पत्रकारिताको काम सरकार या सत्तासीन दलको प्रशंसा गर्ने या पक्षपोषण गर्ने होइन । सरकारले गरिरहेको काम जनतासमक्ष पु¥याएर सुसूचित गर्ने र कमी कमजोरी औँल्याएर खबरदारी गर्ने वा सुधार्न दिने काम पत्रिकाले गर्नुपर्छ । सरकार र शासक वर्गलाई खुसी पारेर आफूहरू सम्मानित हुने, पुरस्कृत हुने र कुनै पद पाउने आशामा पनि कति पत्रकारहरू जुटेका हुन्छन् । कति पत्रकारहरू ठूलाबडाको गुणगान गरेर, प्रशंसा गरेर पैसा कुम्ल्याउँछन् । भए नभएका कुरा फुकेर, आपराधिक क्रियाकलाप छोपेर पैसा कमाएका पत्रकार पनि यहाँ नभएका होइनन् । पञ्चायतको पालामा कति पत्रिकाले पञ्चायतको गुणगान ग¥यो । कति लेखक, कवि, कथाकारहरूले राजाको गुणगान गरेर कविता, कथा र गीत लेखे । पहिले तयार गरिएको ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड, प्रतापी भूपति’ भन्ने राष्ट्रिय गीत राजाकै गुणगानमा रचिएको थियो । पछि गणतन्त्र स्थापना भयो । पुँजीपति वर्ग या बुर्जुवा वर्गको प्रशंसा हुन थाल्यो । जनताको आवाज दबाइयो । त्यसको अर्थ सबै पत्रकार या सञ्चारकर्मीले पुँजीपति वर्गको पक्षपोषण गरे भन्ने होइन, सबै पत्रिकाले पुँजीपति वर्गकै पक्षमा लेखेका छन् भन्ने होइन ।
पञ्चायत कालदेखि अहिलेको गणतन्त्र कालमा पनि कम्युनिस्ट पक्षधर सञ्चारकर्मी र पत्रिकाले शोषित पीडित जनताको पक्षमा लेखे, लेखिरहेका छन् । यी पत्रिकाहरू कति विदेशमा छापिए, कति स्वदेशमै छापिए । कति पत्रिकाहरू गोप्य राखिए त कति खुला राखे । खुला या गोप्य जे भए पनि ती पत्रिकाले कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरे, शोषित पीडित जनताको समस्या उजागर गरे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मजदुर, किसान, शोषितपीडित तथा पेशागत आन्दोलनका समाचार र लेखहरू छापे, समाजवाद र पुँजीवादको भेदबारे लेख छापे । विभिन्न काल खण्डमा विभिन्न पत्रिका र किताबहरू प्रकाशन भए । यसरी पत्रिका सञ्चालन गर्ने क्रममा देश र जनतामा समर्पित विचार प्रधान ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक देखिए । यो अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ ।
कति पत्रिकाहरू विदेशी पुँजीबाट सञ्चालन भइरहेको खबर बेलाबखत सञ्चारमाध्यममा नआएको होइन । ती पत्रिकाले बाहिर सरकारको विरोध गरिरहेको जस्तो हुन्छ तर भित्रभित्र विदेशी पक्षको पोषण गरिरहेको हुन्छ या विदेशलाई सहयोग पुग्ने खबर छापिरहेको हुन्छ । कति पत्रिकाहरूलाई पुँजीपति वर्गले नै सञ्चालन गरिरहेको हुन्छ । त्यस वर्गले सञ्चारलाई प्रभावमा पारेर लगानी गरिरहेको हुन्छ, विज्ञापन दिइरहेको हुन्छ, विदेश भ्रमण जाने मौका, अनेक प्रलोभन र सुविधा दिइरहेको छ । यी क्रियाकलापले पुँजीवादी व्यवस्थालाई निरन्तरता दिने र समाजवादी व्यवस्थालाई धकेल्ने काम गर्छ । सामन्त र पुँजीपतिको पक्षपोषण गर्ने पत्रकारिताले यौनात्तेजक समाचार र तस्बिरलाई जोड दिइरहेको हुन्छ । अन्धविश्वासलाई प्रश्रय दिइरहेको हुन्छ । दास मानसिकमा रहेर काम गरिरहेको हुन्छ । विकासे नारा जोडेर विदेशी प्रभुको गुणगान गरिरहेको हुन्छ । विदेशी शक्ति राष्ट्रलाई खुसी पारिरहेको हुन्छ र देशलाई परनिर्भर बनाइरहने खालका समाचारहरू सम्प्रेषण गरिरहेको हुन्छ । ती पत्रिकाहरू देश र जनताप्रति जिम्मेवार हुँदैनन् । सत्यतथ्यको खोजी गरिँदैन । शोषित पीडित जनताको पक्षमा लेख, समाचार लेखिएको हुँदैन । नेकाका एक युवा नेताले भनेका थिए, नेका सुकुमवासीहरूको पार्टी होइन, शोषितपीडित जनताको पार्टी होइन, त्यसैले तिमीहरूको भोट नेकालाई आवश्यक छैन । तर, हाम्रा कति सुकुमवासी, शोषितपीडित जनता बुझी नबुझिकन नेकाकै पछि दगुरिरहेका हुन्छन्, नेकालाई नै मतदान गरिरहेका हुन्छन् । यसले जनतामा अझै राजनीतिक चेतना छैन भन्ने सङ्केत गर्छ ।
