जन्म र बाल्यकाल
साम्यवादका दोस्रो संस्थापक फ्रेडरिक एङ्गेल्सको जन्म सन् १८२० नोभेम्बर २८ मा जर्मनीको बर्मन शहरमा भएको थियो । साम्यवादका प्रथम संस्थापक तथा महान् विचारक कार्लमाक्र्सको जन्म सन् १८१८ मई ५ मा भएको थियो । यसरी एङ्गेल्स माक्र्सभन्दा झन्डै अढाई वर्ष कान्छो हुनुहुन्थ्यो ।
एङ्गेल्सको परिवार एउटा उद्यमशील उद्योगपतिको परिवार थियो । उहाँले बर्मनको रियल स्कूल र त्यसपछि एल्वारफेल्डको जिम्नेसिया (यी दुवै माध्यमिक विद्यालय हुन्) (पहिलोमा विज्ञान–शिक्षा र अर्कोमा विशेषगरी साहित्यबारे नै शिक्षा दिने गथ्र्यो) नामक स्कूलहरूमा अध्ययन गर्नुभयो । तर, पहिलो स्कूलको अध्ययन पूरा गर्न नपाउँदै बाबुको काममा सहयोग गर्नुप¥यो र अध्ययन रोक्न बाध्य हुनुप¥यो । उहाँका बाबु बाजेले परिवारलाई सुखी राख्न बर्मन सहरमा एउटा कपडा कारखाना खोलेका थिए । त्यो कारखाना एकपछि अर्कोगरी परिवारका सदस्यहरूले चलाउँदै आएका थिए ।
एङ्गेल्सका बाबु बुद्धिमान र हँसिलो स्वभावका व्यक्ति हुनुहुन्थ्यो । तर, उहाँमा धार्मिक भावनाले गहिरो छाप पारेको थियो । उहाँकी आमा पनि तीखो बुद्धि र प्रसन्न स्वभावकी हुनुहुन्थ्यो । एङ्गेल्सका मावली धन सम्पत्तिभन्दा विचारको पुँजीलाई महत्व दिने गर्थे । एङ्गेल्सकी आमा पनि ठीक त्यस्तै विचारकी हुनुहुन्थ्यो ।
एङ्गेल्सको परिवार धार्मिक विचारमा कट्टर थियो । त्यसकारण, एङ्गेल्सले आफ्नो घर परिवारमा धार्मिक सङ्कीर्णताविरुद्ध कठोर सङ्घर्ष गर्दै अघि बढ्नुप¥यो । उहाँ बालक अवस्थादेखि नै दयालु स्वभावको हुनुहुन्थ्यो । पाकेट खर्च गर्न भनी आमा बाबुले दिएको पैसा गरीबहरूलाई बाँडी दिनुहुन्थ्यो । १४ वर्षको उमेरसम्म एङ्गेल्सले बर्मन रियल स्कूलमा नै शिक्षा प्राप्त गर्नुभयो । त्यसपछि उहाँ एल्बारफेल्ड स्कूल भर्ना हुनुभयो । पढाइ समाप्त भएपछि छोरो पनि आफूजस्तै विचारको बनोस् भन्ने उहाँका बाबुको विचार थियो । तर, एङ्गेल्स विद्यार्थी जीवनदेखि नै अर्को विचारमा लागिसक्नुभएको थियो ।
एकपटक उहाँको बाबुले एङ्गेल्सकी आमालाई लेखेको पत्रमा आफ्नो छोरो एङ्गेल्सबारे उल्लेख गरेका कुराहरू यसप्रकार छन्, “छोरोले राम्ररी पढिरहेको छ, उसको स्वभावमा पनि धेरै परिवर्तन आइसकेको छ । ऊ चुपचापसित हाम्रो कुरा मानेर हिँड्न तयार छैन । त्यसो त होशियार नै देखिन्छ । आज उसको मेचमा ५ सय वर्ष पुरानो एउटा प्रेम कथाको पुस्तक मैले देखेँ, कुनै पुस्तकालयबाट ल्याएको होला । जे होस्, भगवानले उसलाई रक्षा गरून् ।”
युरोपमा औद्योगिक क्रान्तिताका यसरी बालबालिकाहरुलाई काममा लगाइन्थ्यो ।
