#नारायणमान बिजुक्छेँ (रोहित)
नेपाली र भारतीय जनताको सम्बन्ध अति प्राचीन छ । प्रकृतिले यस सम्बन्धलाई अझ बलियो बनाइदिएको छ । दुवै देशका जनता एउटै नदीको पानी पिउँछन् र एउटै हिमालयको काखमा बस्छन् । नेपाली र भारतीय जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध इतिहास जतिकै पुरानो छ । तर, यथार्थवादी दृष्टिकोणले दुई देशका जनताको माझको यो सम्बन्ध एकपक्षीय मात्रै हो । हरेक वस्तु र समस्याको दुवै पक्ष नै त्यसको सिङ्गो रूप हुन्छ । एकपक्षीय दृष्टिकोणले मात्रै समस्याको सही जानकारी र त्यसको ठीक समाधान हुँदैन । समस्याको राम्रो अध्ययन र त्यसको उचित समाधानको निम्ति दुवै पक्षलाई राम्रोसँग केलाउनु आवश्यक हुन्छ ।
नेपाल र भारतको बिचमा कहिलेकाहीँ देखापर्ने गरेका तिता–पिराहरूबारे भारतका केही जिम्मेवार बुद्धिजीवीवर्ग, प्रचार साधनहरू र नेपालविद्हरूले केही दोषपूर्ण र गलत दृष्टिकोणहरू प्रस्तुत गर्ने गरेका छन् । आत्म–आलोचनाको कमी, विषयवस्तुलाई वस्तुगत र नकारात्मकरूपले नहेरी मनोगतरूपले मात्रै हेर्ने बानी, केही स्वार्थी तत्वहरूबाट प्रस्तुत अवास्तविक र कुटिल सल्लाह र सूचनाको आधारमा नेपाल र नेपाली जनताबारे लिने निर्णय, टुङ्गो र ठम्याइ नै ती दोषपूर्ण दृष्टिकोणहरूका मुख्य आधारहरू हुन् । नेपाली र भारतीय जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी क्रान्तिकारी सम्बन्धलाई विकास गर्न त्यस गलत बुझाइबारे राम्रो जाँचबुझ र विश्लेषण गर्नु अति आवश्यक छ ।
नेपालका केही जिम्मेवार व्यक्तिहरूले नेपाल र भारतको बिचमा बाँझिएका स्वार्थ वा समस्या छैनन् भनेर स्वीकार गरेका छन् । तर, तथ्य यसको ठीक उल्टो छ । तथ्यलाई लुकाउन खोज्नु झन् खतरनाक कुरो हो । चिप्लो घस्नु, चाप्लुसी गर्नु र खुसामद गर्नु नै समस्याको उचित समाधानको उपाय हुँदैन, बरु त्यस्ता जालसाजीले समस्या झन् जेलिने सम्भावना छ । हरेक देशका भिन्नाभिन्नै स्वार्थहरू हुन्छन् र देशहरूको बिचमा बाँझिएका स्वार्थहरू पनि हुन्छन् । त्यस्तै नेपाल र भारतको बिचमा समान समस्याहरू हुनुको साथै भिन्नाभिन्नै र बाँझिएका स्वार्थहरू पनि छन् । साम्राज्यवाद र उपनिवेशवादको बाँकी बक्यौताहरूलाई निर्मूल गर्नु र त्यसले छोडेका गरिबी र पछाडिपनलाई नाघेर अगाडि बढेको सम्पन्न र न्यायमा आधारित शोषणविहीन समाज खडा गर्नु दुवै देशका समान समस्या हुन् । दुई देशको बिचमा व्यापारबारे मोलमोलाइ, तेस्रो देश र समुद्रपारका देशहरूसँग व्यापार गर्न बिनारोकतोक बाटोको (पारवहन) सुविधा, गोर्खा भर्ती र यसबाट पाइने रकमहरू, सुरक्षाबारे आत्मनिर्भरता र स्वतन्त्रताबारे नेपाल र भारतका भिन्नाभिन्नै स्वार्थ छन् भने महेशपुर, जोगबनी र रगेली इलाका, हरिपुर, बारा जिल्लाको टीआर नदीले बाटो फेर्दाको इलाका, सुस्ता–नरशाही, कोइलावास, मथुरा दाना, महाकाली नदीको पुल र नहर, महाकाली नदीले बनाएको चाँदनी टापु आदि सीमासम्बन्धी बाँझिएका स्वार्थहरू हुन् । यसबाहेक दुई देशबिचमा आ–आफ्ना अलग–अलग परम्परा र राजनैतिक दृष्टिकोणहरू छन् ।
