भुवन थापा "बहुवि"
हरेक गाउँको आफ्नै कथा हुन्छ । आफ्नै भूगोल, आफ्नै इतिहास र आफ्नै स्मृति । कतै नदीले गाउँलाई चिनाउँछ, कतै वनले, कतै मन्दिरले, त कतै कुनै पुरानो किंवदन्तीले । तर केही गाउँहरू यस्ता पनि हुन्छन्, जसको परिचय पानीसँग गाँसिएको हुन्छ । कहिले पानीको प्रचुरतासँग, कहिले त्यसको अभावसँग । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका-२ अन्तर्गत पर्ने ठूलो लुम्पेकको थुम्का त्यस्तै एउटा बस्ती हो, जहाँ पानी केवल जीवनको आधार मात्र थिएनस त्यो गाउँको जीवनशैली, संस्कृति र सामूहिक स्मृतिको पनि एउटा अभिन्न अंश थियो । यहाँका पोखरीहरूले पुस्तौँको दैनिकी धाने, पानीका मुहानहरूले गाउँको जीवनलाई चलायमान बनाए र प्रत्येक थुम्कोले समयका अनगिन्ती कथाहरू मौन भएर पनि जोगाइरह्यो ।

थुम्का साविक ठूलो लुम्पेक गाउँ विकास समिति वडा नं.७ अन्तर्गत पर्ने बस्ती हो । ठूलो लुम्पेकको मध्य-दक्षिण भागमा, समुद्री सतहदेखि करिब १,१०० मिटरको उचाइमा अवस्थित यस गाउँको उत्तरतर्फ करिब २,००० मिटर अग्लो हचिङ्कोट लेक उभिएको छ, जसको पूर्व-दक्षिणी काखमा थुम्का रहेको छ । यसको पूर्वमा हर्मिचौरको गिदुवा, दक्षिणमा कालीगण्डकी किनारका पाहाँदी, धुसेनी, चेहेमी र रामबारी पर्दछ भने पश्चिममा अश्लेवा, चौर, सिंदी र बझादी तथा उत्तरमा कुह्र, गाउँडाँडा र पल्लोखोला यसका छिमेकी गाउँहरू हुन् । यही भौगोलिक परिवेशसँग स्थानीय जनविश्वास पनि उत्तिकै गहिरोसँग गाँसिएको छ । प्राकृतिक रूपमा रमणीय हचिङ्कोटको दक्षिणी पहारामा ६० फिट लामो हुक्रायो सेतीनागको ढाड (प्राकृतिक शिला आकृति) देख्न सकिन्छ । स्थानीय विश्वास अनुसार यसको पुच्छर कालीगण्डकी किनारको गुलुम्दीमा रहेको छ भने शिरभाग यस क्षेत्रकै सबैभन्दा माथि रहेको सत्यवती लेकमा रहेको मानिन्छ । यस्ता जनश्रुति र किंवदन्तीहरूले यहाँको भू-दृश्यलाई प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक अर्थ पनि दिएका छन् ।
.jpeg)
थुम्काको इतिहासलाई बुझ्न त्यहाँको पानीको कथा बुझ्नैपर्छ । वर्षायाममा प्रशस्त पानी पर्ने भए पनि वर्षभरि उपयोग गर्न सकिने प्राकृतिक स्रोत सीमित थिए । यही अभावसँग जुध्दै यहाँका बासिन्दाले वर्षाको पानी सङ्कलन गर्ने सीप विकास गरे, पोखरी निर्माण गरे र पानीको प्रत्येक थोपालाई जीवनसँग गाँसे । गाउँका विभिन्न स्थानमा बनेका पोखरीहरू केवल पानी जम्मा गर्ने संरचना मात्र थिएनन्स तिनले खेतीपातीलाई सघाए, पशुपालन धाने, सामाजिक सम्बन्धलाई जोडिराखे र गाउँको सामुदायिक जीवनलाई चलायमान बनाए । खानेपानीका लागि गाउँको बीचभागमा रहेको ढाँड क्षेत्रको ढुङ्गाका प्वालमा जम्मा हुने पानी विशेष महत्त्वपूर्ण मानिन्थ्यो । यही स्थानलाई आज पनि गाग्रीढुङ्गा भनेर चिनिन्छ । यसबाहेक खास्तुङ पन्ध्रा, तुषारे पन्ध्रा, गिद्धेपानी ९बाघेमाथि०, अर्दांडी (हचिङ्कोटको पूर्वीपाखा भीर), चुल्ठेजरी (बाघे भीर), बरडाडी इनार, बरडाडी खोला, चिसापानी (झर्लेतुङ), पनेपुक (माइडाँडा) र सिलिङ्गीपानी (धुस) जस्ता मुहानहरूले गाउँको जीवन धानेका थिए । यद्यपि यीमध्ये अधिकांश स्रोत मौसमी थिए र गाउँको आवश्यकतालाई पूर्ण रूपमा धान्न सक्दैनथे ।
