श्रीमन नारायणले नेपाल र नेपाली जनतालाई बुझ्न सक्नुभएन वा उहाँको हरेक हेराइ र अध्ययन नकारात्मक हुने गर्छ अथवा उहाँले जानाजान बुझपचाउनुभएको छ भन्ने कुरो हाम्रो छलफलले नै प्रस्ट गर्नेछ । २७–२८ वर्षअघि नेपाल कम्युनिस्ट पार्टीका ती वल्ड गार्डहरू (पुराना कम्युनिस्टहरू) मध्ये कतिले बेलायती उपनिवेशवादविरोधी भारतीय जनताको आजादीको आन्दोलनमा भाग लिएका समर्थकहरू थिए । भारतीय ‘कामरेडहरू’ र भारतीय जनतासँगै मिलेर साम्राज्यवाद–उपनिवेशवाद र फासीवादको विरोधमा आवाज उठाएका थिए, त्यसैबेला नेपाली कम्युनिस्टहरू एक अर्थमा ‘माओवादी’ वा ‘चीन समर्थक’ थिए । त्यो विचारधारा नेपाली कम्युनिस्टहरूले नेपालको उत्तरी सीमाबाट वा चिनियाँ राजदूतावासबाट होइन, भारतीय माटोमै प्राप्त गरेका थिए । (नेपाल र चीनको राजदूतस्तरीय कूटनैतिक सम्बन्ध १९६० मा मात्रै भएको थियो ।) जे होस्, नेपालमा कम्युनिस्ट पार्टी स्थापना हुनुमा भारतीय कम्युनिस्टहरू र भारतीय जनताको कम योगदान छैन । नेपाली कम्युनिस्टहरूले सुरुमा भारतमै बसेर माक्र्सवाद र लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा अध्ययन गरेका थिए, त्यो पनि चिनियाँ भाषामा होइन, बरु अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषामा (१९६० सम्म नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्तरका एकजना पनि कम्युनिस्ट नेतालाई चिनियाँ भाषा आउँदैनथ्यो ।) साथै १९५८ सम्ममा नेपालका सबैजसो जिल्लाका मुख्य–मुख्य सहर, बजार र गाउँ–गाउँमा कम्युनिस्ट सेलहरूमात्रै बनिसकेका होइनन्, बरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता प्राप्त एक केन्द्रीय समिति पनि बनिसकेको थियो । जसको धेरै विदेशी कम्युनिस्ट पार्टीहरूसँग सबभन्दा नजिकको सम्बन्ध थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकाल अर्थात् १९४९ देखि नै नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनता भारतको नेपाल नीतिको विरोधमा संसारको डबलीमा उभिसकेका थिए । सन् १९५९ को नेपालको पहिलो आम चुनावमा नेपाली काङ्ग्रेस सत्तामा आयो र भारतीय एकाधिकार पुँजीको दबाबमा उसले नेपालको अस्तित्वमै खतरा आउने सम्झौताहरू गर्यो । यसकारण, नेपाली जनतामा भारतीय एकाधिकार पुँजीविरोधी भावना माथिल्लो अवस्थामा पुग्यो । ‘डाल्डाविरोधी प्रदर्शन’, गण्डक र कोसी सम्झौताको विरोधमा गरिएको ‘कालो दिवस’ त्यसका उदाहरणहरू हुन् । नेपाली जनतामा भारतको नेपाल नीतिप्रति व्यापक विरोध र नेपाल कम्युनिस्ट पार्टी एक राष्ट्रिय पार्टीको रूपमा विकास भइसक्दासम्म काठमाडौँमा चिनियाँ दूतावास खुलिसकेको थिएन । यसकारण, चिनियाँ दूतावासले मजदुर, किसान र विद्यार्थीहरूको बिचमा सेलहरू खोल्यो भन्ने कुरो श्रीमन नारायणको भनाइ साम्राज्यवादविरोधी नेपालीको वामपन्थी आन्दोलनलाई धमिलो पार्ने एक दुष्प्रयासमात्रै गर्नुभएको हो । उहाँको त्यस खोटो ठम्याइले नेपाली जनताको देशभक्तिपूर्ण प्रगतिशील आन्दोलनमा भारतीय जनताको योगदानलाई समेत हलुका पार्न खाजेको छ ।
