#गौरीलाल कार्की
प्रतिक्रियावादी तथा शोषणमुलक व्यवस्थामा समाजभित्र अवसरवाद जेलिएर रहेको हुन्छ । कम्युनिस्ट पार्टी र आन्दोलनमा पनि त्यस अनुरुप अवसरवादको प्रभाव निरन्तर देखापर्ने गर्छ । कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने अवसरवादलाई हटाउने मुख्य एवं स्थायी उपाय भनेको पार्टीमा सर्वहारा विश्व दृष्टिकोणको विकास नै हो । पार्टी नेतृत्व, पार्टीका नेताकार्यकर्ता र जनवर्गीय संगठनमा आवद्ध रहेका सदस्यहरुमा सर्वहारा विश्व दृष्टिकोणको उच्च प्रकारले विकास नहुदासम्म कम्युनिस्ट आन्दोलनमा निरन्तर विभिन्न प्रकारका अवसरवादको जन्म भइरहन्छ । पार्टीभित्र तिनीहरुविरुद्ध नियमित रूपमा सम्झौताहिन संघर्ष गरिरहनु आवश्यक हुन्छ ।
पार्टी र आन्दोलनभित्र कुन अवसरवादी हुन् कुन क्रान्तिकारी हुन् भन्ने कुरा छुट्याउनु असाध्यै जटिल प्रश्न हो । उसको व्यबहार कस्तो छ । उसको विश्व दृष्टिकोण कुन स्तरको छ । पार्टी क्रान्ति र सामाजिक हितको लागि आफुलाई समर्पित गर्नसक्ने सामर्थ्यको निरन्तर विकास गरिरहेको छ वा छैन । उसको मुख्य स्वार्थ व्यक्तिगत हो वा सामुहिक । यी सबै उसको व्यवहारमा परिक्षण हुने तत्वहरु हुन् । यो प्रश्नबारे विचार गर्न यी तत्वका व्यवहारिक तथ्यहरुले महत्त्वपूर्ण भुमिका खेल्छन् । कुनै व्यक्ति लगातार पार्टीको नेतृत्वमा रहेर मात्रै सर्वहारा विश्व दृष्टिकोणको विकास हुने होइन । धेरै पढ्ने, जान्ने र लेख्न सक्ने भएको ले मात्रै पनि त्यसको सर्वहारा विश्व दृष्टिकोण निर्माण भएको छ भन्न सकिन्न । त्यसैले चाहे जो सुकै होस् उसले ल्याएका वा प्रस्तुत गरेका नीति सिद्धान्त र विचारमाथि अध्ययन विश्लेषण गर्नुपर्ने जरुरी हुन्छ । पार्टीका उच्चस्तरीय नेतृत्वमा लामो समयसम्म रहेकाहरुसमेत पलायन भएका, प्रतिगामी क्याम्पमा सामेल भएका, दक्षिणपन्थी राजनीतिकमा पतन भएका कैयौं दु:खद उदाहरणहरु रहेको छन् । त्यसैले नेतृत्वमा हुँदैमा उसको सबै विचार एवं नीति सधैं ठिक हुने होइन ।
पार्टी जीवन संचालन र अन्तरपार्टी संघर्षमा निश्चित पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । त्यो लेनिनवादी संगठनात्मक पद्धति हो । स्वयं त्यो पद्धति लागु गर्ने सन्दर्भमा समेत एक वा अर्को प्रकारले जब नेतृत्वपंक्ति वा कार्यान्वयन गर्ने उच्चस्तरीय समितिले नै अवसरवादी एवं व्यक्तिवादी प्रवृत्ति वा तौरतरिका अपनाउने गर्दछ वा पार्टीमा पद्धतिलाई यान्त्रिक रूपमा लागु गरिन्छ तब क्रमशः पार्टी समितिभित्र अवसरवादीहरुको बाहुल्यता बढ्दै जान्छ र क्रान्तिकारी पक्ष कमजोर हुँदै हुँदै जान्छ । कहिलेकाही त यस्तो उल्टो परिस्थिति सृजना हुनसक्छ कि अवसरवादी पक्षले पार्टी समितिद्वारा क्रान्तिकारी पक्षमाथि बहुमतको आधारमा अर्थात लेनिनवादी संगठनात्मक पद्धति उपयोगको नाउँमा त्यसको दुरुपयोग गर्दै दमन, कारबाही र कब्जासमेत गर्नसकिने अवस्था रहन्छ भन्ने कुरा कम्युनिस्ट आन्दोलनको इतिहासमा पाचौं र आठौं महाधिवेशननिकट अगाडि र पछाडिका अवस्थाले स्पष्ट भइसकेको छ ।
