
शिक्षा भनेको ज्ञान हो । शिक्षा पूर्ण जीवनको तयारी हो । शिक्षा मान्छेको जीवन र जगतलाई बुझ्ने दृष्टिकोणका विकास गर्ने आधारशिला हो ।
नेल्सन मण्डेलाको अनुसार – शिक्षा त्यस्तो शक्तिशाली हतियार हो, जसको सहायता र प्रयोगबाट तिमीले संसार बदल्न सक्छौ ।
सामाजिक र व्यक्तिगत कोणबाट हेर्दा शिक्षा भनेको व्यक्तिलाई उसको सेरोफेरोमा अनुकूल गर्नु मात्र होइन । बरू, उसलाई आफ्नो वातावरण बुझ्ने तालिम दिनु हो । त्यसलाई बदल्ने शक्ति दिनु पनि हो ।
उत्पादन श्रमसँग जोडिएको निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षा नै समाजवादी शिक्षा हो । समाजवादी व्यवस्थाले पुँजीवादी व्यवस्थालाई पूर्णरूपमा फेरबदल गरि समयसापेक्ष आधुनिक र प्रगतिशील कर प्रणाली लागू गर्छ । शिक्षालाई उत्पादन र श्रमसँग मिलाउँछ । समाजको आमूल परिवर्तन र आदर्श एवम् सिर्जनशील समाज निर्माणको निम्ति उपयोग गर्छ । बालबालिकाहरूको शिक्षाको निम्ति आवश्यक सम्पूर्ण शिक्षाको जिम्मेवारी राज्यले बहन गर्नु नै समाजवादी शिक्षाको विशेषता हो । समाजवादी देशहरूले थोरै समयमा गरेको आर्थिक,सामाजिक प्रगतिको मुख्य कारण क्रान्तिपछि लागू गरिएको त्यहाँको शिक्षा व्यवस्था हो । समाजवादमा शिक्षाले मेसिन होइन मान्छे जन्माउनेछ ।
कार्ल माक्र्सले भन्नुभएअनुसार –समाजवादको लक्ष्य भनेको सबैको खुला विकासमा प्रत्येकको खुला विकास निहित हुने व्यवस्था हो । यस्तो अर्थ व्यवस्थामा आधारित समाज हो, जसले सामाजिक उत्पादक शक्तिको उच्चतम विकाससँगै मानव जातिको जतिसक्दो उच्च र समतापूर्ण विकास सुनिश्चित गर्नेछ ।
आज प्रचार माध्यम,धर्म आसन र प्रवचन कक्षजस्तै विद्यालय पनि शासकवर्गको नियन्त्रणमा छ । उसले त्यो नियन्त्रणलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छ । पुँजीवादले प्राविधिक सीपको माग गर्छ र उसका विद्यालयहरूले सोहीअनुसार तालिमप्राप्त मान्छेहरू उत्पादन गर्छन् । उसलाई जस्तो गुण भएको मान्छे चाहिन्छ, उसको विद्यालयले त्यस्तैखाले मान्छे उत्पादन गर्छन् । अर्थात्, पुँजीवादले अज्ञानी, आज्ञाकारी र प्रश्न नगर्ने मान्छेहरूबाट आफ्नो स्वार्थ पूरा हुने देखेको छ । त्यही भएर उसले कामदारवर्गलाई पनि त्यही दुर्दशामा झारेको छ ।
कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएझैँ ‘समाजमा सामाजिक परिस्थितिहरूद्वारा शिक्षा सञ्चालनको प्रथा कम्युनिस्टहरूको आविष्कार होइन । कम्युनिस्टहरू त केवल त्यसको सञ्चालन, हस्तक्षेप र नियन्त्रणको रूपलाई बदलेर शिक्षालाई शासकवर्गको प्रभावबाट मुक्त गर्न चाहन्छ ।
यसको मतलब जुन राज्य व्यवस्थामा आधारित समाज छ, त्यो समाजसँग सुहाउँदो शिक्षा सञ्चालनको प्रथा त राज्यले निश्चित गरी अङ्गीकार गरेका हुन्छन् । कतिपय पुँजीवादी देशहरूमा अन्धविश्वासमा आधारित धार्मिक शिक्षा, अवैज्ञानिक शिक्षा र अव्यावहारिक शिक्षा अहिलेसम्म यथावत् नै रहेको देखिन्छ ।