दुई देशको आकार र जनसङ्ख्यामा भिन्नता अनि त्यसको समस्या समाधानबारे पनि फरकफरक दृष्टिकोण हुन्छन् । यस्ता थुप्रै बाँझिएका र असमान स्वार्थ छँदाछँदै पनि ‘बाँझिएका स्वार्थ’ वा ‘समस्याहरू छैनन्’ भन्नु त ‘मोही माग्ने तर ढुङ्ग्रो लुकाउने’ जतिकै हो । यसलाई कूटनैतिक सफलताका बाधाहरूमात्रै भन्न सकिन्छ । समस्यालाई यथार्थरूपले राख्नु र निश्चल र इमानदारीपूर्वक समाधानको बाटो खोज्नु नै कूटनैतिक सफलता हुन्छ जसले दुवै देशका जनताको निम्ति लाभदायक र सन्तोषको कुरो हुनेछ ।
डा. कोटनिस जो चिनियाँ जनताको उपचार गर्न युद्धकालमा चीन गएका थिए ।
नेपालका जिम्मेवार व्यक्तिहरूले जस्तै भारतीय जिम्मेवार व्यक्तिहरूले पनि नेपाली र भारतीय जनताको सम्बन्धबारे केही गलत समझदारीहरू राखेका छन् । ती गलत समझदारीहरूले नै दुई देशका जनताको मैत्री सम्बन्धमा कुहिरोको काम गर्यो । मित्र सम्झिएका कति व्यक्तिहरूले त्यस कुहिरोलाई पन्छाउनुको सट्टा अझ बाक्लो कुहिरो थप्ने समझदारी लिएका छन् । दुई देशका जनताको मित्रतालाई बलियो पार्न गलत समझदारीको त्यस कुहिरोलाई पन्छाउन आवश्यक छ । ती गलत समझदारीहरूलाई एक–एक गरेर केलाउनु नै दुई देशका जनताको सम्बन्धमा देखापरेको कुहिरोलाई पन्छाउने सबभन्दा उचित युक्ति र पाइला सावित हुनेछ । नेपाली जनता र भारतीय जनताको बिचमा देखापरेका गलत समझदारीहरू के के हुन् त ?
(१) नेपाली जनताले भियतनाम, लाओस, कम्बोडिया, कोरिया र सम्पूर्ण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनता र संसारका सबै दलित–पीडित देश र जनताको साम्राज्यवादी आक्रमण, हस्तक्षेप र थिचोमिचोको विरोधी सङ्घर्षलाई समर्थन गरेका थिए र गर्दै पनि छन् । नेपाली जनताले साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादको विरोध गर्छन् । नेपाली जनताको यस साम्राज्यवाद र उपनिवेशवादविरोधी भावनालाई ‘चीनको उक्साइ’ र भड्काइ भन्ने गलत समझदारी लिइयो । (२) नेपालका विवेकशील र प्रगतिशील जनताले ठूलो राष्ट्र अहङ्कारवाद र विदेशी हस्तक्षेप र थिचोमिचोको विरोधमा सङ्घर्ष गरे । त्यस सङ्घर्षलाई केही विदेशीहरू र चिनियाँ कम्युनिस्टहरूको उक्साइएको भारतविरोधी गतिविधि भन्ने गलत समझदारी लिइयो । (३) भारतीय एकाधिकार पुँजीको थिचोमिचोको विरोधमा नेपाली जनताको देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्षको कारण नेपालका केही जाति वा जनसमुदायलाई भारतविरोधी र चीन समर्थकको रङ्ग लगाइयो, राजनैतिक सीमा र अरू विभिन्न समस्याहरूमा आपसी स्वार्थबारे उठ्ने मोलमोलाइ, खिचलो र तानातानीलाई दुई देशको बिचमा हुने स्वाभाविक समस्या नसम्झी भारतविरोधी गतिविधिमात्रै सम्झियो । त्यसलाई एक स्वाभाविक समस्या सम्झेर समाधानको बाटो नखोजी एकोहोरो ढङ्गले भारतविरोधी निहुँ र झगडा सम्झनु नै दुई देशका जनताको बिचमा देखापरेका गलत समझदारीका मुख्य कारणहरू हुन् । आउनुस्, हामी ती गलत समझदारीहरूलाई एक–एक गरेर केलाऔँ ।
