२८ कार्तिक,कपिलवस्त/राधा पाण्डे
विश्व मधुमेह दिवसको अवसरमा वाणगंगा नगरपालिकाको गजेहडा स्वास्थ्य चौकीमा मधुमेह रोगको निःशुल्क चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । गजेहडा स्वास्थ्य चौकीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । निशुल्क परीक्षण कार्यक्रममा ८४ जनाको निशुल्क चेकजाँच गरिएको थियो । जसमा ७ जनामा मधुमेहको लक्षण देखा परेको स्वास्थ्य चौकीले जनाएको छ ।
वाणगंगा नगर पालिकाका उपमेयर चक्रपाणी अर्यालले आहार विहार र खानपानमा विशेष ध्यान दिएमा विभिन्न किसिमका रोगहरुले आक्रमण नगर्ने बताउनुभयो । उहाँले यस्तो उल्लेखनीय कार्यक्रमको आयोजना गरेकोमा स्वास्थ्य चौकीलाई धन्यवाद दिनुभएको थियो ।
यस्तै कार्यक्रममा गजेहडा स्वास्थ्य चौकीका सिनीयर अहेव सुन्दर तरामु मगरले मानवमा १०० मा ६६ प्रतिशत नसर्ने रोग हुने र त्यसमध्ये मधुमेह एक रहेको र यो विशेष गरी इन्सुलियन गडबढी, खानपान र वंशाणुगत गुणबाट पनि लाग्न सक्ने बताउनुभयो ।
कार्यक्रममा गजेहडा स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, वाणगंगा नगर पालिकाका उप मेयर चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै सो कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको विशिष्ट आतिथ्यता, वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, मोतिपुर स्वास्थ्य शाखा प्रमुख हिमलाल घिमिरे, वडा नम्बर ३ र ४ का जनप्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवि तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी व्यावस्थापन समितिका सदस्य चित्रबहादुर खाँडको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमुख द्रोण बेल्बासेले गर्नुभएको थियो ।