२३ कार्तिक, कञ्चन
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलबस्तु लगायत देशभरिका जलाशय तथा ताल पोखरीहरुमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
रुपन्देहीको गैडहवा वडा नं. ६ स्थित सन्तेश्वरघाट लगायत भूजौली, ऐरौली, सग्रहवा, लालपुर, पटुवा, सालघारी, बेलवा। उदगरुवा र राजबोहवाका खोलाका किनारहरुमा रातभर जाग्राम बसेर आज उदाउदो सूर्यलाई अर्घ दिएर छठपर्व समापन भएको छ।
यस्तै कञ्चनको बेउरीघाट, बजबजाहघाट, दयानगरघाट, सेमरानीघाट, तरायगडघाट र हात्तीबजार खेलाका किनारहरु झकिझकाउ सजाएर बिहानीको उदाउदो सूर्यलाई अर्घ अपर्ण गर्दै छठपर्वको बिदाई गरिएको छ।
गैडहवाको सन्तेश्वरघाटमा रुपन्देहीको सबैभन्दा ठूलो संख्याका व्रतालुहरुले छठीमाईको मठ बनाई पूजाआरधना गरिएएको छ। करिब ५ हजार भन्दा बढी व्रतालुहरुले हिजो अस्ताउदो सूर्यलाई अर्घ दिई रातभर जाग्राम बसी आज उदाउदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरेका छन। सन्तेश्वरघाटमा भएको छठीमाईको पूजा व्यबस्थापनलाई सुरक्षित र व्बस्थित गराउन ईलाका प्रहरी कार्यालयले रातभर सुरक्षा गस्ती परिचालन गरेकास थियो।
खासगरी पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको हो। वर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन ब्रतालुहरूले दिनभरि निराहार उपवास बसेर राती षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राती अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।
षष्ठीका दिन बिहीबार साँझ व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ अर्पण गरेका थिए ।