विचारमा विद्रोहको थालनी
स्कूल जाँदा बालक एङ्गेल्स मजदुरहरू बस्ने गल्लीबाट हिँड्ने गर्नुहुन्थ्यो । त्यसै समयदेखि उहाँले मजदुरहरू सफा हावामा सास फेर्नुको सट्टा धुँवामा र गुम्म परेको उकुसमुकुस हुने, होचो छत भएको फोहर र अँध्यारो, मुसाहरू बस्ने गुम्स्याइला प्वालहरूजस्तो बस्ने ठाउँ देख्नुभयो । ती मजदुरहरूका साना केटाकेटीहरू ६ वर्षको हुने बित्तिकै पुँजीपतिहरूको सेवा टहलमा लागिरहेको पनि देख्नुभयो । ‘यी गरीबहरू पशुहरूभन्दा पनि दयनीय अवस्थामा जीवन बिताइरहेका छन्’ भन्ने कुरा सोच्नुभयो । उनीहरू आफ्नो अत्यन्त दुःखमय जीवनबारे सोच्नुको सट्टा सस्तो रक्सीमा डुबेर बसेका हुन्थे, जसबाट उनीहरू जिउँदो लासको अवस्थामा नरकबासको जीवन बिताइरहेका थिए । यी सबै अवस्थाबारे एङ्गेल्सले सोच्नुभयो । एङ्गेल्सलाई पनि आफ्नो घरको स्थितिबाट वाक्क लागिसकेको थियो । उहाँले त्यस प्रकारका विभिन्न किसिमका स्थितिलाई गम्भीररूपले सोच्न थाल्नुभयो । उहाँले सबभन्दा पहिले आफ्नो घरमा धार्मिक कट्टरताको विरोध गर्दै जानुभयो । उहाँले जर्मनीको बर्मन सहरमा कल कारखानाका मजदुरहरूको अत्यन्त दयनीय र गरिबी अवस्था आफ्नै आँखाले हेर्दै र त्यसका कारणहरूको अनुसन्धान गर्दै जानुभयो । यी कुराहरूबाट एङ्गेल्समाथि ठूलो प्रभाव प¥यो । अनि यहीँबाट नै एङ्गेल्सको दिमागमा अन्याय–अत्याचारप्रति विद्रोहको भावना सुरू भयो ।
विवेकहीन मालिक
एङ्गेल्सको सम्बन्ध एउटा उद्योगपति परिवारसित थियो । उहाँका पिता पनि उद्योगपति नै हुनुहुन्थ्यो । त्यसकारण, अरू कारखानाका मालिकहरूको आवतजावत खुब चलिरहन्थ्यो । उहाँ ती मालिकहरूका बिच हुने छलफलहरू सुनिरहनुहुन्थ्यो । ती मालिकहरू भन्ने गर्थे, “हामीले कारखाना खोलेको त मूर्खता नै हो, यसबाट हामीलाई केही फाइदा छैन, आदि ।” उनीहरूको कुरा सुन्दासुन्दै “यी कारखाना मालिकहरूमा विवेक विचार भन्ने कुनै कुरो नै छैन ।” भन्ने निष्कर्षमा एङ्गेल्स पुग्नुभयो । ती मालिकहरू आइतबार गिर्जाघर जान्थे र आफूहरूले गरेको “सबै पापहरू मेटी देऊ” भनी भगवान्सँग प्रार्थना गर्थे ।
धर्ममा अविश्वास
एङ्गेल्समा धर्मप्रतिको अविश्वास क्रमशः बढ्दै गयो । त्यसैबेला सन् १८३४ मा डेविड स्ट्रास नामक लेखकले लेखेको ‘ईसाको जीवन चरित्र’ नामक पुस्तक छापियो । त्यस पुस्तकमा लेखकले धर्मग्रन्थहरूमा पुराना इसाइहरूका दन्त्य कथाहरू लेखेका छन् भन्ने कुरा प्रमाणित गर्न खोजेका छन् । एङ्गेल्सले उक्त पुस्तक पढेर सिध्याउनुभयो । त्यसपछि आफ्नो एकजना साथीलाई लेखी पठाउनुभयो, “अब मेरो धर्ममा विश्वास बिलकुलै रहेन ।” त्यसबेलादेखि उहाँले आफ्ना नौला विचारलाई विकसित गर्दै राजनीतिमा विशेष रुचि लिन थाल्नुभयो ।