पाँचौ महाधिवेशन र आठौं महाधिवेशनका समस्याको प्रकृति, स्वरुप, पद्धतिको दुरुपयोग, नेतृत्वको कार्यशैली र व्यबहार मिल्दोजुल्दो भएपनि सैद्धान्तिक रूपमा विश्लेषण गर्दा पाँचौं महाधिवेशन भन्दा आठौं महाधिवेशन झन् विध्वंसात्मक एवं खतरापूर्ण तरिकाले प्रभावित भएको देखिन्छ । सैद्धान्तिक आधारमा विश्लेषण गर्ने हो भने पाँचौं महाधिवेशनमा ‘मध्यपन्थी’ अवसरवादका विरुद्ध संघर्ष गर्नुपरेको थियो भने आठौं महाधिवेशनमा ‘दक्षिणपन्थी’ अवसरवाद विरुद्धको संघर्ष गर्नुपरेको थियो र छ । यी दुइ महाधिवेशनमा भएका संघर्षको आ-आफ्नै महत्व रहेपनि तुलनात्मक रूपमा आठौं महाधिवेशनमा भएको र हाल भैरहेको संघर्षको महत्त्व उच्च रहेको छ ।
पाँचौं महाधिवेशनमा एक भिन्न खालको अवसरवाद देखा परेको थियो जसलाई ‘मध्यपन्थी’ अवसरवाद भनेर सम्बोधन गरियो । त्यसको नेतृत्व मोहन वैद्य पक्षले गरेको थियो भने वामपन्थी एवं क्रान्तिकारी पक्षको नेतृत्व मोहनविक्रम पक्षले गरेको थियो । ‘मध्यपन्थी’ अवसरवादले आधा क्रान्तिकारी र आधा दक्षिणपन्थी अवसरवाद भएको चरित्र प्रदर्शन गर्दछ । यो क्रान्तिकारी चरित्र भएको पार्टीमा भए पनि पूरै क्रान्तिकारी चरित्रको हुँदैन र ढुलमुले प्रकृतिको हुन्छ । यसले पार्टीमा दुईलाइनको संघर्ष चर्केको बेलामा क्रान्तिकारीको बहुमत हुँदासम्म क्रान्तिकारीको पक्ष लिन्छ र दक्षिणपन्थीको बहुमत पुग्ने भए उनीहरूलाई नै समर्थन गर्छ । यसमा नीतिमा अस्पष्टता र दृढ अडान लिने प्रकृतिको अभाव रहन्छ । ढुलमूल भएपनि आफूले लिनुपर्ने अवसरको भने भरपुर उपयोग गर्ने कोशिश गर्छ । त्यसैले एक प्रकारले ‘मध्यपन्थी’ अवसरवाद अर्धदक्षिणपन्थी अवसरवाद हो भनेर बुझ्न सकिन्छ । यसविरुद्ध समयमै संघर्ष गर्न र सचेत पार्न नसकेको अवस्थामा यो अन्ततः दक्षिणपन्थीकै क्याम्पमा सामेल हुन्छ । उनीहरूको तात्कालिक अवस्था विचारमा दक्षिणपन्थी र सङ्गठनात्मक रुपमा क्रान्तिकारी रहन खोज्ने प्रकृतिको हुन्छ ।
पाँचौं महाधिवेशनमा चित्रबहादुर केसी, मोहनविक्रम सिंह र रामसिंह श्रीसबाट प्रस्तुत गरिएका दस्तावेजहरु पारित भएका थिए तर नेतृत्वमा भने ‘मध्यपन्थी’ चयन भएका थिए । नेतृत्वमात्रै होइन, सिंगो केन्द्रिय समितिमा नै ‘मध्यपन्थी’ को बहुमत थियो । केन्द्रिय समितिमा ‘मध्यपन्थी’ को बहुमत भएपछि उनीहरुले क्रमशः केन्द्रिय नेतृत्व र केन्द्रिय समितिद्वारा नै पद्धतिको उलंघन गर्ने र अनुशासन भन्दा बाहिर रहेर कार्यशैली अपनाउन थाले । उनीहरुले महाधिवेशनबाट पारित वामपन्थी एवं क्रान्तिकारी नीतिहरुलाई अवसरवादको रुप ग्रहण गर्न थाले । आफ्ना गल्ती कमिकमजोरीहरु सहि सावित गर्न र ढाकछोप गर्न महाधिवेशनमा पारित दस्तावेजमा मनोमानी ढंगले परिवर्तन गरे । भिन्नमत राख्ने सदस्यहरुलाई पार्टी कमिटी, सदस्यता र मोर्चाहरुबाट हटाउने उदेश्यले योजना र षड्यन्त्रहरु बुन्न थाले । कतिपय अवस्थामा स्वयं आफ्नो बहुमत रहेको केन्द्रिय समितिले गरेका निर्णयहरु विपरीत कार्यशैली अपनाउन थाले । महाधिवेशनबाट पारित विधान एवं संगठनात्मक सिद्धान्तको केन्द्रिय स्तरमै उलंघन गर्न थाले । पार्टीमा देखिएका राजनीतिक एवं सांगठनिक मतभेदका विषयबस्तुमा स्वच्छ प्रकारको छलफल हुन छोड्यो । आफ्ना कमजोरी लुकाउन पद्धतिविरुद्ध गएर वामपन्थी नेताकार्यकर्ताको व्यक्तिगत आलोचना, चरीत्रहत्या एवं दुश्मनीपुर्ण व्यवहार तथा कार्यशैली अपनाउन थाले । अन्तरपार्टी संघर्ष रचनात्मकको साटो ध्वंसात्मक रूपमा अगाडि बढाए । यसरी पाचौं महाधिवेशन भन्दा पहिले सामान्य रूपमा देखापरेको ‘मध्यपन्थी’ प्रवृत्ति महाधिवेशन पछि त झन् ‘मध्यपन्थी’ अवसरवाद एवं भड्कावको रूपमा रुपान्तरण भयो । जसको परिणाम क्रान्तिकारी नीति सिद्धान्त र संगठन सुरक्षाको निम्ति पार्टी नै अलग गठन गर्नुपर्ने परिस्थिति सृजना भयो ।
