२१ भदौ, कञ्चन
आज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
कञ्चनका बिभिन्न स्थानमा तीज गीत प्रतियोगिता
हरितालिका तीजको अवसरमा रुपन्देहीको कञ्चनमा स्थानीय संघ संस्थाहरुद्वारा तीज गीत प्रतियोगिता संचालन गरि तीज मनाइदैछ। कञ्चनको वडा नं. ३ स्थित हरैया बजारमा लायनस क्लव अफ कञ्चन लेडीको आयोजनामा तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ। यस्तै कञ्चन ५ को पिपरीचापामा प्रगतीशिल आमा समूहको आयोजनामा मौलिक तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ।
हरैयामा राष्ट्रिय कलाकार राम प्रसाद पौडेल, लालमाया थापा र पिपरीचापामा राष्ट्रिय कलाकार सिताराम परियार, बसन्ता खनाल, देवि आले र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएका छन।
तीजमा व्रत
तीजमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा भएपनि सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने धर्मशास्त्रका जानकार डा. रामचन्द्र उपाध्यायको भनाई छ। स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ ।
्अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन समेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।
कञ्चन र गैडहवाका बिभिन्न शिवालयहरुमा महिला व्रतालुहरुको घुईचो
कञ्चन १ को बेलभरिया स्थित जलेश्वर मन्दिर, मनकामना राम मन्दिर, कञ्चन ४ स्थित अस्नैया बजारमा रहेको देवालय, रुद्रेश्वर मन्दिर, शिवालयचोकमा रहेको शिवालय मन्दिर, कञ्चन ३ झारगैरा स्थित दुर्गा मन्दिर, राधाकृष्ण मन्दिर गैडातालमा रहेको शिवालय मन्दिर, सन्तेश्वर धाम, गैडहवा ८ स्थित देउरालीमा रहेको शिवालय मन्दिरहरुमा व्रतालुहरुको पुजाआजका लागि घुइचो लागिरहेको छ।