जर्मन महाकवि गेटे
साहित्यमा रुचि
एङ्गेल्सको परिवारमा वकालत गर्ने वा सरकारी नोकरी गर्ने परम्परा थियो । एङ्गेल्सको पिताजी के चाहनुहुन्थ्यो भने “छोराले विश्वविद्यालयको उच्च शिक्षा पूरा गरेर आफ्नो काममा मद्दत गरोस् ।” उहाँ छोरालाई एकजना राम्रो व्यापारी बनाउन चाहनुहुन्थ्यो ।
एङ्गेल्सलाई १७ वर्षको उमेरदेखि नै साहित्यिक पुस्तकहरू पढ्ने र गहिरिएर तिनको बारे विचार गर्ने रुचि बढ्दै गयो । उहाँ तीखो बुद्धि भएका र अति प्रतिभाशाली व्यक्ति भएकाले जुनसुकै साहित्यको पनि गहिरो अध्ययन गर्नुहुन्थ्यो र सामाजिक जीवनबारे जानकारी सँगाल्नुहुन्थ्यो । साहित्यमा उहाँको रुचि बढ्दै गयो । त्यसै ताका उहाँले कविताहरू पनि लेख्न थाल्नुभयो । जर्मनीका महाकवि ‘गेटे’ बाट उहाँ निकै प्रभावित हुनुभएको थियो ।
फ्रान्सेली क्रान्तिको प्रभाव
सन् १८३० को जुलाईदेखि सुरु भएको फ्रान्सेली क्रान्तिको फलस्वरूप त्यहाँको अर्धसामन्ती राजतन्त्रको ठाउँमा ठूलठूला पुँजीपति फाँटका बजारका मालिकहरूको प्रतिनिधि राजा बन्न पुगे । सम्पूर्ण युरोपमा तहल्का मच्चियो । सन् १८३१ र १८३४ मा फ्रान्सको लोआँ सहरका सर्वहारा वर्गका कपडा कारखानाका मजदुरहरूले सङ्घर्ष मोर्चा बनाएर आफ्ना मागहरू राखी स्वतन्त्र वर्गको हैसियतले लड्न थाले । इङ्गल्यान्डमा वर्गसङ्घर्षले तीव्ररूप लियो । सन् १८३२ मा अधिकांश मजदुरहरूलाई पनि मत दिने अधिकार मिल्यो । एकातिर औद्योगिक पुँजीपतिहरूको चहलपहल बढ्न थाल्यो । अर्कोतिर वर्गसङ्घर्षले पनि चर्को रूप लियो । मजदुर वर्गको चार्टिष्ट आन्दोलनको जग बस्यो । फ्रान्सपछि बेल्जियम, पोलैन्ड, इटली र स्पेनमा पनि विद्रोह सुरू हुन थाले । सन् १८३० र १८४० पछिका वर्षहरूमा जर्मनीमा पनि सार्वजनिकरूपमा चहलपहल देखिन थाले । निरङ्कुश शासनको विरुद्ध पुँजीपति र बुद्धिजीवीहरू पनि अघि सर्न थाले । ठाउँ ठाउँमा नौला साहित्यिक र दार्शनिक गोष्ठीहरू हुन थाले । यसबाट एङ्गेल्सको तन्नेरी युवा हृदयमा ठूलो प्रभाव पा¥यो ।
जर्मन दार्शनिक हेगेल
युवकहरूको हेगेलवादी नयाँ दल