शिक्षालाई निजीकरण गरी किनबेचको अर्थात् नाफा कमाउने वस्तु बनाउने गर्छ । पुँजीवादी व्यवस्थाले । शिक्षामा नाफा कमाउन ठुलठुला पुँजीपतिवर्गहरू लगानी गर्छन् । पुँजीवादी व्यवस्थाले निजी विद्यालयलगायत, विश्वविद्यालय र विदेशी विश्वविद्यालयहरूसमेत खोल्न दिई शिक्षामा व्यापारीकरणलाई प्रोत्साहन र बढावा दिइरहेको हुन्छ । फलस्वरूप शिक्षा महँगो हुन्छ† शिक्षा महँगो भएपछि गरीब मजदुर किसानका छोराछोरीहरूले आफ्नो इच्छा, क्षमता भएर पनि आर्थिक अभावका कारण पढ्ने अवसर गुमाउँदै शिक्षाबाट बन्चित हुनुपर्ने बाध्यात्मक परिस्थितिलाई भोगिरहेका हुन्छन् । जसोतसो मावि तहसम्मको शिक्षा प्राप्त गरे पनि उच्च शिक्षा भने गरीब जनताका छोराछोरीहरूको लागि आकाशको फल बन्न पुग्छ ।
पुँजीवादी शिक्षा व्यवस्थाको विकृति, विसङ्गति र शोषणलाई अन्त्य गरी शोषित पीडित गरीब श्रमजीवीवर्गसम्म शिक्षाको अधिकार र पहुँच पु¥याउन पुँजीवादी शासकवर्गको नियन्त्रण र प्रभावबाट मुक्त गरी शिक्षालाई राज्यको दायित्वअन्तर्गत राखेर समाजवादी व्यवस्थाले सञ्चालन र नियन्त्रण गर्दछ ।
सोहीअनुसार शिक्षा नीति लागू गरिन्छ । समाजवादी व्यवस्थामा सरकारले शिक्षा सामाजिकीकरण गरी निःशुल्क र अनिवार्य बनाउँछ । शिक्षालाई आमूल परिवर्तनको आधारस्तम्भको रूपमा अगाडि सार्छ । राज्यसत्ता कब्जा गर्न जसरी कामदारवर्गमा राजनीतिक एवं वर्गीय चेतना आवश्यक हुन्छ, त्यसरी नै समाजवाद निर्माणको निम्ति समाजवादी शिक्षा आवश्यक हुन्छ । शिक्षाबिना न त समाज विकास सम्भव हुन्छ, न त समृद्धि नै । शिक्षा क्रान्तिको निर्णायक तत्व हो ।
समाजवादी शिक्षाले नागरिकहरूमा सामूहिक भावनाको विकास गर्छ । पुँजीवादी समाजमा सामूहिक हितभन्दा व्यक्तिगत हितलाई प्राथमिकता दिइन्छ । समाजवादी समाजको उन्नति र प्रगतिबाट व्यक्तिले स्वतःप्रगति गर्छ भन्ने अवधारणा रहेको हुन्छ । समाजवादी शिक्षा व्यवस्थाले ‘मेरो छोराछोरी’ को ठाउँमा समाजको छोराछोरी भन्ने भावनाको विकास गराउँछ । व्यक्ति समाजको सम्पत्ति हो वा मानव जातिकै सम्पत्ति हो भन्ने भावना नै समाजवादी भावना हो । समाजको अस्तित्वबिना कोही हुर्कन र बाँच्न सक्दैन ।
समाजको उन्नति र प्रगतिको निम्ति शिक्षालाई उत्पादन र श्रमसँग जोड्नुपर्दछ । समाजवादी शिक्षाले श्रमिकप्रति आदरभाव जगाउँछ र साक्षरवर्ग एवं विद्यार्थीहरूलाई उत्पादनमुखी काम गर्न उत्साहित गर्छ । साक्षरवर्ग भन्नाले डाक्टर, इन्जिनियर, वैज्ञानिक र हरेक विषय विशेषज्ञहरूलाई विभिन्न प्रकारको उद्योग,कलकारखाना र आविष्कार केन्द्रहरू स्थापना गरी उत्पादनमूलक कार्यमा समर्पित गराउनु समाजवादी सरकार र समाजवादी शिक्षा व्यवस्थाको प्रमुख लक्ष्य रहेको हुन्छ । समाजमा रहेको निरक्षर (अदक्ष) मजदुर र किसानहरूलाई दक्ष र साक्षर बनाउन सीपमूलक तालिम कक्षाहरू, रात्रिकालीन प्रौढ कक्षाहरू, मजदुरहरूको लागि मजदुर विद्यालय र किसानका लागि किसान विद्यालयहरू स्थापना गरी उत्पादनमूलक श्रममा अग्रसर गराउनुपर्छ ।
विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूको लागि आफूले अध्ययन गरेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा व्यवहारमा उतार्नको लागि अलगअलग प्रयोगशाला र कार्यशालाहरू स्थापना गरी सीप र क्षमता वृद्धि गर्दै श्रमसँग जोड्नु पनि समाजवादी शिक्षा व्यवस्थाको रूप हो ।