.jpeg)
पानीको यही अभावलाई कम गर्ने उद्देश्यले विक्रम संवत् २०१०/११ सालतिर पल्लोखोलाको शिर मराङ्डीबाट कुलो खनेर गाउँमा पानी ल्याइयो । यसले केही समय राहत दिए पनि पहिरो र अन्य प्राकृतिक कारणले त्यो व्यवस्था दिगो बन्न सकेन । त्यसपछि विक्रम संवत् २०३६ सालमा ब्रिटिस सेनाका पूर्व क्याप्टेन दिलाराम तरामु मगरको नेतृत्वमा वेलफेयर सर्विस क्यानाडाको प्रायोजनमा पहिलोपटक नालामार्फत व्यवस्थित खानेपानीको व्यवस्था गरियो । यससँगै गाउँको दैनिकी सहज बन्दै गयो तर समयसंगै जनसंख्याको बृध्दिले पानीको अभाव खड्किंदै जाने क्रम जारी रहँदा पानीसँग जोडिएको संघर्ष र त्यसले सिकाएको मितव्ययिताको संस्कार भने कहिल्यै हराएन ।
.jpeg)
आज पनि पिपलपोखरी थुम्काको पुरानो इतिहासको मौन साक्षी बनेर बाँचेको छ । गोलपोखरी भने समयको प्रवाहसँगै हरायो र माइडाँडापोखरी त्यहाँको बस्ती विस्थापित भएसँगै स्मृतिमा मात्र सीमित रह्यो । जंगलतर्फ चरनमा जाने पशुहरूका लागि बनाइएको पोखरीडाँडा त्यतिबेलाको ग्रामीण जीवनको आवश्यकतासँग गाँसिएको थियो भने थुम्काको दक्षिणी भेगमा रहेको रान्पोखरी (रानाररानीपोखरी) पनि पाखाबारीको नाममा रूपान्तरण भयो । लाकुरीबासको बीचमा रहेको भटुपोखरी आज भौतिक रूपमा नभेटिए पनि त्यसको नाम अझै स्थानीय स्मृतिमा बाँचिरहेको छ ।
.jpeg)
मराङ्डीबाट कुलो ल्याइएपछि निर्माण गरिएको ठूलोखर्क पोखरी त्यस समयको एउटा महत्त्वपूर्ण उपलब्धि थियो । सानो कुलोको पानी तुर्केपछि त्यो पोखरीले वरपरका बस्तीलाई ठूलो राहत दिएको थियो । तर विकासका नयाँ बाटाहरू खुल्दै जाँदा मोटर सडक विस्तार भयो र त्यससँगै ठूलोखर्क पोखरी पनि इतिहासको एउटा अध्याय बनेर रह्यो । त्यसैगरी टुनीपोखरी थुम्काका उल्लेखनीय पोखरीमध्ये एक थियो । एउटै स्थानमा रहेका दुई ठूला पोखरी पछि पुरेर खेलमैदान बनाइए । तर आज पनि त्यस क्षेत्रको पूर्वतर्फको वनलाई पोखरागैरी र माथिल्लो बस्तीलाई पोखरामाथि भनेर चिनाइन्छ । समयले पोखरी मेटायो, तर स्थान नामले त्यसको इतिहास मेट्न दिएन ।
.jpeg)
थुम्काटोल र गुङगुङटोलको बीचमा रहेको जोरबाँझको सानोपोखरी अहिले अस्तित्वमा नरहे पनि टोलको नामसँग गासिएर जीवित रहेको छ । थुम्काको सबैभन्दा ठूलो लङ्तेङ्गापोखरी अथवा ठूलोपोखरीको कथा भने आज पनि गाउँका बुढापाकाहरूको स्मृतिमा उत्तिकै ताजै छ । उनीहरूका अनुसार यो पोखरी मानिसले होइन, जङ्गली सुँगुर (बँदेल) ले खनेर बनेको हो भन्ने किंवदन्ती पुस्तौँदेखि सुनिँदै आएको छ । पछि यही पोखरी पुरेर त्यस ठाउँमा विद्यालय सारियो । त्यसैगरी धनुबाँस टोलको चारपाटे चिटिक्क परेको चिचिपापा पोखरी नजिकै छाताजस्तै फैलिएको चिचिपापाको बुढोरूखका कारण नामाकरण गरिएको थियो । मोटर सडक निर्माणसँगै रूख र पोखरी दुबै हराए तर गाउँको स्मृतिबाट तिनको नाम भने अझै मेटिएको छैन ।