तर, जहाँसम्म चिनियाँ राजदूतावासले माओवादी साहित्यको वितरण र प्रचार गरेको कुरो हो । सबै देशका राजदूतावासहरू र मिसनहरूले आ–आफ्नो देश र सरकारको साहित्य प्रचार गर्छन्, जस्तो भारतीय राजदूतावासले गान्धी, नेहरू, संसदीय प्रजातन्त्र, रामायण, महाभारत, गीता र विनोवा भावेको साहित्यको वितरण र प्रचार गर्छ । यो त दुई देशबिचको कूटनैतिक सम्बन्ध र सांस्कृतिक सम्बन्धभित्रै पर्ने कुरा हुन् । चिनियाँ राजदूतावासले ‘पैसा’ वितरण गरेर ‘सेलहरू’ बनाएको कुरा त पूरै झूटमात्रै होइन, बरु यो श्रीमन नारायणको नेपाली जनताको क्रान्तिकारी आन्दोलनलाई बदनाम गर्ने एक कुचेष्टामात्रै हो । यस कुरालाई श्रीमन नारायणले हृदयदेखि अनुभव नगरेसम्म नेपाली जनताको मनमा पारेको त्यो घाउ आलै रहनेछ । अप्रत्यक्षरूपले उहाँ नेपाली राष्ट्रलाई नै चिनियाँ पैसामा बिक्ने ठानेर नेपाली जनतालाई ठूलो अपमान गर्नुहुन्छ । परराष्ट्र नीति र कूटनैतिक सम्बन्धबारे अलि कति पनि जानकारी राख्ने हरेक व्यक्तिलाई थाहा हुने कुरो हो कि हरेक राजदूतावासको खर्च सम्बन्धित दुवै देशका सरकारलाई थाहा हुने गर्छ । त्यसको अर्को जानकारी मुद्रा बजार र बैङ्कहरूलाई थाहा हुने गर्छ । चिनियाँ मुद्रा नेपाली बजारमा कहिले प्रचलनमा आएको छैन । तर, ठीक उल्टो भारतको मुद्राबारे छ । हिजोसम्म नेपाली बजारमा भारतीय मुद्रा खुलारूपले चल्थ्यो । आज पनि व्यापारिक क्षेत्रमा व्यवहारिकरूपले त्यसको निषेध भएको छैन र बैङ्कको हिसाबले देखाउँछ कि भारतीय मुद्राको ठीक–ठीक हिसाब राख्न नेपाल अझ पनि असमर्थ छ । त्यसको मुख्य कारण ९० प्रतिशत नेपालको व्यापार भारतसँगै हुनु, खुला सीमा व्यवस्था र नेपाली र भारतीय जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध हुनु हो । यसकारण, भारतीय राजदूतावासको अवैध रकमको हिसाब नेपाल सरकार राख्न सक्दैन । विज्ञापनको आधारमा अखबारहरूलाई पैसा दिनु कुनै नौलो कुरो होइन, न त भारतीय दूतावास नै यस काममा चीन, उत्तर कोरिया, रुस र अरू देशको दाँजोमा पछाडि छ । त्यतिमात्रै होइन– भारतीय राजदूतावासमार्फत रामायण, महाभारत र अरू विषयका सिनेमा, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम र प्रदर्शनीहरू गर्ने कुरामा, स्थानीय धार्मिक गतिविधिहरूमा, विभिन्न भारतीय संस्थाहरूबाट प्रत्यक्ष र अप्रत्यक्षरूपले दिने गरेको सहयोग र सहायतामा, नेपाली लेखक र