#धर्मराज जोशी
पानीमा प्रायः सार्क हुन्थे, न्यानो पानीमा ती सार्कले पानीजहाजहरूलाई निरन्तर पछ्याइरहन्थे । यो कुनै किस्सा वा चलचित्रको दृश्य होइन, तथापि यस विषयमा थुप्रै डकुमेन्ट्री बनाइएका छन् । मध्ययुगको कहालीलाग्दो दास प्रथाको ज्यादती, अत्याचार र अमानवीय कृत्यसँग समुद्रमा पानीजहाज वरिपरि सिकारका लागि लुछाचुँडी गर्ने सार्क र अभागी मानिसहरूको कथा जोडिएको छ । सन् १७०५ मा विलियम बोसम्यानले ‘अ न्यु एन्ड एक्युरेट डिस्क्रिप्सन अफ दि कोस्ट अफ गिनी’ मा लेखेका थिए, जब मृत दासलाई जहाजबाट तल फ्याँकिन्थ्यो सार्क त्यसमाथि झम्टिन्थे । मैले कहिलेकाहीँ बिना भय यी पशुको भयानक लोभ देखेको छु । चार वा पाँच सार्क एकसाथ पानीजहाजमुनि मानिसको शवमाथि कम्टिएर टुक्रा टुक्रा पार्थे । क्षणभरमै कसैले हात, कसैले खुट्टा त कसैले टाउको सिनित्त पारिदिने । कहिलेकाही त धेरै सार्कले यति सफाइसाथ सिकार गर्ने कि सानो टुक्रा समेत नबच्ने ।
जब दास व्यापारको कुरा आउँछ राजनीतिक वादविवादबीच सार्क विषयवस्तु बन्न पुग्छ । दास व्यापार प्रथा उन्मूलन भएको दुई सयौँ वार्षिकोत्सव सन् २००८ मा मनाउँदा अमेरिकी कङ्ग्रेसले एक प्रस्ताव पारित गरेको थियो । त्यस अवसरमा बोल्दै न्यु जर्जीका प्रतिनिधि डोनाल्ड एम पेनीले भनेका थिए, “ट्रान्सएट्लान्टिक दास व्यापार विश्वको इतिहासमा सबैभन्दा ठूलो बाध्यकारी प्रवासका रूपमा परिचित छ । साढे दुई करोडदेखि पाँच करोड अफ्रिकीलाई जबरजस्ती अमेरिका, क्यारेबियन, मध्य तथा दक्षिण अमेरिका र युरोप ल्याइएको थियो ।”
नरभक्षण गर्न पल्केका सार्कले समुद्रमा दासहरू भरिएका पानीजहाजलाई पछ्याइरहन्थे । जसका कारण सार्कको स्वाभाविक विचरण अभ्याससमेत अवरुद्ध हुन पुग्यो । दासहरू लादिएका जहाज आन्ध्र महासागरमा जाने मार्ग मिडिल प्यासेज नामले कहलिएको थियो । त्यहाँ सार्क नभरक्षणका लागि ढुकेर बसेका हुन्थे । आफै मरेका, विराधे गर्दा मारिएका, आत्महत्या गरेका, उम्कनका लागि समुद्रमा हामफालेका वा बिरामी दासलाई गोरा मालिकहरूले समुद्रमा फ्याँकिदिन्थे । सार्कले परिस्थिति बुझिसकेका थिए र जहाजको पछाडि पछाडि पौडिरन्थे । जसले त्यस कालमा सार्कको स्वाभाविक विचरण पद्धति नै हेरफेर भएको बारेमा कैयौँ अनुसन्धानपत्र नै छन् । सन् २०१० मा प्रकाशित डेभिड एल्टिसको कृति ‘एट्लस अफ दि ट्रान्सएट्लान्टिस स्लेभ ट्रेड’ मा उल्लेख गरिए अनुसार सन् १५०० देखि १८६६ सम्म नयाँ विश्वमा लैजान करिब एक करोड ५० लाख दासलाई जहाजमा लादिएको थियो र तीमध्ये लगभग १८ लाख दासको मृत्यु बाटोमै भयो, जसको मृत्युदर करिब १५ प्रतिशत हुन आउँछ । यस अतिरिक्त कैयौँ अफ्रिकीले त जहाजमा सवार हुनु पहिले नै ज्यान गुमाए र थप १५ प्रतिशतको मृत्यु नयाँ विश्वमा पाइला टेकेलगत्तै भयो ।