.jpeg)
समयसँगै थुम्काको स्वरूप फेरिँदै गयो । सडक बने, बस्ती विस्तार भए, जीवनशैली बदलियो र त्यससँगै सबैजसो पोखरीहरू पनि एक(एक गर्दै हराउँदै गए । तर पोखरीहरू हराए पनि तिनले छोडेका नाम, कथा र सम्झनाहरू भने हराएनन् । पोखरागैरी, पोखरामाथि, पिपलपोखरी, लङ्तेङ्गापोखरी, भटुपोखरी, टुनीपोखरी, पोखरीडाँडा, गोलपोखरी आज पनि गाउँको भूगोलसँगै बोलिरहेका छन् । तिनले पानीको अभावसँग जुध्दै आफ्नो जीवन निर्माण गरेका अघिल्ला पुस्ताहरूको श्रम, दूरदृष्टि र प्रकृतिप्रतिको सम्मानको कथा सुनाइरहेका छन् ।
.jpeg)
यद्यपि समयको परिवर्तनसँगै गाउँको स्वरूप फेरिएको छ, थुम्काको इतिहास भने अझै मेटिएको छैन । गाग्रीढुङ्गामा अडिएको पानी, हचिङ्कोटको दक्षिणी पहारामा देखिएको हुक्रायो सेतीनागको आकृति, पोखरीहरूका अवशेष र तिनका नामसँग जोडिएका जनश्रुति तथा स्थानस्मृतिहरूले आज पनि विगतका पाइलाहरूलाई सम्झाइरहेका छन् । यही ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पछिल्ला केही वर्षदेखि स्थानीय समुदाय गाग्रीढुङ्गा र हुक्रायो सेतीनागलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा जुटिरहेको छन् । यस अभियानले प्राकृतिक सौन्दर्य, स्थानीय जनविश्वास र मौखिक इतिहासलाई एकै सूत्रमा गाँस्दै थुम्काको पहिचानलाई नयाँ पुस्तासम्म पुर्यारउने विश्वास जगाएको छ ।
.jpeg)
वास्तवमा, थुम्काको कथा केवल पानीको कथा होइन । यो अभावसँग जुध्दै आत्मनिर्भर बन्न सिकेको एउटा गाउँको कथा हो । यो पोखरी खन्ने हातहरूको कथा हो, पानीको प्रत्येक थोपालाई जोगाएर जीवन धान्ने संस्कारको कथा हो । यो भूगोलले मानिसको जीवनशैली कसरी निर्माण गर्छ र मानिसले आफ्ना सीमित स्रोतलाई कसरी संस्कृति र स्मृतिमा रूपान्तरण गर्छ भन्ने जीवित इतिहास पनि हो ।
.jpeg)
आज सबैजसो पोखरीहरू छैनन्, कतिपय मुहानहरू फेरिएका छन् र गाउँको स्वरूप पनि बदलिँदै गएको छ । तर स्मृतिहरू अझै बाँकी छन् । ती पुस्तौँदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको स्थानीय इतिहासका जीवित अभिलेख हुन् । तिनको संरक्षण गर्नु भनेको केही ढुङ्गा, पोखरी वा मुहान जोगाउनु मात्र होइनस आफ्नै पहिचान, आफ्नै संस्कृति र आफ्नै सामूहिक स्मृतिलाई जोगाउनु पनि हो । पानी सुक्न सक्छ, पोखरी पुरिन सक्छन्, बाटाहरू फेरिन सक्छन् र समयसँगै गाउँको स्वरूप पनि बदलिन सक्छ । तर आफ्नो प्रकृति, इतिहास र स्मृतिलाई सम्मान गर्ने समुदायको पहिचान कहिल्यै सुक्दैन । सायद त्यसैले पानी, पोखरी र थुम्का केवल एउटा गाउँको कथा होइन, आफ्नो माटो, आफ्नो पानी र आफ्ना स्मृतिसँग जोडिएर बाँच्न सिकेको एउटा समाजको कथा पनि हो ।
.jpeg)