कविहरूको एक निश्चित सङ्ख्यामा किताब किनी दिएर नेपाली साहित्यको विकासमा ‘योगदान’ गर्ने काममा (यस सहायतामा नेपालका केही पुराना प्रगतिशील र ‘माओवादी’ लेखक र कविहरूका रचनाहरू पनि समावेश छन्), स्कूल, कलेज, विश्वविद्यालय र पुस्तकालयजस्ता शिक्षण–संस्थाहरूलाई भवन निर्माण, किताब, पत्रपत्रिका र अरू सामान दिनमा, गरिब वा राम्रा छात्र–छात्राहरूलाई छात्रवृत्ति दिनमा नैतिक र भौतिकरूपले भारतीय दूतावास नेपालस्थित अरू सबै राजदूतावासभन्दा अगाडि छ । यसमा भारतीय दूतावासको तुलनामा अरूले मुस्किलले एक प्रतिशत गरेको होला । यस्ता सांस्कृतिक गतिविधिमा चाख नलिएकोमा काठमाडौँका केही माथिल्ला सर्कल (मण्डली) हरूमा चिनियाँ राजदूतावासको ‘निष्कृयतालाई बोधोपना’ को संज्ञा दिएका थिए । तर, त्यसले चिनियाँ दूतावासको शैलीमा कुनै फरक आएन । तर, भारतीय दूतावासको सांस्कृतिक गतिविधिमा कहिलेकाहीँ खास राजनैतिक उद्देश्य लिएर स्कूलको भवन निर्माण र पिउने पानीको निम्ति बोरिङ गर्न क्रस चेकसमेत प्रदान गरेर नेपाल सरकारलाई समेत अप्ठ्यारोमा पारेको थियो । नेपाल र भारतको पुरानो मित्रताले गर्दा भारतीय राजदूतावासबाट बरोबर तेस्र्याउने अप्ठ्याराहरू नेपाल सरकारले पचाउँदै आएको देखिन्छ र नेपाली जनताको निम्ति यो नौलो र गुप्त कुरो पनि होइन । यसलाई नेपाली जनताले भारतीय दूतावासको ‘खुला’ कूटनीतिकै रूपमा लिइसकेको छ । तर, श्रीमन नारायणजीमा नेपाल–चीन सम्बन्धबारे ‘अरूको आङमा जुम्रा देख्ने, आफ्नो आङमा भैसी नदेख्ने’ दृष्टिदोष देखिन्छ ।
भियतनामी जनता एसियाका बहादुर र स्वतन्त्रताप्रेमी जनता हुन् । हजार वर्षभन्दा पहिलेदेखि भियतनामी जनता विदेशी हस्तक्षेप र साम्राज्यवादी आक्रमणको विरोधमा सङ्घर्ष गर्दै आएको इतिहास छ । यस शताब्दीको तेस्रो दशकदेखि भियतनामी जनता आफ्ना महान् नेता हो चि मिन्हको नेतृत्वमा फ्रान्स, जापान, संरा अमेरिका र अरू विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूको आक्रमण र हस्तक्षेपको विरोधमा जीवनमरणको सङ्घर्ष गर्दै आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिलाई प्राप्त गरे । भियतनामी जनताको त्यस देशभक्तिपूर्ण सङ्ग्रामले ठूलो र बलियो देशको विरोधमा स–साना र निर्बलिया राष्ट्रहरूले पनि आफ्नो स्वतन्त्रता कायम गर्न सक्छ भन्ने एक ज्वलन्त उदाहरण संसारका जनताको अगाडि देखाइदियो । त्यो युद्ध भियतनामी जनताको देशभक्ति र चेतनाको विकासको एक अभिव्यक्ति हो । भियतनामी जनताको त्यस्तो महान् देशभक्तिपूर्ण सङ्घर्षलाई श्रीमन नारायणले चिनियाँहरूले फसाएको ‘अन्तहीन गुरिल्ला युद्ध’ सम्झनु भियतनामी जनताको आफ्नै देशभक्तिपूर्ण सङ्घर्षलाई हिलो छ्याप्नु हो । उहाँको त्यस