३. नेपाली जनताको भारतीय एकाधिकार पुँजीको थिचोमिचोविरोधी देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्ष, राजनैतिक सीमाको किचलो, आ–आफ्नो देशको स्वार्थलाई लिएर गरिने अनेक आर्थिक मोलमोलाइ र तानातानी र भावनाका प्रश्नहरू के नेपालका केही जाति र जनसमुदायको ‘भारतविरोधी’ र ‘चीन समर्थक’ प्रवृत्तिको कारण भएको हो ?
अहँ ¤ होइन, यो भारतीय पक्षले विषयवस्तुलाई नै नबुझ्नु हो अथवा तिनीहरू वास्तविकतालाई लुकाउन खोज्छन् । तिनीहरूको कुतर्कले गर्दा कहिलेकाहीँ ‘चोरको खुट्टा काट्भन्दा खुट्टा उचाल्नु’ जत्तिकै हुन गएको छ । त्यस जातिवादी कुतर्कले पुरानो हिन्दू साम्राज्यवाद र बेलायती उपनिवेशवादी संस्कारको गन्धमात्रै प्रदर्शन ग¥यो । आउनुस्, त्यस भारतीय गलत ठम्याइबारे छलफल गरौँ । (क) आर्थिक, राजनैतिक र सीमासम्बन्धी मोलमोलाइ, तानातानी र किचलोको कारण जाति र जाति विशेष हुने गर्दैन । आर्थिक प्रश्न खाली दुई देशको बिचको मित्रता र मोलमोलाइको कुरो होइन, बरु यो त आफ्नै परिवार, दाजु–भाइ, गाउँ, इलाका र देशहरूकै बिचको मित्रता र झगडाको कारण बन्दै आएको छ । आर्थिक कारणले नै एउटै गाउँ र इलाकामा नहर, सडक, बिजुली, कल–कारखाना, सदरमुकाम आदि स्थापना गर्ने कुरामा विवाद उठ्छ । सिन्धु नदीको भारत र पाकिस्तानको विवाद, बङ्गलादेश र भारतको बिचमा उठेको फरक्का बाँधको कुरोलाई छोडौँ, गोदावरी, कृष्णा र काबेरी नदीको पानीबारे भारतीय इलाका र प्रान्तहरूमै आपसी तानातानी भएका थिए । एकात्मक सरकारको नमुना सम्झिएको बेलायतमा आज आर्थिक कारणले नै स्कटल्यान्ड र वेल्सको स्वायत्तताको प्रश्न उठ्न गयो । ती विवादहरूको कारण जातिवाद होइन, बरु आर्थिक कारण नै । (ख) व्यापकरूपले हेर्दा राजनैतिक मामिलाको भित्री कारण पनि सत्ता र आर्थिक कारण हुने गर्छ– जसको चरम सीमा वर्गसङ्घर्षको रूपमा देखा पर्छ, जाति र जाति विशेष होइन । राजनैतिक सत्ताकै निम्ति दाजुभाइ, बाबु र छोरा, देवर र भाउजूको बिचमा काटाकाट चल्छ, त्यसमा देश र जातिको प्रश्न आउँदैन । बेलायती र युरोपेली जाति नै गएर बसोबास गएर र विकास गरेको अमेरिकामा जनताले राजनैतिक र आर्थिक अधिकारकै निम्ति बेलायती साम्राज्यवादको विरोधमा ‘स्वतन्त्रता सङ्ग्राम’ को झन्डा उठाएका थिए । बेलायती र फ्रान्सेली राज्यक्रान्तिहरू पनि राजनैतिक र आर्थिक कारणहरूबाटै भएका थिए । अफ्रिकी जनताको आजको स्वतन्त्रता र मुक्तिको आन्दोलन पनि यसो हेर्दा ‘कुइरे’ जातिवादविरोधी सङ्घर्षजस्तो