस्ता साना देश यसका अर्का उदाहरण हुन् ।
नेपाल–भारत सम्बन्धको प्रसङ्गमा पनि हामीले इतिहासबाट शिक्षा लिन सक्यौँ भने दुई देशको बिचमा सुमधुर सम्बन्ध विकास हुने अवश्यम्भावी छ । यसलाई हामी द्वन्द्वात्मक प्रणाली वा इतिहासबाट लिएको नकारात्मक शिक्षा भनौँ । नेवारी भाषामा एक उखान छ– ‘तिमी जे रोप्छौ, त्यही उम्रनेछ ।’ नेपाल र नेपाली जनताबारे कुनै निर्णय र दृष्टिकोणलाई कायम गर्दा पूर्वधारणा वा विदेशी लेखकहरूको पत्रपत्रिका र पुस्तकहरूको आधारमा टुङ्गोमा पुग्नु हुन्न भन्ने हाम्रो ठम्याइ छ । नत्र श्रीमन नारायण र भारतका अरू नेपालविद्हरूको ठम्याइ र निर्णयजस्तै भ्रमपूर्ण, गलत र अहितकर हुनेछ । नेपाल र नेपाली जनतालाई बुझ्न नेपाली लेखकका किताबहरू अध्ययन गर्नुपर्छ अनिमात्रै नेपाल र नेपाली भावनालाई बुझ्न सकिनेछ । त्यस भावनालाई चोट नपु¥याउन माथिका मित्रताका विवेकशील सिद्धान्त नै नेपाल–भारत सम्बन्धका गलत बुझाइ हटाउने सही उपाय हुनसक्नेछ ।
१२ मार्च १९७७
स्रोतः नेपाल–भारत सम्बन्ध र भारत
समाप्त