
१० कार्तिक, काठमाण्डौ
गरिबीको चरम अभाव, नदीले बगाएको बास, र समाजले थोपरेको छुवाछूतको अपमानलाई चिर्दै दलित समुदायबाट नेपालकै पहिलो संस्कृत आचार्य (स्नातकोत्तर) बन्न सफल कृष्णबहादुर दमाईको जीवनयात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, नेपाली समाजमा जकडिएको जातीय विभेदको एउटा मर्मस्पर्शी ऐना पनि हो। कञ्चनपुरको नदी किनारमा रहेको ऐलानी जग्गाको सानो झुपडीबाट सुरु भएको उनको यात्रा आज संस्कृतका गहन श्लोक र मन्त्रहरूको वाचनसम्म आइपुगेको छ। तर, सफलताको उच्च विन्दुमा पुगेर पनि आफूले अझै जातीय दंश भोग्नुपरेको दुखेसो पोख्दै उनी भन्छन्, “यो आचार्यको पोशाक मेरो बाहिरी आवरण र खोल मात्रै हो। समाजले अझै पनि भन्छ– ‘तिमी हिजो पनि दमाई हौ, आज पनि दमाई हौ र भोलि पनि दमाई नै हौ, आचार्य कुनै हुन सक्दैनौ।’”
कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका कृष्णको बाल्यकाल भोक र अभावकै बीचमा बित्यो। कक्षा कोठामा साथीहरू चिटिक्क परेर नयाँ पोसाकमा आउँदा उनीसँग स्कुलको सामान्य पोसाकसमेत किन्ने हैसियत थिएन। बाल्यकालको त्यो दारुण अवस्था सम्झिँदै उनले भने, “बुवाले अरूका लागि कपडा सिलाएर बाँकी रहेका विभिन्न रङका टुक्राटाक्री जोडेर एउटा आकार दिइएको बहुरङ्गी कपडा बनाएर दिनुहुन्थ्यो, म त्यही लगाएर स्कुल जान्थेँ। कक्षा १ मा कालो पाटीमा कमेरो र बाँसको कलमले लेखेर पढेको हुँ।” चरम गरिबीका कारण बुवाले ‘अब पढाउन सक्दिनँ, साहुको ऋण तिर्न भारत जानुपर्छ’ भन्दा पनि उनले पढ्ने भोक त्यागेनन्। कक्षा ९ र १० मा पढ्दा उनले परिवार पाल्न र आफ्नो पढाइ खर्च जुटाउन बिहान सबेरै सीमावर्ती बजारबाट साइकलमा नुन ओसार्थे। “बिहान ४ बजे साइकल लिएर बोर्डर जान्थेँ र नुनको कट्टा ल्याएर बेच्थेँ। दिनभरिको दुई घण्टा परिश्रमबाट सय रुपैयाँ कमाइ हुन्थ्यो। त्यही पैसाले घरमा चामल-रासन किन्थेँ र आफ्नो पढाइ खर्च जुटाउँथेँ,” उनले संघर्षका दिन सम्झिए।
उनको जीवनलाई संस्कृत अध्ययनतर्फ डोहोर्याउने मोड भने एउटा गहिरो सामाजिक अपमान थियो। वि.सं. २०६४ सालमा एसएलसी दिने बेला उनी मन्दिर सरसफाइ गर्ने ‘हनुमान दल’का नेतृत्वकर्ता थिए। सबै काम सकिएपछि पुजारीले सबैलाई निधारमा टीका लगाइदिए तर कृष्णलाई भने हातमा थाप्न लगाए। त्यो क्षणले उनको हृदयमा गहिरो घाउ बनायो। “सबैलाई टीका लगाइयो तर मलाई टीका लगाउन दिइएन, थाप्न लगाइयो। त्यो दिन मनमा यति ठूलो आत्मग्लानि र चोट लाग्यो कि मैले ३ वर्षसम्म कसैको हातबाट टीका नै लगाइनँ,” कृष्णले विद्रोहको त्यो विन्दु स्मरण गर्दै भने, “मैले सोचेँ— यो विभेद किन गरिन्छ? यसको जरो के हो? यदि टीका लगाउने हो भने अब आफ्नै हातले जानेर लगाउँछु, अन्यथा लगाउँदिनँ भन्ने अठोट गरेर म संस्कृत अध्ययनतर्फ लागेँ।”