ठम्याइबाट उहाँले सरासर संरा अमेरिकी साम्राज्यवाद र सैगोनको प्रतिक्रियावादी सरकारको सेवा गर्नुभयो । तर, भियतनामी जनता यसकारणले बडो भाग्यशाली छन् कि चिनियाँ जनताले जस्तै भारतीय जनताबाट पनि आफ्नो देश र जनताको न्यायोचित सङ्घर्षमा समर्थन पाए । तर, भारतकै श्रीमन नारायणजस्ता एक जिम्मेवार व्यक्तिको आँखामा त्यो युद्ध ‘चिनियाँ कम्युनिस्टहरूले’ गरेको ‘सार्वभौमिकतालाई छिन्नभिन्न पार्ने’ एक कोसिसमात्रै रह्यो । यस मानेमा उहाँले भारत र भारतीय जनताको साम्राज्यवादविरोधी भावनालाई प्रतिनिधित्व गर्न सक्नुभएन । लाखौँ–लाख भियतनामी जनताको त्याग, तपस्या र बलिदानले विजय प्राप्त गर्दै गएको रक्तरञ्जित क्रान्तिलाई चीनको ‘उक्साइ’ मात्र सम्झनु एकातिर भियतनामी जनताको अपमान थियो भने अर्कोतिर भारतीय जनताको साम्राज्यवादविरोधी परम्परामा एक कलङ्क थियो । तर, खुसीको कुरो छ, हाम्रो युग प्रगति उन्मुख छ, भारत सरकारको भियतनाम नीति श्रीमन नारायणको रायविपरीत गयो, भियतनामी जनता मुक्त भए, भारतीय जनताको समर्थन खेर गएन । यसले थाहा हुन्छ कि स्वतन्त्रता र मुक्ति आन्दोलनबारे श्रीमन नारायणको दृष्टिकोण उपनिवेशवादी छ, सम्भवतः उहाँमा यो दृष्टिकोण बेलायती उपनिवेशवादकै प्रभाव हुनुपर्छ, स्वतन्त्र भारतको होइन ।
मनमोहन अधिकारी
त्यस्तै ‘सानो र सैनिकरूपले निर्बलियो’ नेपालले कोसित डराउनुपर्नेरहेछ भन्ने कुरो समयमै बङ्गलादेश र सिक्किमले नेपाली जनतालाई देखाइदियो । नेपाली जनताले कहिलेकाहीँ आफ्ना मित्रहरूबाट नकारात्मक वा उल्टो शिक्षा र सल्लाह पाउने गर्छन् । यो एक उदाहरण हो ।
श्रीमन नारायण बनारसमा बसेका नेपाली कम्युनिस्टहरूलाई ‘चीन समर्थक, तर रुस समर्थकजस्तो नक्कल गर्नेहरूसँग, नेपाल सरकार ‘सशङ्कित’ भएकोले छिट्टै ‘प्रस्ट्याउन’ चाहनुहुन्थ्यो । तर, समयले बताइदियो कि श्रीमन नारायणको त्यो ठम्याइ पनि उल्टो सिद्ध भयो । बनारस बस्ने नेपाल कम्युनिस्ट पार्टीको एक गुटले रुसी संशोधनवादको ‘विरोध’ भन्ने गर्छ । तर, ‘बङ्गलादेश’ बारे भारतीय थिचोमिचोको समर्थन ग¥यो र नेपाल–भारत वाणिज्य वार्ताबारे चमेरे नीति लियो । बनारसकै अर्को गुटले रुसलाई ‘सामाजिक–साम्राज्यवाद’ भन्न स्वीकार नगरेको मात्रै होइन कि समर्थनसमेत गर्छ, यो गुट अहिले दिल्लीमा कुञ्जिएको छ । आखिर नेपाल सरकारलाई ‘सशङ्कित’ पार्ने र ‘आतङ्कित’ पार्ने तत्व ‘चीन समर्थक’ कम्युनिस्टहरू नभएर भारत समर्थक, अझ इन्दिरा समर्थक प्रजातन्त्रवादी नै सावित भए । यसमा पनि श्रीमन नारायणको ठम्याइ तासको घरजस्तै भत्क्यो । हो, उहाँको त्यस ठम्याइले बनारस बस्ने केही नेपाली कम्युनिस्टहरूलाई एक अनावश्यक दबाब प¥यो होला भन्ने अनुमान गर्न सकिन्छ ।