पाँचौं महाधिवेशनमा पार्टीभित्र कुन प्रकारको सैद्धान्तिक अन्तरविरोध थियो ? र ती सैद्धान्तिक अन्तरविरोध स्वच्छ प्रकारले प्रक्रियागत एवं पद्धतिसंगत ढंगले छलफल गरि समाधान गर्न नसक्नुमा तात्कालिक नेतृत्वबाट कुन कुन प्रकारका गल्ती कमजोरी भएका थिए ? यी महत्त्वपूर्ण प्रश्नहरुमा कम्युनिस्ट आन्दोलनले सहि मुल्यांकन तथा सिंहावलोकन गरेको नै छ तर यसमा केहि थप अध्ययन हुनुपर्ने जरुरी देखिन्छ । ‘मध्यपन्थी’ अवसरवाद पाँचौं महाधिवेशनमा एकाएक देखिएको थिएन । उक्त महाधिवेशनभन्दा पहिलेको कालको अन्तरसंघर्षको क्रममा क्रमश ‘मध्यपन्थी’ प्रवृत्ति देखापर्दै गएको थियो । त्यसबारे समयमै अध्ययन गर्न, बुझ्न र त्यसविरुद्ध संघर्ष गर्न नसक्नु कमजोरी भएको पनि पार्टीले स्वीकार गरिसकेको छ । तर ‘मध्यपन्थी’ अवसरवादको उदय हुने वातावरण कसरी बन्यो ? यसबारे प्रष्ट हुन थप मुल्यांकनको आवश्यकता रहेको छ ।
पार्टीले कतिपय तात्कालिक कार्यनीतिक सवालमा लिइएका नीतिहरु पछी फेल भएका र परिवर्तन गर्नुपर्ने भएको सन्दर्भमा ती नीतिहरु गलत सावित भएका थिए भन्ने कुरा आजसम्म पनि स्वीकार गरिएको कहिँ कतै पाइएको छैन । जस्तै:- पुष्पलाललाई गद्दार भनियो, पुष्पलाललाई मात्रै होइन पुष्पलालको निरंकुश राजतन्त्र विरुद्ध काँग्रेससँग मोर्चा गर्ने कार्यनीतिलाईसमेत अस्वीकार गरियो, जुनकुरा ०४६ सालको आन्दोलनले फेल भएको प्रमाणीकरण गर्यो । मनमोहन समुह र पुष्पलाल समुह क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको दृष्टिमा तीसको दशकमा दक्षिणपन्थी राजनीतिमा क्रमश पतन भएको सत्यतथ्य नै हो । यति हुँदाहुँदै पनि निरंकुश पंचायती व्यवस्था एवं राजतन्त्र विरुद्धको आन्दोलनमा उनीहरुसँग मोर्चा बनाउने नीति अस्वीकार गरेको र गद्दार समुह करार गरेको सन्दर्भमा पार्टीले तीसको दशकमा अर्को कमजोरी गरिरहेको थियो । निर्मल लामाको भने पार्टीमा त्यसबारे मतभेद थियो । त्यहीँ मतभेदको आधारमा निर्मल लामालाई दक्षिणपन्थी करार गर्ने प्रयत्न भयो । यहीँ वस्तुस्थिति वा पृष्ठभुमिमा नै क्रमश ‘मध्यपन्थी’ अवसरवादी प्रवृत्तिको पनि जन्म भएको विश्लेषण गर्न सकिन्छ ।
पार्टीले वा पार्टी नेतृत्वले कुनै नीति प्रस्तुत गर्दैमा त्यो क्रान्तिकारी हुन्छ नै भन्ने हुँदैन । ती प्रस्तावको अध्ययन छलफल विश्लेषण र लेखाजोखा गर्नुपर्ने हुनसक्छ । यस क्रममा पार्टीभित्र स्वभाविक रूपमा मतभेद सृजना पनि हुनसक्छ तर कम्युनिस्ट आन्दोलन भित्र यसरी सृजना भएको मतभेदलाई रचनात्मक रूपमा ग्रहण गर्ने र त्यसलाई सहि प्रकारले टुंगोमा पुर्याउने सन्दर्भमा तात्कालिक समयदेखि आजसम्म कमजोरी दोहोरिने गरेको प्रष्ट छ । अझै भिन्नमतलाई तिरस्कार गर्ने, षड्यन्त्र गर्ने, कारबाही गर्ने र दबाउने प्रवृत्ति रहेको देखिन्छ । पाँचौ महाधिवेशन र आठौं महाधिवेशनले यसबारे पुष्टि गरेको छ । तैपनि सबै कुराको छिनोफानो राजनीतिक लाइन कुन सहि छ, त्यो मुख्य प्रश्न हुनजान्छ । पाँचौं महाधिवेशनले चौथो महाधिवेशन कालका कमिकमजोरी औल्याउँदै तात्कालिक कार्यनीति सम्बन्धि पार्टीको मौलिक प्रश्नहरुमा सुधारको नीति लिएको थियो । नीति तर्जुमा भएपनि तत्पश्चात बनेको पार्टीलेसमेत त्यो नीति अनुरुपको व्यवहारमा पार्टीलाई अगाडि बढाउने कुरामा सफल भएको देखिन्न, जुन कुरा आजसम्म पनि ढाकछोप गर्दै आएको देखिन्छ ।
