१० कार्तिक, काठमाण्डौ
नेपाली चलचित्रका वरिष्ठ अभिनेता तथा महानायक राजेश हमालले नेपाल–भारत सम्बन्ध र राष्ट्रवादबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। अर्थमन्त्रीले मन्त्रीस्तरीय पदीय मर्यादा र सीमा नाघेर गैरजिम्मेवार एवम् चाकरीपूर्ण टिप्पणी गरेको आरोप लगाउँदै हमालले सामाजिक सञ्जालमार्फत देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र परराष्ट्र नीतिको मर्यादा कायम राख्न ध्यानाकर्षण गराएका हुन्।
अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिलाई नै विकृत पार्न सक्ने चेतावनी दिँदै हमालले लेखेका छन्, “अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको देखिन्छ। उहाँका टिप्पणीहरूले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जगलाई नै विकृत पार्ने जोखिम छ।” यस्ता अभिव्यक्तिले द्विपक्षीय सम्बन्धको समेत उपहास गर्ने जिकिर गर्दै उनले थपेका छन्, “यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहास समेत गर्छ।”
नेपालको परराष्ट्र नीति कुनै व्यक्तिको लहड वा स्वार्थमा चल्न नसक्ने स्पष्ट पार्दै हमालले भनेका छन्, “नेपालको परराष्ट्र नीति सधैं राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र चिरस्थायी सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वविवेक वा राजनीतिक स्वार्थ अनुसार चल्ने विषय बन्नु हुँदैन।” सार्वजनिक ओहोदामा बसेका व्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा सतर्क रहनुपर्ने उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, “कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्ना अभिव्यक्ति वा सर्तहरूमार्फत यी आधारभूत मान्यतामा सम्झौता गर्नु हुँदैन, जसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई कमजोर पारोस्।”
छिमेकी भारतसँगको सम्बन्ध इतिहास, भूगोल र संस्कृतिमा आधारित अत्यन्त संवेदनशील विषय भएको स्मरण गराउँदै हमालले सस्तो बयानबाजी नगर्न सुझाव दिएका छन्। “नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण र रणनीतिक रूपमा यति संवेदनशील छ, यसलाई व्यक्तिगत चाकरीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने टिप्पणीहरूमा सीमित गर्न मिल्दैन,” हमालले जोड दिँदै भनेका छन्, “छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक जिम्मेवारी हुन्।” साथै, सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई केवल खोक्रा आश्वासनभन्दा पनि स्थापित कूटनीतिक संयन्त्रमार्फत सन्तुलित रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ।
भारतको नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट’ मा बोल्दै अर्थमन्त्री डा. वाग्लेले ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको’ अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। कूटनीतिक पृष्ठभूमिका परिवारमा हुर्किएका अभिनेता हमाल (जसका पिता स्व. चुडाबहादुर हमाल पूर्वराजदूत थिए) ले दिएको यस कडा प्रतिक्रियालाई बौद्धिक तथा कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।