५ भदौ, बुटवलरुपन्देहीको बुटवलमा पहिलो पटक मगर लेखक तथा साहित्यकारहरुको लेखनवृत्ति र मगर साहित्य कला र भाषाको सम्बद्र्धन तथा संरक्षण गर्ने उद्धेश्यका साथ मगर साहित्य महोत्सव हुने भएको छ। नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने उक्त साहित्य महोत्सवबारे पत्रकार सम्मेलनगरी पत्रकार तथा संचारकर्मीहरुलाई जानकारी दिइएको छ।
बुटवल देविनगर स्थित मगरात अध्ययन केन्द्रमा भएको पत्रकार सम्मेलनमा प्रथम मगर साहित्य महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक यम राना मगरले जनसंख्याको आधारमा नेपालमा बसोबास गर्ने जातिहरूमध्ये तेश्रो, नेपालका आदिवासीहरूमध्ये जनसंख्याको हिसाबले पहिलो र नेपालको सबै जातिहरूमा तेस्रो स्थान ओगटेका मगर जातिको भाषा कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न "आफ्नो कथा आफै लेखौं" भन्ने नारा सहित महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो।
मगर जातीको बाह्र मगरातमा बोलिने मगर ढूट भाषा, अठाह्र मगरातमा बोलिने खाम/पाङ मगर भाषा र डोल्पा क्षेत्रमा बोलिने काईके मगर भाषा गरी तिनवटा भाषा रहेको र तिनै भाषाहरुमा लेखिएका लेख, पुस्तक, तथा साहित्य र मगर जातीको कला र संस्कृति तथा भाषाबारे उत्खननगरी कलम चलाएका बिभिन्न मगर तथा गैर मगर लेखकहरुका लागि बिशेष उत्सव र ऐतिहासिक महोत्सवको रुपमा स्थापित गर्न प्रथम मगर साहित्य महोत्सवको आयोजना गरिन लागिएको प्रचार संयोजक रानाले सम्मेलन मार्फत जानकारी गराउनु भयो।
यस्तै महोत्सवलाई अझ ब्यबस्थित रुपमा सफल बनाउन बिभिन्न स्थानहरुमा मगर चलचित्र च्यारिटी शोको रुपमा प्रदर्शन गर्ने, बिभिन्न सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक रुपमा क्यूआर कोर्ड बाट "न्यूनतम १० रुपैयाँ दान अभियान" समेत संचालन गरिएको प्रचार प्रसार संयोजक यम राना मगरले जानकारी दिनु भयो।
संयोजक रानाले महोत्सवमा संवाद तथा बहस कार्यक्रमका लागि विद्वत प्रवचन अन्तर्गत कार्यक्रममा मगर तथा अन्य समुदायका अध्येता, अनुसन्धाता, लेखक, सामाजिक अभियान्ता तथा विषय विज्ञहरुलाई वक्ताहरूको रुपमा आमन्त्रित गरिएको बताउनु भयो।यसैगरी महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमसहित नेपालका विभिन्न जिल्लामा रहेका मगरहरूको इतिहासको खोजी, विभिन्न क्षेत्रमा विशिष्टता र उत्कृष्टता हासिल गरेका मगर समुदायका व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम हुने महोत्सवका प्रवक्ता शंकर गाहाले जानकारी दिनु भयो ।
महोत्सवमा मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, मगर समुदायले प्रयोग गर्ने भेषभूषा र प्राचीन सामग्रीहरूको प्रदर्शन, पुस्तक प्रदर्शनी, मौलिक नृत्यको प्रदर्शनी सहित मगर जातीको भाषा कला, संस्कृतिक तथा मगर लेखकहरुद्वारा बिभिन्न बिषयमा लेखिएका १०० कृति तथा पुस्तकहरुको एकैसाथ बिमोचन गर्ने तयारी समेत रहेको प्रवक्ता गाहाले सम्मेलनमा जानकारी दिनु भयो ।
कबिर २० लाख रुपैया खर्च अनुमान गरिएको उक्त महोत्सवलाई सफल बनाउन स्थानीय संघसंस्था स्थानीय सरकार, उद्योगीव्यबसायी तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरिने प्रवक्ता शंकर गाहाले बताउनु भयो।