१. के नेपाली जनताको साम्राज्यवाद, उपनिवेशवाद र दुई महाशक्तिको प्रभुत्ववादविरोधी भावना र सङ्घर्ष चीनको उक्साइ हो त ? होइन, एकदमै होइन । नेपाली जनताको साम्राज्यवाद र उपनिवेशवादविरोधी आफ्नै परम्परा छ । भारतका विभिन्न राज्यहरूलाई बेलायती साम्राज्यवादले निलिरहेको बेला भीमसेन थापाको मुख्तियारीमा नेपालले बेलायती साम्राज्यवादलाई एसियाबाटै धपाउन भारत र चीनका राजा–महाराजाहरूलाई एक संयुक्त मोर्चामा सङ्गठित गर्न खोजेका थिए । भारतका केही राजाहरूले आफ्नो राज्य बचाउने र सहुलियत प्राप्त गर्ने सानो स्वार्थसिद्ध गर्न नेपालको चिट्ठी र आशयलाई बेलायती साम्राज्यवादीहरूलाई बताएर नेपाली र एसियालाई नै धोखा दिएका थिए । भारतका केही राजा–महाराजाहरूको आत्मसमर्पण र धोखेबाजीले गर्दा नेपाल बेलायती साम्राज्यवादीहरूको लुटपिट र आक्रमणको केन्द्र बन्यो । भारतीय राजा–महाराजा एवं सामन्तहरूले बेलायती साम्राज्यवादीहरूको ‘फुट गर र राज्य गर’ भन्ने नीतिको उल्टो नीति लिन सकेनन् । साम्राज्यवादीहरूले भारत कब्जा गर्न भारतीय राजाहरूको बिचमा झगडा लगाए र राज्य हात पारे, एसियालाई कब्जा गर्न एसियाली देशहरूमा झगडा लगाए । साम्राज्यवादीहरूको त्यस दुर्नीतिको विरोधमा एकता र संयुक्त मोर्चा गर्न नसक्नु रणनीतिक गल्ती थियो । (त्यस रणनीतिक गल्तीले गर्दा अत्याधुनिक हातहतियार र सुसङ्गठित सेनासहित अगाडि बढेको पुँजीवादी उत्पादन साधन र प्रणाली र श्रेष्ठकर रणनीतिले सुसज्जित साम्राज्यवादीहरूले एसियालाई आफ्नो मुट्ठीमा पार्न सफल भए । तैपनि, नेपाली जनताले केही भारतीय राजा–महाराजाहरूको आत्मसमर्पण र बेलायती साम्राज्यवादको विरोधमा सङ्घर्ष गरिरहेका थिए, सुगौली सन्धिले नेपाल एक पीडित, आक्रान्त र ‘अर्ध–उपनिवेश’ देशमा फेरियो । नेपालको पश्चिम भाग बेलायती साम्राज्यवादीले भारतमा मिलाइदियो, पूर्वमा दार्जिलिङ कब्जा गरेर तिब्बतको बाटो खोस्यो, भुटान र सिक्किमलाई पनि ‘अर्धउपनिवेश’ बनायो । बलभद्रजस्ता वीरहरूले भारतीय राजाहरूसँग मिलेर बेलायती साम्राज्यवादको विरोधमा अन्तिम दमसम्म लडेर मरे, तर आत्मसमर्पण गरेनन् न त साम्राज्यवादसँग सम्झौता नै गरे । भीमसेन थापा, माथवर सिंह, गगन सिंहजस्ता देशभक्तहरूले आफ्नो जीउमा प्राण बाँकी भएसम्म साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै गए । नेपाली राष्ट्रको निम्ति यो मुटुको घाउ थियो । त्यस्तो राष्ट्रिय घाउ भएको नेपाली जनताले हिन्द–चीन, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको साम्राज्यवादविरोधी सङ्घर्षको समर्थन गर्नु आक्रान्त र पीडित देशका जनताको समान पीडाको अभिव्यक्ति हो । नेपाली जनताको त्यस साम्राज्यवादविरोधी राष्ट्रिय अभिव्यक्तिलाई ‘चीनको उक्साई’ भन्नु नेपाली जनताको गौरवपूर्ण राष्ट्रिय भावना र साम्राज्यवादविरोधी परम्परालाई जानाजानै चोट पु¥याउने एक अशिष्टता थियो र नेपाली र चिनियाँ जनताको साम्राज्यवादविरोधी परम्परागत मैत्रीलाई धमिल्याउने एक दुःखलाग्दो दुष्प्रयास पनि थियो ।
२. के नेपालका विवेकशील र प्रगतिशील जनताको ठूलो राष्ट्र अहङ्कारवाद, हस्तक्षेप र थिचोमिचोविरोधी देशभक्तिपूर्ण सङ्घर्ष ‘केही विदेशी र चिनियाँ कम्युनिस्टहरूको भारतविरोधी भड्काइ’ हो ?