लाग्ला, तर अन्तिम विश्लेषण गर्दा त्यो पनि एक राजनैतिक र आर्थिक सङ्घर्ष हो । वास्तवमा त्यो सङ्घर्ष पश्चिमी साम्राज्यवादीहरूको मध्यपूर्व कब्जा गरिरहने ‘पेट्रोल राजनीति’ कै एक अङ्ग हो र प्यालेस्टाइनी जनताको सङ्घर्ष आक्रमण र उपनिवेशवादविरोधी मुक्ति सङ्घर्षको रूप हो । त्यस्तै नेपाली जनताको भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्ष जातिवादी होइन बरु उपनिवेशवादविरोधी सङ्घर्षकै एक रूप हो जसको मुख्य कारण जाति विशेष होइन, आर्थिक र राजनैतिक हो । (ग) सीमासम्बन्धी किचलोमा पनि जाति विशेष कारण होइन बरु आर्थिक र राजनैतिक नै हुने गर्छ । मानिसको जङ्गली अवस्थामा समेत शिकारको निम्ति सीमाको झगडा चल्थ्यो । सभ्य भनिने यस पुँजीवादी समाजमा पनि घरखेतको सानो किल्ला र जग्गाको सीमालाई लिएर दाजुभाइ र परिवारको बिचमा सङ्घर्ष हुने गर्छ । त्यस्तै सीमाकै विषयलाई लिएर नगर र गाउँ, अञ्चल र सङ्घ राज्यका प्रान्त वा राज्यहरूमा समेत किचलो र विवाद उठ्ने गर्छ । सीमा विवादका कारण पनि जाति र धर्म होइन, राजनैतिक र आर्थिक नै हुने गर्छ । त्यस्तै नेपाल र भारतको बिचको आर्थिक र व्यापारी लाभको मोलमोलाइ, भूपरिवेष्ठित देशले पाउनुपर्ने पारवहनको अबाध अधिकार, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको कुरो पनि जातीय नभई आर्थिक र राजनैतिक प्रश्न हो ।
बर्मा, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, सिक्किम (अहिले भारतकै अङ्ग भइसकेको छ), चीन र नेपालसँग भारतको आर्थिक राजनैतिक, सुरक्षा र सीमासम्बन्धी या अरू समस्याहरूको कारण प्रमुखरूपले जातीय नभई आर्थिक र राजनैतिक थियो र हो । भारतको विकास गर्दै गएको एकाधिकार पुँजीको थिचोमिचो छिमेकका सबै साना–ठूला देशले सहेरै आएको छ । अहिले त्यो पुँजी हिन्द महासागर, अरब सागर र भूमध्य सागर नाघेर प्रशान्त महासागरसम्म पुगेको छ । लेनिनले भन्नुभएजस्तै “पुँजीको नियति नै यस युगको साम्राज्यवादको मुख्य चरित्र हो ।” नेपाल र भारतको बिचमा बरोबर भइरहने तितो–पिरोको कारण नै यही हो ।
तर, भारतका नेपालविद् सम्झिएका केही विद्वान, जिम्मेवार व्यक्तिहरू र प्रचार–साधनले नेपाल र भारतबिचको सम्बन्धलाई नमिठो पार्नमा नेवार वा अरू केही जाति र जनसमुदायलाई जिम्मेवार ठह¥याएका छन् । त्यो कुरो शत–प्रतिशत असत्य छ । भारतका एक नेपालविद् सम्झिएका विद्वान, मिथिला विश्वविद्यालयका राजनैतिक विज्ञानका रिडर डा. शङ्करकुमार झाले २६ जनवरी १९७६ को ‘हिमेशिया’ भन्ने एक हिन्दी साप्ताहिकमा ‘भारत–नेपाल सम्बन्ध एक विश्लेषण – एक पर्यवेक्षक’ भन्ने लेखमा पनि त्यही कुरो उल्लेख गर्नुभएको थियो । (त्यसबारे हेर्नुस्, यसै पुस्तकको खण्ड– १, दोस्रो पाठको ‘हिमेशिया’ र ‘मातृभूमि’ एउटै ड्याङका मूला ।’)