जर्मनीमा तन्नेरीहरूको एउटा हेगेलवादी नयाँ दल स्थापना भयो । त्यस दलले हेगेलका प्रतिक्रियावादी विचारलाई पन्छाएर उनका क्रान्तिकारी द्वन्द्वात्मक विचार पक्षलाई मात्र अपनाएका थिए । त्यस दलका तन्नेरीहरू फ्रान्सेली क्रान्तिबाट प्रभावित भएका थिए । “सबथोक फेरिन्छ र नास हुन्छ भने प्रसियाको राजतन्त्र पनि समाप्त हुनेछ” भन्ने उनीहरूको भनाइ थियो । ती युवक हेगेलवादीहरू हेगेलको दर्शनबाट त्यस किसिमको अर्थ निकाल्थे । त्यसताका जर्मनीमा कसैले पनि राजनीतिमा भाग लिन पाउँदैनथ्यो । सामान्यरूपले राजतन्त्रका समर्थकहरू र हेगेलवादी युवकहरू धर्मको वादविवादमा ने जुट्न थाले । ती धर्मका आलोचकहरूमा एङ्गेल्स सबभन्दा अघिल्लो पङ्क्तिमा हुनुहुन्थ्यो । उहाँ आफूलाई तन्नेरी हेगेलवादीहरूभन्दा पनि अघि बढेको वामपन्थी हेगेलवादी मान्नुहुन्थ्यो । तर, एङ्गेल्स यत्तिकैमा मात्र सीमित नभई विज्ञान दर्शन, राजनीतिक सिद्धान्त र व्यवहारमा पनि बल दिने गर्नुहुन्थ्यो । उहाँले त्यस समयसम्म क्रान्तिकारी बाटोमा पाइला सारी सक्नुभएको थियो ।
अरू काम गरेर पनि काव्य रचना, साहित्य सृजना आदि गर्न सकिन्छ भन्ने कुरा एङ्गेल्सले बुझिसक्नुभएको थियो । तर, यी कामहरूलाई मात्र जीवनको एकमात्र लक्ष्य बनाउनु हुँदैन भन्ने पनि उहाँको विचार थियो । कल्पनाको संसारमा डुल्नुको सट्टा सही सत्य काममा जीवन व्यतीत गर्नु उत्तम हो भन्ने कुरा उहाँले सोचिसक्नुभएको थियो ।
क्रान्तिकारी लेखक
जर्मनीबाट त्यसताका ‘टेलेग्राम’ नामक एउटा पत्रिका निस्कन्थ्यो । त्यसमा एङ्गेल्सले गुप्त नामबाट लेखहरू लेख्ने काम गर्नुहुन्थ्यो । ती लेखहरूमा राजतन्त्रप्रति अति घृणा जनाउनुभयो र पिल्सिएका, दबिएका गरीब जनताप्रति अपार सहानुभूति प्रकट गर्नुको साथसाथै राँकोझैँ दन्किरहेका क्रान्तिकारी विचारहरू व्यक्त गर्नुहुन्थ्यो । जसको केही नमुना तल दिइएको छः–
“सन् १८१६ देखि १८३० सम्ममा राजाहरूले जति पनि हत्यारा काम गरेका छन्, त्यति हत्या योभन्दा अघि कहिल्यै भएको थिएन । त्यसताकाका प्रत्येक राजाहरूलाई बढीभन्दा बढी सजाय दिनुपर्ने थियो । जर्मनीको राजा विलियम तृतीयलाई एङ्गेल्सले नम्बर १ को घिनलाग्दो राजा” भनी लेख्नुभयो । “जबसम्म जनताका घुस्साहरूसित राजाको टाउको टक्राउँदैन र क्रान्तिका ढुङ्गाहरूको मारले उसका राजमहलका झ्यालहरू फोडिदैनन् तबसम्म राजाहरूको तर्फबाट कुनै असल कामहरूको आशा गर्नु बेकार छ ।”
एङ्गेल्सले धार्मिक क्षेत्रका सङ्कुचित र अन्धविश्वासी भावनाहरूको विरुद्ध कलम चलाउँदै आफ्नो अध्ययन चालू राखिरहनुभयो ।
चार्टिस्ट आन्दोलन