ऐतिहासिकरूपले नै यो कुरो असत्य छ । बेलायती साम्राज्यवाद नै सबभन्दा पहिले नेपाली र भारतीय जनताको बिचमा झगडाको बिउ छर्ने प्रतिक्रियावादी शक्ति हो । सुगौली सन्धि र गोर्खा भर्ती नै नेपाली राष्ट्रको मुटुको किलो हो । तर, बेलायती साम्राज्यवाद भारतबाट गइसक्दा पनि ‘स्वतन्त्र भारत’ का शासक वर्गले आफ्ना छिमेकी देशहरूमाथि बेलायती उपनिवेशवादी नीतिलाई नै लागू गर्दै गयो । २००७ सालको राणाविरोधी सङ्घर्षलाई भारतीय शासक वर्गले नै दिल्लीमा राणा र नेपाली काङ्ग्रेसका दक्षिणपन्थी नेताहरूबिचमा सम्झौता गर्न बाध्य गराइएको थियो । त्यो सम्झौता नेपालको पुँजीवादी क्रान्तिलाई बिचैमा टुङ्गयाउने एक ‘धोखा’ थियो । त्यसैबेला नेपाली जनताले ‘दिल्ली सम्झौता’ को विरोधमा सङ्घर्ष गरेका थिए । क्रान्तिलाई विजयसम्म अघि बढाउन खोज्ने राणाविरोधी र शोषणविरोधी सङ्घर्षलाई नेपालभित्र भारतले आफ्नो सेना पठाएर दबाउन लगाइयो । भारतीय शासक वर्गको त्यो कदम एक राख्ने अपराधपूर्ण हस्तक्षेप र थिचोमिचो थियो । त्यहीँबाट नेपाली राष्ट्रमा भारतीय थिचोमिचोविरोधी भावनाको जग बस्न सुरु भएको थियो । फेरि १९५० र त्यसपछिका नेपाल–भारत सन्धिहरूले नेपाललाई भारतीय एकाधिकार पुँजीको एक सुरक्षित बजार वा ‘नयाँ अर्ध– उपनिवेश’ बनाउन खोज्यो । साम्राज्यवाद र उपनिवेशवादविरोधी नेपाली राष्ट्रमा यसरी भारतीय एकाधिकार पुँजीविरोधी भावनाको विकास भयो यसलाई बेलायती साम्राज्यवादविरोधी भारतीय जनताको स्वतन्त्र हुने भावनासँग दाँज्न सकिन्थ्यो । त्यसबेला स्वतन्त्र भारत र मुक्त चीनको आपसी मित्रता एक उचाइमा पुगिसकेको थियो । त्यसको एउटा ज्वलन्त उदाहरण चिनियाँ जनताको जापानविरोधी लडाइँमा भारतीय जनताले चिनियाँ जनताको मद्दत गर्न एक उपचार दल पठाउनु थियो जुन उपचार दलमा डा. कोटनिस, डा. बसु पनि सदस्य थिए । साम्राज्यवादविरोधी त्यो एकता बढ्दै गएर १९५५ सम्ममा वाङडुङमा चीनका प्रधानमन्त्री चाउ एनलाई र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले अरू एसियाली र अफ्रिकी देशहरूसँग मिलेर ‘पञ्चशील’ जग हाले । एसियाको आकाशमा ‘चीन–भारत–भाइ भाइ’ को नारा गुज्रँदै गइरहेको थियो । तर, ठीक त्यसै बेला त्यसको विपरीत नेपाली जनतामा भारतीय थिचोमिचोविरोधी भावना एक उचाईमा पुगिसकेको थियो । यसले थाहा हुन्छ कि नेपालमा भारतीय एकाधिकार पुँजीको विरोधी भावना विदेशी या चीनको भड्काइ थिएन, बरु नेपाली जनताको राष्ट्रिय जागरण र चेतनाको क्रमिक विकासको द्योतक थियो । भारत र चीनको सीमा विवाद त साम्राज्यवादीहरूको षड्यन्त्रले १९६०–१९६२ मा मात्रै सुरु भएको थियो । नेपाली जनताको देशभक्तिपूर्ण भावनालाई ‘चीनको भड्काइ’ भन्नु स्वयम् नेपाली जनताको राष्ट्रिय चरित्रलाई हेला गर्नु र हाँक दिनु थियो ।
स्रोत : नेपाल–भारत सम्बन्ध र भारत