कृष्णप्रसाद लामिछने
विश्व तीव्र परिवर्तनको युगमा प्रवेश गरिसकेको छ र शिक्षा प्रणाली त्यस परिवर्तनको केन्द्रबिन्दुमा उभिएको छ । हरेक राष्ट्रले आफ्ना आवश्यकता, स्रोत–साधन र सन्दर्भअनुसार शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रयास गरिरहेका छन् । नेपालमा पनि शिक्षा सुधारको बहस चुलिँदै गएको छ । तर, सुधारको नाममा गरिने हतारो र सतही अनुकरणले वास्तवमै दीर्घकालीन समाधान दिन सक्छ कि सक्दैन भन्ने प्रश्न गम्भीर रूपमा उठ्न आवश्यक छ ।
विकसित राष्ट्रहरूले अपनाएका मोडेलहरूलाई जस्ताको तस्तै नक्कल गर्ने प्रविृत्तिले कुनै समस्यालाइ क्षणिक रूपमा समाधान गर्लान् तर यथार्थमा त्यो समाधान होइन—बरु नयाँ समस्या निम्त्याउने जोखिम हो । किनकि, त्यहाँको सामाजिक संरचना, आर्थिक अवस्था, स्रोत–साधनको उपलब्धता, प्रविधिको पहुँच र कार्यसंस्कृति हाम्रोभन्दा फरक छ । त्यहाँ सफल भएको अभ्यास यहाँ पनि स्वतः सफल हुन्छ भन्ने धारणा भ्रमपूर्ण छ । शिक्षा कुनै ‘एकै ढाँचामा सबै अट्ने’ प्रणाली होइन† यो सधैँं सन्दर्भअनुकूल हुनुपर्छ ।
नेपालको भौगोलिक विविधता , शैक्षिक पहुँचमा रहेको असमानता† शिक्षकको सीप, तालिम र प्रेरणाको अवस्था† तथा प्रशासनिक संयन्त्रको क्षमता—यी सबै यथार्थलाई बेवास्ता गरेर बनाइने नीति कागजमा मात्र सुन्दर देखिन्छ, व्यवहारमा कमजोर साबित हुन्छ । प्रविधिमैत्री मूल्याङ्कन प्रणाली लागू गर्ने निर्णय राम्रो देखिए पनि जहाँ आधारभूत पूर्वाधार नै कमजोर छ, त्यहाँ यस्तो प्रयास कार्यान्वयनमै अल्झिन सक्छ ।
यही सन्दर्भमा सुधारको नाममा परीक्षा केन्द्रमै कापी परीक्षण गरी एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने प्रस्ताव आएको छ । सतहमा हेर्दा यो ‘गति’ को प्रतीकजस्तो देखिन्छ—छिटो नतिजा, छिटो प्रक्रिया । तर, प्रश्न उठ्छ—के केवल गति नै सुधार हो ? यदि मूल्याङ्कन प्रक्रिया निष्पक्ष, पारदर्शी र गुणस्तरीय हुन सकेन भने छिटो आएको नतिजाले विश्वास निर्माण गर्दैन, बरु शङ्का र असन्तोष बढाउँछ । त्यसैले शिक्षा सुधारको मापन गति होइन, गुणस्तर र विश्वसनीयताले हुनुपर्छ ।
अन्धाधुन्ध नक्कलको प्रवृत्तिले हामीलाई स्पष्ट दिशा दिँदैन । बरु, हामीलाई ‘न काग, न बकुल्ला’ जस्तो अन्योलपूर्ण अवस्थातर्फ धकेल्छ । न त हामी विकसित मोडेलमा पुग्न सक्छौँ, न आफ्नै मौलिक प्रणाली निर्माण गर्न सक्छौँ । शिक्षाजस्तो संवेदनशील क्षेत्रमा यस्तो अन्योल दीर्घकालीन रूपमा घातक हुन्छ ।
त्यसैले आजको आवश्यकता नक्कल होइन, सचेत रूपान्तरण हो । विकसित राष्ट्रहरूको अनुभवबाट सिक्ने, सफल अभ्यासहरूको अध्ययन गर्ने, तर त्यसलाई अन्धाधुन्ध लागू नगरी आफ्नै सन्दर्भअनुसार परिमार्जन गर्ने दृष्टिकोण अपनाउनु अपरिहार्य छ । नीति निर्माणदेखि कार्यान्वयनसम्म सन्दर्भको गहिरो अध्ययन, दीर्घकालीन सोच र जिम्मेवारीपूर्ण निर्णय आवश्यक छ ।
अन्ततः, शिक्षा सुधारको मूल प्रश्न यही हो—हामी गति खोज्दै छौँ कि गुणस्तर निर्माण गर्दै छौँ ? यदि सुधार केवल छिटोपनमा सीमित भयो भने त्यो अस्थायी हुनेछ । तर, यदि गुणस्तर, विश्वसनीयता र सान्दर्भिकतामा केन्द्रित भयो भने मात्र दिगो र अर्थपूर्ण परिवर्तन सम्भव हुनेछ ।