सन् १८२८ सा इङ्गल्यान्डका मजदुरहरूले क्रान्तिकारी चार्टिस्ट आन्दोलन सुरू गरे । सबै बालिग पुरुषहरूले मत खसाल्न पाउनुपर्छ भन्ने कुराको साथसाथै अरू पनि धेरै जनवादी सुधारहरूको माग गरेका थिए । आन्दोलनको केन्द्र म्यानचेस्टर थियो । त्यो आन्दोलन बढ्दै गएर सन् १८४२ सम्म पुग्दा अरू तीव्ररूप धारणा ग¥यो । त्यसमा एङ्गेल्सले पनि भाग लिनुभएको थियो । उहाँले आन्दोलनका अरू वामपन्थी नेताहरूसित नजिकको सम्पर्क कायम गर्नुभएको थियो । आन्दोलनका प्रमुख वामपन्थी नेता ‘हार्ने’ ले एङ्गेल्सको मृत्युपछि आफ्नो संस्मरणमा एङ्गेल्सबारे लेख्नुभएको छ– “गतिलो शरीर भएको एकजना स्वस्थ तन्नेरी हाम्रो … …. … कार्यालयमा आयो र धाराप्रवाहरूपले निकै राम्रो अङ्ग्रेजीमा बोल्यो, यस आन्दोलनमा, उसको निकै ठूलो अभिरुचि छ र ऊ हाम्रो समाचार पत्रको नियमित पाठक पनि हो । त्यो युवकको नाम फ्रेडरिक एङ्गेल्स हो ।
खुला सशस्त्र सङ्घर्षको खाँचोको महशुश
फ्रेडरिक एङ्गेल्स अरू देशका समाजवादी आन्दोलन र दर्शनसम्बन्धी विचारलाई प्रगतिशील दृष्टिबाट परिचित गराउने, अर्कोतिर जर्मनीका जनतालाई इङ्ग्ल्यान्डका मजदुर आन्दोलनबारे जानकारी गराउने काममा अटुटरूपमा लागिरहनुभयो । माक्र्सको सम्पादनमा चलिरहेको पत्रिका ‘राइनीश जाइतुङ’ मा एङ्गेल्सले एउटा लेख लेख्नुभयो । जसमा – तीन खण्डको एक खण्ड, अझ बढेर सम्भवतः आधा ब्रिटिस जनता अति नै दयनीय अवस्थामा जीवन निर्वाह गरिरहेका छन्, जसलाई खास गरी उद्योगधन्दाहरूले जन्माएका हुन् भन्ने कुरा औँल्याउनुभयो । यिनीहरूसित धन–सम्पत्ति नामको कुनै वस्तु छैन, यिनीहरूको सङ्ख्या बढ्दै गइराखेको छ । व्यापारिक सङ्कटले गर्दा यिनीहरू भोकै मर्ने स्थितिमा पुगेका छन् । यिनीहरूको अवस्था सुधार्ने एउटै मात्र बाटो क्रान्ति हो । सङ्ख्याको हिसाबले यिनीहरू ब्रिटिस समाजको सबभन्दा शक्तिशाली अंश हुन् । तर, अहिलेसम्म यिनीहरूले आफ्नो ताकतलाई चिनेका छैनन् । १८४२ मा भएको आम हडताल र उत्थानबाट के थाहा लाग्छ भने, “यिनीहरूले आ–आफ्नो ताकत के कति छ भन्ने कुरा जान्न थालेका छन् । यिनीहरूले कानुनअन्तर्गत नै क्रान्ति गर्ने मन गरे, त्यसैले यिनीहरू हारे ।” शान्तिपूर्ण तरीकाले चलाएको आन्दोलनबाट पुँजीपति वर्गको सरकारले गरीब जनताको हातमा सत्ता सुम्पिने छैन भन्ने कुरा एङ्गेल्सले स्पष्टरूपले बुझिसक्नुभएको थियो । त्यसो हुनाले पुँजीपति वर्गको सरकारको विरुद्ध गर्ने लडाइँको फैसला खाली राजनीतिक क्षेत्रको सङ्घर्षले मात्र सम्भव छैन, बरू सशस्त्र सङ्घर्षको नै खाँचो छ भन्ने निष्कर्षमा एङ्गेल्स पुग्नुभयो ।
माल्थसको सिद्धान्तको खण्डन