सत्तारुढ कुलीन वर्गले आफ्नो शक्तिलाई बलियो बनाउन या यथावत राख्न सञ्चार क्षेत्रलाई पनि हातमा लिइरहेको हुन्छ । ती पत्रिकाले समाजको मूल्य, मान्यता र संस्कृतिलाई भुलिरहेको हुन्छ । आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ । स–साना पत्रिका र मोफसलका पत्रिका या सञ्चारलाई दबाबमा राखेको हुन्छ । सरकारी विज्ञापन पनि उनीहरूले नै बढी पाइरहेका हुन्छन् । पत्रिकाको वर्गीकरणमा पनि उनीहरूले प्राथमिकता पाइरहेका हुन्छन् । अनि बजार, प्रचार, लगानी, सूचना, स्रोतलाई आफ्नै दबाब र प्रभावमा पारेको हुन्छ । देशको राष्ट्रिय र जनजीविकाको सवालमा आवाज उठाउने पत्रिका सञ्चालक र सञ्चारकर्मीलाई सरकारी मान्छेले धम्की दिन्छ, सेनाले बेपत्ता पार्ने धम्की दिन्छ, सरकारी मान्छेले मुद्दा चलाएर घर सम्पत्तिमा आँखा गाडेको हुन्छ । विगतमा भ्रष्टाचार, अनियमितता र दबाबसम्बन्धी खबर छाप्दा ‘मजदुर’ दैनिकमा संलग्न सञ्चारकर्मीहरूलाई दसौँ लाख सम्पत्ति असुल्ने गरी मुद्दा राखेको थियो । पत्रिकाले भ्रष्टाचारबारे समाचार छाप्दै गयो । पछि किन हो कुन्नि सो मुद्दा नै फिर्ता लिइयो । यस्ता धम्कीहरूको वास्ता नगरी ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक निरन्तर चलिरह्यो ।
कुलीन, पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पत्रिका या ठूल्ठूला पत्रिकाहरूले देश र जनताको आवश्यकता होइन बजारमा बढीभन्दा बढी बिक्री हुने नीति अँगाल्छन् । ती पत्रिकाहरू नाफाकेन्द्रित हुन्छन् । कति विदेशी शासकहरू योजनाबद्धरूपमा भ्रमित सूचना प्रवाह गरेर नक्कली जनमत लोकप्रियता निर्माण गर्ने कार्यमा लागे । ती शासकहरूले घुमाइफिराइ शोषितपीडित जनताका विचारलाई तोडमोड गरिरहेका हुन्छन् । ती शासकहरूको पक्षपोषण गर्ने पत्रिका र दलका नेताहरूले नेपाल–भारत सीमामा रहेका जङ्गेस्तम्भहरू सारे पनि वास्ता गर्दैनन् । अहिले पनि यस्ता स्तम्भहरू नेपाली भूमिमा सार्दै भारतीय पक्षले नेपाली भूमि मिचिरहेको छ । त्यसबारे ती पत्रिकाहरू एक शब्द लेख्दैनन्, देशभक्ति भावना पोख्दैनन् । किनकि, ती सञ्चारकर्मीहरूले तिनीहरूबाट लाभ पाइरहेका हुन्छन् ।
पत्रकारिता बजारको बिकाउ वस्तु होइन । पत्रकारिता देश र जनताप्रति गम्भीर हुनैपर्छ । पत्रकारिता जनताको समस्या समाधान गर्ने या त्यसलाई उजागर गर्ने या मुक्तिको विषयमा लेखिएको हुनुपर्छ । नग्न तस्बिर छापेर, अश्लील दृश्य देखाएर, अश्लील समाचार छापेर नेपाली युवा युवतीको मन बिगार्ने काम ठीक होइन । समाचारलाई उत्तेजक र मनोरञ्जक बनाएर समाज बदलिँदैन । पत्रकारिता सत्य र तथ्य सूचना र विचारबाट जनतालाई सुसूचित गर्ने जिम्मेवारीबाट अलग हुनुहुँदैन । हो, पत्रकारिताले व्यापकता पायो, पत्रकारिताको विकास भयो । तर, विश्वसनीयता घट्दै गएको छ । पत्रकारिताले आदर्श समाज निर्माण गर्ने, शोषणरहित समाज स्थापना गर्नेतर्फ नलागेकोमा कति राजनीतिक विश्लेषकहरू चिन्तित छन् । उनीहरू पत्रकारिताले देश र जनताको सेवा नगरेको भनी दुखेसो पोख्दै छन् । यसको पछाडि निश्चय नै अस्वस्थ प्रतिस्पर्धा छ । वैदेशिक लगानी छ । सरकारको संरक्षण नीति छैन । ठूलो पत्रिका पोस्ने सरकारी नीति छ । सञ्चारलाई दर्शन, विचार, मूल्य र मान्यताभन्दा बजारको मालसरह हेर्ने सरकारी दृष्टिकोण छ । यो सरकारको कमजोरी हो । अनि सञ्चारको शक्ति र क्षेत्र जति व्यापक या विस्तार भए पनि मूलतः पत्रकारिता एकाधिकार पुँजीवादकै नियन्त्रणमा छ । अतः कम्युनिस्ट पक्षधर पत्रिका र सञ्चारकर्मीले समाजवादी व्यवस्थाबारे प्रचार गर्नुपर्छ, कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनबारे प्रचार गरी जनतालाई सुसूचित पार्नुपर्छ ।
श्रोत : मजदुर अनलाइन