अश्वेतहरूलाई दासका रूपमा अमेरिकी र युरोपेली क्षेत्रमा लगिएको र त्यसभित्रका कारुणिक कथा जान्नु पहिले सेनेगलको तटीय इलाकामा रहेको एक सानो टापु गोरेका बारेमा बुझ्नु सान्दर्भिक हुन्छ । सेनेगलको राजधानी डाकरबाट पश्चिम आन्ध्र महासागरमा अवस्थित गोरे हाल बिदा बनाउने र रमाइलो गर्ने स्थानका रूपमा विकसित भएको छ । वासिङटन पोस्टका अनुसार गोरेमा सेनेगलका मन्त्रीको समेत घर रहेको छ । मात्र पाँच सय १७ रोपनी क्षेत्रफल भएको गोरेमा न त पिच बाटो छ न त कुनै गाडी नै, साइकलसमेत छैन । यहाँको तट सुन्दर छ र त्यहाँ दिन बिताउनेको घुइँचो लागिरहन्छ ।
बलपूर्वक दासदासी तुल्याइएका अफ्रिकाका मानिसहरू
तर, विगतमा गोरे यस्तो थिएन । अफ्रिकी महादेशमा आफ्नो उपनिवेश स्थापना गर्नु पहिले युरोपेलीहरूले गोरेमाथि अधिपत्य जमाएका थिए । सन् १४४४ मा पोर्चुगेली अन्वेषक डेनिज डियाजले खोज गर्नु पहिले गोरेमा मानव बसोबास थिएन, निर्जन थियो । अफ्रिकाको मुख्य भूमिमा नजिक बसोबास गर्ने वलोफ कबिलाले गोरेमा बस्ने रुचि देखाएका थिएनन् । त्यसको कारण के थियो भने उनीहरूले जे जस्तो खेतीपाती गर्दथे त्यो गोरेमा उब्जनी गर्न सकिँदैनथ्यो । यसकारण उनीहरू गोरेलाई आफ्नो भाषामा बार भन्दथे । हुन पनि हो गोरेको अधिकांश भागमा ढुङ्गै ढुङ्गा छ र पानी छैन ।
तर, व्यापारका लागि विश्वको अन्वेषणका लागि हिँडेका युरोपीले गोरेमा धेरै सम्भावना देखे । किनभने त्यो प्राकृतिक रूपमै एक किल्ला थियो, जसमा भित्रतिर मोडदार तटीय क्षेत्र भएका कारण त्यहाँ सुरक्षित पानीजहाजको लङ्गर हाल्न सकिन्थ्यो र समुद्रको छालबाट सुरक्षा मिल्दथ्यो । पछि त्यहाँ पोर्चुगेली अन्वेषकहरूले एउटा ढुङ्गे चर्च, समाधिस्थल र सामान्य व्यापार चौकी स्थापना गरे ।
केही समयपछि गोरे र अझै पश्चिममा रहेको केप भर्डेबाट पोर्चुगेली र श्वेत– अश्वेत वर्णशङ्करका मानिस म्युलेटोसले दास, कच्चा अम्बर (अम्बरग्रिस), मौरीको मैन, पशुका छाला, इन्धन, अन्नपात र ताजा पानीको व्यापार गर्ने गरी एट्लान्टिक ट्रेड नेटवर्क स्थापना गरेपछि अफ्रिकी अश्वेतहरूलाई दास बनाएर नयाँ संसारमा लैजाने क्रम सुरु भएको थियो ।
कालखण्डमा गोरेमाथिको अधिपत्य विभिन्न हातमा गयो । पोर्चुगेलीबाट हुँदै डच, ब्रिटिस र फ्रेन्चले गोरेमाथि कब्जा जमाए, सेनेगलले सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएदेखि गोरे सेनेगलको अभिन्न अङ्ग रहेको छ । तर, अफ्रिकाको सबैभन्दा पश्चिमी बिन्दुका रूपमा यस टापुको रणनीतिक अवस्थितिले युरोप, अफ्रिका र नयाँ विश्वबीच यसलाई दास व्यापारको एक महत्वपूर्ण थलो बनाइदियो ।
बलपूर्वक दासदासी तुल्याइएका अफ्रिकाका मानिसहरू