तात्कालिक समयमा पाँचौं महाधिवेशनले पार्टी दक्षिणपन्थी दलदलमा फस्ने कुरा उपस्थित भएको सन्दर्भमा पार्टीका तात्कालिक कार्यनीति सम्बन्धि मौलिक प्रश्नमा भएका गम्भीर कमजोरीको विवेचना गरेको थियो । पाँचौं महाधिवेशनको ‘पार्टी र क्रान्तिका तात्कालिक नीति र कार्यहरू’ नामक दस्तावेजको तात्कालिक कार्यनीतिसम्बन्धि मौलिक प्रश्नहरुबारे भनिएको छ, “१. गत कालमा हाम्रो कार्य दिशामा एउटा गम्भीर कमजोरी यो रह्यो : हाम्रो सारा जोड तात्कालिक आन्दोलनमा रह्यो । यस कुरामाथि हामीले अवश्य पनि ध्यान दिनुपर्दछ । तर हामीले नयाँ जनवादी कार्यक्रम, संगठन, संघर्षको तयारी र क्रान्तिकारी संयुक्तमोर्चामा मुख्य ध्यान दिनुपर्छ । यी विषयहरुमा कम ध्यान दिनुको परिणामस्वरूप हाम्रो नीति र आन्दोलनको प्रकृति क्रमशः सुधारवादी र दक्षिणपन्थी बन्ने संभावना रहन्छ र त्यो खतरा बढ्दै पनि गइरहेको छ । त्यसकारण भविष्यमा हामीले नयाँ जनवादी कार्यक्रमको पक्षमा प्रचारात्मक आन्दोलन र सशस्त्र सङ्घर्षको तयारीमा बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।” ( रातो तरबार पेज नं २५० ) ।
यस सन्दर्भमा गत कालमा भएका वास्तविक कमजोरीलाई त्यहीँ दस्तावेजमा यसरी राखिएको छ, “पार्टीको कार्य दिशाबारे विचार गर्दा हामीले सर्वप्रथम हाम्रो पार्टीमा गत कालमा देखा परेका कतिपय कमजोरीहरुप्रति ध्यान दिनुपर्ने आवश्यकता छ । प्रथम, गत कालमा हाम्रो मुख्य जोड तात्कालिक कार्य - देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार - मा जाने गरेको छ र नयाँ जनवादी कार्यक्रम तथा जनवादी सरकारका पक्षको प्रचारात्मक आन्दोलन पछाडि परेको छ । द्वितीय, हाम्रो मुख्य ध्यान जन-आन्दोलनमा केन्दित भएको छ र सशस्त्र सङ्घर्षको तयारी तथा जनसेनाको निर्माणको कार्यबारे पटक्कै ध्यान गएको छैन । तृतीय, हामीले तात्कालिक प्रश्नहरुमा आन्दोलनको लागि कार्यगत एकता गर्नेतिर नै मुख्य पहलकदमी केन्द्रित गरेका छौं र नयाँ जनवादी कार्यक्रमलाई अगाडि राखेर पार्टीको नेतृत्वमा मजदुर-किसान एकताको आधारमा क्रान्तिकारी संयुक्तमोर्चाको निर्माण पछाडि परेको छ । चतुर्थ, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र अन्य देशहरुका क्रान्तिकारी सङ्घर्षहरुसित ठोस र जिवित सम्बन्ध स्थापित गर्ने विषयमा हामी निकै पछाडि परेका छौं । यी सबैको परिणामस्वरुप गतकालमा पार्टी दक्षिणपन्थी दलदलमा फस्ने कुरा गम्भीर रूपमा उपस्थित भयो र हामीले त्यस प्रकारका खतराका विरुद्ध जोडदार सङ्घर्ष चलाउनुपर्यो । पार्टीलाई दक्षिणपन्थी खतराबाट बचाएर क्रान्तिकारी दिशामा अगाडि बढाउनका लागि भविष्यमा उपर्युक्त प्रकारका कमजोरीहरु उत्पन्न हुन नदिन हामी निकै सतर्क बन्नुपर्ने आवश्यकता छ ।” ( रातो तरबार पेज नं २५० ) ।
