
१२ कार्तिक, काठमाण्डौ
पूर्वीय दर्शनमा आधारित मध्यममार्गी विचारधारा (Centrist Ideology) लाई राजनीतिक आधार बनाएको सार्वभौम नागरिक पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ। पार्टीका सभापति गणेश कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा दलविहीन उम्मेदवार अघि सार्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको महामन्त्री राम अस्लामी मगरले बताएका छन।
बैठकले स्थानीय तहको निर्वाचनलाई दलीय प्रतिस्पर्धाभन्दा माथि उठाएर समुदायको एकता, सामाजिक सद्भाव, आपसी मेलमिलाप र जनउत्तरदायी शासन प्रणालीको आधारमा अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
पार्टीका अनुसार स्थानीय तहको निर्वाचनमा दलगत प्रतिस्पर्धा हुँदा राजनीतिक विभाजन परिवार र समुदायसम्म पुग्न सक्ने तथा व्यक्तिबीच मतभेद र सामाजिक वैमनस्यता बढ्न सक्ने जोखिम रहन्छ। समाजको समग्र विकासका लागि आपसी एकता, शान्ति, सहअस्तित्व र मेलमिलाप आवश्यक हुने भएकाले स्थानीय निर्वाचन गैरदलीय आधारमा सञ्चालन हुनुपर्ने पार्टीको धारणा छ। यही मान्यताका आधारमा बैठकले स्थानीय तह निर्वाचनमा दलविहीन उम्मेदवार अघि सार्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
"पूर्वीय दर्शन र मध्यममार्गी विचारधारामा आधारित राजनीतिक कार्यदिशा"
बैठकमा पार्टीका सभापति गणेश कुमार मण्डलले पार्टीको दार्शनिक आधार, वैचारिक मान्यता, सिद्धान्त, आर्थिक मोडेल, निर्वाचन प्रणाली तथा भावी राजनीतिक कार्यदिशाबारे प्रशिक्षणमूलक प्रस्तुति दिएका थिए।
उनले पार्टीको दर्शन पूर्वीय दर्शन, विचारधारा मध्यममार्गी, सिद्धान्त व्यवहारमा आधारित तथा शासन सञ्चालनको मूल नीति विभाजन र शासन (Divide and Rule) नभई एकता र सहकार्यमा आधारित शासन (Unite and Rule) नीति हुने बताए। पार्टीको आर्थिक आधार समुदायमा आधारित आर्थिक मोडेल (Community-Based Economic Model) रहेको उल्लेख गर्दै उनले दुई चरणीय निर्वाचन पद्धतिलाई पनि पार्टीको प्रस्तावित राजनीतिक अवधारणाका रूपमा प्रस्तुत गरेका थिए।
सभापति मण्डलले अबको राजनीतिको उद्देश्य जनतालाई केवल मतदाताका रूपमा सीमित राख्नु नभई सचेत, सक्षम र अधिकारसम्पन्न नागरिक बनाउनु हुनुपर्नेमा जोड दिए। नागरिकको सर्वोच्चता, सामाजिक सद्भाव, सहअस्तित्व, आर्थिक समृद्धि तथा छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने सार्वभौम नागरिक पार्टीको नीति रहेको बताए।
"मतदानमा मात्र सीमित नभई नीति निर्माणमा नागरिकको सहभागिता"
बैठकले परम्परागत दलीय प्रतिस्पर्धाभन्दा माथि उठेर नागरिकका आवश्यकता, स्थानीय प्राथमिकता र जनउत्तरदायित्वमा आधारित सामुदायिक शासन प्रणालीलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। पार्टीले अघि सारेको नागरिकतन्त्रको अवधारणा अनुसार नागरिकको भूमिका निर्वाचनमा मतदान गर्ने कार्यमा मात्र सीमित हुनुहुँदैन। नीति निर्माण, विकास योजना तर्जुमा, सार्वजनिक निर्णय प्रक्रिया तथा स्थानीय आर्थिक स्रोतसाधनको उपयोगमा समेत नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने पार्टीको मान्यता छ।
पार्टीका अनुसार नागरिकलाई शासन प्रक्रियाको केन्द्रमा राख्दै सार्वजनिक निकायलाई जनताप्रति उत्तरदायी बनाउनु र विकासका अवसर तथा स्रोतसाधनमा समुदायको सहभागिता बढाउनु नागरिकतन्त्रको प्रमुख उद्देश्य हो।
"समुदायमा आधारित अर्थतन्त्र र स्थानीय उत्पादनमा जोड"
बैठकले समुदायमा आधारित आर्थिक मोडेलमार्फत स्थानीय स्रोतसाधनको पहिचान, कृषि उत्पादन, परम्परागत सीप, उद्यमशीलता तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।
स्थानीय उत्पादन र सीपको विकास गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अर्थात् ‘स्थानीयकरण देखि विश्वव्यापीकरण सम्म’ (Localization to Globalization) को अवधारणालाई कार्यान्वयनतर्फ लैजाने तयारी पार्टीले गरेको जनाएको छ।
स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै समुदायमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने तथा आर्थिक विकासमा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने पार्टीको लक्ष्य रहेको बैठकमा प्रस्तुत गरिएको थियो।
" मतदातालाई धन्यवाद, नागरिकमुखी राजनीतिको प्रतिबद्धता"
पार्टी स्थापना तथा दर्ता भएको छोटो समयमै निर्वाचनमा सहभागी भएर प्राप्त मतलाई बैठकले नागरिकको विश्वास र समर्थनका रूपमा लिएको छ। बैठकले पार्टीको चुनाव चिह्न ‘चक्र’मा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति विशेष आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।
पार्टीले आगामी दिनमा नागरिकको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्दै जनउत्तरदायी राजनीति, सामाजिक सद्भाव, सामुदायिक आर्थिक विकास र नागरिकको सर्वोच्चताका पक्षमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
सार्वभौम नागरिक पार्टीले परम्परागत राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर पूर्वीय दर्शनमा आधारित मध्यममार्गी दृष्टिकोणमार्फत सहकार्य, सहअस्तित्व र समृद्धिको बाटो अवलम्बन गर्ने लक्ष्य अघि सारेको छ। पार्टीको प्रस्तावित राजनीतिक कार्यदिशाले स्थानीय शासनमा नागरिकको भूमिका, सामाजिक एकता र समुदायको आर्थिक सशक्तीकरणलाई कत्तिको प्रभावकारी रूपमा व्यवहारमा उतार्न सक्छ भन्ने विषय भने आगामी कार्यान्वयनबाट स्पष्ट हुँदै जानेछ।