इस्वी संवत्को १५ औँ शताब्दीदेखि सन् १८४८ (जुन बेला फ्रान्सले गोरेमा दासप्रथा अन्त्य गरेको थियो) सम्म करिब चार करोड अफ्रिकीलाई पानीजहाजमा लादेर पश्चिम अफ्रिकाबाट अन्तै लगिएको थियो । तीमध्ये आधाभन्दा बढीले गोरे हुँदै जानुप¥यो । जहाँ उनीहरूको नाम हटाइन्थ्यो र तिनले अमेरिका तथा क्यारेबियन क्षेत्रसम्म आफ्नो दुई महिनाको यात्रामा दर्ता नम्बरको पहिचान पाउँदथे ।
यसरी दास बनाउन युरोपेलीहरूले अफ्रिकाको पश्चिम र मध्य क्षेत्रका बासिन्दालाई बढी रोजे । विशेषगरी नाइजेरिया र बेनिनका योरोबस, सेनेगलका वलोफ, सेरर र फुलानी कबिलाका मानिसलाई दास बनाउन लगियो । अफ्रिकाको पश्चिमी तटीय क्षेत्रका केही अन्य कबिलाका मानिसलाई समेत दास बनाउन लगिएको थियो ।
सन् १६१९ मा पहिलोपटक अमेरिकी उपनिवेशवादीहरूले जेम्सटाउनमा दासहरूको पहिलो जत्था खरिद गरेका थिए । अनि अमेरिकामा अफ्रिकीहरूलाई दास बनाउने लहर नै सुरु भएको थियो ।
गोरेलाई सन् १९४४ मा फ्रान्सेली अधिकारीहरूले ऐतिहासिक क्षेत्र घोषणा गरे । तथापि पश्चिम अफ्रिकाका अन्य केही स्थानबाट समेत धेरै दासलाई पानीजहाज चढाइयो । तर, ती स्थानमा गोरेसरह त्यस युगको झझल्को दिने ऐतिहासिक चिह्न छैनन् । दासहरूलाई कैद बनाएर राख्ने गरिएको जेल त्यहाँ छ । सन् १७७६ मा डचहरूले निर्माण गरेको मासन डी इस्कालेभ (दासको घर) पनि गोरेमा रहेको छ ।
गोरे र महासागरमा सार्कले पानीजहाज पछ्याउने तथ्यबीच नजिकको सम्बन्ध छ । अफ्रिकी मुख्य भूमिबाट दासहरूलाई जम्मा गरी पहिले गोरेमा ल्याएर राखिन्थ्यो । त्यहाँ दासहरूको वर्गीकरण, दर्ता, स्वास्थ्य अवस्था हेरेपछि समय मिलाएर पानीजहाजमा चढाइन्थ्यो ।
अफ्रिकाको तटमा विचरण गर्ने कैयौँ प्रजातिका सार्कमध्ये धेरैको ध्यान आकर्षित गर्ने, सबैभन्दा बढी खतरा उत्पन्न गर्ने र ठूलो आतङ्क सिर्जना गर्ने दुई प्रजाति हुन् बुल सार्क र टाइगर सार्क । कहिलेकाहीँ ह्वाइट सार्क पनि सिकारका लागि त्यता आएको देखिन्थ्यो । अफ्रिकी तटीय क्षेत्रमा हमरहेड सार्कसमेत देखिने गरेको थियो ।
यसबीच सार्क र दास व्यापारका बारेमा थप जानकारी सन् २००७ मा प्रकाशित मार्कस रेडिकरको पुस्तक ‘दि स्लेभ सिपः अ ह्युम्यान हिस्ट्री’ मा हामी पढ्न सक्छौँ । परभक्षीले जहाजको चालक दलका सदस्य र दासहरूलाई एक समान भक्षण गरे, विशेष गरेर अफ्रिकाको न्यानो पानीमा ती सार्क धेरै नै खतरनाक हुन्थे । सार्कले कहिलेकाहीँ त दासहरू राखिएको पानीजहाजलाई अमेरिकी बन्दरगाह नपुञ्जेलसम्म आन्ध्र महासागरभरि पछ्याउने गर्दथे जमैकाको किङ्गस्टनमा यस बारेमा एक अभिलेख नै राखिएको छ । सार्कले जहाज पछ्याउने सन्दर्भमा सन् १७८५ का लेखिएको थियो । समाचारपत्रमा बन बनाइएका अफ्रिकाको नरभक्षण गर्न पल्किएका सार्कले त दासहरू लिन अफ्रिका आउने पानीजहाजलाई समेत पछ्याउन थालेका थिए । अफ्रिका गइरहेका पानीजहाज वरिपरि मडिएरा र क्यानारी आइल्यान्ड्सदेखि सार्कको झुन्ड देखिन थाल्थ्यो, अनि केप भर्डे आइल्यान्ड्स र सेनेगाम्बिया नजिक त धेरै सङ्ख्यामा सार्क देखा पर्थे । ती सार्क अफ्रिकामा दासहरूलाई पानीजहाजमा चढाउने बन्दरगाहसम्म नै पछाडि लाग्दथे ।