श्रीमन नारायण भारतका एक माथिल्ला राजनैतिक व्यक्ति मानिनु हुन्छ । १९६४ को अन्तदेखि १९६७ सम्म उहाँले नेपालमा भारतीय राजदूतको रूपमा काम गर्नुभएको थियो । त्यस अवधिमा उहाँले नेपालका राजनेताहरूदेखि लिएर देशका सबै क्षेत्रका साना–ठूला व्यक्तिहरूसँग भेटघाट र मित्रता कायम गर्नुभयो, नेपाल र नेपाली जनताबारे पनि बढी जानकारी हासिल गर्नुभयो । १९७१ मा उहाँले ‘भारत र नेपाल’ भन्ने एक पुस्तक पनि प्रकाशित गर्नुभई आफ्नो जानकारीलाई सबैको अगाडि राखिदिनुभयो । दुई देशको सम्बन्धलाई बलियो पार्न नेपाल र नेपाली जनताको विषयमा जानकारी राख्ने उहाँको चाख प्रशंसा गर्नलायकको गुण हो, तर दुर्भाग्यवश उहाँको अध्ययन र जानकारीको सार नेपाली र भारतीय जनताको मित्रतालाई बलियो बनाउन योगदान हुनुको सट्टा त्यसलाई अझ धमिलो बनाई दिने एक नराम्रो प्रयासमात्रै साबित हुन गयो । तर, उहाँको त्यस पुस्तकले नेपाली जनतालाई एक मूल्यवान र बिर्सन नहुने नकारात्मक शिक्षा पनि छोडेको छ, त्यो हो–भारतको शासक वर्ग आफ्नो वर्गीय स्वार्थको निम्ति नेपाल र नेपाली जनतालाई बलिको बोका बनाउन हिच्किच्याउँदैनन् । तिनीहरू दुई देशका जनताको मित्रताको महत्व त ग्राहक र व्यापारी, मजदुर र पुँजीपति, पराजित र स्वतन्त्र देश, उपनिवेश र उपनिवेशवादी देश, सानो र ठूलो राष्ट्र, पिछडिएको र विकसित, गरिब र सम्पन्न देशको बिचमा हुने भौतिक लाभ राख्ने देशको रूपमा मात्रै राख्ने गर्छन् । तिनीहरूले बयान गर्ने सांस्कृतिक र सामाजिक समानता र सम्बन्ध त ‘माछालाई बल्छीमा दिने गड्यौलामात्रै हो’ त्यो हिन्दू साम्राज्यवादकै संस्कारमात्रै हो । तर, भारतीय जनता महान् जनता हुन् । संसारको मानव सभ्यताको विकास, नेपाली जनताको कला र संस्कृतिको उन्नतिमा भारतीय जनताको ठूलो योगदान छ, हामी त्यसलाई बिर्सन सक्दैनौँ । त्यस्तै भारतीय जनताको कला र संस्कृतिमा नेपाली कला र संस्कृतिको प्रभावलाई पनि अलग्ग गर्न सकिन्न । यो दोहोरो कुरो हो यसकारण, यो स्थायी पनि छ ।