श्रीमन नारायणले नेपालमा आफ्नो प्रयास नेपाल–भारतको आपसी सम्बन्धसम्म मात्रै सीमित नराखेर चीनविरोधी गतिविधिका सबै प्रयासहरू पनि गर्नुभएको थियो भन्ने उहाँकै भनाइहरूबाट प्रस्ट छ । नेपाल–चीन सम्बन्धमा तीतोपना ल्याउने उहाँको प्रयासले केही नगरे पनि नेपाललाई चीनबाट पाइने नेपाल तराईका केही विकास योजनाहरू भने जरुरै रोकिए । नेपाल–चीन सम्बन्ध धमिल्याउने कुरामा उहाँ असफल जरुरै हुनुभयो किनभने त्यो उहाँको सीमाभन्दा बाहिरको कुरो थियो । नेपाल तराईमा चीनको सहयोगबाट बनिने रद्द भएका योजनाबाट चीनलाई होइन, नेपाललाई फाइदा हुन्थ्यो र भारतलाई होइन, नेपाललाई नोक्सान भयो । मित्रताको निम्ति कहिलेकाहीँ सानातिना योजनालाई त्याग्नु अथवा तीतो घुट्को पनि मीठो मानी निल्नुपर्ने हुन्छ । श्रीमन नारायण यसमा नेपालमा सफल हुनुभएको थियो ।
तर, उहाँको ‘भारत र नेपाल’ को एक तीतो सारांश–नेवार वा केही नेपाली जनसमुदाय ‘चीन समर्थक’ र ‘भारतविरोधी’ र ‘माओवादी’ हुन् भने ठम्याइलाई प्रस्ट नगरी हुन्न । तथ्यले सावित गर्नेछ कि उहाँको त्यो ठम्याइ मौलिकरूपले खोटो छ । उहाँ जस्तै भारतका अरू पनि नेपालविद्हरूमा त्यसबारे खोटो ठम्याइ छ । वास्तविक स्थिति र तथ्यबाट उहाँहरूलाई जिब्रो टोक्न लगाउनेछ र आफ्नो ठम्याइमा पुनःविचार गराउन घच्घच्याउनेछ ।
गोविन्दप्रसाद लोहनी
जातीयरूपले नेवारहरूमात्रै होइनन्, नेपालका कुनै पनि जाति भारतविरोधी छैनन् । तर, राजनैतिकरूपले नेपालका सबै जातिका जनता भारतीय एकाधिकार पुँजीको थिचोमिचोको विरोधी छन् । यो नेपाली जनतामा बढ्दै गएको राष्ट्रिय भावना र प्रजातान्त्रिक भावनाको विकासको लक्षण हो । अर्को शब्दमा नेपाली समाजमा वर्गीय चेतनाको विकासको सङ्केत हो । त्यस्तै नेपाली जनता चिनियाँ जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी सङ्घर्ष र अडानलाई समर्थन गर्छन् र तिनीहरूको आश्चर्यजनक चौतर्फी विकासलाई एक एसियाली र छिमेकी देशको नाताले प्रशंसा गर्छन् र त्यसको सिको पनि गर्छन् यसलाई नै ‘चीन समर्थक’ संज्ञा दिने हो भने भारत नै एसियामा सबभन्दा पहिलो र सबभन्दा ठूलो ‘चीन समर्थक’ को थियो । आज नेपाली जनता चीनको विकास र प्रगतिबाट प्रभावित भएजस्तै हिजो भारतको स्वतन्त्रता आन्दोलन र प्रगतिबाट प्रभावित थिए । के यस दृष्टिले नेपाल ‘भारत समर्थक’ हो ? आज नेपालको घर–घरमा माओ त्सेतुङ्ग र चीनका तस्बिरहरू देखिएजस्तै भगत सिंह, चन्द्रशेखर ‘आजाद’, सुभाषचन्द्र बोस, गान्धी, नेहरू र भारतका तस्बिरहरू छन् । कोठाको एक कुनामा ताजमहल पनि पाउनु हुन्छ । नेपालको प्राचीन हरेक मन्दिरको ढोका र तोरणमा चीनको ‘ड्राय्गन’ (छेफो) का मूर्ति, सिंह र चिनियाँ कला कुँदिएको हुन्छ भने देव–देवता हिन्दू