कार्यनीति तर्जुमा गर्दा रणनीति मुखरित हुनुपर्छ यो सामान्य नियम नै हो । हाम्रो मुख्य ध्यान कार्यनीतिक सवालमा जानुपर्छ । यो पनि महत्वोपुर्ण पक्ष हो । तर यति हुँदाहुँदै पनि पार्टीको आधारभुत न्युनतम कार्यक्रमको प्रचारप्रसार, क्रान्तिको लागि विभिन्न तयारीहरुको लागि पार्टीका मौलिक प्रश्नहरुलाईसमेत निरन्तर रूपमा अगाडि बढाउने एवं विकास गर्दै लैजाने कुरामा पनि साथसाथै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले पाँचौं महाधिवेशनले माथिका पार्टीका महत्त्वपूर्ण मौलिक प्रश्नहरुमा भएका कमजोरीको मुल्यांकन गर्दै यहीँ कमजोरीको आधारमा पार्टीमा दक्षिणपन्थी लाइन देखापर्दा संघर्ष गर्नुपरेकोले पार्टीलाई दक्षिणपन्थी दिशामा जान नदिन एवं तथा क्रान्तिकारी दिशामा अगाडि बढाउन यी कमजोरीलाई सुधार गर्ने र आगामी दिनमा निकै सतर्क बन्नुपर्ने आवश्यकता औल्याएको थियो । यो निकै उत्साहजनक तथा क्रान्तिकारी कार्यनीति थियो । तर यो प्रश्नमा तत्पश्चात पनि पार्टीले उहीँ कमजोरी निरन्तर दोहोर्याएको देखिन्छ । यो सारै दु:खद अवस्था रहेको छ ।
आज आठौं महाधिवेशनसम्म आउदा पार्टी एवं पार्टी नेतृत्वले यी पार्टीका कार्यनीति सम्बन्धि मौलिक प्रश्नहरूको आधारमा पार्टीलाई अगाडि बढाउने काम गर्यो कि गरेन ? यसको गम्भीरता पुर्वक पुनः मुल्यांकन हुनु आवश्यक छ । पार्टीले यस सम्बन्धि नीति तर्जुमा गर्ने र पार्टीलाई त्यस दिशामा अगाडि बढाउने कुरा त भएन नै अन्ततः पाँचौं महाधिवेशनले विश्लेषण गरे झैं आठौं महाधिवेशनमा आउँदासम्म पार्टीले दक्षिणपन्थी नीतिलाई अगाडि बढाउन पुगेको छ र आठौं महाधिवेशनको बेला अल्पमत पक्षले पार्टीको कार्यनीति सम्बन्धि मौलिक प्रश्नहरु जस्तै:- नयाँ जनवादी कार्यक्रम तथा जनवादी सरकारका पक्षको प्रचारात्मक आन्दोलन, सशस्त्र सङ्घर्षको तयारी तथा जनसेनाको निर्माणको कार्यबारे, नयाँ जनवादी कार्यक्रमलाई अगाडि राखेर पार्टीको नेतृत्वमा मजदुर-किसान एकताको आधारमा क्रान्तिकारी संयुक्तमोर्चाको निर्माण, जनसत्ताको विकास, नयाँ जनवादी कार्यक्रम र नयाँ जनवादी क्रान्तिको महत्त्व एवं त्यसको प्रचारप्रसार आदिबारे पार्टीका मौलिक कार्यनीतिक प्रश्नमा जोड दिनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको थियो र छ । यी प्रश्नहरुलाई उठाएको आधारमा बहुमत पक्षले आफ्नो दक्षिणपन्थी राजनीतिक लाइन सत्य सावित गर्न वा ढाकछोप गर्न अल्पमत पक्षलाई ‘वामपन्थी संकृतावादी’ को बिल्ला लगाएको थियो र छ । पाँचौं महाधिवेशनले विश्लेषण गरेको यो सैद्धान्तिक पक्षले आजको वस्तुस्थितिमा पनि उत्तिकै महत्त्व राख्ने भएकोले र आवश्यक रहेकोले आठौं महाधिवेशनको मोहनविक्रम सिंहको राजनीतिक लाइन दक्षिणपन्थी रहेको पुष्टि हुन आउँछ ।
आठौं महाधिवेशनको आफ्नो दक्षिणपन्थी राजनीतिक लाइनको ढाकछोप गर्न अल्पमत पक्षलाई कथित ‘वामपन्थी संकृतावादी’ को आरोप लगाउने पार्टी नेतृत्वको ध्यान पाँचौं महाधिवेशन अगाडि भएका कमिकमजोरी र आवश्यकतामाथि ध्यान दिदै उक्त महाधिवेशनले आफ्नो तात्कालिक कार्यक्रम निश्चित गरेको कुरामा किन जान सकेको छैन ? के ती कार्यक्रम आजको सन्दर्भमा पार्टीको मौलिक कार्यनीतिभित्र पर्दैनन् ? आज आएर यो प्रश्नले गम्भीर अर्थ राख्दछ । हेरौं, पाँचौं महाधिवेशनले निश्चित गरेको तात्कालिक कार्यक्रम यस प्रकार