“संसारको जनसङ्ख्या सधैँभरि खान लाउने साधनहरूभन्दा बढी हुन्छ” भन्ने माल्थसको सिद्धान्तलाई एङ्गेल्सले मानवताविरोधी र गलत सिद्धान्त हो भनी लेख्नुभयो । पुँजीवादले उत्पन्न गरेका सामाजिक रोगहरूको लागि प्रकृतिलाई दोषी बनाउने सिद्धान्त घिनलाग्दो, नीच सिद्धान्त हो, जुन प्रकृति र मानवताविरुद्ध झूटले भरिपूर्ण छ । एउटा कुराको मात्र खाँचो पर्दछ – सबैको भलाइको लागि उत्पादन शक्तिलाई चनाखोपूर्ण ढङ्गले प्रयोग गरौँ । यो कुरा व्यक्तिगत सम्पत्तिको व्यवस्था नभएको र एकातिर अपार धनका मालिक र अर्कोतिर गरिबीको रेखामुनिका गरीबहरू नहुने समाजमा मात्र सम्भव हुनेछ भनी एङ्गेल्सले स्पष्ट पार्नुभयो ।
दार्शनिकहरूका दुई गुट
त्यसबेला दार्शनिकहरू दुई थरीमा विभाजित थिए । एकथरी आदर्शवादी र अर्कोथरी भौतिकवादी । आत्मालाई प्रकृतिको तुलनामा प्रमुख ठाउँ दिने, अर्को शब्दमा संसार ईश्वरको सृष्टि हो भन्ने जति आदर्शवादी भए । प्रकृतिलाई प्रथम स्थान दिने जति भौतिकवादी भए । पास्ट एन्ड प्रिजेन्ट (अतीत र वर्तमान) नामक पुस्तकको लेखक टामस कार्लाइलको भनाइ यस्तो थियो, “महापुरुषले नै इतिहासको निर्माण गर्छ ।”
एङ्गेल्सले टामस कार्लाइलको उक्त भनाइको खण्डन गर्दै भन्नुभयो, “जनताले नै महान विचारहरूलाई महत्व दिन्छन् र इतिहासको निर्माण गर्छन् ।”
ब्रिटिस संविधानको वर्ग चरित्र
‘इङ्ग्ल्यान्डको संविधान’ भन्ने शीर्षकको एउटा लेखमा एङ्गेल्सले इङ्ग्ल्यान्डको त्यसबेलाको परिस्थितिको सच्चा तस्बिरलाई जनसमक्ष ल्याउनुभयो । साथसाथै बेलायतमा मतदान गर्ने हक थोरै मानिसलाई मात्र छ भन्ने कुरा पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो लेखमा “ब्रिटेनको शासक को हुन् ?” भन्ने प्रश्न पनि गर्नुभयो । फेरि उहाँले त्यहाँको कानुनले गरिबहरूलाई थिचोमिचो गर्छ र कानुन ठूलो पुँजीपतिहरूको मुट्ठीमा छ भनी लेख्नुभयो । अझ अगाडि जोड दिँदै उहाँले पुँजीपतिहरूलाई पराजित गरेर जब सर्वहारा वर्ग विजय प्राप्त गर्छ, तबमात्र सच्चा जनवादको स्थापना हुनेछ । यस जनवादको नीति समाजवाद हुनेछ’ भनी लेख्नुभयो । मेनचेस्टरमा छँदा नै एङ्गेल्सले मजदुर वर्गको स्थितिबारे गहिरिएर छानबिन गर्नुभएको थियो । त्यसपछि “मजदुर वर्गको क्रान्तिकारी आन्दोलन र राजनीतिक सङ्घर्षको माध्यमबाट नै समाजवादको स्थापना हुनेछ र उद्देश्यमा पुग्नको लागि मजदुरवर्गको राजनीतिक सङ्घर्षशील पार्टी बनाउनुपर्छ ।” भन्ने परिणाममा पुग्नुभयो ।
समाजवादलाई मजदुर वर्गको आन्दोलनको अभिन्न माग बनाएर काल्पनिक समाजवादी विचारलाई वैज्ञानिक रूप दिई त्यसलाई मजदुर वर्गको आत्मामा बसाउनुको साथै विश्वलाई नै फेर्ने काममा एङ्गेल्सले ठूलो योगदान दिनुभयो ।
स्रोत : फ्रेडरिक एङ्गेल्स सङ्क्षिप्त जीवनी, प्रगति प्रकाशन नेपाल