१३ असोज, गुल्मी
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेक क्वाङमा रहेको सत्यवती कृषि तथा पशुपालन समूहको दोस्रो बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।
सभाको शुभारम्भ गर्दै सत्यवती गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष जितु तरामु मगरले उत्पादनमा समूहको महत्त्वपूर्ण योगदान हुने बताउदै किसानहरू समूहमा बसेर आयआर्जनमा जोडिनुपर्ने बताउनु भयो ।
राजनीतिककर्मी खोमा तरामु मगरले किसानहरूको आफ्नै व्यवसायिक उत्पादन र अर्थप्रणाली हुनुपर्ने बताउनु भयो।
साधारण सभामा समूहका अध्यक्ष चेतमान राहादी मगरले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै समूहको ३८ टनेल भएको, समूहको १९ पटक बैठक बसेको, समूहले अभिमुखिकरण तालिम, चिया खेतीमा बिधुत बिस्तार, चिया संरक्षणका लागि काँडेतार घेराउ, मौरी पालन, दुई हजार अलैची रोपण, १७ सयभन्दा टिमुर रोपण, ४७ वटा बढी बोका बिक्री, १० हजार भन्दा बढी केजी टमाटर उत्पादन, सिमि, बण्डा, काउली, करेला, फर्सीलगायत तरकारीहरू बिक्री गरिएको बताउनु भयो। टमाटर बिक्रीबाट मात्रै ४ लाखभन्दा बढी र टुसा बिक्री गरेर करिब ३ लाखभन्दा बढी आम्दानी गरेको समेत अध्यक्ष राहादीले बताउनु भयो ।
त्यसैगरी समूहका २५ जना कृषकहरूले १२०० पोषणयुक्त कुखुरा पालन, कुखुरा र अण्डा बिक्री गरेर ३ लाखभन्दा बढी आम्दानी गर्नुको साथै समूहका प्रत्येक शेयर सदस्यहरूले नियमित बचत गरिरहेको अध्यक्ष राहादीले बताउनु भयो । सभामा समूहकी कोषाध्यक्ष पूर्णकली राहादी मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
साधारणसभाले पुनः चेतमान राहादी मगरको अध्यक्षता २१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा श्रीप्रसाद राहादी मगर, सचिव बिरू राना मगर, सहसचिव पूर्णकला तरामु मगर, कोषाध्यक्षमा पूर्णकली राहादी मगर र सहकोषाध्यक्षमा थमी श्रीस मगरलाई निर्वाचित गरेको छ ।