रहेको छ, “१. नयाँ जनवादी कार्यक्रम र नयाँ जनवादी सरकारको प्रचारात्मक आन्दोलनमा जोड दिने, २. राजतन्त्र र पंचायती तानाशाही व्यवस्थाको अन्त्य र सत्ता जनतामा हस्तान्तरण गरेर गणतान्त्रिक प्रणालीको स्थापनाको लागि सङ्घर्षलाई तेज पार्ने, ३. साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र विस्तारवादका विरुद्धको सङ्घर्षलाई बढाउने, ४. विभिन्न तात्कालिक आर्थिक राजनीतिक मागहरुका आधारमा जन-आन्दोलन र वर्ग-संघर्षलाई बढाउने, ५. सशस्त्र सङ्घर्षको प्रचार, तयारी र संगठनमा जोड दिने, ६. क्रान्तिकारी संयुक्तमोर्चाको निर्माण गर्ने, ७. अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र विभिन्न देशहरूका क्रान्तिकारी आन्दोलनहरुसितको भाइचारा सम्बन्ध र एकतालाई व्यापक र ठोस पार्ने र ८. लडाकु क्रान्तिकारी पार्टी-यन्त्रको निर्माण गर्ने ।” ( रातो तरबार पेज नं २५४ ) । तर आज आएर मोहनविक्रम पक्ष यी र यस्ता तात्कालिक कार्यक्रम सुन्न पनि नसक्ने अर्थात नरुचाउने अवस्थामा पतन भएको देखिन्छ । न त पाचौं महाधिवेशन पछि आजसम्म पार्टीले यी महत्त्वपूर्ण तात्कालिक कार्यक्रमलाई व्यवहारमा लागु गर्ने कुनै ठोस योजना बनायो न त अहिले स्वीकार गरेको अवस्था छ । यी सबै दस्तावेजका पानामा नै सिमित रहिआएका छन् ।
पाँचौं महाधिवेशनमा पारित गरिएका दस्तावेजका कैयौं अंशहरु महाधिवेशन पछि पार्टी नेतृत्वले परिवर्तन गरेको र केन्द्रिय समितिले बहुमतले त्यस कार्यलाई समर्थन गरेको थियो । जुन कार्य अनुशासनविहिन एवं पद्धतिविरुद्धको कदम थियो । यस सन्दर्भमा उक्त महाधिवेशन पछि मोहनविक्रम पक्षद्वारा गठन भएको केन्द्रिय संगठन समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमा भनिएको छ, “प्रथम त, नेतृत्वका साथीहरूद्वारा महाधिवेशनद्वारा पारित अंशहरुमा त्यसरी परिवर्तन गर्नु गम्भीर प्रकारको अनुशासनविहिनता, चरम प्रकारको व्यक्तिवादिता, स्वेच्छाचारिता, छाडावादिता, गैर-जिम्मेवारीपन र बेइमानी हो भने दोस्रो, त्यस प्रकारका गम्भीर गल्तीहरु गर्ने व्यक्तिहरूका विरुद्ध अनुशासनको कारबाही गरेर त्यस प्रकारका परिवर्तनहरुलाई सार्वजनिकरुपले सच्चाउनुको सट्टा केन्द्रिय समितिको बहुमतले ती सबै परिवर्तनहरुलाई सहि भनेर समर्थन गरेको छ । यसले गर्दा एकातिर पार्टीको वैचारिक एकतामा गम्भीर प्रकारको चोट पुग्न गएको छ भने अर्कोतिर पार्टी भित्रको अनुशासन नराम्ररी खल्बलिन पुगेको छ ।” ( रातो तरबार पेज नं ३०९ ) ।
वास्तविक रूपमा पाँचौं महाधिवेशन पछि पार्टी नेतृत्वले महाधिवेशनमा पारित दस्तावेजका अंश परिवर्तन गर्ने काम जुन गरेको थियो त्यो अनुशासनविहिन, गैरजिम्मेवार र बेइमानी नै थियो । यस महाधिवेशनमा प्राय सबै दस्तावेजहरु वामपन्थी विचारधाराका साथिहरुबाट क्रान्तिकारी दृष्टिले प्रस्तुत भएका थिए । महाधिवेशनमा दस्तावेजको सवालमा मध्यपंथीहरुले त्यति छलफल गरेका थिएनन् । तर आफू नेतृत्वमा बहुमत सहित चुनिएपछि बेइमानीपुर्ण ढंगले कैयौं पारित अंशहरु परिवर्तन गरेर आफ्नो राजनीतिक लाइन अनुसार ढाल्ने काम गरेका थिए । यसमा परिवर्तन गरिएका अंश ठिक थिए थिएनन् त्यो प्रमुख कुरा होइन । प्रमुख कुरा पद्धतिको कुरा थियो । ठिक बेठीक सबै महाधिवेशनमै छलफल गर्ने, परिवर्तन