श्रीमन नारायण ‘भारत र नेपाल’ भन्ने आफ्नो पुस्तकमा नेपाल र भारतको बिचमा बरोबर देखापर्ने तितो–पिरोको कारण नेपालका केही ‘भारतविरोधी र चीन समर्थक जनसमुदायलाई’ मान्नुहुन्छ । भारतविरोधी जनसमुदायको एक उदाहरण उहाँ ‘नेवार’ जातिलाई दिनुहुन्छ । नेवार जनसमुदाय भारतविरोधी हुनुमा उहाँ एक ऐतिहासिक कारण देख्नुहुन्छ । उहाँको भाषामा त्यो ऐतिहासिक कारण हो – “नेवारहरू आफूलाई उपत्यकाको आदिवासी मान्दछन्, राजाहरू र अहिलेको शाहवंश भारतबाट ‘पसेकाहरू’ हुन् भन्ने मान्छन् । सिंहदरबारको सचिवालय र राजदरबारको समेत महत्वपूर्ण पदहरूमा बस्ने नेवारहरूको त्यस भारतविरोधी दृष्टिकोण नै चीन समर्थक झुकावमा जिम्मेवार छ ।”
नेपाल र भारतको बिचमा कहिलेकाहीँ देखापर्ने गरेको तितो–पिरोमा ऐतिहासिक कारण त अवश्य छ, त्यो ठीक हो । तर, त्यो ऐतिहासिक कारण श्रीमन नारायणले देखाउनुभएको जस्ता कदापि होइन । एक विराम छोप्न थुप्रै विरामहरू गर्नुपर्ने हुन्छ । त्यस्तै श्रीमन नारायणले एक झूटको निम्ति थुप्रै झूटहरू तेस्र्याउनुभएको छ । ती के हुन् ? (क) नेपाल र भारतको बिचमा देखापरेको तितो–पिरोको मुख्य कारणलाई छोप्न उहाँले नेवार र नेपाली जनसमुदायलाई भारतविरोधी र चीन समर्थक रङ्गमा विभाजित गर्नु । (ख) राणा र शाहवंशलाई भारतबाट ‘पसेकाहरू’ भनेर नेपाली जनताले बिर्सिसकेको भेदभावको घाउको खत उप्काउन खोज्नुभयो । (ग) सिंहदरबार र राजदरबारका मुख्य–मुख्य पदमा बसेका ‘नेवारहरू’ कै कारणले भारतविरोधी र चीन समर्थक झुकाव भएको कारण बताएर सचिवालय र दरबारका माथिल्ला कर्मचारीहरूको बिचमा शङ्का र वैमनस्य फैलाउन खोज्नुभयो ।
श्रीमन नारायणको समझदारी र जालसाजीमा के उद्देश्य हुनुपर्छ ? के राणा र शाहवंशलाई भारतबाट पसेकाहरू भन्ने कुरो उल्लेख गरेर राजसत्ताको माथिल्लो तहमा बसेका जाति र वर्गलाई आफूतिर तान्नु र भारतमै गन्हाइसकेको जातिभेदको राजनीतिलाई नेपालभित्र पसालेर ‘फुट गर र राज गर’ को नीतिलाई लागु गर्नु हो । यसको एक ज्वलन्त उदाहरण सिक्किम हो । ‘बहुमत’ नेपाली वा गोर्खाली जातिको डर देखाएर चोग्याललाई नेपाल र नेपाली जातिविरोधी गराउनु, ‘अल्पमत’ भोटे जातिको शासनको विरोधमा नेपाली जातिलाई भाँड्नु, साथसाथै लेप्च्या र दोर्जे आदि जातिवादी वैमनस्य उठाएर सिक्किमीलाई सिक्किमीकै विरोधीमा उठाएर बन्दुकको भरमा सिक्किमलाई निल्यो । (माफ गर्नुस्, सिक्किमी जनतालाई ‘प्रजातन्त्र’ र ‘सभ्यता’ कोसेली दिएको ¤ यसकारण, केही नेपाली कम्युनिस्ट नेताहरू सिक्किममा ‘प्रजातान्त्रिक आन्दोलन’ को मात्रै ‘आवश्यकता’ देख्छन्, मुक्ति सङ्घर्षको होइन । उहाँहरू दूरदर्शी भएर सिक्किमलाई नै कोसेली ठान्नुभयो ¤) श्रीमन