समाजवादी क्रान्तिपछि चीन, प्रजग कोरिया, क्युवा, रुसलगायतका देशहरूले समाजवादी शिक्षा लागू गरी समाजको आमूल परिवर्तन गरेको उदाहरण प्रेरणाको रूपमा रहेको इतिहास साक्षी छ । चिनियाँ नेता माओ त्सेतुङ भन्नुहुन्थ्यो, “तपाईँ कालोपाटी र सेतोपाटीमा हलो जोतेर अन्न उत्पादन गर्न सक्नुहुन्न” यथार्थमा समाजवादी देशका विद्यार्थीहरूलाई आफ्नै पौरखले देश बनाउनु, स्वाधीन र आत्मनिर्भर हुनु गौरवपूर्ण काम हो भन्ने शिक्षा सिकाइन्छ । पुँजीवादले मान्छेलाई अल्छी बनाउँछ भने समाजवादी व्यवस्थाले मान्छेलाई जाँगरिलो बनाउँछ अर्थात् मिहेनत र परिश्रमी बन्न उत्प्रेरित गर्छ । बल, बुद्धि र योग्यता हुँदाहुँदै पनि काम नगर्ने अल्छी वा ठगले खान पनि पाउँदैन, श्रमको सम्मान नगर्नेहरूलाई घृणा गरिन्छ ।
समाजवादी शिक्षाको बन्दोबस्त मूलतः समाजवादी राज्य व्यवस्थाले मात्र गरिएको हुन्छ । समाजको सानो समूह र थोरै व्यक्तिहरूले मात्र शिक्षा पाउने पुँजीवादी व्यवस्थाको रोगको उपचार गरी सबैको लागि राज्यले शिक्षाको अवसर प्रदान गरेका हुन्छ । यसलाई व्यक्तित्व विकासमा समान अवसर पनि भनिन्छ । समाजवादी बन्दोबस्त भएको देशहरूमा शिक्षालाई अधिकारको रूपमा मात्र सीमित गरिदैन, बरु निःशुल्क र राज्यले दुर्गम गाउँहरूमा विद्यालय स्थापना गरी विद्यार्थीहरूलाई आवश्यक सेवा सुविधाहरू जस्तैः होस्टेल, कापी, कलम, किताब, खाजा, खाना, पोसाक आदि कुराको व्यवस्था गरी शिक्षालाई अनिवार्य बनाएको हुन्छ । समाजवादी शिक्षा व्यावहारिक शिक्षा पनि हो । त्यसैले समाजवादी शिक्षाका मुख्य लक्ष्य भनेको जनतालाई सभ्य, सुसंस्कृत बनाउनुको साथै परिवर्तनकारी र सिर्जनशील पनि बनाउनु हो । समाजवादी शिक्षाले समाजवादी प्रणाली तथा कामदार जनताको क्रान्तिकारी उद्देश्य पूरा गर्नुपर्दछ ।
साम्यवादी चिन्तनले मानिसलाई क्रान्तिकारी बनाउँछ । क्रान्तिकारी विचार सङ्घर्षको महत्वपूर्ण हतियार हो । त्यस्तो विचारले मान्छेलाई दृढ बनाउँछ, शत्रुसँग रत्तिभर पनि नझुक्ने स्वाभिमानी बनाउँछ । मजदुरवर्गको हितको निम्ति काम गर्न प्रतिक्रियावादीवर्गको अवशेषहरूलाई समूल नामेट गर्नुपर्नेमा जोड दिँदै किम इल सङ भन्नुहुन्छ, “शिक्षाको सम्पूर्ण क्षेत्रमा हामीले सामन्तवाद र पुँजीवादको सबै अवशेषहरूलाई समाप्त पार्नुपर्छ, त्यसपछि समाजवादी शिक्षा, समाजवादी समाज मजदुरवर्गको इच्छाअनुसार विकास हुन्छ ।” तसर्थ क्रान्तिपछि पनि प्रतिक्रियावादी सोचहरू बाँकी नै रहेका हुन्छन् । पुँजीवाद एवम् सामन्तवादका प्रभावहरू एकैबाजी जनताको दिमागबाट निकाल्न सकिन्न तर नयाँ विचारको प्रभावले मानिसमा पुरानो विचारप्रति अविश्वास पैदा हुन्छ । किम इल सङले भन्नुभएझैँ शिक्षालाई क्रान्तिकारी अभ्याससँग जोड्नुपर्दछ । शिक्षालाई व्यवहारसँग जोडेपछि मात्र यसले आफ्नो उद्देश्य पूरा गर्दछ ।
समाजवादी शिक्षामा नागरिकहरूमा कम्युनिस्ट आचरण र जीवनशैलीको विकास गर्ने, सर्वहारा अन्तर्राष्ट्रवादको विकास गर्ने, समाजवादी देशभक्तिको भावनाबाट प्रेरित गर्ने,शैक्षिक पाठ्यक्रम एवम् पुस्तकको समेत व्यवस्था गरिएको हुन्छ ।
वैज्ञानिक र प्राविधिक शिक्षा समाजवादी शिक्षा व्यवस्थामा हुन्छ । प्राविधिक र सांस्कृतिक क्रान्तिले समाजवादी व्यवस्था निर्माणमा ठुलो भूमिका खेल्छ । जस्तै :– प्रजग कोरिया, चीन, क्युवालगायत अन्य समाजवादी देशहरूले गरेको आविष्कारहरू विभिन्न भूउपग्रहहरू, अन्तरिक्ष यान र अनगिन्ती यान्त्रिक उपकरणहरूको निर्माण, परीक्षणमा सफलता प्राप्त गर्नुका कारण शिक्षालाई वैज्ञानिक र प्रविधियुक्त बनाउनु नै हो ।