गुरु ईश्वरदत्त भट्टको ५०० रुपैयाँको सहयोग र प्रेरणाबाट शारदा विद्यापीठमा भर्ना भएका कृष्णको अध्ययन यात्रा सहज भने रहेन। आमालाई क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन उनी तीन वर्षसम्म भारतको मुम्बईमा एउटा कम्पनीमा हेल्परको काम गर्न बाध्य भए। “आमाको उपचारका लागि महिनाको ८–१० हजार रुपैयाँ पठाउँथेँ र परीक्षा आउनुभन्दा दुई महिनाअघि घर फर्केर रातदिन पढेर परीक्षा दिन्थेँ,” उनले गहभरि आँसु पार्दै भने, “यति गर्दा पनि अन्ततः आमालाई बचाउन सकिएन।” उनले वि.सं. २०७६/७७ तिर शास्त्री सकेर ३१ वर्षको उमेरमा दाङबाट संस्कृत साहित्यमा आचार्य पूरा गरे।
तर, उच्च शिक्षा हासिल गरेर पशुपति कोटिहोमको व्यासपीठमा बसेर कथा वाचन गर्दा समेत समाजको हेर्ने दृष्टिकोण अझै नबदलिएको उनको अनुभव छ। संस्कृत पढे पनि दलित समुदायलाई कर्मकाण्ड, वेद पाठ र गुरुकुलबाट वञ्चित राखिएकोमा उनी गहिरो पीडा व्यक्त गर्छन्। धनगढी उपमहानगरपालिकामा शिक्षा सहजकर्ताका रूपमा विद्यालयहरूमा पुग्दाको एउटा घटना सुनाउँदै उनले भने, “मैले विद्यार्थीहरूलाई एकादशीमा घरघरमा तुलसी रोप्नुपर्छ भन्दा एउटा दलित विद्यार्थीले ‘गुरु, हामीले पनि तुलसी रोप्न मिल्छ र? हामीले रोपे त पाप लाग्छ भन्छन् नि’ भनेर सोध्यो। त्यो सुनेर म कक्षाकोठामै रोएँ। २१औँ शताब्दीमा पनि हाम्रा बालबालिका यस्तो हीनताबोधमा बाँच्न विवश छन्।”
वेद र शास्त्रले कहिल्यै विभेद नसिकाएको उल्लेख गर्दै ऋग्वेदको श्लोक उद्धृत गर्दै उनले भने, “शास्त्र भन्छ– ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’। जन्मँदा सबै मानिस बराबर हुन्, कर्मले मात्र मानिस श्रेष्ठ बन्ने हो। तर समाजले शास्त्रको गलत व्याख्या गरेर मानिस-मानिसबीच पर्खाल खडा गरिदियो।”
अन्तमा, जातीय विभेद अन्त्यका लागि केवल नारा र माफीले मात्र नपुग्ने बताउँदै आचार्य कृष्ण दमाईले एउटा स्पष्ट सन्देश दिए, “हामी समाजसँग ‘छोरी दिनुस्’ भन्दैनौँ, तर ‘हात र भात’ चलाउनुस्। हात भनेको कर्मकाण्ड र सीप दलित समुदायलाई पनि सिकाउनुस्, भात भनेको सँगै बसेर सहकार्यका साथ खानुस्। जबसम्म यो व्यवहारमा रूपान्तरण हुँदैन, तबसम्म विभेदको पर्खाल भत्किँदैन र समाज समृद्ध बन्न सक्दैन।”