गर्ने र पद्धति अनुसार टुंगोमा पुर्याउने सबैलाई अधिकार रहन्छ तर महाधिवेशनमा पारित भइसकेपछि राम्रो नराम्रो, आफ्नो मतको पक्ष विपक्ष जे-जस्तो भएपनि त्यसलाई परिवर्तन गर्नु लेनिनवादी संगठनात्मक सिद्धान्तविरुद्धको कुरा हुन जान्छ । यस्तो क्रियाकलापले सबैभन्दा सर्बोच्च अंग महाधिवेशन हुन्छ भन्ने संगठनात्मक पद्धतिको धज्जी उडाउने गर्छ । पाँचौं महाधिवेशनमा मध्यपंथी नेतृत्वले त्यस प्रकारको गम्भीर गल्ती गरेको थियो ।
त्यही क्रियाकलाप आठौं महाधिवेशनमा दक्षिणपन्थी नेतृत्वले पुनः दोहोर्याएको छ । आठौं महाधिवेशनका दस्तावेजका पारित कैयौं अंशहरु परिवर्तन गरेर दस्तावेज छाप्ने काम भएको छ । यो कार्य पनि तात्कालिक समयमा चित्रबहादुर केसीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिए झैं गम्भीर प्रकारको अनुशासनविहिनता, चरम प्रकारको व्यक्तिवादिता, स्वेच्छाचारिता, छाडावादिता, गैर-जिम्मेवारीपन र बेइमानी नै हो । तर यस सन्दर्भमा पाँचौं महाधिवेशन भन्दा आठौं महाधिवेशनको बेला गरिएको परिवर्तनको उदेश्य अझै डरलाग्दो देखिन्छ । तात्कालिक अवस्थाका मध्यपंथीहरुको सन्दर्भमा अर्को पक्षले प्रस्तुत गरेर पारित भएका अंशहरु आफ्नो मध्यपंथी अर्थात दक्षिणपन्थी नीति ढाकछोप गर्ने उदेश्यले भन्दापनि आफ्नो घोषित नीति अनुसार परिवर्तित अंश थप्ने वा पारित अंश हटाउने गरेको अवस्था थियो । तर आठौं महाधिवेशनको सन्दर्भमा दक्षिणपन्थी नेतृत्वले आफैद्वारा प्रस्तुत र पारित अंशहरु आफ्नो दक्षिणपन्थी नीति ढाकछोप गर्न र कार्यकर्ताको अगाडि क्रान्तिकारी बन्ने उदेश्यले पारित अंश परिवर्तन गरेको स्पष्ट हुन्छ । कतिपय कुराहरू अल्पमत पक्षले छलफल चलाएर पारित गर्न पेस गरेका कुराहरू महाधिवेशनमा अस्वीकार गरिएका विचारसँग मिल्ने सैद्धान्तिक कुराहरु प्रकाशित गर्दा थपिएका छन् । त्यसैले यो उदेश्य अझै खतरनाक रहेको प्रष्ट हुन्छ । यसले मोहनविक्रमलाई आफ्नो स्वार्थको निम्ति एकातिर दक्षिणपन्थी राजनीतिक लाइन लिनुपर्ने अवस्था छ भने अर्कोतिर कार्यकर्ताको बीचमा क्रान्तिकारी पनि देखिनु परेको छ । महाधिवेशनबाट पारित दस्तावेजका अंश परिवर्तनबारे कामरेड विमल शर्माले विस्तारपुर्वक अध्ययन एवं लेखन गर्नुभएको छ । त्यसबारे एउटा सानो पुस्तिकासमेत तयार पार्नुभएको छ । त्यसको अध्ययन गर्नु जरुरी छ ।
पारित दस्तावेजका अंश परिवर्तन गर्ने सन्दर्भमामात्रै होइन, पार्टी २०७२ सालमा जब ओलि सरकारमा सामेल भयो । त्यसपछि आजसम्म मोहानविक्रम पक्षलाई उसको आफ्नै एउटा ठुलो दुख छ, त्यो के हो भने एकातिर आफ्नो दक्षिणपन्थी नीति अनुसार देशमा बदलिरहने दलाल एवं प्रतिक्रियावादी सरकारहरुको प्यारो हुनुपरेको छ भने अर्कोतिर आफ्ना क्रान्तिकारी नेता कार्यकर्ताको नजरमा त्यो दक्षिणपन्थी नीति छल्न बडो क्रान्तिकारी बन्नुपरेको छ । जबजब सरकार परिवर्तन हुने, सरकारले मन्त्री अदलबदल गर्ने र चुनावमा तालमेल गर्नुपर्ने परिस्थिति आउने गर्छ त्यसबेला गठबन्धन वा सरकारको नजिकै रहने प्रकारका क्रियाकलाप हुने गरेका छन् । जब सरकार परिवर्तन हुने, मन्त्री अदलबदल गर्ने र चुनाव सकिएको अर्थात टरेको अवस्था आउँछ तब बनावटी रूपमा भएपनि क्रान्तिकारी नीतिका एकाध वक्तव्य पनि खस्ने गरेका छन् । यो तरिका र कार्यशैली पाँचौं महाधिवेशन अगाडि पछाडिको मध्यपंथी एवं दक्षिणपन्थी प्रवृत्ति वा भड्काव भन्दा कैयौं गुणा छद्म र खतरापूर्ण रहेको छ ।