महोत्सवको अर्को मुख्य उद्धेश्य भनेको समुदायमा भएको कला, साहित्य तथा इतिहासको दस्तावेजिकण गरी मगर समुदायलाई समग्रमा आफ्नो इतिहासप्रति जानकार तुल्याउने रहेको महोत्सव मूल तयारी समितिका सदस्य तथा प्रवक्ता शंकर गाहाले बताउनु भयो।
यस्तै महोत्सवमा हरेक बर्षको मगर साहित्य महोत्सवमा प्रदान गर्नेगरी १० हजार रुपैया राशी रहेको गोरे बहादुर खपाङगी मगर सामाजिक योगदान पुरस्कारको घोषणा गरिने प्रवक्ता गाहाले जानकारी दिनु भयो।
पत्रकारहरुले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मगर जातीको भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि स्थापना भएको नेपाल मगर महिला संघ रुपन्देहीले संस्थाको एतिहासिक क्रमभंगता गर्दै पहिलो पटक साहित्य महोत्सव मार्फत मगर जातीको भाषा कला, संस्कृतिको संरक्षणमा आफुलाई एक पहरेदार संस्थाको रुपमा बिकास गर्न लागेको नेपाल मगर महिला संघ, रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले बताउनु भयो। महोत्सवलाई मगर लेखक तथा साहित्यकारहरुका लागि ऐतिहासिक उत्सवको रुपमा मनाउन संचार गृहहरुबाट पनि आवस्यक प्रचार प्रसार गरी मगर साहित्यबारे लेख तथा फिचर तयार गर्न पनि अध्यक्ष थापा मगरले आग्रह गर्नु भयो।
यसैगरी महोत्सवमा नगद २० हजार रुपैया राशी रहेको हरेक वर्ष उत्कृष्ट पुस्तकलाई पुरस्कार स्वरुप दिनेगरी आदिकवि जित बहादुर सिंजालीमगर/रेख बहादुर सारु मगर साहित्य पुरस्कार र अवार्ड समेत घोषणा गरिने संघका अध्यक्ष निर्मला थापा मगरले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो।
खासगरी विभिन्न स्थानमा रहेका मगरहरूको विषयमा सोधखोज गरी आपसी भातृत्वको भावना जगाई आपसी समन्वयकारी सञ्जाल निर्माण गर्न गराउन र कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यास हुने ठाउँमा हाम्रो समुदायको गतिलो उपस्थितिको आभास गरााउने उद्धेश्यका साथ महोत्सव संचालन गर्न लागिएको हो।
एक सय एक जनाको मूल आयोजक समिति गठन गरिएको महोत्सवमा पूर्व डीआईजी पार्वती थापा, नायिका मिरुना मगर, निर्देशक नवीन सुब्बा, महाबीर पुन, दुबै खुट्टा काटिएका सगरमाथा आरोही हरि बुढामगर, मगर कलाकारहरु सहभागी हुने मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउनु भएको छ।
महोत्सव पछि मगर समुदायमा जागरण फैलाउँदै हाम्रो इतिहास, वर्तमान र भविष्यसँग हामीलाई परिचित तुल्याउन, गुणस्तरीय कार्यको प्रोत्साहनले काम गरिरहेकाहरूलाई हौसला मिल्ने र मगर लेखकहरुमा उनिहरुको लेखशैली र क्षमतामा थप उप्रेरणा जगाई समाज रुपान्तरणमा नयाँ अभियानको शुरुवात गराउने अध्यक्ष थापा मगरले बिश्वास ब्यक्त गर्नु भयो।
महोत्सवमा मगर समुदायले प्रयोग गर्ने विभिन्न पोशाक, गहना आदिको प्रदर्शनी तथा बिक्री गरिने भेषभूषा प्रदर्शनी, देश तथा समाजलाई महत्वपूर्ण योगदान दिएका मगर समुदायका विभिन्न मगर हस्तीहरूका पोर्टेट गरिएका चित्रकला प्रदर्शनी तथा बिक्री र मौलिक नृत्यको प्रदर्शनी समेत हुने प्रचार संयोजक यम रानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको थियो।
नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरको अध्यक्षता तथा प्रथम मगर साहित्य महोत्सव मूल तयारी समितिका प्रचार संयोजक यम रानाको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा बुटवल तथा भैरहवामा कृयाशिल बिभिन्न संचार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो।