#भविश्वर पौडेल
नेपाल मजदुर किसान पार्टीले कञ्चन गाउँपालिकाको अध्यक्ष पदमा नेमकिपा रुपन्देही जिल्ला कोषाध्यक्ष जगिलाल थापालाई उम्मेदवार उठाएको छ । यसअघि थापा २०६४ साल नेमकिपा रुपन्देहीको सचिव हुनुहुन्थ्यो । साथै थापा नेपाल क्रान्तिकारी किसान संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
जगिलाल थापा कञ्चनका जनताबीच परिचित नाम हो । विस्तारै शहरीकरण हुँदै गरेको कञ्चन गाउँपालिकामा विभिन्न सामाजिक संघसंस्थाहरु स्थापना गर्न थापाले महत्वपूर्ण जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्दै आउनु भएको छ । २०७४ साल माघ १ गते कञ्चनमा स्थापना भएको कञ्चन सामुदायिक सञ्चार संस्थाको संस्थापक महासचिव तथा पहिलो सामुदायिक रेडियो कञ्चनको संस्थापक स्टेशन म्यानेजर भई सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान गरेका थापा कञ्चन सूचना तथा संचार केन्द्रका प्रबन्ध प्रकाशक तथा सम्पादक हुनुहुन्छ । सञ्चारको माध्यमबाट कञ्चनको कृषि, खेलकुद, पर्यटन, भौतिक पुर्वाधार विकास, स्वास्थ्य तथा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत विषयवस्तुहरुको प्रचार प्रसारमा थापा सक्रिय हुनुहुन्छ ।
करिब १५ बर्ष अनवरत शिक्षण पेशा गरेका थापा स्थानीय रुद्रपुर माविको व्यबस्थापन समितिको सदस्य, निश्चल कृषि सहकारी संस्थाको अध्यक्ष, कोशिस सामाजिक उधमी सहकारी संस्थाको सचिव तथा रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संस्थापक सचिव रहेर शैक्षिक,सामाजिक र आर्थिक विकास तथा साबिक रुद्रपुरमा शुद्ध र स्वच्छ पानी खुवाउने अभियानमा सक्रिय हुँदै आउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनको संस्थापक सहसचिव रहेका थापाले कञ्चनमा कञ्चन जेसिसको स्ंस्थापक सदस्य तथा प्रेस संयोजक, लायन्स क्लव अफ कञ्चन हरैयाको संस्थापक सचिव जस्ता सामाजिक संस्था स्थापना गर्न अगुवाई गर्नु भएको छ ।
देशमा आमुल परिर्वतन ल्याउन जनताको प्रजातन्त्र हुँदै समाजवादी गणतन्त्र स्थापना गर्न संघर्षरत नेपाल मजदुर किसान पार्टीको आन्दोलनलाई कञ्चन गाउँपालिकाको घरदैलोमा पु¥याउन थापाले स्थानीय मजदुर, किसान, पेशाकर्मी तथा व्यवसायीहरुसंग सैद्धान्तिक स्पष्टताकासाथ सहज सम्बन्ध बनाउँदै आउनु भएको छ । २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा नेमकिपाबाट रुपन्देहीको क्षेत्र नं. ५ को उम्मेदवार बनी थापा समाजवादी गणतन्त्रको प्रचारमा सक्रिय हुनु भएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी जस्ता पुँजीवादी शासक दलहरुबाट जनता आजित भइसकेका छन् । व्यापक जनता वैकल्पिक शक्तिको खोजीमा छन् । पुँजीवादी व्यवस्थाको विकृति र विसंगति अन्त्य गर्न जनताको प्रजातन्त्र र समाजवादी व्यवस्था मात्र विकल्प हुन सक्छ । त्यसैले नेपाल मजदुर किसान पार्टी कामदार जनताको वैकल्पिक शक्ति हो । नेपाल मजदुर किसान पार्टीले स्थानीय तह जितेको स्थानमा समाजवादउन्मुख विकासको नमुना प्रदर्शन गरिसकेको छ । तसर्थ नागरिक भावनासहितको समाजवादउन्मुख विकासको नमुना कञ्चन गाउँपालिकामा पनि लागू गर्न नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा मतदान गर्न अध्यक्ष पदका उम्मेदवार जगिलाल थापाले हार्दिक अपिल गर्नु भएको छ ।
जात, क्षेत्र, धर्म, दल र अनुहार हेरेर पक्षपातपूर्ण बजेट वितरण गर्ने शासक दलहरुलाई मत दिएर पछुताउनुभन्दा पनि कञ्चनवासीहरुले विवेक प्रयोग गरेर नेमकिपाको मादल चिन्हमा मतदान गर्नुहुनेमा विश्वस्त रहेका उम्मेदवार थापाले लालपुर्जाको नाममा जनतालाई पटक पटक ठग्ने शासक दलहरुलाई आजैदेखि बहिस्कार गर्नुपर्नेमा जोड दिएका छन । नेपाल नियमित रक्तदाता संघ, कञ्चनको प्रेस संयोजक समेत रहेका थापा शैक्षिक हिसावले स्वास्थ्य बिषयमा स्नातकोत्तर हुन।
बहुमत नेपाली जनता सडकमा उत्रे पनि राज्य शक्तिको दुरुपयोग गरी आफ्नो ज्यान र पार्टी जोगाउन देशघाती एमसीसी सम्झौता पारित गर्ने शासक दलहरुलाई दरिलो झापड दिन मादल चिन्हमा मतदान गरेर कञ्चनवासी समपुर्ण मतदाताहरुले अत्याधिक बहुमतका साथ नेमकिपाका उम्मेदवार जगिलाल थापालाई कञ्चन गाउँपालिका अध्यक्षमा विजयी गराउन समेत आग्रह गरेका छन।