नारायणको भारतबाट ‘पसेकाहरू’ त्यस्तै एक ‘कुट’ शब्द हो । बेलायती साम्राज्यवादीहरूले आर्य–अनार्य, हिन्दू र मुसलमान, उत्तर र दक्षिण, मराठा र सिखु बिहारी र बङ्गाली आदि गरेर भारतीय जनतालाई फुटाएरै २ सय वर्षसम्म उपनिवेश बनाएका थिए । (ख) त्यस्तै उहाँ सिंहदरबार र राजदरबारका माथिल्ला ओहदाका कर्मचारीहरूमा शङ्का र अविश्वासको बिउ छरेर ‘धमिलो पानीमा माछा मार्न खोज्नु हुन्छ । (ग) दुई देशको बिचमा देखापरेको तितो–पिरोको सबै दोष नेपाली जनतामा थोपारेर समस्यालाई सही समाधानतिर नलगी त्यसलाई यथावत राख्नु हो । त्यसले एसियामा अशान्ति कायम गरेर सम्भावित विश्वयुद्धलाई एसियामा स्थानान्तरण गर्ने साम्राज्यवादीहरूको सपनालाई ‘ग्लुकोज’ प्रदान गर्नेछ ।
श्रीमन नारायणले आफ्नो किताबमा नेवार जाति र अरू नेपाली जनसमुदायलाई ‘चीन समर्थक’ र ‘भारतविरोधी’ भनेर सा¥है गलत समझदारीमात्रै राखेर होइनन् बरु नेवारी जनताको मातृभाषा नेपालभाषाको समुचित विकासबारे गरिएको साहित्यिक र सांस्कृतिक गतिविधिलाई समेत ‘सरकारविरोधी’ उद्देश्यको रूपमा प्रस्तुत गर्ने अशिष्टता पनि गर्नुभयो । त्यो ठम्याइ सो¥है आना असत्यमात्रै होइन, त्यसले गुरुङ, मगर, तामाङ, भोटे, राई लिम्बु, दनवार, भोजपुरी, मैथली, थारु, चेपाङ, राजवंशी, सन्थाल आदि देशका विभिन्न जाति र भाषा–भाषीहरूको भाषा र संस्कृतिको विकाससम्बन्धी गतिविधिलाई ‘सरकारविरोधी’ उद्देश्यको नाम दिएर ठेस पु¥याउने दबाबको काम भएको हो । भाषाविना कला र संस्कृति लाटो हुन्छ । यस्तो महत्वपूर्ण कुरालाई श्रीमन नारायणले ‘सरकारविरोधी’ गतिविधि ठान्नुभयो । यही सिद्धान्त भारतमा लागु गरेको खण्डमा भारतका सयौँ हजारौँ जाति र भाषाभाषी जनताको दुर्भाग्य हुनेछ ।
श्रीमन नारायणको अर्को आविष्कार हो, चिनियाँ राजदूतावासले पैसा र माओको साहित्य वितरण गरेर मजदुर, किसान र विद्यार्थीहरूमा केही ‘सेलहरू’ (प्रारम्भिक कम्युनिस्ट सङ्गठनहरू) बनाउन सफल भएको छ । चिनियाँहरू नेपाललाई अन्तहीन गुरिल्ला लडाइँको अर्को भियतनाममा फेर्न चाहन्छन् । यसकारण, ‘सैनिकहरूले निर्बलियो र सानो’ नेपालले चीनसित डराउनुपर्छ । नेपाल सरकार बनारस बसेर काम गरिरहेका चीनसमर्थक कम्युनिस्टहरूप्रति सा¥है ‘सशङ्कित’ छन् । भारतका विभिन्न विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरूको चीन समर्थक गतिविधिलाई रोक्नुपर्छ र रुस समर्थक देखाउन खोज्ने बनारसका कम्युनिस्टहरूलाई पनि भारत सरकारले छिट्टै प्रस्ट पार्नुपर्छ ।