अफ्रिकी दासहरूलाई लिएर पानीजहाज दुईवटा रुटमा प्रस्थान गर्दथेः एउटा सोझै अमेरिकी क्षेत्रतिर लाग्दथ्यो र अर्को युरोपतिर । युरोपबाट दास लिएर पानीजहाज अमेरिका जाने रुट पनि थियो । यस प्रकार त्रिकोणीय रुटमा दासहरू लगिने गरिन्थ्यो । प्रश्न उठ्छ दास बनाउन अफ्रिकीहरूलाई ठूलो सङ्ख्यामा बन्धक कसरी बनाइन्थ्यो ? अश्वेतहरूलाई दास बनाउनमा पहिलो भूमिका थियो । अफ्रिकी बलिया शासक, कबिला, लुटेरा, अपहरण गर्ने गिरोहहरूले कमजोर राज्य र कबिलामा आक्रमण गरी त्यहाँका सदस्यलाई कैद गरी युरोपेली सामन्तलाई बिक्री गर्दथे । अफ्रिकाका कैयौँ तटीय क्षेत्रमा समेत उनीहरूको कब्जा थियो । सुरुमा बन्धकहरूलाई जेलमा राखिन्थ्यो र माग भएबमोजिम बिक्री गरी जहाजमा चढाइन्थ्यो ।
दासहरूको जीवन एक किसिमले नर्क समान थियो । सामन्तहरूले दासहरूलाई पुरुष र महिला वर्गमा विभाजन गरी पानीजहाजमा चढाउँदथे । बलियाबाङ्गा मानिस लामो र कठिन यात्रामा बाँच्दथे, जीवनका अगाडि हार्ने सार्कको सिकार बन्दथे । युवा महिलासँग चालक दलका सदस्यले जहाजमै आफ्नो यौन प्यास मेटाउने कटु सत्य पनि यस व्यापारसँग जोडिएको छ ।
बन्धक बनाइएकाहरूलाई अफ्रिकाको पश्चिमी तटीय क्षेत्रसम्म नेल लगाएर हिँडाउँदै पु¥याइन्थ्यो र त्यहाँ युरोपेली वा अमेरिकीहरूका अगाडि उनीहरूलाई बिक्रीका लागि राखिन्थ्यो । किनबेचपछि एउटै पानीजहाजमा खाँदेर दासहरूलाई राखिन्थ्यो । स्थान अभाव नहोस् भनी पुरुष दासहरूको दायाँ बायाँ गोडामा श्रृङ्खलाबद्ध नेल हालेर साथसाथै राख्ने पशुवत् व्यवहार हुने गर्दथ्यो । महिला र बालबालिकाले चाहिँ छुट्टै कोठा पाउँथे । दासहरू स्वस्थ रहून् र बिरामी नपरून् भनेर उनीहरूलाई कोर्रा हान्दै जहाजमै नाच्न लगाउने र सामन्तहरूले रमाइलो गर्ने समेत गरिने इतिहासमा लेखिएको छ । जो कमजोर छन्, जसलाई लामो यात्रामा पाल्न कठिन भइरहेको छ वा आत्महत्या गर्ने, मर्ने सबैलाई समुद्रमा फालेर सार्कको आहार बनाइन्थ्यो ।
स्मिथ सोनियन म्यागजिनका अनुसार युरोपेली र अमेरिकीहरूले अफ्रिकी दास ओसार्न सन् १५१४ देखि सन् १८६६ सम्म करिब ३६ हजार पटक समुद्री यात्रा गरेका थिए । त्यस अवधिमै एक करोड २५ लाख दासलाई अफ्रिका बाहिर लगिएको थियो । त्यतिबेलाका पानीजहाजको प्रविधि, समुद्री यात्राको ज्ञान, लामो यात्रामा दासहरूको स्वास्थ्य र दूरवस्थाले गर्दा कति सङ्ख्यामा दासहरू सार्कको भोजन भएका होलान्, अनुमान गर्न सकिन्छ ।
अनलाइन मजदुरबाट