धर्मशास्त्रअनुसार कुँदिएको हुन्छ । यसले थाहा हुन्छ– श्रीमन नारायणको ‘चीन समर्थक’ धारणा एक दृष्टिदोषमात्रै हो । हाइड्रोजन र अक्सिजनको योगले नयाँ वस्तु पानीको अस्तित्व भएजस्तै चिनियाँ र भारतीय संस्कृतिको योगबाट नेपालले नयाँ कला र संस्कृतिको विकास ग¥यो । यसकारण, नेपाललाई ‘चीन समर्थक’ को तक्मा लगाउन खोज्नु वा नेपाललाई ‘भारत समर्थक’ बनाउन खोज्नु दुवै त्यतिकै अवास्तविक हुन् । हो, नेपालका प्रगतिशील तत्व ‘माओवादी’ छन्, जस्तै भारतीय र संसारका अरू प्रगतिशील तत्व हुन्छन् । किनभने, ‘माओवादी’ लाई ‘भारत विरोधीवाद’ को रूपमा लिनु त दर्शन र विज्ञानलाई साँघुरो शब्दावलीमा थुन्नु जतिकै हो । माओ त्सेतुङ्ग विचारधारा त साम्राज्यवाद अन्तिम अवस्थामा डुबिरहेको र समाजवाद विश्वव्यापी विजयतिर बढिरहेको युगको माक्र्सवाद हो । यो हाम्रो युगको लेनिनवाद हो । माओ त्सेतुङ्ग विचारधारालाई एक विश्वव्यापी विज्ञानको रूपमा अध्ययन गर्नुपर्ने दर्शन हो । यसकारण, यसबारे श्रीमन नारायणको हेराइ सा¥है काँचो र केटाकेटी छ । जातीयरूपले हेरेको खण्डमा नेपालको कम्युनिस्ट आन्दोलनमा नेवार माक्र्सवादीहरूको कम योगदान छैन (प्रसङ्गले गलत अर्थ नलागोस् भनेर भनिहालूँ–माक्र्सवाद र माक्र्सवादीहरूलाई जातीय घेराभित्र गुन्नु माक्र्सवादविरोधी कुरा हो ।)
मदनमनी दीक्षित
तर, सङ्ख्याको हिसाबले तिनीहरूको आकार सानो छ । मनमोहन अधिकारी, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, कमलराज रेग्मी, केदारनाथ खनाल, लीलाराज उपाध्याय, बासुदेव ढुङ्गाना, भरतमोहन अधिकारी, कमल कोइराला, राधा घिमिरे, पुण्य आचार्य आदि ठूलो सङ्ख्यामा ब्राह्मण जातिबाट राष्ट्रिय र अञ्चलीय नेताहरू देखापरेका थिए । त्यस्तै प्रगतिशील साहित्य फाँटमा श्यामप्रसाद उपाध्याय, गोविन्दप्रसाद लोहनी, भवानी शर्मा, मदनमणि दीक्षित, धनुषचन्द्र गौतम, बालकृष्ण पोखरेल, सरिता ढकाल, आनन्ददेव भट्ट, कृष्णप्रसाद शर्मा, ‘सर्वहारा’, देवीप्रसाद ‘पोखरेल’ (केबुलपुरे किसान), अरविन्द रिमाल, गोविन्द भट्ट आदि थिए । नयाँ पुस्तामा पनि ब्राह्मण परिवारबाट थुप्रै कम्युनिस्ट नेताहरू देखापरेका छन् । एकदेव गुरु, मदन पोखरेल, हरेराम शर्मा, मधुगुरु आदि पश्चिम नेपालबाट देखिन्छन् भने पूर्वबाट शिवप्रसाद शिवाकोटी, श्रीनारायण ओली, धर्म घिमिरे, राधा मैनाली, ऋषि देवकोटाजस्ता नयाँ नेताहरू थपिँदै छन् । प्रगतिशील साहित्यको फाँटमा पनि मोदनाथ प्रश्रित, गोविन्द ज्ञवाली, रामचन्द्र भट्टराई, यू.के. झापा, प्रकाशचन्द्र मैनाली, मोहनचन्द्र अधिकारी आदि विभिन्न ब्राह्मण परिवारबाट लेखक, कवि र कलाकारहरूको नयाँ पुस्ता माथि उठ्दै छन् ।
(स्रोत : नेपाल–भारत सम्बन्ध र भारत)