पाँचौं महाधिवेशनका सैद्धान्तिक पक्षको अलवा मध्य्पंथी नेतृत्वको अनुशासनविहिनता, स्वेच्छाचारीता, कार्यशैली, भिन्नमतको आधारमा गरिएका दुश्मनीपुर्ण एवं ध्वंसकारी कारबाहीले क्रान्तिकारी आन्दोलनमा ठुलो क्षती भएको थियो । अन्ततः वामपन्थी एवं क्रान्तिकारी पक्षले क्रमशः आन्तरिक तयारी गर्दै केन्द्रिय आयोजक समिति निर्माण गर्नुपरेको थियो । त्यसले २०४२ साल चैत्रमा पार्टीको छुट्टै चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपरेको थियो । त्यस सम्मेलनले मध्यपंथी अवसरवादीका कार्यशैली, व्यबहार र क्रियाकलापहरु पार्टीविरोधी र फुटपरस्त भएकोले पार्टीमा गम्भीर संकट आएको विश्लेषण गरिएको थियो । पाँचौ महाधिवेशनपछि केन्द्रिय समिति र नेतृत्वले महाधिवेशनका निर्णय उलंघन गरेको, महाधिवेशनका दस्तावेजका अंश परिवर्तन गरेको, पार्टीको जनवाद तथा अन्तरपार्टी संघर्षलाई दबाएकोले र मतभेद राख्ने कमिटी र सदस्यहरु प्रति शत्रुतापुर्ण नीति अपनाएकोले नै केन्द्रिय आयोजक समिति गठन आवश्यक हुन गएको उक्त चौथो राष्ट्रिय सम्मेलनले ठहर रहेको छ ।
केन्द्रिय आयोजक समितिको गठन अकस्मात उठाइएको कदम थिएन । त्यसभन्दा पहिले करिबकरिब वर्ष दिन पहिलेदेखि विभिन्न कमिटी र सदस्यहरुले तात्कालिक केन्द्रिय समिती र नेतृत्वको गलत कार्यशैली र भिन्नमत राख्ने कमिटी र सदस्यहरुप्रति गरिएको शत्रुतापुर्ण व्यवहारविरुद्ध निरन्तर संघर्ष गरिरहेका थिए । त्यहीँ क्रममा बाग्लुङ जिल्ला समितिले विधानमा व्यवस्था भए अनुसार महाधिवेशनको माग गर्नको लागि विभिन्न जिल्लामा राय माग्ने र विचार विमर्शसमेत गरेको थियो । तर नेतृत्वले आफ्नो गल्ती, फुटपरस्त गतिविधि र बहुमतको आडमा दमन गर्ने कुरामा सुधार नल्याएको र सत्रुतापूर्ण व्यवहार गरेकोले अन्तिम अवस्थामा केन्द्रिय आयोजक समिति निर्माण गरि राष्ट्रिय सम्मेलन गर्नुपरेको बताइन्छ ।
आज आठौं महाधिवेशन पछिको सन्दर्भमासमेत यहीँ कुरा मेल खान्छ तर नेतृत्वमा रहेको पात्र भने उल्टिएको छ । हिजो पाँचौं महाधिवेशन पछि यहीँ प्रवृत्ति, यहीँ कार्यशैली र यहीँ व्यबहारबाट स्वयं मोहविक्रम सिंह तात्कालिक मध्यपंथी अवसरवादी नेतृत्वबाट पीडित भएका थिए । आज आठौं महाधिवेशन पछाडि आफ्नो दक्षिणपन्थी नीति रणनीतिक रूपमा स्थापित गर्नकै लागि ठिक त्यहीँ तरिका, कार्यशैली र व्यवहारद्वारा पिडकको दर्जामा आफुलाई उभ्याउन पुगेका छन् । उतिबेला उहीँ तरिका कार्यशैली र व्यवहारबाट पार नपाएपछि क्रान्तिकारी संगठन र सिद्धान्त सुरक्षा गर्न केन्द्रिय आयोजक समिति गठन गरेका नेताले अहिले अर्कोमाथि उस्तै व्यबहार गर्दा र अझै तात्पर्य र अर्थपूर्ण रूपमा दक्षिणपन्थी र क्रान्तिकारी मतभेदमा नीति सिद्धान्त सहितको विकल्पमा अल्पमत पक्षले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सुरक्षाको लागि विशेष महाधिवेशन आयोजक समिति बनाउदाभने उनले यस कार्यलाई फुटपरस्त एवं प्रतिगामी बताएका छन् यो भन्दा हास्यास्पद कुरा के हुन सक्छ ?
क्रमशः ...........
(लेखक कार्की नेकपा मसाल केन्द्रिय समन्वय समितिका सचिव हुनुहुन्छ।)